अमेरिका–इरान शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी टोली पाकिस्तानबाट फर्कने तयारीमा



प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार

अमेरिका–इरान शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी टोली पाकिस्तानबाट फर्कने तयारीमा

फोटो: एएफपी/रासस

अमेरिका र इरानबीचको शान्ति वार्ता निष्कर्षविहीन भएको छ। वार्ताका लागि आएको अमेरिकी प्रतिनिधिमण्डलले पाकिस्तान छोड्ने तयारी गरेको छ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले दुई देशबीचको महत्त्वपूर्ण शान्ति वार्ता कुनै निष्कर्षमा पुग्न नसकेको जानकारी दिएका छन्। उनले पत्रकारहरूसँग कुरा गर्दै भने, “हामी विगत २१ घण्टादेखि निरन्तर वार्तामा थियौँ, तर दुर्भाग्यवश कुनै सहमति हुन सकेन।”

अमेरिकाले स्पष्ट सर्तहरू राखेको भए पनि इरान ती सर्तहरूमा सहमत नभएको भान्सले बताए। उनले थपे, “हामीले इरानलाई हाम्रा सर्तहरू स्वीकार गराउन सकेनौँ।” यससँगै उनले अमेरिकी टोली अब पाकिस्तानबाट फर्कने तयारीमा रहेको जानकारी दिए।

उपराष्ट्रपति भान्सले पाकिस्तानका प्रधानमन्त्री र फिल्ड मार्सल मुनीरप्रति आभार व्यक्त गर्दै भने, “वार्तामा जे-जस्ता कमजोरी रहे पनि ती पाकिस्तानका कारण भएका होइनन्। पाकिस्तानी पक्षले निकै राम्रो व्यवस्थापन गरेका थिए।”

उता, इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले पनि वार्ताबारे प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत वार्ता गहन भएको बताएका छन्। यद्यपि, वार्ताको सफलता विपक्षी पक्षको गम्भीरता र सद्भावनामा निर्भर हुने उनले उल्लेख गरे।

बाघेईले अमेरिकालाई “अत्यधिक माग र गैरकानुनी सर्तहरू” नराख्न आग्रह गर्दै इरानको “वैध अधिकार र हित” स्वीकार गर्नुपर्ने बताए। उनका अनुसार, वार्तामा होर्मुज जलमार्ग, इरानको आणविक कार्यक्रम र इरानमा जारी युद्धको पूर्ण अन्त्यजस्ता महत्त्वपूर्ण विषयहरूमा छलफल भएको थियो।

गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि युद्ध सुरु भएको हो। उक्त आक्रमणमा इरानी सर्वोच्च नेता अलि खामेनीसहित उच्च पदस्थ नेताहरू मारिएपछि इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य केन्द्र, कूटनीतिक नियोग तथा अमेरिकी लगानीका संरचनाहरूमा जवाफी आक्रमण थालेको थियो। अमेरिकी आक्रमणका कारण इरानमा ठूलो भौतिक क्षति भएको छ।

इरानले होर्मुज जलमार्गमा अवरोध सिर्जना गरेपछि विश्वव्यापी रूपमा इन्धनको अभाव र मूल्यवृद्धि भएको छ। गत मंगलबार दुई साता लामो युद्धविरामका लागि अमेरिका र इरान सहमत भएपछि पाकिस्तानको अगुवाइमा इस्लामावादमा यो शान्ति वार्ता आयोजना गरिएको हो।





Source link

Leave a Comment