प्रकाशित मिति : १६ असार २०८३, मंगलबार

तस्वीर सौजन्य: नेपाल प्रहरी
अमेरिकी दूतावासले नेपाल प्रहरीलाई ‘डिजिटल फरेन्सिक’ उपकरण हस्तान्तरण गरेको छ।
नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको ‘डिजिटल फरेन्सिक’ ल्याबलाई डिजिटल फरेन्सिकसम्बन्धी विभिन्न प्रकारका ‘सफ्टवेयर’ तथा ‘हार्डवेयर’ लगायतका उपकरण हस्तान्तरण गरेको हो।
नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई उक्त उपकरण हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले अमेरिकी दूतावासले डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि एवम् विकासका लागि उन्नत डिजिटल फरेन्सिक उपकरण प्रहरीलाई सहयोग गरेकामा धन्यवाद दिए।
उनले यस किसिमका सहयोगहरू दुई देशबीचको विश्वास, मित्रता र साझा प्रतिबद्धताको प्रतिबिम्बसमेत भएको उल्लेख गरे।
प्रहरी महानिरीक्षक कार्कीले हस्तान्तरण भएका आधुनिक उपकरणहरूले डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि हुने बताए। यस्ता उपकरणको सहयोगबाट प्रविधिजन्य अपराध अनुसन्धानमा थप मद्दत पुग्ने उनले बताए।
नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले हस्तान्तरण गरिएका आधुनिक उपकरणले नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबको क्षमता अभिवृद्धि हुनेमा विश्वास व्यक्त गरेका छन्।
उनले अपराधको अनुसन्धान एवम् प्रमाण सङ्कलनमा समेत उक्त उपकरणले महत्त्वपूर्ण योगदान पुर्याउने बताए।
