अमेरिकामा २१ वर्षीया यात्रुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा भारतीय मूलका क्याब चालक पक्राउ


अमेरिकाको क्यालिफोर्निया राज्यको क्यामारिलो सहरमा अचेत अवस्थामा रहेकी यात्रुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा भारतीय मूलका एक क्याब चालक पक्राउ परेका छन्। भेन्चुरा काउन्टी शेरिफ कार्यालयका अनुसार सिम्रनजित सिंह सेखोन नामका ती चालकलाई डिसेम्बर १५ मा पक्राउ गरिएको हो। 

उनीमाथि बेहोस पीडितमाथि बलात्कार गरेको अभियोग लगाइएको छ। प्रहरीका अनुसार घटना नोभेम्बर २०२५ मा भएको हो। सेखोनले थाउजन्ड ओक्सबाट २१ वर्षीया यात्रुलाई क्याबमा उठाएका थिए। यात्रा सकिएको देखाइए पनि उनले यात्रुलाई क्यामारिलो सहरका विभिन्न स्थानमा घुमाइरहेका थिए । प्रहरीका अनुसार मदिराले मातेकी ती महिला आफूलाई सम्हाल्न सक्ने अवस्थामा थिइनन्।  यात्राको क्रममा चालकले उनीमाथि यौन दुर्व्यवहार गरेको आरोप छ।

घटनाबारे जानकारी पाएपछि प्रमुख अपराध यौन आक्रमण इकाइले विस्तृत अनुसन्धान थालेको थियो। अनुसन्धान जारी रहँदा थप पीडितहरू पनि हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । यद्यपि, हालसम्म अन्य कसैले औपचारिक उजुरी दिएको छैन।

सेखोनको धरौटी रकम पाँच लाख अमेरिकी डलर तोकिएको छ। उनी डिसेम्बर २९ मा अदालतमा प्रारम्भिक सुनुवाइका लागि उपस्थित हुने छन्। यसअघि अभियोग सुनुवाइका क्रममा उनले आफू निर्दोष रहेको दाबी गरेका थिए।

अधिकारीहरूले सेखोन कुन राइडसेयर वा क्याब सेवासँग आबद्ध थिए भन्ने खुलासा गरेका छैनन्। साथै, उनको आप्रवासन वा भिसा स्थितिबारे पनि कुनै विवरण सार्वजनिक गरिएको छैन।



Source link

Leave a Comment