प्रकाशित मिति : चैत्र २३, २०८१ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बुधबार विश्वव्यापी रूपमा हालसम्मकै सबैभन्दा ठुलो भन्सार शुल्क लगाएका छन् । उनले सबै व्यापारिक साझेदारहरूमाथि १० प्रतिशत भन्सार शुल्क लगाउँदा दर्जनौँ अन्य देशहरूमाथि भने दोहोरो अङ्कको भन्सार शुल्क घोषणा गरे । ट्रम्पले नेपाललाई पनि १० प्रतिशत भन्सार शुल्क लगाएका छन् । अमेरिका नेपालको दोस्रो ठुलो व्यापारिक साझेदार देश हो । ट्रम्पले लगाएको भन्सार शुल्कले नेपाललाई पर्ने असर, प्रभाव, चुनौती र अवसर लगायतका विषयमा अर्थविद् डा. चन्द्रमणी अधिकारीसँग खसोखासले गरेको कुराकानी :
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै विश्वव्यापी ट्यारिफ लगाउँदै नेपाललाई पनि १० प्रतिशत ट्यारिफ लगाएका छन् । यो कस्तो प्रकारको ट्यारिफ हो ? यसले विशेष गरी अमेरिकामा निर्यात हुने प्रमुख वस्तुहरूको सन्दर्भमा नेपालको निर्यात बजारलाई कस्तो प्रभाव पार्छ ?
भर्खरै अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वव्यापी आयातमा ट्यारिफ (शुल्क) बढाएका छन्। नेपालमा पनि दस प्रतिशत (१०%) ट्यारिफ लगाइएको छ । यो ट्यारिफ विशेष गरी आयात शुल्क हो जसले विभिन्न देशबाट अमेरिका भित्रिने सामानको मूल्य बढाउँछ । यसको उद्देश्य अमेरिकी व्यापार घाटा कम गर्नु हो । नेपालको अमेरिकासँग ठुलो निर्यात छैन, केवल केही प्रमुख वस्तुको निर्यात हुन्छ । त्यसैले यो ट्यारिफले विशाल प्रभाव पार्छ भन्ने होइन । तर केही प्रत्यक्ष प्रभाव पर्छ, जस्तै निर्यात लागत बढ्नु । अप्रत्यक्ष प्रभाव पनि देखिन्छ । उदाहरणका लागि, ट्रम्पले विश्वका पन्ध्र देशसँग “डटी फिफ्टिन“ भनेर उच्च दरमा कर बढाएका छन्, जसमा चीन र भारत पनि परेका छन् । यसले विश्व अर्थतन्त्रमा असर गर्छ । अमेरिका विश्व अर्थतन्त्रको केन्द्रबिन्दु भएकाले वैदेशिक लगानी, सहयोग र पर्यटनमा प्रभाव पर्न सक्छ ।
नेपालबाट अमेरिकामा कुन–कुन वस्तु र सेवा निर्यात हुन्छन् ? यो ट्यारिफले अमेरिकी बजारमा नेपाली वस्तुको मागमा कस्तो प्रभाव पार्छ ?
पहिले नेपालबाट गार्मेन्ट (लत्ताकपडा) अमेरिका जान्थ्यो । तर, अहिले मुख्य रूपमा हस्तकलाका सामानहरू निर्यात हुन्छन्। यी विशेष गरेर साना स्केलका उत्पादनहरू हुन् जुन अमेरिकी बजारमा लोकप्रिय छन्। यो ट्यारिफले अमेरिकी बजारमा ठुलो प्रभाव पार्दैन । हाम्रो निर्यातको स्केल सानो छ र केवल १० प्रतिशत ट्यारिफ बढाइएको छ । अन्य देशको तुलनामा यो कम हो । त्यसैले केही प्रभाव पर्ला, तर त्यति ठुलो असरचाहिँ पर्दैन ।
ट्रम्पको नयाँ नीतिले नेपाली व्यवसायीहरूलाई कस्तो प्रतिस्पर्धात्मक चुनौती थप्छ ?
स्वाभाविक रूपमा विश्वमा सबैलाई प्रतिस्पर्धात्मक दबाब छ । कर बढ्दा लागत बढ्छ, मूल्य बढ्छ र बिक्री कम हुन्छ । यसको समाधान भनेको लागत घटाउनु हो । त्यसका लागि प्रविधिको प्रयोग, ठुलो परिमाणमा उत्पादन र प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्छ । यस्तो गर्न सकियो भने करको असर कम गर्न सकिन्छ ।
यसले नेपाललाई कस्ता अवसरहरू प्रदान गर्न सक्छ ?
यो ट्यारिफले अवसर पनि ल्याउन सक्छ । अरू देशलाई उच्च दरमा कर लगाइएको छ, तर नेपाललाई कम । यदि हामीले यहाँबाट वस्तु र सेवा पठाउन सक्यौँ भने फाइदा लिन सक्छौँ। तर यसका लागि रणनीतिक योजना र कार्यक्रम चाहिन्छ । यदि हामीले यो अवसर उपयोग गर्यौ भने निर्यात बजारमा लाभ लिन सकिन्छ ।

अमेरिकी बजारमा ट्यारिफका कारण प्रभाव परेपछि नेपालले आफ्ना उत्पादनहरूका लागि वैकल्पिक बजार खोज्न सक्छ ?
हाम्रो निर्यातको लगभग ६७/६८ प्रतिशत भारतसँग हुन्छ । त्यसैले वैकल्पिक बजार खोज्नु आवश्यक छ । युरोपियन युनियन र अरब देशहरूमा कर कम छ। यो ट्यारिफपछि यस्ता बजारहरू स्वाभाविक विकल्प हुन सक्छन् र खोज्नुपर्छ ।
विशेष गरी निर्यातमुखी उद्योगहरूमा रोजगारीमा कस्तो प्रभाव पर्न सक्छ ? नेपालका साना तथा मझौला उद्यमीहरू र तिनमा आश्रित श्रमिकहरूलाई कस्तो असर गर्छ ?
हाम्रो निर्यातको हिस्सा कम छ र प्रतिस्पर्धात्मक उद्योगहरू पनि सीमित छन् । व्यापारको ८०/८१ प्रतिशत भारत र चीनसँग हुन्छ । त्यसैले रोजगारीमा ठुलो प्रभाव पर्दैन । तर, साना प्रभावहरू भने देखिन सक्छन् ।
नेपालले अमेरिका–चीन लगायतका बीचको व्यापार युद्धबाट के–कस्ता अवसरहरू उपयोग गर्न सक्छ ? यदि नेपालले यो अवसरको लाभ उठाउन सकेन भने के खतराहरू देख्न सकिन्छ ?
उदाहरणका लागि, पाम आयलको निर्यात भारतमा बढ्यो किनभने केही देशले भारतमा बिक्री गरेनन्। हामीले मलेसिया, इन्डोनेसिया आदि ठाउँबाट ल्याएर प्याकेजिङ गरी बिक्री गर्यौ। यस्तै अवसरहरू यो ट्यारिफले पनि ल्याउन सक्छ । तर मूल्य अभिवृद्धिमा ठुलो लाभ लिन सकिएको छैन । यदि हामीले अवसर उपयोग गर्न सकेनौँ भने अर्थतन्त्रको अवस्था यस्तै रहन्छ । प्रतिस्पर्धी क्षमता र विकल्प नखोजे निकासी घट्छ र हिस्सा अझ कम हुन्छ ।
यो ट्यारिफ नीतिले नेपाल र अमेरिकाबीचको दीर्घकालीन व्यापार सम्बन्धमा कस्तो प्रभाव पार्न सक्छ ? नेपाल सरकारले यो ट्यारिफबाट हुने आर्थिक नोक्सानीलाई कसरी न्यूनीकरण गर्न सक्छ ?
१० प्रतिशत ट्यारिफले दीर्घकालीन व्यापारमा ठुलो असर पार्दैन । प्रविधि, श्रमको क्षमता र गुणस्तरीय कच्चा पदार्थ प्रयोग गरेर यो प्रभाव कम गर्न सकिन्छ । हामीले प्रतिस्पर्धी र उत्पादन क्षमता बढाउनुपर्छ । विश्व बजारको मागअनुसार उत्पादन गर्नुपर्छ । स्थानीय सीप र कच्चा पदार्थको उच्च प्रयोग गरी ब्रान्ड बेच्नुपर्छ । सगरमाथाको पानी, जडीबुटी वा पोखराको नामले बेच्दा मानिसहरू बढी मूल्य तिर्न तयार हुन्छन् ।
नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउन तत्काल र दीर्घकालीन रूपमा कस्ता कदमहरू चाल्नुपर्छ ? साथै, निजी क्षेत्र, उद्योगी व्यवसायीहरू र सरकारले मिलेर कुन क्षेत्रहरूमा प्राथमिकता दिनुपर्ने देखिन्छ ? यहाँको सुझाव के छ ?
विज्ञ, उद्योगी र सरकारले खनिज र कृषि क्षेत्रमा सहकार्य गर्नुपर्छ । खास गरी, कृषिमा प्रविधि, यन्त्र र दक्ष जनशक्ति प्रयोग गर्नुपर्छ । किसानको उत्पादन बिक्री हुने सुनिश्चितता र जोखिम कम गर्नुपर्छ ।
तस्बिर : दीपेन्द्र ढुंगाना