अमेरिकामा १ महिनामै बढे १११५ नेपाली विद्यार्थी, ब्याचलर्स र एसोसिएटमा उल्लेख्य वृद्धि



प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार

अमेरिकामा १ महिनामै बढे १११५ नेपाली विद्यार्थी, ब्याचलर्स र एसोसिएटमा उल्लेख्य वृद्धि

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीअन्तर्गतको सेभिसले सार्वजनिक गरेको फेब्रुअरी २०२६ को तथ्यांकअनुसार अमेरिकामा अध्ययनरत सक्रिय नेपाली विद्यार्थीहरूको संख्यामा उल्लेख्य वृद्धि देखिएको छ। जनवरीमा गिरावट आएर ३३,७३५ कायम भएको विद्यार्थी संख्या फेब्रुअरीमा १,११५ ले बढेर ३४,८५० पुगेको छ। यो वृद्धिले फेब्रुअरी महिनाको नयाँ शैक्षिक सत्रका लागि नेपाली विद्यार्थीहरू अमेरिका भित्रिएको संकेत गर्छ।

तथ्यांकलाई लैङ्गिक आधारमा तुलना गर्दा, जनवरीको तुलनामा पुरुष र महिला दुवैको संख्या बढेको छ। जनवरीमा १८,९०२ रहेका पुरुष विद्यार्थीको संख्या फेब्रुअरीमा १९,३९६ पुगेको छ, जुन ४९४ को वृद्धि हो। यद्यपि, यो महिना महिला विद्यार्थीहरूको आगमन अझ बढी देखिएको छ। जनवरीमा १४,८३३ रहेका महिला विद्यार्थीहरूको संख्या ६२१ ले बढेर फेब्रुअरीमा १५,४५४ पुगेको छ।

शैक्षिक तहगत रूपमा हेर्दा सबैभन्दा ठूलो वृद्धि एसोसिएट डिग्रीमा देखिएको छ। जनवरीमा ७,०२१ विद्यार्थी रहेकामा फेब्रुअरीमा यो संख्या ७७६ ले बढेर ७,७९७ पुगेको छ। त्यस्तै, ब्याचलर्स तहमा पनि उल्लेख्य वृद्धि भएको छ; जनवरीको ११,९१४ बाट २६६ ले बढेर यो संख्या १२,१८० पुगेको छ।

उच्च शिक्षातर्फ मास्टर्स तहमा जनवरीको ९,९१९ बाट बढेर ९,९७८ पुगेको छ भने डक्टरेट तहमा भने जनवरीमा ४,३३५ बाट फेब्रुअरीमा ४,३३७ को सामान्य वृद्धि मात्र देखिएको छ। भाषा तालिम लिनेहरूको संख्या पनि २७६ बाट बढेर ३१० पुगेको छ।

राज्यगत वितरणमा टेक्सास नेपाली विद्यार्थीहरूको निर्विकल्प पहिलो रोजाइ बनेको छ। जनवरीमा टेक्सासमा ७,७५८ विद्यार्थी रहेकामा फेब्रुअरीमा यो संख्या बढेर ८,३६४ पुगेको छ। एकै महिनामा टेक्सासमा मात्रै ६०६ जना नेपाली विद्यार्थी थपिएका छन्।

दोस्रो स्थानमा रहेको ओहायोमा २,४२२ बाट सामान्य वृद्धि भई २,४३५ पुगेको छ भने तेस्रो स्थानमा रहेको न्युयोर्कमा २,२०० बाट बढेर २,२६७ पुगेको छ। केन्टकीमा १,६५८, मिसौरीमा १,५०६ र क्यालिफोर्नियामा १,२४५ नेपाली विद्यार्थीहरू अध्ययनरत छन्।





Source link

Leave a Comment