प्रकाशित मिति : ८ असार २०८३, सोमबार

करिब दुई दशकदेखि अमेरिकाको न्युयोर्कलाई आफ्नो कार्यक्षेत्र बनाएर रियल इस्टेट व्यवसायमा सक्रिय नाम हो– छेपक गुरुङ । सन् २००७ देखि यस क्षेत्रमा प्रवेश गरेका गुरुङले एक्जिट रियाल्टी र री–म्याक्सजस्ता प्रतिष्ठित संस्थामा १५ वर्षभन्दा बढी अनुभव सँगालिसकेका छन् । हाल आफ्नै नयाँ कम्पनी टीडी३ रियाल्टीमार्फत अघि बढिरहेका उनी एक अनुभवी ब्रोकर मात्र नभई सफल लगानीकर्ता पनि हुन् । प्रस्तुत छ– न्युयोर्कको नेपाली समुदायमा घरजग्गा कारोबारको बदलिँदो स्वरूप र लगानीका चुनौतीबारे उनीसँग गरिएको कुराकानीको सम्पादित अंश ।
तपाईंको व्यवसायको यात्रा र पछिल्लो समय कम्पनीमा आएका परिवर्तनका बारेमा केही बताइदिनुस् न ।
मेरो रियल इस्टेट करिअर सन् २००७ मा एक्जिट रियाल्टीबाट सुरु भएको हो । त्यसपछि मेरो करिअरको मुख्य समय (१५ वर्षभन्दा बढी) री–म्याक्समा बित्यो । अहिले म फाइन ब्रोकरसँग आबद्ध छु । तर, छिट्टै मेरो आफ्नै कम्पनी टीडी३ रियाल्टी पूर्णरूपमा सञ्चालनमा ल्याउँदै छु । झन्डै २० वर्ष पुग्न लागेको यो यात्रामा मैले विभिन्न प्रकारका खरिदकर्ता र बिक्रेताहरूको प्रतिनिधित्व गर्ने अवसर पाएँ ।
यति लामो समय एउटै क्षेत्रमा काम गर्दा कहिल्यै यो पेसा छाडेर अर्कै क्षेत्रमा लागौं भन्ने सोच आएन ?
सय प्रतिशत आयो । म दुईपटक त झन्डै यो पेसाबाट बाहिरिएको थिएँ । पहिलो पटक २०१५–१६ तिर र दोस्रो पटक कोभिडभन्दा ठीक अगाडि । म त्यति बेला लोन अफिसर बन्ने वा रेस्टुरेन्ट व्यवसायतिर लाग्ने सोचमा थिएँ । तर, पछि म यसैमा अडिग रहें । अहिले म न्युयोर्क र काठमाडौं दुवै ठाउँमा एउटा बुटिक ब्रोकरेज फर्म खोल्ने लक्ष्यका साथ अघि बढिरहेको छु ।
एक आप्रवासी भएर अमेरिकामा यो व्यवसाय सुरु गर्दाका सुरुवाती चुनौती कस्ता थिए ?
सुरुमा त भाषिक र सांस्कृतिक भिन्नता नै ठूलो चुनौती थियो । हामीले फरक पृष्ठभूमिका मानिसहरूसँग काम गर्नुपर्छ । २००७ तिर त अहिलेजस्तो नेपाली समुदाय ठूलो थिएन । सिकाउने र मार्गदर्शन गर्ने मान्छेहरू पनि कम थिए । तर, री–म्याक्सजस्तो ठूलो संस्थामा आबद्ध भएकाले मैले धेरै कुरा सिक्ने मौका पाएँ ।
तपाईं ब्रोकर र लगानीकर्ता दुवै हुनुहुन्छ । यी दुईमध्ये तपाईंलाई कुन भूमिका बढी चित्त बुझ्छ ?
मेरो व्यक्तित्व र मानसिकताको हिसाबले म रियल इस्टेट लगानीकर्तातिर बढी झुकाव राख्छु । तर, लगानी सस्तो कुरा होइन । यसमा ठूलो पुँजी र जोखिम वहन गर्ने क्षमता चाहिन्छ । कसैले बिनालगानी रियल इस्टेटमा छिर्न सकिन्छ भन्छ भने म त्यसमा विश्वास गर्दिनँ । हामीले २०१९ देखि २०२३ सम्म ‘बाई, फिक्स एन्ड फ्लिप’को काम पनि ग¥यौं । अहिले म नो¥याङ क्यापिटल ग्रुपमार्फत विशुद्ध लगानीको प्लेटफर्म तयार गर्दै छु ।
नयाँ घर खरिदकर्तालाई तपाईंको सल्लाह के छ ? उनीहरूले के कुरामा ध्यान दिनुपर्छ ?
धेरै मानिसले गणित बुझ्दैनन् । पाँच लाखको घर दस लाख पुग्दा नाफा दोब्बर भएको देखिन्छ । तर, वास्तवमा २० प्रतिशत डाउन पेमेन्ट गर्नेका लागि त्यो पाँच गुणा नाफा हो । तर, घर किन्दा तीनवटा कुरा अनिवार्य हेर्नुपर्छ । के म यो घर किन्न योग्य छु ? के मेरो जागिर सुरक्षित छ ? के म दीर्घकालीन रूपमा मासिक किस्ता (मोर्टगेज), कर र बिमा तिर्न सक्छु ?
नेपाली समुदायमा रियल इस्टेट व्यवसायको भविष्य कस्तो देख्नुहुन्छ ?
नेपालीहरूको बचत गर्ने बानी राम्रो छ । त्यसैले हाम्रो समुदायमा घर स्वामित्वको दर एकदमै उच्च छ । अमेरिकामा दीर्घकालीन रूपमा सम्पत्ति जोड्ने यो सबैभन्दा सुरक्षित बाटो हो । म चाहन्छु कि मेरो ग्राहकले घर किनेपछि पछुताउनु नपरोस् । त्यसैले म उनीहरूलाई प्रिन्सिपल र ब्याज मात्र होइन, कर, पानीको बिल र मर्मत खर्चसम्मको विस्तृत हिसाब बुझाउँछु ।
अन्तमा नेपालको रियल इस्टेट बजारमा पनि तपाईंको केही रुचि छ कि ?
पक्कै पनि । नेपालको रियल इस्टेट किन यति महँगो छ भन्ने कुरा बुझ्न गाह्रो छ । तर, त्यहाँ व्यवस्थित ब्रोकरेज हाउसहरूको आवश्यकता छ । भविष्यमा न्युयोर्कको अनुभवलाई काठमाडौंको बजारसँग जोड्ने मेरो योजना छ ।
यो सामग्री खसोखासको १४ औं वार्षिकोत्सव विशेषांकमा प्रकाशित सामग्री हो । डिजिटल संस्करणमा यो सामग्री पढ्न यहाँ क्लिक गर्नुहोला।
यस संस्करणको हार्डकपी नि:शुल्क प्राप्त गर्न क्लिक गर्नुहोस्। (नोट: १६८ पृष्ठको यो विशेष अंक करिब एक पाउन्ड तौलको भएकाले डेलिभरी शुल्क भने पाठक स्वयंले ब्यहोर्नुपर्नेछ।)
