प्रकाशित मिति : १८ असार २०८३, बिहिबार

तस्वीर : आइस
अमेरिकी संघीय आप्रवासन अधिकारीहरूले पछिल्लो पाँच दिनमा १०,००० भन्दा बढी आप्रवासीहरूलाई नियन्त्रणमा लिएका छन्।आइस एजेन्सीभित्र गिरफ्तारी दर बढाउने आन्तरिक दबाबका कारण पक्राउ पर्नेहरूको संख्यामा ठूलो वृद्धि भएको हो।
ह्वाइट हाउसले दैनिक २,००० गिरफ्तारीलाई नयाँ मापदण्ड बनाउन निर्देशन दिएपछि आईसका उच्च अधिकारीहरूले आफ्ना एजेन्टहरूलाई देश निकाला गर्ने अभियानमा केन्द्रित हुन आदेश दिएका हुन्। यो संख्या यस वर्षको सुरुवाती महिनाहरूको तुलनामा झन्डै दोब्बर हो, जहाँ पहिले दैनिक करिब १,००० जना पक्राउ पर्ने गर्थे।
होमल्यान्ड सेकुरिटीका सेक्रेटरी मार्कवेन मुलिनले यस पटक विगतको जस्तो सञ्चारमाध्यममा प्रचार नगरी ‘शान्त प्रवर्तन अभियान’ चलाउने रणनीति लिएका छन्। गत वर्ष मिनेसोटामा भएको एक महिना लामो कारबाहीका क्रममा दुई अमेरिकी नागरिक मारिएपछि उत्पन्न विवाद र अराजकतालाई ध्यानमा राख्दै यो गोप्य रणनीति अपनाइएको हो।
हालैका दिनहरूमा अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पको आप्रवासन नीति तय गर्ने अधिकारलाई थप फराकिलो बनाएको छ। यद्यपि, गैरकानुनी आप्रवासीका छोराछोरीको जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्पको प्रयासलाई भने अदालतले रोकिदिएको थियो।
विभागकी प्रवक्ता लाउरेन बिसले एक बयानमा भनिन्, हाम्रो सन्देश प्रष्ट छ: यदि तपाईं हाम्रो देशमा अवैध रूपमा आउनुहुन्छ भने, हामी तपाईंलाई खोज्नेछौँ, पक्राउ गर्नेछौँ र देश निकाला गर्नेछौँ।
यस तीव्र धरपकडले अमेरिकामा रहेका आप्रवासी समुदाय र अधिकारवादीहरूमा ठूलो त्रास फैलाएको छ। आईस अधिकारीहरूले नियमित चेक-इन, ट्राफिक स्टप र सडकबाटै मानिसहरूलाई उठाइरहेका छन्। आन्तरिक कागजातका अनुसार, हाल आइसको हिरासतमा रहेका आप्रवासीहरूको कुल संख्या ६३,००० नाघिसकेको छ।
टेक्सास, फ्लोरिडा र युटाह जस्ता राज्यहरूबाट कुनै आपराधिक रेकर्ड नभएका, वर्षौँदेखि कर तिर्दै आएका र समाजमा योगदान पुर्याइरहेका व्यक्तिहरू समेत अचानक पक्राउ परेका छन्। आप्रवासन वकिलहरूका अनुसार, मानिसहरू अहिले यति धेरै डराएका छन् कि उनीहरू घरबाट बाहिर निस्कन, गाडी चलाउन र दैनिक उपभोग्य सामान किन्न बजार जान समेत त्रसित बनिरहेका छन्।