अमेरिकी जनताले फेरि ट्रम्पलाई नै किन रोजे ?

अमेरिकी जनताले फेरि ट्रम्पलाई नै किन रोजे ?


२२ कात्तिक, काठमाडौं । ऐतिहासिक जितसहित ७८ वर्षीय डोनाल्ड ट्रम्प फेरि एकपटक अमेरिकाको राष्ट्रपति बन्दै छन् । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई हराउँदै उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

सन् २०२० मा डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग चुनाव हारेपछि उनको राजनीतिक यात्रा समाप्त भएको अनुमान गरिएको थियो । किनकी सन् २०१६ मा पहिलोपटक राष्ट्रपति बनेपछि उनको कार्यकाल आलोचनाका साथ अन्त्य भएको थियो । यहाँसम्मकी उनकै पार्टी रिपब्लिकनका नेताहरुले समेत उनको आलोचना गर्दथे ।

विभिन्न विवाद, आरोप र मुद्दाका बीच आफ्ना भनिएकाहरुले साथ छाडे पनि अमेरिकी जनताको साथ पाउँदै ट्रम्प ह्वाइटहाउसमा पुनरागमन गर्न सफल भएका छन् ।

चार वर्ष अघिसम्म ट्रम्प एक हारेको सिपाहीजस्ता देखिन्थे । सन् २०२० को चुनावमा जो बाइडनले उनलाई ठूलो मतान्तरले हराएका थिए । मत परिणाममा असन्तुष्टि जनाउँदै ट्रम्प अदालतसम्म चुनौति दिए । तर अदालतले त्यसलाई खारेज गरिदियो ।

निर्वाचनको नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेका बेला उनले आफ्ना समर्थकलाई सडकमा उतारे । समर्थकको भिड अनियन्त्रित भएर हिंसात्मक रुप लियो । ट्रम्पका समर्थकले अमेरिकी संसद भवनभित्रै घुसेर तोडफोड गरे । संसद भवनभित्र गोली चल्यो, भागदौड मच्चियो, दर्जनौं सुरक्षाकर्मीहरु समेत घाइते भए ।

ट्रम्पले संसद भवनमा आक्रमण गरेको भन्दै उनी निकट प्रशासकहरुले पनि साथ छोडे । शिक्षामन्त्री बेट्सी डेभोस, परिवहन मन्त्री इलेन चाओ लगायतले पनि राजीनामा दिए । साउथ क्यारोलाइनबाट रिपब्लिकन पार्टीका सिनेटर र ट्रम्पको नजिकका साथी लिन्ड्से ग्राहमले पनि ट्रम्पको साथ छोडे ।

अमेरिकी सिनेटमा लिन्ड्से ग्राहमले ट्रम्पलाई भनेका थिए, ‘अब त अति भयो । म यति मात्र भन्न सक्छु कि आफ्नो समर्थकहरुको सूचीबाट मलाई हटाइदिनुस् ।’

ट्रम्पको साथ छोड्ने लहर अमेरिकाका प्रतिष्ठित उद्योग जगतमा समेत फैलियो । अमेरिकन एक्सप्रेस, माइक्रोसफ्ट, नाइकी, वालग्रिन्स जस्ता दर्जनौं ठूला कम्पनीहरुले रिपब्लिकन पार्टीलाई दिँदै आएको सहयोग रोके ।

जताततैबाट एक्लिएको जस्तो देखिएका ट्रम्पले जो बाइडनको शपथ ग्रहण समारोह बहिस्कार समेत गरे । नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सहभागी नभएर ट्रम्पले अमेरिकाको राजनीतिक इतिहासको १५२ वर्ष पुरानो परम्परा तोडे । बाइडेनको शपथ ग्रहणको दिन बिहानै उनी परिवारका सदस्यसहित फ्लोरिडास्थित निजी निवासतर्फ प्रस्थान गरे ।

ह्वाइटहाउस छोड्ने बेलामा उनीसँग परिवारका सदस्य र सीमित सहयोगीहरु मात्र थिए ।

ट्रम्पको जीवनबारेको किताब (ट्रम्प इन एग्जाइल) लेखेकी मेरेडिथ म्याकग्रोका अनुसार ह्वाइटहाउस छोड्ने बेला उनमा चिडचिडाहटपन थियो र उनीसँग आफ्नो राजनीतिक भविष्यको कुनै योजना थिएन ।

त्यतिबेला अमेरिकी मिडियाहरुमा श्रृंखलाबद्ध रुपमा आइरहने विषयवस्तुमा पनि ट्रम्पको अनिश्चितताको झलक देखिन्थ्यो । कतिपयले त ट्रम्पका लागि अमेरिकाको राजनीतिमा फर्किने ढोका बन्द भएकोसमेत लेख्न भ्याए ।

विश्वप्रतिष्ठित पत्रिका न्यूयोर्क टाइम्सले जनवरी २०२१ मा ‘राष्ट्रपति डोनाल्ड जे ट्रम्प : द इण्ड’ शीर्षकमा लेख छापेको थियो । सो लेखमा एक वाक्य थियो, ‘एक भयानक प्रयोग अब समाप्त भएको छ ।’

तर ट्रम्पले ह्वाइट हाउस छोडेर फ्लोरिडा प्रस्थान गर्ने बेलामा पुनः राष्ट्रपति पदमा फर्किने संकेत भने दिएका थिए । ह्वाइटहाउस छोड्ने बेलामा उनले भनेका थिए, ‘म कुनैकुनै रुपमा फेरि फर्किने छु ।’ नभन्दै राजनीतिक दबदबा देखाउनका लागि ट्रम्पले लामो समय कुर्नु परेन । रिपब्लिकन पार्टी आफैं ट्रम्पतिर फर्किएर आयो ।

क्यालिफोर्नियाका सांसद र अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकन पार्टीका नेता केभिन म्याक्कार्थी पूर्वराष्ट्रपति ट्रम्पलाई भेट्न आए र ट्रम्पसँग उभिएर फोटो खिचाए ।

म्याक्कार्थी तिनै व्यक्ति थिए जसले ट्रम्पका समर्थकहरुले संसद भवनमा आक्रमण गर्दा ‘हिंसाको जिम्मेदार ट्रम्प हुन्’ भनेर अभिव्यक्ति दिएका थिए । त्यति मात्र होइन, उनले ट्रम्पविरुद्ध संसदबाट निन्दाको प्रस्ताव पास गर्नुपर्ने प्रस्ताव समेत राखेका थिए ।

तर डेमोक्रेटिक सांसदहरुको बहुमत भएको अमेरिकी सिनेटले ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव लैजाने तयारी गरिरहेका बेला रिपब्लिकन पार्टीका प्रभावशाली नेता म्याक्कार्थीको भेट अर्थपूर्ण थियो ।

ट्रम्पको बारेमा पुस्तक लेखेकी मेरेडिथ म्याकग्रो भन्छिन्, ‘म्याक्कार्थीको उक्त भेटले वास्तवमा ट्रम्पको राजनीतिक पुनरागमनको ढोका खोलेको थियो ।’

ट्रम्पविरुद्ध सिनेटबाट महाअभियोग प्रस्ताव पास भएन किनभने रिपब्लिकन पार्टीका धेरैजसो सांसदहरुले ट्रम्पलाई दोषी ठहर्याउने प्रस्तावको विपक्षमा भोट हाले । महाभियोग प्रस्तावको विपक्षमा भोट हाल्नेहरुमा ट्रम्पको खुलेर आलोचना गर्नेहरुमध्येका मिच म्याक्कोनेल पनि थिए । यदि महाअभियोग प्रस्ताव संसदबाट पास भएको भए ट्रम्प राष्ट्रपतिको चुनाव लड्नै पाउने थिएनन् ।

ह्वाइटहाउस छोडेपछि उनले धेरैजसो समय आफ्नो निजी क्लब मार–ए–लागोमा आराम गरेर बिताए । उनी कहिले गल्फ खेल्ने, कहिले कतै डिनर गर्न जाने गर्दथे । पछि आलोचना मत्थर हुँदै गएपछि ट्रम्प सार्वजनिक कार्यक्रमहरुमा देखिन थाले ।

अमेरिकी जनताले फेरि ट्रम्पलाई नै किन रोजे ?

पहिलो सार्वजनिक कार्यक्रमको रुपमा उनी फ्लोरिडाको ओरल्याण्डमा दक्षिणपन्थी संगठन कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्समा सहभागी भए । यो कन्फ्रेन्स प्राय वाशिङ्टन डिसीमा हुने गरे पनि कोभिड सम्बन्धी पाबन्दीका कारण ओरल्याण्डमा आयोजना भएको थियो । सो सम्मेलन ट्रम्पका लागि समर्थकहरु बटुल्ने अवसर बन्यो । सो सम्मेलनमा ट्रम्पले भनेका थिए, ‘हामी सँगसँगै जुन शानदार यात्रा गरेका छौं, त्यो यात्रा अझै समाप्त भएको छैन ।’

उनले सन् २०२४ को चुनावमा डेमोक्रेटिक पार्टीलाई पराजित गर्ने उदघोषसमेत गरे । सम्मेलनमा सहभागीहरुबीच गरिएको सर्वेक्षणमा ट्रम्पको अभिव्यक्तिमा समर्थन पनि प्राप्त भयो । सर्वेमा सहभागीहरुमध्ये ६८ प्रतिशत ट्रम्प पुनः राष्ट्रपति पदको चुनाव लड्नुपर्ने पक्षमा देखिए ।

साथै रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदको उम्मेदवार को बन्दा ठिक होला भनेर सर्वेक्षण गराउँदा पनि ५५ प्रतिशतले ट्रम्प नै उम्मेदवार बन्नुपर्ने भनेर मत दिए । दोस्रो स्थानमा रहेका रिपब्लिकन पार्टीका अर्का नेता एवम् फ्लोरिडाका गभर्नर रोन डेसान्टिसले ट्रम्पको भन्दा आधा कम मत पाए ।

ट्रम्पको पक्षमा माहोल बन्ने सम्भावना देखेपछि रिपब्लिकन पार्टीमा उत्साह छायो । ट्रम्पले राष्ट्रपति निर्वाचन लड्ने तयारी सुरु गरे । त्यसका लागि रकम जुटाउन सुरु गरे । समर्थकहरुलाई इमेल पठाएर रकम जम्मा गर्न आह्वान गरे । साथै उनले र्‍याली पनि सुरु गर्न थाले ।

त्यतिबेला अमेरिकी सेनाले अफगानिस्तान छोडिसकेको थियो । अफगानिस्तानको अमेरिका समर्थित सरकारको पतन भइसकेको थियो । महँगी उच्च थियो । अमेरिकाको आर्थिक वृद्धि पनि घटेको थियो । यसको अर्थ जो बाइडन नेतृत्वको सरकारको लोकप्रियता घटिरहेको थियो । र, सन् २०२१ सम्म ट्रम्प विरुद्ध देखिएको माहोल अब ट्रम्पको समर्थनमा जुट्दै थियो । बाइडनले अमेरिकी जनताको अपेक्षा पूरा गर्न नसक्दाको फाइदा ट्रम्पलाई मिल्ने संकेत देखियो । छोटो समयमै नपत्याउँदो किसिमले ट्रम्पको पक्षमा माहोल फर्कियो ।

चुनावी अभियानका लागि करिब २० करोड डलर रकम जुटाउन पनि ट्रम्प सफल भए । सन् २०२३ मा रिपब्लिकन पार्टीभित्र राष्ट्रपतिको उम्मेदवारका लागि हुने आन्तरिक चुनावमा ट्रम्प नै भारी मतका साथ अघि देखिए । अन्ततः पार्टीले पनि उनैलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गर्‍यो ।

अदालतमा जे भयो, त्यो ट्रम्पका लागि वरदान साबित भयो । सन् २०२४ को मे महिनामा म्यानहटनको एक अदालतले ट्रम्पलाई ३४ वटा मुद्दामा दोषी ठहर गरेको थियो । त्यसमा पोर्नस्टार स्टोर्मी डेनियललाई अनधिकृत रुपमा रकम दिएको लगायतका मुद्दा थिए । तर ती मुद्दामा चुनाव पछि मात्र सजाय सुनाउने लगायतका निर्णय भयो । सरकारी दस्ताबेज लुकाएको सम्बन्धी आरोप त सर्वोच्च अदालतबाट खारेज नै भयो ।

राष्ट्रपति निर्वाचनमा रिपब्लिकबाट ट्रम्प र डेमोक्रेटिकबाट जो बाइडन नै हुने भए । तर जुन महिनामा ट्रम्पसँग भएको चुनावी बहसको क्रममा बाइडनको प्रस्तुती फितलो देखियो । त्यसबाट डेमोक्रेटिक पार्टीमा चुनावको नतिजा आफ्नो पक्षमा आउँदैन कि भन्ने डर फैलियो । ट्रम्पको रेटिङ लगातार बढिरहेको र बाइडेनको घटिरहेको थियो । अन्ततः बाइडेन चुनावबाट पछि हटे र डेमोक्रेटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गर्यो । यो निर्णयले डेमोक्रेटिक पार्टीका समर्थकमा उत्साह केही हदसम्म बढायो । सेप्टेम्बर महिनामा कमला ह्यारिससँगको चुनावी बहसमा ट्रम्प फितलो देखिए ।

अमेरिकी जनताले फेरि ट्रम्पलाई नै किन रोजे ?

चुनावी अभियानको क्रममा पेन्सेल्भेनियाको चुनावी र्‍यालीमा ट्रम्पमाथि एक व्यक्तिले गोली चलाए । गोली उनको कानमा लाग्यो । यो घटनापछि रिपब्लिकन पार्टी अझै एकजुट भयो । मिडियाहरुमा उनकै चर्चा हुन थाल्यो ।

टेस्लाका प्रमुख एवम् विश्वको सबैभन्दा धनी व्यक्ति एलन मस्कले समेत सार्वजनिक रुपमा ट्रम्पलाई समर्थन गरे । मस्कले पनि ट्रम्पको समर्थनमा फण्ड जुटाउन व्यापक अभियान चलाए । चुनावी माहोललाई हेर्दा अमेरिकाको सत्तामा पुनः ट्रम्प पुग्ने लगभग निश्चित देखियो ।

अन्ततः धेरैथरिका आकलन र रस्साकस्सीका बीच अमेरिकाको ४७ औं राष्ट्रपतिमा ट्रम्प निर्वाचित भए । चुनावमा रिपब्लिकन उम्मेदवार ट्रम्पले २९४ इलेक्टोरल भोट पाउँदा कमला ह्यारिसले २२३ मात्र पाइन् ।

राजनीतिमा ट्रम्पको पुनरागमन रिपब्लिकनका लागि एक ठूलो उपलब्धि मानिएको छ । किनकी रिपब्लिकनले राष्ट्रपतिको चुनाव मात्र जितेको छैन, तल्लो र माथिल्लो दुवै सदनमा समेत बहुमत हासिल गरेको छ । यसबाट ट्रम्पलाई आफ्ना योजना तथा कार्यक्रम कार्यान्वयन गर्न र आफूविरुद्धका कानुनी बाधालाई सदाका लागि अन्त्य गर्ने बाटो खुलेको छ ।

ट्रम्प सुरुदेखि नै आप्रवासीविरुद्ध भएकाले यस कार्यकालमा उनी अझै कडा रुपमा प्रस्तुत हुनसक्ने अनुमान छ । बीबीसीले लेखेको छ, ‘ट्रम्पले आप्रवासीमाथि नयाँ पाबन्दी लगाउन सक्छन् र अवैध आप्रवासीलाई देश निकाला गर्न सक्छन् ।’

‘ग्रेट अमेरिका’ नारासहित चुनाव जितेका उनले विदेशबाट आयात हुने सामग्रीमा ट्याक्स बढाउने र अमेरिकी नागरिकको रोजगारीको सुरक्षामा पनि थप अघि बढ्ने छन् । रिपब्लिकन पार्टीमा उनी अझ शक्तिशाली बनेकाले आफ्ना एजेण्डा प्रभावकारी ढंगले लागु गर्न सक्छन् ।

तर उनका आलोचकहरु भने ट्रम्पको कार्यकाल बेलगाम हुने अनुमान गर्दछन् । यसबाट अमेरिकालाई खतरा हुन सक्ने अनुमान उनीहरुको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School