प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार

यूएससीआईएसका कर्मचारीहरू सम्पर्क केन्द्रमा फोनमार्फत ग्राहकहरूलाई सहायता प्रदान गर्दै, आप्रवासन सेवाहरू र केससम्बन्धी जानकारी उपलब्ध गराउँदै।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) ले आफ्नो नाममा ठगी गर्ने फोन कलहरूको संख्या बढेको भन्दै सर्वसाधारणलाई संवेदनशील जानकारी नदिन चेतावनी दिएको छ।
यूएससीआईएसले जारी गरेको फ्रड अलर्टमा केही व्यक्तिहरूले आफूलाई यूएससीआईएस अधिकारी वा सेभ जस्ता आप्रवासनसम्बन्धी कार्यक्रमसँग आबद्ध संस्था बताउँदै फोन गर्ने गरेको जानकारी प्राप्त भएको जनाएको छ।
ती कलकर्ताहरूले व्यक्तिको आप्रवासन स्थिति वा केसबारे सोध्ने, व्यक्तिगत वा आर्थिक जानकारी माग्ने, तथा सरकारी निकायको नम्बर जस्तो देखिने गरी प्रविधि प्रयोग गर्ने गरेका छन्।
यस्तो प्रविधिलाई “कलर आइडी स्पुफिङ” भनिन्छ, जसको प्रयोग विश्वास दिलाएर संवेदनशील जानकारी वा पैसा ठगी गर्नका लागि गरिन्छ।
यूएससीआईएसले यस्ता अप्रत्याशित फोन आएमा कुनै पनि व्यक्तिगत, आर्थिक वा आप्रवासनसम्बन्धी जानकारी नदिन, तुरुन्त निर्णय गर्न दबाब दिने वा नकारात्मक परिणामको धम्की दिने व्यक्तिप्रति सचेत रहन आग्रह गरेको छ।
एजेन्सीले यस्ता अवस्थामा फोन काटेर आफ्नो केस वा आप्रवासन सुविधाबारे जानकारी लिन आधिकारिक माध्यममार्फत यूएससीआईएससँग सम्पर्क गर्न सुझाव दिएको छ।
यूएससीआईएसले सेभ र इभेरिफाई जस्ता कार्यक्रमसँग सम्बन्धित विषयमा कहिलेकाहीँ ग्राहक, रोजगारदाता वा अन्य निकायसँग सम्पर्क गर्न सक्ने भए पनि, अप्रत्याशित फोनमार्फत संवेदनशील जानकारी वा रकम माग्ने नगर्ने स्पष्ट पारेको छ।
यदि कसैले यस्ता आप्रवासनसम्बन्धी ठगी प्रयासको सामना गरेको छ भने, सम्बन्धित निकायमार्फत उजुरी दिन यूएससीआईएसले आग्रह गरेको छ।
