प्रकाशित मिति : ३१ असार २०८३, बुधबार

फोटो: होमल्याण्ड सेक्युरिटी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय अध्यागमन एजेन्टहरूलाई संदिग्ध गाडीहरू रोकेर गरिने धरपकडलाई पक्राउ गर्ने रणनीतिका रूपमा पुनः सुचारु गर्न निर्देशन दिएका छन्। टेक्सस र मेन राज्यमा अध्यागमन एजेन्टहरूको गोली लागेर दुईजना चालकको मृत्यु भएको केही दिनभित्रै ट्रम्पले आफ्नै प्रशासनका उच्च अधिकारीहरूको निर्णयलाई उल्टाउँदै यस्तो निर्देशन दिएका हुन्।
यसअघि, ह्वाइट हाउसका सीमा मामिला प्रमुख टम होमानले आइस एजेन्टहरू सुरक्षित रूपमा काम गरिरहेका छन् कि छैनन् भनी प्रक्रियागत समीक्षा गर्नका लागि सवारी साधन रोक्ने कार्यलाई केही समयका लागि स्थगित गरिने बताएका थिए। तर, होमानको यो भनाइको ट्रम्पका कट्टर रिपब्लिकन समर्थकहरूले तीव्र आलोचना गरेपछि राष्ट्रपति ट्रम्पले होमल्याण्ड सेक्युरिटी सेक्रेटरी मार्कवेन मुलिन र होमान दुवैको निर्णयलाई खारेज गरिदिएका हुन्।
ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, हामी बलियो, कठोर र स्मार्ट हुनुपर्छ। हामी आईसको सबैभन्दा महत्त्वपूर्ण र प्रभावकारी अपराध नियन्त्रण विधि-‘ट्राफिक स्टप’ लाई कुनै पनि हालतमा छोड्न सक्दैनौँ।
मेन राज्यको बिडेफोर्डमा एक आईस अधिकारीले कोलम्बियाका २५ वर्षीय नागरिक जोहान सेबास्टियन डुरानलाई गोली हानी हत्या गरेपछि यो एजेन्सीको आक्रामक रणनीति पुनः सार्वजनिक छानबिनको घेरामा परेको छ। त्यसको ६ दिनअघि मात्रै ह्युस्टनमा अर्का आईस अधिकारीले ५२ वर्षीय मेक्सिकन नागरिक लोरेन्जो साल्गाडो अराउजोको गोली हानी हत्या गरेका थिए।
दुवै घटनामा एजेन्टहरूले गाडी रोक्न खोजेका थिए, यद्यपि अधिकारीहरूले स्वीकार गरेका छन् कि मारिएका ती व्यक्तिहरू अध्यागमन कारबाहीका वास्तविक निसाना थिएनन्। संघीय अधिकारीहरूले ती व्यक्तिहरूबाट एजेन्ट वा सर्वसाधारणको ज्यानमा खतरा रहेको वा घातक बल प्रयोग गर्नुपर्ने स्थिति रहेको कुनै पनि प्रमाण पेश गर्न सकेका छैनन्।
यी घटनाहरूका कारण मेन, ह्युस्टन र बोस्टनमा विरोध प्रदर्शनहरू सुरु भएका छन्। साथै आइस एजेन्टहरूले बडी क्यामेरा प्रयोग नगरेकोमा पनि प्रश्न उठाइएको छ। रिपब्लिकन सिनेटर सुसान कोलिन्सले यी घटनाहरूको अनुसन्धान नसकिउन्जेल गाडी रोकेर गरिने कारबाही स्थगित गर्नुपर्ने माग गरेकी छन्।
आन्तरिक तथ्याङ्क अनुसार, जुन र जुलाईको बीचमा मेन राज्यमा मात्रै आइसको गिरफ्तारी चार गुणाले बढेर दैनिक करिब ७० पुगेको छ। सन् २०२५ जनवरीमा ट्रम्पले ठूलो संख्यामा आप्रवासीहरूलाई देश निकाला गर्ने अभियान सुरु गरेयता अध्यागमन कारबाहीका क्रममा कम्तीमा ७ जनाको गोली लागेर मृत्यु भइसकेको छ भने ५३ जनाको आईसको हिरासतमा मृत्यु भएको छ।
हालै हिरासतमा मृत्यु हुनेमा ४५ वर्षीय भेनेजुएलाका नागरिक जेसस म्यानुएल एरेनास-सिल्भा रहेका छन्, जसको जर्जियाको हिरासत केन्द्रमा स्थानान्तरणका क्रममा हृदयघातका कारण मृत्यु भएको बताइएको छ। अधिकारवादीहरूका अनुसार, उनलाई पक्राउ गर्दा परिवारले आवश्यक औषधी लैजान गरेको अनुरोधलाई एजेन्टहरूले अस्वीकार गरेका थिए, जसका कारण समयमा औषधी नपाएर उनको मृत्यु भएको आरोप लागेको छ।