प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार
टेक्सासको ह्युस्टनमा रहेको जर्ज बुश इन्टरकन्टिनेन्टल विमानस्थलमा आइस अधिकारी । तस्वीर : रोनाल्डो स्केमिड/एएफपी-रासस
अमेरिकाका प्रमुख विमानस्थलहरूमा अहिले असामान्य भीडभाड र लामो सुरक्षा लाइन देखिएको छ। सरकारी बजेट विवादका कारण उत्पन्न आंशिक ‘शटडाउन’ले सुरक्षा व्यवस्थामा असर पार्दा यस्तो अवस्था सिर्जना भएको हो।
अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)अन्तर्गतको यातायात सुरक्षा प्रशासन (टीएसए)का हजारौं कर्मचारीहरुले तलब नपाएर काममा अनुपस्थित हुन थालेपछि विमानस्थलहरूमा कर्मचारी अभाव चुलिएको छ। करिब ५० हजार टीएसए अधिकारीहरूले तलब नपाएको बताइएको छ, जसका कारण धेरैले विकल्प खोज्न बाध्य भएका छन्।
यस अवस्थालाई नियन्त्रण गर्न अमेरिकी सरकारले इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)का सयौं अधिकारीहरूलाई देशभरका १४ विमानस्थलमा परिचालन गरेको छ। एटलान्टा र न्यूयोर्कको जेएफकेजस्ता व्यस्त विमानस्थलहरूमा समेत उनीहरू खटिएका छन्।
तर, अधिकारीहरूका अनुसार आइस कर्मचारीहरूले यात्रुहरूको सुरक्षा जाँच भने गर्ने छैनन् । उनीहरू केवल लाइन व्यवस्थापन र प्रशासनिक सहयोगमा सीमित रहनेछन्।
भर्जिनियाका एक यात्रु एन्ड्रेस क्याम्पोसले भने, “मैले यस्तो अवस्था कहिल्यै देखेको थिएन, यो त असाध्यै अचम्मको छ।”
आइतबार मात्र १२ प्रतिशतभन्दा बढी टीएसए कर्मचारी काममा उपस्थित नभएको तथ्य सार्वजनिक भएको छ, जुन शटडाउन सुरु भएयताकै उच्च दर हो।
यता, विमानस्थलमा अध्यागमन अधिकारीहरूको उपस्थितिले नयाँ बहस पनि सुरु गरेको छ। केही नागरिक अधिकार समूह र यात्रुहरूले यसले आप्रवासी समुदायमा डर सिर्जना गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
सरकारले भने यो कदम केवल अस्थायी समाधान भएको र विमानस्थलको व्यवस्थापन सहज बनाउन मात्र लिइएको स्पष्ट पारेको छ।
