प्रकाशित मिति : जेष्ठ २९, २०८२ बिहीबार

अमेरिकामा बलात्कारको आरोपमा दोषी ठहर भई ३७८ वर्षको सजाय काटिरहेका नेपाली मूलका व्यक्तिको सजाय न्यायाधीशले खारेज गरेपछि उनलाई जुन १३ शुक्रबार अदालतमा पेश गरिने भएको छ । क्यालिफोर्नियाको योहो काउन्टी सर्वोच्च अदालतले बलात्कारको अभियोगमा दोषी ठहर गरिएका नेपाली मूलका अजय देवको ३७८ बर्षको जेल सजाय रद्द गरेपछि रिहा भए पनि उनको अदालती लडाइँ भने अझै सकिएको छैन। जनकपुरका अजय पेशाले साक्रामेन्टोस्थित खानेपानी संस्थानका इन्जिनियर थिए।
जुन १३ मा उनी फेरि न्यायाधीशसमक्ष उपस्थित हुनेछन् । शुक्रबारको सुनुवाईमा जिल्ला न्यायाधिवक्ताले मुद्दा पुन सुनुवाइ गर्ने वा खारेज गर्नेबारे निर्णय गर्नसक्ने जनाइएको छ । नयाँ प्रमाणका आधारमा मुद्दा पुन सुनुवाइ गर्न सकिुका साथै महान्यायाधिवक्ताले न्यायाधीश बेरोनियोको फैसला उल्टाउनसमेत सक्ने भएकाले अजय देवको कानूनी लडाईको निर्धारण शुक्रबार हुने भएको छ ।
अजयलाई ३७८ वर्षको जेल सजाय गर्ने पूरानो फैसला न्यायाधीशले सपनाको गवाही विश्वसनीय नभएको र नयाँ प्रमाणले मुद्दामा फरक पार्न सक्ने उल्लेख गर्दै खारेज गरेका हुन् । अजय देवले १६ वर्ष म्युल क्रीक राज्यको जेलमा बिताएका थिए । उनले अपराध नगरेको दाबी गर्दै आएका थिए । जिल्ला न्यायाधिवक्ताको कार्यालयले ५ लाख डलरको जमानत मागेपनि मे २३ मा उनलाई बिना जमानत रिहा गरिएको थियो । अजयलाई सन् २००९ मा दोषी फैसला गरिएको थियो ।
अदालतले हिरासत वा दोषी फैसलाको वैधानिकता जाँच्नेबारे अजयको सुनुवाइ सात वर्षदेखि चलिरहेको थियो । अजयलाई नेपालबाट ल्याइएकी धर्मपुत्री सपना देवमाथि श्रृंखलावद्ध यौन दुराचार र बलात्कारको अभियोगमा दोषी ठहर गरिएको थियो। सपनाले अजयबाट पाँच वर्षसम्म हप्तामा तीन पटक बलात्कृत भएको आरोप लगाएकी थिइन्।
अजयका पक्षका कानुनी टिमले अजयले बलात्कार स्वीकार गरेको भनिने फोन कललाई खण्डन गर्ने नयाँ प्रमाण प्रस्तुत गरेका थिए । फोन कलको मूल अनुवादमा अजयले बलात्कार स्वीकार गरेको दावी गरिएपनि अजयको पक्षको कानुनी टोलीले सपनाद्वारा आप्रवासन लाभका लागि झुटो गवाही दिएको र पासपोर्ट धोखाधडीमा दोषी ठहर भएको प्रमाण प्रस्तुत गरेको थियो ।
सपनाले अमेरिका आउन र नागरिकता प्राप्त गर्न झुट बोलेको स्वीकार गरेको अजयको कानुनी टिमको दावी छ । सपनाले अमेरिकी नागरिकता प्राप्त गरिसकेकी छिन् । अजयविरुद्धको मूल अभियोगमा उमेर नपुगेको अवस्थामा बालिकालाई ७०० भन्दा बढी पटक बलात्कार गरेको अभियोग लगाइएको थियो ।
पाँच वर्षदेखि हरेक साता तीन पटकसम्म बलात्कार गरेको र पाँच वर्षमा ७३८ पटक बलात्कार गरेको मुद्दामा सन् २००९ मा क्यालिफोर्नियाकै स्थानीय जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै ३७८ वर्ष जेल सजाय सुनाएको थियो भने पछि २०१७ मा पनि जुरीले उनलाई दोषी ठहर गरेको थियो ।
बालिका १५ बर्ष नलाग्दैदेखि अजयले बलात्कार गर्न थालेको र १९ बर्ष नपुगुन्जेलसम्म पनि बलात्कार गरेको उनीमाथि अभियोग थियो । सन् १९९९ देखि सन् २००५ सम्म बलात्कार गरेको अभियोगमा अजयलाई सन् २००९ मा सजाय सुनाइएको थियो ।
अजय देव पहिले नेपाली नागरिक थिए । १३ बर्षको उमेरमा क्यालिफोर्नियाको डेभिसमा बुबाआमासँगै बसाई सरेका अजयले स्टेट वाटर रिसोर्स बोर्डमा काम गर्नुका साथै डेभिसको नेपाली समुदायमा समेत सकृय रहेका थिए । सन् १९९९ मा अजय र उसकी पत्नीले अजयकै अलिक टाढाकी नाता पर्ने एउटी बालिकालाई धर्मपुत्रीका रुपमा ग्रहण गरेर अमेरिका ल्याएका थिए ।
त्यतीबेला ती बालिका १५ बर्षकी थिइन् । ती बालिका अजय र उसकी पत्नीसँगै क्यालिफोर्नियामा बस्दै आएकी थिइन् । सन् १९९९ को डिसेम्बरमा अजय र उसकी पत्नीले ती बालिकालाई आधिकारिक रुपमा धर्मपुत्रीका रुपमा स्वीकारेका थिए ।
धर्मपुत्री बनाइएकी सपनाले अमेरिका आएदेखि नै अजयले उनलाई केहीदिनभित्रमा नै अनुचित रुपमा हातहाल्न थालेको आरोप लगाएकी थिइन् । अमेरिका आएको केही हप्तापछि अजयले उनलाई लगातार बलात्कार गर्न सुरु गरेको अदालतमा दिएको बयानमा उल्लेख थियो । सपना १८ बर्ष पुगेपछि स्थानीय सिटी कलेजमा अध्ययन गर्न थालेपनि अजयकै परिवारको रुपमा अजयको घरमा बस्दै आएकी थिइन् ।
सन् २००४ को डिसेम्बरमा सपनाले घर छाडेकी थिइन् । त्यसपछि समेत अजयले उनलाई बलात्कार प्रयास गरेको अभियोग लगाइएको थियो । अजयले यौनसम्पर्क राख्न नपाएमा सपनालाई पनि बन्दुकले उडाइदिने र आफू पनि आत्महत्या गर्ने भन्दै धम्की दिन थालेपछि सपनाले कानुनी सहायता लिएको उल्लेख गरिएको थियो । बलात्कारपछि तीनपटकसम्म बसेको गर्भ समेत तुहाउनुपरेको कागजातमा उल्लेख थियो ।
अजयलाई पक्राउपछि घरमा खानतलासी गर्दा बालबालिकाका अश्लिल यौन भिडियोसमेत उनको कम्प्युटरमा भेटिएको दावी गरिएको थियो । सपनाले कानुनी सहयोग खोजेपनि झण्डै दुईबर्षसम्म अजयबिरुद्ध मुद्दाको प्रकृया अगाडि बढ्न सकेको थिएन । किनभने सपना आफ्नी दिदीको विवाहमा भाग लिन नेपाल गएकी थिइन् । सपना नेपाल गएको बेलामा उनको पासपोर्टमा गलत जन्ममिती रहेको भन्दै अजयका आफन्तले उजुरी दिएपछि सपना नेपालमा थुनामा परेकी थिइन् ।
उनी थुनामा परेपछि अदालती प्रकृया पूरा हुन नेपालमा झण्डै डेढबर्ष लागेको थियो । त्यसपछि उनको नाममा नयाँ पासपोर्ट जारी भएको थियो । कानुन कार्यान्वयन निकाय र नेपालका रहेको अमेरिकी दुतावासको सहयोगमा उनले नयाँ पासपोर्ट पाएकी थिइन् । त्यसपछिमात्र उनी अमेरिका फर्कन सफल भएकी थिइन् । जब उनी नेपाल गएकी थिइन्, त्यो बेलामा अजयले नेपालको भ्रमण गरेका थिए । अजयले उनलाई अमेरिकामा आफ्ना बिरुद्ध कुनै मुद्दा नहाल्न र अमेरिका नफर्कन समेत चेतावनी दिएको सपनाका तर्फबाट दावी गरिएको थियो ।
अमेरिका फर्केपछि सपनाले मुद्दाको प्रकृया अगाडि बढाएकी थिइन् । मुद्दाको सुनुवाईका लागि झण्डै दुईमहिना लागेको थियो भने जुुरीले एकसाता लामो प्रयासबाट मुद्दाको टुंगो लगाउँदै अजयलाई दोषी ठहर गरेको थियो । त्यसपछि अजयलाई बलात्कार, यौनहिंशा, बालिकासँग यौनसम्पर्क र साक्षीलाई धम्की दिएको लगायतका अभियोगमा दोषी ठहर गर्दै सन् २००९ मा जेल सजाय सुनाइएको थियो ।
त्यतीबेला मुद्दाको फैसला हुँदा अदालतमा सपनालाई उपस्थीत गराइएको थिएन । उनको मुद्दाको प्रतिनिधित्व गर्नेहरुको उपस्थीतिमा मुद्दाको फैसला गरिएको थियो । सपनाले त्यतीबेला पहिचान खोल्न नचाहेका कारण अदालतमा उपस्थीत गराइएको थिएन ।
सपनाले त्यतीबेला अदालतसमक्ष दिएको बयानमा अजयले उनी १९ बर्ष नपुग्दाको अवधिसम्म पनि हप्तामा दुईदेखि तीनपटकसम्म बलात्कार गरेको उल्लेख थियो । पहिलोपटक अजयले सपनालाई अजयको श्रीमति घरमा नभएको बखत बलात्कार गरेको र पछि घरमै रहेको बखत पनि अजयले बलात्कार गरेको बयानमा उल्लेख थियो ।
अजय, उसकी श्रीमति र सपना आफन्त र साथीहरुको घरमा बस्न गएको बखत समेत अजयले बलात्कार गरेको आरोप लगाइएको थियो । अजयले सपनालाई बैंककको एउटा होटेलमा समेत बलात्कार गरेको आरोप लगाइएको थियो । अजयले उनलाई सन् २००३ मा नेपाल जाने क्रममा बैंककमा लामो समय ट्रान्जिट पर्दा होटेलमा बसेको बखत समेत बलात्कार गरेको आरोप लगाइएको थियो । प्रहरीले अजयको घरमा छापामार्दा किडी ब्लोजब, रियल होममेड मि वीथ माई डटर, योंग टिन लोलिता शीर्षकका अश्लिल भिडियोहरु फेला पारेको दावी गरेको थियो ।
अदालती कागजातमा जनाइए अनुशार अजय र उनकी पत्नीले सन् १९८८ मा सपनालाई नेपाल गएको बखत भेटेका थिए । अजय र सपनाका पिता अलिक टाढाका दाजुभाईहरु पर्थे । अजयले सपनाका पितालाई उनकी छोरीलाई आफ्नी छोरीका रुपमा धर्मपुत्री बनाएर अमेरिका लैजाने र राम्रो काममा लगाइदिने भन्दै आग्रह गरेका थिए । सपनाका पिताले पनि छोरी अमेरिका जाने र नेपालमा रहेको परिवारलाई सहयोग गर्ने आशामा अजयलाई धर्मपुत्रीका रुपमा सुम्पने निर्णय गरेका थिए ।
त्यसपछि सपना सन् १९९९ को जनवरी २३ मा अजयका साथमा अमेरिकाको क्यालिफोर्निया आइन् । त्यतीबेला उनी १५ बर्षकी थिइन् । १५ बर्षकी बालिका अजयसँगै बस्न थालेपनि सन् १९९९ को डिसेम्बर ६ मा धर्मपुत्रीका रुपमा ग्रहण गरेको कानुनी प्रकृया टुंगिएको थियो । सपना अजयसँग बस्न थालेको केही दिनमा नै अजयले सोफामा बसिरहेकी सपनाको पछाडि उभिएर उनको कपडामा आफ्नो लिंग दलेको आरोप लगाइएको थियो । अजयले उनको कपडाबाहिरबाट स्तनसमेत समातेको आरोप थियो । त्यतीबेला अजयकी पत्नी घरमा नभएको जनाइएको थियो ।
त्यो बेला अजयले सपनासँग भएको सबै कुरा कसैलाई नबताउन भनेको र यदि यो कुरा कसैलाई बताएमा नेपाल फिर्ता पठाइदिने र उनको भविश्य बर्बाद हुने चेतावनी अजयले दिएको आरोप लगाइएको थियो । सोफामा भएको यो घटनाको एकमहिनामा अजयले उनलाई पहिलोपटक बलात्कार गरेको आरोप थियो । सपना उम्किन खोज्दा अजयले उनको हात समातेर चुप लाग्न भनेको आरोप लगाइएको थियो । अजयले पहिला औंला सपनाको गुप्तांगमा लगेका र त्यसपछि बलात्कार गरेको अभियोग थियो । त्यसपछि कसैलाई यो कुरा नभन्न चेतावनी दिएको तथा पहिले श्रीमति घरमा नभएको बखतमात्र बलात्कार गरेपनि पछि श्रीमति भएकै बखत, बाहिर जाँदा समेत बलात्कार गरेको अजयविरुद्ध आरोप थियो ।
अजयले सपना १९ बर्ष पुग्दासम्म आफ्नो डेल ल्यापटप र डेस्कटप कम्प्युटरमा पाँचदेखि ६ वटासम्म अश्लिल चलचित्र देखाएको आरोप लगाइएको थियो । ती सबै अश्लिल चलचित्रहरुमा कलिला युवतीहरुलाई देखाइएको आरोप समेत लगाइएको थियो । अजयले सपनालाई बुबा, आमा र छोरीको भूमिका रहेको अश्लिल चलचित्र देखाउँदै चलचित्रमा जस्तै गर्न लगाएको समेत आरोप थियो । अजयले सपनाको नांगो तस्विरसमेत लिएको आरोप थियो । बलात्कारपछि गर्भ रहेका कारण सन् २००३ को जनवरी २ मा अजयले सपनालाई गर्भपतनका लागि लगेको आरोप समेत थियो । त्यतीबेला उनको पेटमा ५ हप्ताको गर्भ रहेको तथा दोश्रो पटक सन् २००३ को मे महिना सपनालाई गर्भपतनका लागि लगिएको अजयविरुद्धको आरोपमा उल्लेख थियो ।
अजयले अमेरिकी जेलमा सजाय काटिरहेको बखत उनी निर्दोष रहेको दावीहरु पहिलेदेखि नै गरिदै आएको थियो । थर्ड ड्रिस्ट्रिक्ट कोर्ट अफ अपिलले अजयलाई बचाउन गरिएको अपिलको मौखिक सुनुवाई समेत गरेको थियो । अपिलमा सुनुवाईपछि सन् २०१७ को जनवरी १७ भित्र फैसला सुनाउनुपर्ने नियम अनुशार जनवरी १७ पुग्नुभन्दा अगाडि नै जनवरीको दोश्रो साता अपिलको सुनुवाई गर्दै अजयलाई पुन दोषी ठहर गरिएको थियो । भेन्स राय, लुइस मौरो र ह्यारी हलको इजलासले अजयलाई पुन दोषी ठहर गरेको थियो । अजयका वकिलले अदालतमा अजयलाई निर्दोष सावित गर्ने प्रयास गरेकी थिइन् । तर उनको त्यो प्रयास सफल भने हुन सकेको थिएन ।
अजयको मुद्दाको फैसला हुँदा प्रमाणित नेपाली अनुवादक राख्न नसकेको, बालबालिकाको अश्लिल भिडियो राखेको प्रमाणित गर्न नसकेको लगायतका कारण देखाउँदै अजयलाई निर्दोष सावित गर्न प्रयास गरिएको थियो । तर अदालतले अजयलाई बलात्कारी प्रमाणित गर्ने प्रयाप्त कागजातहरु रहेको, त्यतीबेला अँग्रेजी नबुझ्ने कोही नभएकाले प्रमाणित नेपाली अनुवादक राख्नु नपरेको, अश्लिल भिडियो राखेको कुरा अजय आफैले स्वीकार गरेको लगायतका कारण देखाउँदै अजयलाई नै दोषी ठहर गरेको थियो ।
सन् २०१७ जनवरी १२ तारिख बिहिबार अदालतले मुद्दाबारे ५९ पेज लामो धारणा सार्वजनिक गरेको थियो । तीनजना न्यायाधिसहरुले अक्टोबर १९ मा लिएको बयानका आधारमा जनवरी १२ मा अजयलाई पुन दोषी ठहर गर्दै फैसला गरेपछि उनलाई बचाउन अर्को प्रयास असफल भएको थियो । अजय र उनका परिवारले अजयमाथि अन्याय भएको भन्दै अपिल गरेपनि न्यायाधिसहरुले पहिले गरिएको फैसला नै सदर गरेका थिए ।
अजय निर्दोष रहेको भन्दै उनका परिवारले समेत प्रदर्शन गर्दैै आएका थिए । अजयका केही समर्थकहरुले अजय निर्दोष रहेको भन्दै अभियान नै संचालन गरेका थिए । तर पनि अदालतले अजयलाई उन्मुक्ती दिएको थिएन । अजय निर्दोष रहेको र उनलाई मुक्त गर्नुपर्ने माग राख्दै हस्ताक्षर अभियानहरु पनि चलाइएको थियो । बेलाबेलामा अजय निर्दोष रहेको दावीका साथ प्रदर्शनहरु पनि हुने गरेका थिए । अजयका पक्षधरहरुले अजयलाई जबर्जस्ती फसाइएको दावी गर्दै आएका थिए । एड्भोकेट फर अजय नामको समुह नै बनाएर अजय निर्दोष रहेको दावी गरिदै आएको थियो ।