प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार

विदेशी नागरिकलाई नेपालका निषेधित क्षेत्रमा पदयात्रा (ट्रेकिङ) गर्न सम्बन्धी व्यवस्थामा महत्वपूर्ण परिवर्तन गरिएको छ। अध्यागमन विभागले नयाँ निर्णय गर्दै अब एकल पदयात्रीलाई पनि अनुमति दिने तथा समूहगत पदयात्रामा सहभागी सङ्ख्या सीमित गर्ने व्यवस्था लागू गरेको जनाएको छ।
विभागका अनुसार नेपालका १३ जिल्लाका तोकिएका निषेधित क्षेत्रमा पदयात्रा गर्न विदेशी नागरिकले अनिवार्य रूपमा विभागबाट अनुमति लिनुपर्ने प्रावधान यथावत् रहेको छ। यससम्बन्धी सेवालाई अझ प्रभावकारी बनाउन अनुमति प्रणालीलाई अनलाइनमार्फत सञ्चालनमा ल्याइएको छ, जसले सेवा झन्झटरहित, छिटो र सेवाग्राहीमैत्री बनाएको विभागले जनाएको छ। प्राविधिक समस्या समाधानका लागि ९७६१४२३६३६ नम्बर समेत उपलब्ध गराइएको छ।
एकल पदयात्रालाई अनुमति
यसअघि निषेधित क्षेत्रमा एकल पदयात्राका लागि अनुमति नदिँदा विदेशी पर्यटकहरूले अनिवार्य रूपमा समूह वा साझेदार खोज्नुपर्ने बाध्यता थियो। यसले पर्यटकलाई असहज बनाउनुका साथै पर्यटन प्रवर्द्धनमा समेत असर परेको भन्दै पर्यटन क्षेत्रका सरोकारवालाहरू, विशेष गरी ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) बाट गुनासो आएको थियो।
यही अवस्थालाई मध्यनजर गर्दै विभागले २०८२ चैत ८ गतेको निर्णयअनुसार अब एक जना पदयात्रीलाई समेत अनुमति दिने व्यवस्था लागू गरेको अध्यागमन विभागका निर्देशक एवम् प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।
तर, एकल पदयात्राका लागि केही सर्तहरू तोकिएका छन् । एकल पदयात्राका लागि अनिवार्य रूपमा ट्रेकिङ एजेन्सीमार्फत आवेदन पेश गर्नुपर्ने, पदयात्रीसँग अनिवार्य रूपमा एक जना ट्रेकिङ गाइड हुनुपर्ने, आपत्कालीन अवस्थामा उद्धार (रेस्क्यु) को सम्पूर्ण जिम्मेवारी सम्बन्धित एजेन्सीले लिनुपर्ने र अन्य व्यवस्था प्रचलित कानुन बमोजिम हुने विभागले जनाएको छ ।
समूहगत पदयात्रामा नयाँ सीमा
विभागले समूहमा धेरै सङ्ख्यामा पदयात्री जाँदा सुरक्षा व्यवस्थापनमा कठिनाइ हुने र एक गाइडले सबैको गतिविधि निगरानी गर्न समस्या हुने जस्ता कारणले नयाँ सीमा निर्धारण गरिएको जनाएको छ। अब एक समूहमा १ जना ट्रेकिङ गाइड बराबर बढीमा ७ जना पदयात्री मात्र रहने व्यवस्था लागू गरिएको छ।
यसअघि पदयात्रा अनुमति लिन आवेदन दिँदा नेपालको स्वीकृत भिसा नम्बर अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था थियो। अब यसमा पनि संशोधन गरिएको छ।
नयाँ व्यवस्थाअनुसार विदेशमै बसेर आवेदन दिने पर्यटकले भिसा आवेदन नम्बरको आधारमा पनि पदयात्रा अनुमति आवेदन गर्न सक्नेछन्।
अध्यागमन विभागले नयाँ व्यवस्थाले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने, आन्तरिक रोजगारी सिर्जना हुने, पदयात्रीको व्यक्तिगत सुरक्षा सुदृढ हुने र पदयात्रा प्रक्रिया थप सहज हुने अपेक्षा गरेको छ। विभागका निर्देशक तथा प्रवक्ता ढकालले उक्त निर्णयले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।