प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार

Photo: Jason Moyer/ Unsplash
क्युवाको पश्चिमी छेउ नजिकै समुद्रमा डुब्न लागेको एउथा काठको अस्थायी डुङ्गाबाट अमेरिकी तटरक्षक बलले २७ जना आप्रवासीहरूलाई उद्धार गरेको छ।
तटरक्षक बलले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, क्युवा र मेक्सिकोबीचको १०० माइल भन्दा बढी चौडा समुद्री च्यानल ‘युकाटान च्यानल’ मा गत बिहीबार राति उक्त डुङ्गा तैरिरहेको फेला परेको थियो। इन्धन र पिउने पानी समेत नभएको सो डुङ्गा पानी भरिएर बिस्तारै डुब्दै गरेको अवस्थामा फेला परेको हो।
तटरक्षक बलले सार्वजनिक गरेको भिडियो फुटेजमा डुङ्गाभरि लुगाफाटा र अन्य सामानहरू छरपस्ट देखिएका छन्।अमेरिकी तटरक्षक बलको जहाज ‘रेमण्ड इभान्स’ ले एउटा गस्ती टोली परिचालन गरी ती २७ जनालाई सुरक्षित रूपमा आफ्नो जहाजमा सारेको थियो।
त्यसपछि उनीहरूलाई अर्को जहाज ‘विन्स्लो ग्रिसर’ मा स्थानान्तरण गरियो, जसले उनीहरूलाई सोमबार क्युवा नै फिर्ता पठाइदिएको छ। उद्धार गरिएकाहरूमा महिला र पुरुष दुवै रहेका छन्।
क्युवाका लागि अमेरिकी तटरक्षक सम्पर्क अधिकृत लेफ्टिनेन्ट कमाण्डर लुइस गार्सियाले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “यस्ता असुरक्षित र क्षमता भन्दा बढी भार भएका डुङ्गाहरूमा चढेर अवैध रूपमा समुद्री मार्गबाट यात्रा गर्नु अत्यन्तै खतरनाक हुन्छ र यसले ज्यानलाई अनावश्यक जोखिममा पार्छ। उनले थपे, अवैध समुद्री आप्रवासन पत्ता लगाउन, रोक्न र नियन्त्रण गर्न अमेरिकी तटरक्षक र हाम्रा संघीय, राज्य तथा स्थानीय साझेदारहरू अमेरिकी समुद्री क्षेत्रमा निरन्तर तैनाथ छन्।
