अर्गानिक पदमार्गको सम्पूर्ण कथा

अर्गानिक पदमार्गको सम्पूर्ण कथा


मध्यमार्ग लोकमार्गमा नयाँ पर्यटकीय गन्तव्य घोषणा गरिएको छ। यो पूर्वी पहाडी जिल्लाहरू भोजपुर, सोलुखुम्बु, खोटाङ र संखुवासभाको सीमावरिपरि पर्ने पदमार्ग जसको पहिचान गरेको हो मैयुङ–टेम्के–साल्पा सिलिचुङ पर्यटन प्रवर्धन केन्द्रले।

यही पर्यटकीय ट्रेलको नाम हो मुन्दुम ट्रेल। यही नाममा श्याम सामसोहाङ राईले पर्यटन विकास र प्रवर्धनको थालनीमा गरिएका सामूहिक प्रयासको स्मरण गर्दै त्यसलाई जीवन्तता दिएर संस्मरण लेखेका छन्। यसमा मुन्दुम ट्रेलको परिकल्पनाको कथादेखि विकास गर्दाका कुराहरूको चर्चा गरिएको छ।

उनी लन्डन बस्छन्। तर जहिल्यै आफू जन्मेको ठाउँमा केही गर्ने हुटहुटी पाल्छन्। सन् २०१८ को जुलाई १२ मा एउटा अर्गानिक गन्तव्यस्थलका रूपमा पहिचान गरी सबै पर्यटकका लागि खुला गरिएको हो मुन्दुम ट्रेल।

लेखकले त्यहाँको प्राकृतिक सौन्दर्य, अर्गानिक खाना, पर्यावरणीय विविधता, धार्मिक तथा सांस्कृतिक विशेषताबारे जानकारी दिने प्रयास गरेका छन्। त्यहाँको इतिहास, किंवदन्ती, रिसिया, हाकपारे र गोठाले भाकाहरू, यात्राको क्रममा भेटिने विभिन्न प्रजातिका चराचुरुङ्गीहरू र तिनका मन्त्रमुग्ध पार्ने कोकिल स्वरलहरीहरूबारे चर्चा गर्दै उक्त पदमार्गमा पाइने होमस्टे र गोठस्टेको समेत जानकारी दिएका छन्।

विभिन्न शीर्षकमा विभाजित प्रस्तुत पुस्तकको मुन्दुम ट्रेलको यात्रामा बच्चामा देखेसुनेका कुराहरूको मिठासयुक्त वर्णन छ। त्यहाँ बुढापाकाहरूले भूतप्रेतका कथा सुनाएको प्रसङ्गदेखि बलौटेबाट हेकुले हुँदै लौरेको बिचउकालो यात्राको वर्णन छ।

मालिङ्गोका झाडीका टुसामा रेड पान्डा र भालुहरू प्रशस्तै भएको रोचक र जानकारीमूलक तथ्यहरू छन्। उनी मैयुङ पुग्दा चीनको ग्रेटवालसँग पार गरेका पहाडलाई तुलना गर्छन्।

हाँडीपोखरी, साल्पापोखरी जो किरातीहरूको पवित्र अमृत मानिन्छ, तिनको सुन्दर वर्णन पनि छ यहाँ। मुन्दुममा तीन चुल्हाको आविष्कार कसरी भयो भन्ने किस्सा दिन पनि लेखक पछि परेका छैनन्। रक्सीको आविष्कार किरातीहरूका आदिम पुर्खा सुम्निमाले गरेको किराती मिथक छ। उनको मैयुङमा गरिएको म्युजिक भिडियो सुटिङका क्रममा भएका रमाइला प्रसङ्गहरू पनि यहाँ अटेका छन्।

मैयुङ हाँसपोखरी महोत्सव २०७४ मा पिखुवा खोलाको शिर मैयुङडाँडामा लेखकले व्यतीत गरेका बाल्यकालका सम्झनासहित पिखुवा एन एक्स्पेडिसन नामक वृत्तचित्र निर्माणमा पिखुवाको जनजीवन र किराती सभ्यताको विकासक्रमलाई खोतल्ने प्रयास गरिएको दाबी गरिएको छ।

 भोजपुरको तिम्मा, तिम्मा सरोकार समाज, तिनका गतिविधिहरू, महोत्सवको प्रचारका लागि छपाई गरिएको क्यालेन्डर र तिनमा समावेश गरिएका मैयुङ क्षेत्रका सुन्दर तस्बिरहरूले सबैको ध्यान खिचेको कुरा त्यहाँ छ।

स्थानीय अर्गानिक कुराहरूको प्रदर्शनी, साहित्य, कला, संगीत, खेलकुदजस्ता कार्यक्रमको आयोजना गरी महोत्सव सफल पार्न धेरै मिहिनेत गरिएको कुरा छ। लेखक किराती मुन्दुमबाट प्रभावित भए पनि सबै धर्म, समुदायप्रति उनको सद्भाव भएको कुरालाई उनले महत्त्वका साथ उल्लेख गरेका छन्।

मैयुङ टेम्के साल्पासिलिङ पर्यटन प्रवर्धन केन्द्रको स्थापनामा कसरी संस्थाको जन्म भयो भन्ने बारेमा पाठकहरूलाई जानकारी दिइएको छ। मुन्दुम ट्रेलको नामकरण र ग्रेटर मुन्दुम ट्रेलको अवधारणामा टेम्केदेखि मैयुङ हुँदै साल्पासिलिचुङसम्मको पर्यटकीय पदमार्ग कसरी बनाउन सकिन्छ भनी बृहत् छलफल, नामकरण, यस क्रममा गरिएका विभिन्न विषयविज्ञहरूसँगका मिटिङ, आर्थिक स्रोत व्यवस्थापन, प्रचारप्रसारजस्ता कुराहरू मिठासपूर्ण ढंगले जानकारी गराइएको छ।

सम्बद्ध साथीहरूसहित लेखक उक्त ट्रेलको यात्रामा निस्कँदाका अनुभूतिहरूको सुन्दर वर्णन छ। आठ हजारमाथिका विभिन्न हिमशृंखलाहरू एउटै स्थानबाट देखिने यो ट्रेल मात्र भएको लेखकले दाबी गरेका छन्। यसमा मुन्दुममा घर बनाउने परम्परा छेत्छाकुप्पाबाट सुरु गरेको किराती रोचक कथा लेखकले यहाँ उद्धृत गरेका छन्।

औपचारिक रूपमा कसरी सार्वजनिक गरियो मुन्दुम ट्रेलको अवधारणा भनेर जानकारी पनि प्रस्तुत कृतिले गरेको छ। पूर्वाधार निर्माण, प्रचारप्रसार, स्थानीय जनतालाई अभिमूखीकरण गर्नेजस्ता कार्यहरू गरी यसको विकासका लागि टेम्के मयुङको अन्नपूर्ण क्षेत्रलाई स्थान छनौट गरी अन्नपूर्ण सम्मेलन गर्न गरिएका सुन्दर प्रयासहरूको रोचक वर्णन यहाँ पढ्न पाइन्छ। मुन्दुम ट्रेलको रुटमा पर्ने सबै स्थानहरू अर्गानिक छन्। मनै लोभ्याउने छन्। यहाँ विशेषतः सावाखोलाको सावालृङ झरना र टेम्केको छातीमा रहेको महभिर झरनाको यहाँ रोचक वर्णन गरिएको छ।

साँवा गाउँमा होमस्टे सञ्चालनका लागि प्रशिक्षण दिइएर २०७५ सालदेखि किराँती संस्कार, संस्कृति, भाषा, रहनसहनयुक्त किराती संस्कृतिलाई पर्यटनसँग जोड्ने हिसाबले होमस्टे सञ्चालन गरेको कुरा लेखकले उल्लेख गरेका छन्। नेपाल सरकारले बजेट भाषणमा मुन्दुम ट्रेलका लागि रकम छुट्याएको कुराले लेखक पुलकित बनेका छन्।

मुन्दुम ट्रेलको प्रारम्भिक पूर्वाधार विकासको काम सक्दा लेखकलाई सयौं किलोको भारी बिसाएको महसुस भएको थियो। स्थानीयहरूको साथ सहयोगमा भने लेखक खुसी थिए। त्यसपछि उनी बेलायत गएको कुरा उल्लेख गरेका छन्।

यात्रा गरिरहन मन पराउने यात्री हुन लेखक। उनलाई बेलायत आएपछि पनि यात्राको हुटहुटीले छोडेन। तसर्थ स्कटल्यान्डका समथर फाँटहरूसहित थ्री पिक, वेल्सको इस्नोडोनिया लगायतका डाँडाकाँडाहरू घुमे उनी। तर उनको मन यहाँको ती ठाउँहरूले पटक्कै छोएनन्। स्विस सरकारले मुन्दुम ट्रेलका लागि पूर्वाधार विकासमा अनुदान दियो। समिति बनी काम सुरु भयो।

भोजपुरको साम्पाङ चोकबाट थालनी भएको निर्माण कार्यले सुन्तले डाँडा हुँदै पखुवा भन्ज्याङसम्म पुग्यो। यता साल्पासिलिछोसम्म पनि काम सकियो। साल्पापोखरी वरपर अनेक संरचना बनाइए। ट्रेलको धेरै ठाउँमा बस्न घर नभएकाले गोठलाई पर्यटक बस्न सक्ने ठाउँका रूपमा विकास गरियो।

आमालाई क्यान्सर हुँदा पनि भारी बोकेर गर्नुपरेको दुःखका पलहरू उल्लेख गरेर आमाप्रति अनुगृहित देखिएका छन् लेखक। यही यात्रामा लेखकले अबको मुन्दुम ट्रेलबारे के गर्ने भनेर योजना बनाएका छन्।

 आर्थिक समुन्नतिका लागि पर्यटन भित्र्याउनै पर्ने कुरामा जोड दिएका छन्। फेरि फरक ढंगले महोत्सव गर्ने त्यसमा मुन्दुम ट्रेल दौड, सांगीतिक प्रस्तुति गर्ने परिकल्पना छ उनको। पुस्तकलाई मुन्दुम ट्रेलबारे उनले गीत रचेका छन् र पुस्तकको बिट मारेका छन्।

भौगोलिक विविधताले भरिएको छ मुन्दुम क्षेत्र। प्रचुर पर्यटकीय सम्भावना क्षेत्रका सुन्दर दृश्यहरूको चित्राङ्कनले पाठकको मन खिच्छ। यसरी नै विभिन्न महत्त्वपूर्ण स्थानहरूबारे रंगीन तस्बिरहरू पनि राखिएका छन्।

किराती संस्कृति अत्यन्तै धनी र वैभवशाली छ। उनीहरूका फरक फरक समुदाय विशेषमा फरकफरक मिथकहरू पनि छन्। तसर्थ प्रस्तुत पुस्तकमा भएको मिथक कुन समुदायको हो भन्ने कुराले पाठक भ्रममा पर्न सक्छन्।

यसरी नै समुदायपिच्छे भाषा पनि फरक छ। यो समेत लेखकले जानकारी दिन सकेको भए सुनमा सुगन्ध हुने थियो। जे होस्, संस्कार र संस्कृतिलाई पर्यटनसँग जोड्न सकिने कुराको सार्थक प्रस्तुति लाग्छ पुस्तक।  

प्रकाशित: ५ जेष्ठ २०८१ १०:४० शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School