प्रकाशित मिति : ८ असार २०८३, सोमबार

अमेरिकाको न्युयोर्क र आसपासमा बसोबास गर्ने नेपाली व्यवसायीलाई एउटै छातामुनि ल्याएर उनीहरूको अधिकार, अवसर र पहुँचलाई सुदृढ बनाउने उद्देश्यले स्थापना भएको ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्सले पछिल्ला वर्षहरूमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । साना तथा मध्यम स्तरका नेपाली व्यवसायीलाई सूचना, तालिम, नेटवर्किङ र कानुनी मार्गदर्शन प्रदान गर्दै आएको यस संस्थाको नेतृत्व गरिरहेका अध्यक्ष प्रदीप श्रेष्ठसँग चेम्बरको उद्देश्य, उपलब्धि, चुनौती र भविष्यका योजनाबारे गरिएको विस्तृत कुराकानी ।
ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्सको स्थापना किन गरिएको थियो ? यसको मुख्य उद्देश्य के हो ?
फरक भूगोल, फरक भाषा, संस्कृति र फरक परिवेशमा व्यवसाय सञ्चालन गर्नु निकै संघर्षपूर्ण हुन्छ । हामीमध्ये धेरैजसो पहिलो पुस्ताका नेपाली हौं । नेपालमा जे सिकेका थियौं त्यही व्यावसायिक ज्ञानलाई आधार मानेर अमेरिकी नियम–कानुनअनुसार व्यवसाय सञ्चालन गर्दै आएका छौं । अमेरिकाभरि विभिन्न राज्यहरूमा फरक–फरक नियम–कानुन छन् । जुन राज्यमा व्यवसाय सञ्चालन गर्ने हो त्यही राज्यको नियमअनुसार काम गर्नुपर्छ । त्यस्तै प्रत्येक सहरका पनि आफ्नै नियमहरू हुन्छन् ।
हामी साना व्यवसायीहरूको व्यक्तिगत रूपमा राज्य वा सहरका विभिन्न निकायसँग प्रत्यक्ष सम्पर्क नहुन सक्छ । तर, संस्थामार्फत सामूहिक रूपमा आफ्ना आवाज राख्न सजिलो हुन्छ । आवश्यक जानकारी पनि सहज रूपमा प्राप्त गर्न सकिन्छ । यही आवश्यकता महसुस गर्दै नेपाली व्यवसायी साथीहरूबीच बारम्बार छलफल गरेर ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्सको स्थापना गरिएको हो ।
नेपालका विभिन्न ठाउँबाट यहाँ आएर फरक–फरक प्रकारका व्यवसाय सञ्चालन गरिरहेका भए पनि व्यवसायीहरूबीच पर्याप्त चिनजान र सम्पर्क थिएन । एकअर्काका लागि सहयोगी बन्न सक्ने सम्भावना देखिएकाले नेटवर्किङका लागि एउटा संस्थाको आवश्यकता महसुस भयो । जसले चेम्बरको स्थापना गर्न प्रेरित ग¥यो ।
चेम्बरले नेपाली व्यवसायीका लागि अहिलेसम्म गरेका महत्त्वपूर्ण उपलब्धि के–के हुन् ?
चेम्बर स्थापना भएपछि यसलाई संस्थागत रूपमा अगाडि बढाउन राज्य र सहरका निकायहरूसँगै अन्य चेम्बरहरूसँग सहकार्य गर्दै आएका छौं । हाम्रा सदस्यहरू तथा नेपाली समुदायका व्यवसायीहरूका लागि व्यावसायिक सूचना, बैंकिङ कारोबार, कर प्रणाली र व्यवसाय सञ्चालनमा आउने अवरोधहरूबारे कार्यशाला तथा गोष्ठीहरू आयोजना गर्दै आएका छौं ।
नयाँ व्यवसाय सुरु गर्न चाहने नेपालीलाई चेम्बरले कस्तो सहयोग प्रदान गर्छ ?
चेम्बरको मुख्य उद्देश्य सदस्यहरूलाई व्यवसाय सञ्चालनमा सहयोग गर्नु हो । कम्पनी दर्ता गर्ने प्रक्रियादेखि बैंक खाता खोल्ने, सामूहिक लगानीबारे छलफल गर्ने, सम्बन्धित राज्यका नीतिहरूको जानकारी दिने, करसम्बन्धी कार्यशाला आयोजना गर्ने र घरभाडा सम्झौता गर्दा आवश्यक कानुनी सहयोग उपलब्ध गराउनेजस्ता विभिन्न सहयोगहरू प्रदान गर्दै आएका छौं ।
न्युयोर्कमा नेपाली व्यवसायीले अहिले सबैभन्दा ठूलो चुनौती के सामना गरिरहेका छन् ?
हामी पहिलो पुस्ताका व्यवसायी भएकाले धेरैलाई भाषिक समस्या छ । त्यसका कारण सहरबाट प्राप्त हुने सेवा–सुविधाबारे समयमै जानकारी पाउन सकिरहेका छैनौं । बैंकिङ सेवाबारे पनि धेरैलाई पूर्ण जानकारी छैन । अहिले हालै अमेरिकी संघीय सरकारले आप्रवासीहरूलाई लक्षित गरी व्यावसायिक ऋणसम्बन्धी केही कानुनी परिवर्तन गरेकाले धेरै व्यवसायीहरूलाई लगानी जुटाउन पनि कठिनाइ भएको देखिएको छ ।
नयाँ आप्रवासी नेपालीले व्यवसाय सुरु गर्दा के कस्ता कुरामा ध्यान दिनु आवश्यक छ ?
सबैभन्दा पहिले आफू वा लगानीकर्ता वैधानिक रूपमा स्थायी बसोबासको कानुनी आधार नभएसम्म लगानी नगर्न सुझाव दिन्छु । आफूलाई जानकारी नभएको व्यवसाय सकेसम्म नगर्नु राम्रो हुन्छ । यदि गर्नै पर्ने भए विश्वासिलो व्यावसायिक साझेदार हुनु अत्यन्त आवश्यक छ ।
पूर्ण जानकारी नभएको क्षेत्रमा ठूलो लगानी नगर्नु राम्रो हुन्छ । त्यसैले चेम्बर अफ कमर्सले नेटवर्किङमा विशेष जोड दिन्छ । किनकि, यसले व्यवसाय गर्न इच्छुक साथीहरूबीच पारस्परिक सम्बन्ध सुदृढ बनाउन मद्दत गर्छ ।
नेपाली व्यवसायीलाई मुख्य धाराको अमेरिकी व्यापारिक नेटवर्कसँग जोड्न चेम्बरले के काम गरिरहेको छ ?
चेम्बरको मुख्य उद्देश्य नै नेटवर्किङ हो । हामी अन्य ठूला चेम्बर अफ कमर्सहरूसँग सम्बन्ध विस्तार गर्ने प्रयासमा छौं । जस्तै– क्विन्स चेम्बर अफ कमर्स र ग्रेटर न्युयोर्क चेम्बर अफ कमर्सजस्ता संस्थाहरूसँग सम्बन्ध स्थापना गरिसकेका छौं । व्यावसायिक गोष्ठी तथा कार्यशालामार्फत हाम्रा सदस्यहरूलाई अन्य व्यवसायीहरूसँग जोड्ने र सम्बन्ध विस्तार गर्ने काममा विशेष जोड दिएका छौं ।
न्युयोर्कबाहिरका राज्यहरूमा पनि नेपाली व्यवसायीको नेटवर्क विस्तार गर्ने योजना छ कि छैन ?
अवश्य छ । अमेरिकाभरि विभिन्न पेसा–व्यवसायमा संलग्न नेपालीहरूबीच अन्तरक्रिया गर्दै व्यावसायिक जानकारी आदानप्रदान, लगानीका अवसर र सामूहिक लगानीका विषयमा छलफल गर्ने उद्देश्यले आगामी जुलाई महिनामा ‘नेप्लिज अमेरिकन इन्टरप्रेनर्स कन्फरेन्स’ आयोजना गर्दै छौं । यस कार्यक्रममा अमेरिकाभरिका व्यवसायी साथीहरूलाई सहभागिताका लागि आग्रह गर्दछु । कार्यक्रमको विस्तृत जानकारी हाम्रो दोस्रो वार्षिकोत्सवपछि सार्वजनिक गरिनेछ ।
अमेरिका आउँदा तपाईंले सामना गर्नुपरेका सबैभन्दा ठूला संघर्ष के थिए ?
भाषा, लगानी र यहाँको नियम–कानुन ।
तपाईंलाई व्यवसायतर्फ लाग्ने प्रेरणा कसरी मिल्यो ?
म नेपालको गोरखा जिल्लाको उत्तरी क्षेत्रमा जन्मिएको हुँ । गोरखा सदरमुकामबाट करिब पाँच घण्टा पैदल हिँड्नुपर्ने ठाउँ हो । हाम्रो परिवारमा बाजेको पालादेखि नै व्यवसाय सञ्चालन हुँदै आएको थियो ।
मेरो बुबा राजनीतिमा लाग्नुभएकाले म सानो हुँदा नै बाजेले व्यवसायमा लाग्न प्रेरित गर्नुभयो । एसएलसी दिएपछि काठमाडौंमा पढ्न जाँदा विभिन्न व्यवसायमा संलग्न भएँ । पछि अमेरिका आएर सुरुका केही वर्षको अनुभवपछि फेरि व्यावसायिक क्षेत्रमा फर्किएको हुँ ।
विदेशमा सपना देखिरहेका नेपालीका लागि तपाईंको सन्देश के छ ?
सबैभन्दा पहिले तपाईंलाई जुन क्षेत्रमा रुचि छ त्यही क्षेत्रमा लाग्नुपर्छ । व्यवसाय सानो वा ठूलो भन्ने हुँदैन । आफ्नो अनुभव र अनुकूलताअनुसार व्यवसाय सञ्चालन गर्नु उपयुक्त हुन्छ । समय खेर फाल्नु हुँदैन । हार मान्नु हुँदैन । लगानी गरेपछि नाफा आउन समय लाग्छ । त्यसैले व्यवसाय गर्दा परिवार व्यवस्थापनमा आउने चुनौतीहरूबाट आत्तिनु हुँदैन ।
यो सामग्री खसोखासको १४ औं वार्षिकोत्सव विशेषांकमा प्रकाशित सामग्री हो । डिजिटल संस्करणमा यो सामग्री पढ्न यहाँ क्लिक गर्नुहोला।
यस संस्करणको हार्डकपी नि:शुल्क प्राप्त गर्न क्लिक गर्नुहोस्। (नोट: १६८ पृष्ठको यो विशेष अंक करिब एक पाउन्ड तौलको भएकाले डेलिभरी शुल्क भने पाठक स्वयंले ब्यहोर्नुपर्नेछ।)
