मतपत्रको सिरानमा कमला ह्यारिस र डोनाल्ड ट्रम्पको नाम छ। खास चुनावमा भिडे जस्तो चैं खर्बपति एलन मस्क देखिन्छन्। मस्कलाई यतिसम्म चुनाव लागेको छ कि ट्रम्पलाई जिताउन नाम टिपाउनेहरूमध्ये चुनावको दिनसम्म हरेक दिन १ मिलियन डलर चिट्ठा बाँड्न थालिसके। र, ट्रम्पको चुनावी अभियानलाई अहिलेसम्म ७५ मिलियन डलर चन्दा दिइसके।
यो धरतीको सबभन्दा धनी मान्छेका लागि सय मिलियन डलर बाँडी हिंड्नु कुनै अचम्म हैन ! अचम्म के चैं हो भने संसारलाई आदर्श र नैतिकताको पाठ पढाउन चाहने अमेरिकी समाज र मिडिया केही भन्नै सक्दैन चुनावको मुखमा मकै छरे जस्तो पैसा छर्नु सही हो या गलत भनेर।
धनीमानी, व्यापारी र इलिटहरू चुनावमा संलग्न हुन नौलो होइन। तर जब एलन मस्क आफैं उम्मेदवार जस्तो सभामा भन्न थाल्छन्, ‘कमला ह्यारिसले जितिन् भने कम्युनिष्ट अमेरिका बन्छ, ट्रम्पले मात्रै अब अमेरिकालाई बचाउन सक्छन्’; तब चुनाव चाखलाग्दो बन्छ। राजनीति रुचिकर हुन्छ।
धेरै अमेरिकीहरूलाई ‘कम्युनिष्ट’ शब्दसँगै अरुचि छ। व्यवस्था त परैको कुरा। शीतयुद्धकालीन कम्युनिष्ट सोभियतसँगको द्वन्द्वको धङधङी ताजा छ भनेर बुझ्नुपर्छ सायद। यसमा अमेरिकी सामर्थ्य मत्थर पार्ने गरी बढेको चिनियाँ प्रभावले कति काम गरेको छ, त्यसको पनि लेखाजोखा केही वर्षपछि होला!
मस्कले भने जस्तो डेमोक्र्याट पार्टीले चुनाव जित्यो भने ‘संयुक्त राज्य अमेरिका’ कसरी ‘कम्युनिष्ट अमेरिका’ बन्छ ?
विश्व मामलामा अमेरिकी प्रभाव जसरी परिवर्तन हुँदैछ, अमेरिकाभित्रै पनि जनसांख्यिक चाल र चापमा व्यापक फेरबदल आइरहेको छ। केही दशकअघि घना आवास भएका राज्यहरूमा अहिले जनसंख्याको चाप घट्दो छ भने पातलो आवाद भएका राज्यहरूमा अहिले बसाइँसराइको चाप बाक्लो छ। ‘सन बेल्ट’ भनिने क्यारोलाइना मुनिका न्यानो घाम लाग्ने घमाइलो राज्यहरूमा बसाइँसराइ बढ्दो छ आजभोलि।
जब जनसंख्या बढ्छ, ती राज्यहरूले कंग्रेस, र राष्ट्रपति छान्ने इलेक्ट्रोरल कलेजमा ठूलो हिस्सा स्वभावैले पाउँछन्। उनीहरूको बोली सुनिन्छ सिनेटमा र कंग्रेसमा।
बसाइँसराइको बदलावले चुनावी समीकरणमा राज्यहरूको चित्र पनि फेरिंदै जाँदोरहेछ। सन् ७० र ८० तिरको चुनावी नक्सा आजको भन्दा पूरै भिन्न रंगको थियो। अहिलेलाई क्यालिफोर्निया राज्य रिपब्लिकन (रातो) हुनसक्ने कल्पना पनि गरिंदैन। जिम्मी कार्टर टेक्सस जितेसँगै राष्ट्रपति भएका थिए। अहिले टेक्सस डेमोक्र्याट (नीलो) हुन सक्छ भनेर सोचिन्न। केही चुनावी सइकल अघिसम्म पनि वेष्ट भर्जिनिया नीलो राज्य थियो। अहिले रातो। भर्जिनिया सहज रातोबाट नीलोतिर ढल्केको छ। जर्जिया रातोबाट स्विङ स्टेट।
थोरै मतदाता, संभवत: केही सयदेखि केही हजारको संख्याले चुनावी नतिजामा बदलाव ल्याउन सक्ने ‘स्विङ स्टेट’हरू अहिले जर्जियासँगै अरु ६-७ वटा छन्। ह्वाइट हाउसको दौडमा दुवै उम्मेदवारलाई यी राज्यहरू विशेष महत्वको बन्न पुगेको छ।
देशभित्रको आन्तरिक बसाइँसराइका अनगिन्ती कारणहरू हुन्छन्। त्यसमा थपिएको छ कानुनी र गैरकानूनी तरिकाले दैनिक भित्रिएका हजारौं आप्रवासी।
आप्रवासन सम्बन्धी मुद्दा दुवै दलका लागि पेचिलो छ। सुन्दा दुवैले ‘कानूनसम्मत आप्रवासन’को वकालत गर्छन्। पेटबोलीमा त्यसको अर्थ फरक लाग्छ। डेमोक्र्याटको ‘कानूनसम्मत आप्रवासन’को माने आउने जति सबैलाई छिर्न दिने जस्तो देखिन्छ; रिपब्लिकनको ‘कानूनसम्मत आप्रवासन’को अर्थ चैं मान्छेको रंग र कुन ठाउँबाट आएको हेरी–हेरी छिर्न दिने जस्तो लाग्छ।
मस्कको ‘कम्युनिष्ट’ तर्क यहाँनिर पेचिलो बन्छ। उनको भनाइ छ- यसरी आएका र आउने नयाँ आप्रवासीहरूलाई, डेमोक्र्याटले चुनाव जितेको खण्डमा, स्विङ राज्यहरूमा बसोबास गराइने छ। वा त्यस्ता राज्यहरूमा बस्न प्रोत्साहन गरिनेछ। र, आउने पाँच सात वर्षपछि, जब ती आप्रवासीहरू मतदानका लागि योग्य बन्नेछन्, उनीहरूले डेमोक्र्याटलाई भोट हाल्नेछन्। यद्यपि सबै आप्रावासीहरू डेमोक्र्याटलाई नै भोट हाल्छन् भन्ने तथ्य छैन; जस्तो, फ्लोरिडामा रहेका अधिक हिस्प्यानिक र ल्याटिनो मूलका आप्रवासीहरू ट्रम्प सपोर्टर छन्।
अमेरिकामा रहेका हिस्प्यानिक आप्रवासीहरू आधा भन्दा धेरै, झण्डै ६० प्रतिशत, मेक्सिकन मूलका छन्, जो अरू मेक्सिकन पर्खाल उक्लेर यता आओस् भन्ने चाहन्नन्। अध्ययनहरूले भन्छ, भारतीय मूलका कतिपय आप्रवासीहरू पनि त्यस्तै चाहना राख्छन्, जसका लागि उनीहरू ट्रम्प क्याम्पेनमा जोडिएका छन्।
जब ती स्विङ स्टेटहरू डेमोक्र्याट दलका लागि सहज बन्छन्, सदाका लागि अमेरिकामा डेमोक्र्याटको राज चल्नेछ। डेमोक्र्याटको कल्याणकारी राज्य सञ्चालनको तरिका मस्क र कतिपय रिपब्लिकनका लागि ‘कम्युनिष्ट’ राज्य हुनेछ।
यो अर्कै कुरा हो गरिब र दुःखीको हितका लागि राज्यले गर्ने सहयोग, दान उपदान कसरी कम्युनिष्ट व्यवस्थासँग जोडिन्छ! डेमोक्र्याटहरू भन्छन्- गरिब दुःखीलाई राज्यले सहयोग गर्नुपर्छ। नागरिकको बीचमा राज्यको उपस्थिति हुनुपर्छ। रिपब्लिकनहरू चाहन्छन् नागरिकसँग राज्यको गहिरो सम्बन्ध नहोस्। नागरिकहरू आफूले जे चाहेको त्यो गर्न पाऊन्। नागरिक गतिविधिमा राज्यको हस्तक्षेप सकेसम्म कम होस्। बुझ्ने कुरा आ-आफ्नो रहेछ। कुन तर्क तपाईंलाई जँच्छ, छनोट आफ्नै हुनेछ।
सन् ८० को दशकमा क्यालिफोर्निया राज्य जनसंख्या उच्च वृद्धिको चरणमा थियो। सुरक्षा क्षेत्रसँग सम्बन्धित कतिपय उद्योगमा भएको लगानी र कामको नयाँ अवसरले मानिसहरूलाई तानेको थियो। त्यो सँगै नयाँ प्रविधिको केन्द्र बन्दा बसोबासको चाप पनि त्यही अनुसार बाक्लियो। सन् ८० देखि ९० को दशकमा झण्डै ३० मिलियन जनसंख्या थपियो। त्यो अवधिमा उसले कंग्रेसमा ९ वटा थप सिट पायो।
जनसंख्या पिकमा पुग्दा क्यालिफोर्नियाले ५३ जना प्रतिनिधित्व गर्थ्यो कंग्रेसमा। तर सन् २०२० को जनगणनामा क्यालिफोर्नियाको जनसंख्या अरु राज्यसरह बढेन। नतिजा, उसले एउटा सिट गुमायो। र अहिले क्यालिफोर्नियाबाट ५२ जनाले कंग्रेसमा प्रतिनिधित्व गर्छन्। र त्यसमा दुई जना सिनेटर थप्दा ५४ जनाले राष्ट्रपति छान्ने इलेक्टोरल कलेजमा।
क्यालिफोर्नियाको यो उदाहरणमा अर्को पनि एउटा पाटो छ। जनसंख्या बढेपछि माग बढ्दा आवास छोइनसक्नु महँगियो। विकल्पमा कम महँगोमा बसोबास गर्न सकिने राज्यहरूतिर मान्छे सर्न थाले।
अर्को, सुरक्षा क्षेत्रसँग जोडिएका कारखाना कि बन्द भए, कि अन्तै सरे। र त्यसमा काम गर्नेहरू पनि बसाइँ सरे। विश्लेषणहरूले भन्छ- तिनीहरू अधिक रिपब्लिकन समर्थक थिए। उनीहरू बसाइँ सरेसँगै क्यालिफोर्निया राज्यबाट रिपब्लिकन मत पनि सर्यो। र क्यालिफोर्निया नीलो भयो। यस्तो ट्रेण्ड अरु राज्यहरूमा पनि देखिन्छ!
यस्तै कुराहरूले बनाउँछ राजनीति रोचक। जब संसारको सबभन्दा धनी मान्छे पैसाको बिटो बोकेर साना–साना गाउँ चहार्न थाल्छन्। ‘गरिबका लागि राजनीति’को वकालत गर्ने ह्यारिस क्याम्पेन फण्ड १ बिलियन डलरभन्दा माथिको हुन्छ; अनि धनीहरूका लागि राजनीति’ गर्ने ट्रम्पको क्याम्पेन फण्ड ह्यारिसको भन्दा सानो भएर टाउको दुखाइ बन्छ। चुनाव जित्ने कुरा केले निर्धारण गर्छ? सपाट जवाफ हुन्न यस्तो प्रश्नको।
डेमोक्रेसीमा जनताको मत सबैभन्दा ठूलो निर्णायक हो। त्यसैले जनमतले नै कुनै उम्मेदवारले जित्ने वा हार्ने निर्क्योल गर्छ भन्नुपर्छ। तर अचम्म, ३३३ मिलियन जनसंख्या र २४४ मिलियन योग्य मतदाता भएको यति विशाल भूगोलमा चुनाव जित्न र ह्वाइट हाउस पुग्ने कुराको अन्तिम छिनोफानो कुनै एउटा स्विङ स्टेटको जम्मा केही हजारदेखि करिब लाख जति मतदाताले मात्रै गर्छन्। अचम्म लाग्दैन त! चाखलाग्दा अरू अचम्महरू पनि छन् यो चुनावी अभियानका।
सबभन्दा धनी व्यक्ति एलन मस्कको शक्ति र सामर्थ्य ट्रम्पको अभियानमा जोडिंदा के रोचक बनेको छ भने चुनाव धनको बलले जितिन्छ कि जनको समर्थनले ?
चुनाव जति नजिक आउँदैछ, तन्नेरी अश्वेतहरू कमला ह्यारिससित कम आकर्षित हुँदैछन्; कम्तीमा जर्जिया राज्यमा यस्तो ट्रेण्ड देखियो भन्छ मिडियाहरू। बाख्रा बाख्रासित कुन्नि के, केसित भने जस्तो हुँदैन रहेछ सधैं।
मिसिगनमा उल्लेख्य संख्यामा छन् अरबी र प्यालिस्टिनी मूलका मतदाताहरू, जसका आफन्त मारिए, घाइते बनाइए वा विस्थापित भएका छन् गाजा, वेष्ट ब्याङ्क र लेवनानमा। उनीहरू राष्ट्रपति बाइडेनले हमास र हिजबुल्लाहमाथि आक्रमण नगर्न इजरायललाई चाहिने दबाब दिएनन् भनेर बेखुस छन्।
कमलालाई डर छ, त्यही कारण त्यो समुदायको भोट नपाइने कुरामा। तेल अभिभबाट इजरायलको राजधानी जेरुसेलम सार्न लगाउने ट्रम्पको सम्भावित दोस्रो राष्ट्रपतिकाल कस्तो होला! लेबनानमा हिजबुल्लाहमाथि आक्रमण गरेको दिन टेलिफोन गरेर बेन्जामिन नेतान्याहुलाई बधाई दिने व्यक्ति कार्यकारी प्रमुख भएर आए भने के होला ! कमलासँग बदला लिने आवेगमा, सायद, बिर्सिइएको हुनुपर्छ यो पाटो!
ह्यारिस जस्तै ट्रम्पसित बेखुस हुने जमात पनि त्यतिकै छ। वयस्क महिलाहरू यो समूहमा पर्छ भन्छन् मिडियाहरू। गर्भपतनको पुरानो अधिकार ट्रम्प अनुमोदित सर्वोच्चका न्यायाधीशहरूले उल्ट्याइदिएको इख छ उनीहरूलाई। तर पहिलोचोटि भोट हाल्न आतुर कतिपय तन्नेरीहरू चैं ट्रम्पतिर बढी झुकाव राख्छन् भन्छ सर्वेक्षणहरू।
झण्डै ४१ मिलियन तन्नेरीहरू छन् पहिलोपल्ट भोट हाल्न योग्य भएका। उनीहरूलाई आठ वर्ष अघिको ट्रम्प राष्ट्रपतिकालको भोगाइ सम्झना छैन, सुनिए अनुसार। र सर्वेक्षणहरूलाई मान्ने हो भने ‘ब्याटल ग्राउण्ड’ भनिने स्विङ स्टेटहरूमा ट्रम्प-कमलाको चुनावी दौडको फासला साँघुरिएको छ। मतलब, अत्यन्तै सानो संख्याको मतदाताले चुनावी नतिजा बदली गराइदिन सक्छ। अन्तिममा कुरा संख्याकै आउँछ।
जब नम्बर (संख्या) को जोडघटाउको बेला आउँछ, तब महत्व हुन थाल्छ मतदाता। कसका मतदाता कति। पहिलोचोटि मत खसाल्नेहरू कसको पक्षमा। महिला- श्वेत अनि गैरश्वेत महिला कसको निकट ? त्यो पनि शहरसँग जोडिएको सबर्वन महिला कतातिर ? हर दृष्टिबाट टिप्पणीहरू हुन्छन्। अनुमान लगाइन्छन्। र आँकडा प्रक्षेपण गरिन्छन्। यद्यपि प्रक्षेपणहरू सही नहुन सक्छ भन्ने निकट उदाहरण पनि छ।
सबभन्दा धनी व्यक्ति एलन मस्कको शक्ति र सामर्थ्य ट्रम्पको अभियानमा जोडिंदा के रोचक बनेको छ भने चुनाव धनको बलले जितिन्छ कि जनको समर्थनले ? नोभेम्बर ५ नै कुर्नुपर्छ त्यो थाहा पाउन। अर्को, अझ रोचक बन्नेछ ट्रम्पले चुनाव जिते भने- बाचा गरिए अनुसार ‘सरकारी दक्षता आयोग’ निर्माण गरिनेछ मस्कका लागि, र संघीय सरकारका कतिपय विभागहरूमा सायद कैंची चल्नेछ!
यस्तो बदली, उलटपुलट हुनेछ त्यसबेला- एकातिर ‘सबै सिद्धियो’ भन्ने कोकोहोलो सुन्न पाइनेछ, अर्कोतिर ‘देश हामीले फिर्ता पायौं’ को उन्माद! तब न बन्छ राजनीति रोचक!