अमेरिकी चुनाव : षड्यन्त्रको खेल 

अमेरिकी चुनाव : षड्यन्त्रको खेल 


 ‘अश्वेत’, ‘महिला’ले चुनाव जित्छिन् कि हार्छिन् ? छिनोफानो गर्नुपर्ने यसपल्टको अमेरिकी राष्ट्रपतीय चुनाव साँच्चै सबैभन्दा पुरानो डेमोक्रेसीको ‘लिटमस टेस्ट’ हो।

कतिपयले तर्क गर्छन्: अमेरिकी समाज खासमा कन्जर्भेटिभ- रुढीवादी र पुरातन विचार बोक्नेहरूबाट निर्देशित छ। यस्तो रुढीवादी विचार यो देश स्थापनाको आदिकालदेखि नै पश्चिम यूरोपबाट बसाइँ सरेर आउनेहरूले बोकी ल्याएका थिए र त्यसैको निरन्तरता अहिले पनि कायम छ, जसले महिलालाई कार्यकारी प्रमुख र कमाण्डर इन चिफको भूमिकामा देख्न चाहँदैन। त्यही विचार बोक्नेहरूले हिलारी क्लिन्टनलाई हराएका थिए। कमला ह्यारिसको पनि भविष्य त्यही हुनेछ ! र, अर्को कित्तामा रहनेहरूको मत छ- ट्रम्प दोस्रो पटक राष्ट्रपति भएमा अमेरिकी डेमोक्रेसीको भविष्य नै संकटमा पर्नेछ !

कुन उम्मेदवारले आफ्नो विचार वा आफूलाई प्रतिनिधित्व गर्न सक्छ भन्नेमा चुनावका बेला समाज विभाजित हुनु अपेक्षित हो। तर यतिखेर चैं यो विभाजन अलि गहिरो छ। तथ्यहरू क्षणभरमै फिका बन्छन्। हल्ला र अफवाह दिगो र प्रभावशाली। शक्तिमा पुग्न नेतृत्वमा रहनेले रच्ने धोकाधडी र षड्यन्त्रमा आम मानिसहरू चैं दायाँ (राइट) या बायाँ (लेफ्ट) ढलो मात्रै छैनन्, कि त सुदूर दायाँ छन्, कि दूर बायाँ पुगिसकेको सजिलै देखिन्छ।

 किन भयो यस्तो?

कारण हजार देखाउन सकिएला। एउटा कुरा के चैं पक्का हो भने मिसइन्फर्मेसन – गलत सूचना – सामाजिक सञ्जालहरूमा यसरी फैलिएको छ कि बारम्बार उही जानकारी देखिरहेपछि कुन सही कुन गलत भन्ने गौण बन्दोरहेछ। जे देखिरहेको हो त्यही सही हो भन्ने लाग्न थाल्दोरहेछ, र मानिसहरू त्यही अनुसार धारणा बनाउन थाल्दारै’छन्।

यस्तो गलत सूचना फैलाउन सोसल मिडियाले टर्बो चार्ज नै गरेको देखिन्छ। कतिसम्म भने केही हप्ताअघि फ्लोरिडामा आएको ‘हुरिकेन’ आँधी पनि डेमोक्र्याट सरकारले ल्याएको ‍विपत्ति भन्न सक्ने नेता पनि देखिए।

यो ‘कन्स्पिरेसी’ – साजिसमा दायाँ र बायाँ, दुवै पक्ष पूरापूर सामेल छन्। एउटै घटनालाई दुवै पक्षले आ-आफ्नै सुविधा अनुसार व्याख्या गरेका छन्। जस्तो, रिपब्लिकन उम्मेदवार पूर्व राष्ट्रपति, डोनाल्ड ट्रम्पमाथि दुई पटक हत्या प्रयास भयो। पहिलो, जुलाई १३ मा पेन्सलभेनिया राज्यको बट्लरमा। अर्को, सेप्टेम्बर १६ का दिन फ्लोरिडाको गल्फ मैदानमा। यी दुवै घटनाहरूलाई लिएर कतिपय अमेरिकीहरू बीच अनौठो सूचना सञ्चार भयो।

ट्रम्पको हत्या प्रयासको घटना उही हो, जे थियो त्यही नै देखेको हो डेमोक्र्याट वा रिपब्लिकन समर्थक दुवैले। अझ पेन्सलभेनियाको बट्लरमा भएको घटना त टिभीमा लाइभ देखिएको थियो। तर त्यसलाई लिएर भएका सामाजिक सञ्जालका गतिविधि उदेकलाग्दो छ।

कतिपय रिपब्लिकन समर्थकहरू यो घटना ‘राष्ट्रपति बाइडेनको आदेशमा भएको’ ठान्छन्। जर्जिया राज्यका कंग्रेसम्यान माइक कोलिन्सले यस्तै आशयको ट्विट गरे। त्यसपछि त रिपब्लिकनहरू माझ यस्तो कन्स्पिरेसी झनै हुरी झैं जोडतोडले फैलियो।

सन् २०२० को राष्ट्रपतीय चुनाव जालसाजी गरेर बाइडेनले जितेको भनी विश्वास गर्ने कन्जर्भेटिभ रिपब्लिकनहरूको बुझाइलाई अझ मलजल गर्‍यो त्यो ट्वीटले। यो पल्टको चुनाव पनि त्यसैगरी चोर्न ‘कमाण्डर इन चिफ’ नै लागेको उनीहरूको आधारहीन बुझाइ फेरि पनि मौलायो।

डेमोक्र्याट पार्टीमा पनि उस्तै देखियो त्यो घटनालाई लिएर फैलिएको अफवाह: ट्रम्पको हत्याप्रयास कसैले ‘मञ्चन’ गरेको घटना हो जसले ट्रम्पलाई चुनाव जित्न सघाउने छ; सुरक्षा निकायहरूलाई यो पहिल्यै जानकारी भइसकेको हुनुपर्छ; नत्र मिलिइन्चको फरक परेर कानको टुप्पो मात्रै प्वाल पारेर जाने गरी पनि गोली चल्छ ?

अब गाह्रो छ सत्य के हो र असत्य के हो छुट्याउन; सत् र असत् बीचको साँध पहिल्याउन। वास्तविक संसार कति हो, भर्चुअल संसार कहाँबाट सुरु हुन्छ भन्ने भेद साँघुरो भएको छ।

आफू जस्तै विचार बोक्नेहरू मात्रैको भर्चुअल चिया चौतारो बनाउन मिल्ने भएपछि सामाजिक सञ्जालमा त्यस्तै समूहहरूको झुण्ड बन्न थाल्छ। जुन ‘रियल वर्ल्ड’मा सम्भव नहुन सक्छ। र त्यो समूहलाई मनपर्ने सामग्री मात्रै साटासाट हुन थाल्छ। त्यस्तो संसार सजिलोसित उक्लिन लिस्नुको काम गर्ने अल्गोरिदम छँदैछ। अनि त चाहियो के? आफूलाई मन नपर्नेलाई देख्न पनि परेन! सुन्न पनि परेन! जे मन पर्छ त्यसकै मात्र मलजल हुने भो!

फरक विचार झेल्नै परेन भने मान्छे विस्तारै असहिष्णु बन्छ आफूभन्दा भिन्न धारणा राख्नेहरूसित। मैमात्र सत्य भन्ने अहम् झांगिंदै जान्छ। सायद यही चरणमा छ यतिखेर यो समाजका कतिपय झुण्डहरू।

सामाजिक सञ्जाल कति गुनिलो छ, त्यो अर्कै प्रसंगमा चर्चा गरौंला। त्यसका केही बैगुन, जुन चुनावी मेसोमा देखिएको छ, त्यसलाई मात्र समेटें यो लेखमा। यो मानेमा पनि यो चुनाव अर्थपूर्ण छ कि सीमाहीन बेलगाम फैलिएको सामाजिक सञ्जालको हुरीले कसको पल्ला भारी बनाइदेला यसपल्टको चुनावी दौड?

‘रिल’ र ‘भर्चुअल’ दुनियाँभन्दा बाहिर, म्यासाचुसेट्स र न्यूह्यम्सर राज्यको सीमातिरको ‘रियल’ गाउँमा थिएँ म केही हप्ता अघि। फाट्टफुट्ट पातला घरहरू थिए। चुनावी प्लेकार्डहरू घर अगाडि ठडिएको थियो। जब सानो बजार जस्तो ‘टाउन’ आउँथ्यो, ह्यारिसको कार्ड देखिन्थ्यो। साना ‘टाउन’हरू सकिएर जब पातला घरहरू आइपुग्थे ट्रम्पको कार्ड ठडिएको देखिन्थ्यो।

यसले मलाई सन् २०१६ को चुनावका बेला पेन्सलभेनियाको गाउँतिर जाँदा जताततै देखेको ट्रम्प प्लेकार्डको झल्को दियो। यस अर्थमा कि त्यसबेला मिडिया र सर्वेक्षणहरूमा चुनावको जित हिलारीको पक्का थियो। र खास चुनाव ट्रम्पले जितेका थिए, पेन्सल्भेनिया सहित।

‘रियल’ चित्र कति आयो मिडिया र सर्वेक्षणमा भन्ने एउटा विषय बहसमा छायो ट्रम्पको जितपछि त्यो बेला; अर्को, ‘भर्चुअल’ र ‘मिसइन्फर्मेसनको’ बाढी कति भन्ने!

अमेरिकी पूर्वी तटीय राज्यहरू स्वभावैले ‘लिवरल’ छन्, र धेरै डेमोक्र्याट समर्थक। पूर्वाधारहरूको संरचना यसरी बनेको छ- शहर र त्यसको वरिपरि बाक्लो बसोबास छ, शहरबाट जति टाढा गयो, बस्ती त्यति पातलो। बसोबास त्यति छरिएको।

अध्ययनहरूले देखाएका छन्, जो शहरमा वा शहर नजिक बस्छन् ती अधिक डेमोक्र्याट छन्। र जो शहरबाट टाढा पातलो बस्तीमा बस्छन्, तिनीहरूलाई अरूको सेवासुविधा ख्याल गर्ने खालको व्यवस्था त्यति मन पर्दैन। ती पुरातन ‘कन्जर्भेटिभ’ छन्, र धेरै रिपब्लिकन समर्थक।

पूर्वी तटीय राज्यहरूले अमेरिकी चुनावको गणितलाई खासै असर गर्दैन। तर यस्तो बसोबासको संरचना र उनीहरूको अमूक राजनीतिक दलसँगको संलग्नताको मोडल, चुनावी नतिजालाई नै प्रभावित पार्न सक्ने ‘ब्याटल ग्राउण्ड स्टेट’ भनेर चिनिने छ सातबाट राज्यहरूमा पनि लागू हुन्छ। र ती राज्यहरूमा सामाजिक सञ्जालमा कस्तो (मिस) इन्फर्मेसन मतदाताको हात–हातमा पुगेको छ भन्ने साँच्चै महत्वपूर्ण छ। त्यही सूचनाका आधारमा मतदानको निर्णय गर्ने केही हजारको संख्याले पूरा देशको चुनावी समीकरण कायापलट गरिदिन सक्छ।

पहिलो गोलीकाण्ड चल्दा बाइडेन नै थिए चुनावी मैदानमा। हप्तैपिच्छे जस्तो आइरहने सर्वेक्षणहरूमा ट्रम्पलाई पछ्याउँदै थिए। जुलाई महिनाको अन्तिम साता कमला ह्यारिसलाई अघि सारे र आफू मैदानबाट बाहिरिए। सर्वेक्षणहरूको समीकरण फेरियो, अब ह्यारिसलाई पछ्याउन थाले ट्रम्प।

अहिले, अक्टोबरको दोस्रो साता यो लेख लेख्दासम्म, ह्यारिस र ट्रम्प तिनै ‘ब्याटल ग्राउण्ड’ राज्यहरूमा चुनावी प्रचारमा केन्द्रित छन्। अनि दुवै जना सँगसँगै जस्तो देखिएका छन् सर्वेक्षणहरूको ग्राफमा पनि। खासगरी ‘ब्याटल ग्राउण्ड स्टेट’, जुन राज्यको नजिताले चुनावी परिणाम निर्धारण गरिदिन सक्छ, दुवै उम्मेदवारहरूको ट्याली उस्तै उस्तै छ, हात्ती छाप चप्पल र हात्ती भने जस्तै।

मैदान छिर्दा बित्तिकैको ‘मोमेन्टम’ मत्थर भएको छ कमला ह्यारिसको। टिप्पणी त यस्तो पनि छ कि ह्यारिस आतिशबाजी जस्तै छिन्, एकैछिन झलमल्ल उज्यालो देखिन्छिन्। त्यसपछि निभेर झरिहाल्छिन्। सन् २०१९ को राष्ट्रपतीय प्राइमरी चुनावमा उनको उम्मेद्वारीले त्यस्तै झल्को दिन्छ: सुरुका एक दुई टेलिभिजन बहसमा ‘हो केरे’ जस्तो देखिएकी ह्यारिस पाँचौं बहससम्म पुग्दा पत्तासाफ भैसकेकी थिइन्। बरु आईटी व्यापारबाट आएका एण्ड्र्यु योङ त्यो प्राइमरीमा पछिसम्म टिकेका थिए।

ट्रम्पको पनि ‘मोमेन्टम’ ग्राफ बढेको छैन, भिरालोबाट तलतिर लागे जस्तो ओरालो पनि झरेको छैन। यस्तो लाग्छ दुई दुईवटा गोली काण्ड मानिसहरूले बिर्सिसके। कुनै फाइदा दिए जस्तो छैन ती घटनाहरूले ट्रम्पलाई। भन्नेहरू त भन्छन्: सर्वेक्षण ग्राफमा ट्रम्प जहिले कमजोर देखिन्छन्। अन्तिम नतिजामा अब्बल।

सायद सन् २०१६ को चुनावी जितको झल्को सम्झिएका हुन सक्छन् यसो भन्नेहरूले। ट्रम्प समर्थक ‘लजालु’ भोटर्स यसपल्ट पनि त्यो बेलाकै जस्तो छन् भन्नेमा शंका छ। जो सर्वेक्षणका बेला कम बोले, तर भोट हाल्ने दिन उर्लेर आए भन्ने विश्लेषण गरिन्छ। उनका समर्थकहरूको शंका ‘ट्रम्पबाट डेमोक्रेसीलाई खतरा छ’ भन्नेमा भन्दा नि दोहोरिएको उही पुरानो अनुहार, उही ‘मागा’ क्याप, उही रातो टाई र सेतो सर्टलाई कति भोट हाल्ने भन्नेमा देखिन्छ। खासमा दुवै उम्मेदवारले ‘मोमेन्टम’ गुमाएका छन्। र टेलिभिजनमा एक अर्को विरुद्ध ‘नेगेटिभ’ विज्ञापनको बाढी बग्दा कन्स्पिरेसी – षडयन्त्र – को भेलै बगेको छ।

डढेलो जस्तो फैलिएको पानीढलो सूचनाले बनाएको मत बोक्नेहरू कति असहिष्णु भएका होलान्? डर छ। अघिल्लो चुनावमा हार स्वीकार्न नसकेका ट्रम्पले यसपल्ट पनि हारे भने के होला? जसरी पनि चुनाव जित्न जर्जिया राज्यका निर्वाचन अधिकारीहरूलाई ११ हजार जति भोट खोज्न ‘आदेश’ दिनेले साँच्चै हारे भने के मात्रै बाँकी राख्लान्? यस्तो स्थितिको कल्पना पनि गर्न नसक्ने एउटा ठूलो जमात छ।

भोट खोज्न आदेश दिने काम कानून विपरीत थियो। नभएको भोट आदेशले फेला पर्ने स्थिति थिएन। परिणाम – ६ जनवरी २०२० मा क्यापिटल हिल कब्जा गर्ने दुस्प्रयासमा टुङ्गियो। अमेरिकी डेमोक्रेसीको कालो दाग हो त्यो।

एकोहोरो प्रवाहित सूचनाले कट्टर बनेकाहरूलाई चुनाव हारको आवेगमा यो पल्ट पनि त्यस्तै भोट ‘खोज्न’ अह्राए भने के होला? अमेरिकी डेमोक्रेसीको लिट्मस टेस्ट त्यही हुनेछ। हार भएको खण्डमा, ‘ल भाइ हो चुनाव जितिएन। हामीले प्रयास गर्‍यौं, अर्को एउटा पाठ सिकियो। अब म रिटायर्ड भएँ, गल्फ खेल्न हिंडें’ भन्न सक्लान् त ट्रम्पले? सायद असम्भव कल्पना हो यो।

अनि, ह्यारिसले हारिन् भने? प्यु रिसर्चको पछिल्लो सर्वेक्षणले देखाएको छ – ट्रम्प समर्थक भन्दा आधा बढी ह्यारिस समर्थकहरू चुनावी हार स्वीकार्ने पक्षमा छन्। तर त्यसबेला डेमोक्र्याट पार्टी मिसन भने पूरा ‘रिभ्याम्प’ हुनेछ; दूर बायाँबाट सायद केन्द्रतिर सर्नेछ पार्टी नीति। यस्तै बेला हुनेछ परीक्षा पार्टी नीतिको र यो समाजले बनाउन चाहेको प्रणालीको!



Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School