प्रकाशित मिति : श्रावण १३, २०८१ आईतबार
अमेरिकीहरूले रिटायर्डमेन्टको लागि कति बचत गरेका छन् भन्ने रिपोर्टहरू आउँदै गर्दा विज्ञहरुले गर्न नहुने गल्तीहरुबारे पनि सचेत गराएका छन् । अमेरिकामा रोजगारदाताहरुबाट प्रायोजित रिटायर्डमेन्ट बचत योजनामा पहुँच भएका लगभग आधा अमेरिकीहरू रहेका छन् । तर औषत रकम झण्डै ३५,००० भन्दा बढीमात्र रहेको जनाइएको छ ।
उल्लेख्य संख्यामा बचतकर्ताहरूले चाँडै रकम झिकेका छन् भने ऋण लिने प्रतिशत पनि बढेको छ । रिटायर्डमेन्ट बचत ४०१ (के)मा अटोमेटिक रुपमा समावेश हुने क्रम बढ्नु नै नै यी खाताहरूमा पहिलेभन्दा धेरै अमेरिकीहरूले बचत गर्नुको मुख्य कारण हो। रिटायर्डमेन्ट बचत ४०१ (के)मा सहभागी कम्पनीहरूमा आफ्ना कर्मचारीहरूलाई स्वचालित रूपमा यसमा समावेश गर्छन् जुन गत वर्ष ९४ प्रतिशत पुगेको थियो भने यो प्रतिशत अघिल्लो बर्ष ६७ प्रतिशत थियो ।
तर मानिसहरू आफूलाई तोकिएको दरसँगमात्र सिमित रहने भएकाले उक्त स्तर सामान्यतया आरामदायी रिटायर्डमेन्टका लागि निकै कम हुने गरेको छ । १० मध्ये सात योजनाहरूमा प्रारम्भिक पूर्वनिर्धारित योगदान दर ट्याक्स तिर्नु अगाडिको आम्दानीको ६ प्रतिशत भन्दा कम रहेको छ। वित्तीय सल्लाहकारहरूले रिटायर्डमेन्टका लागि सामान्यतया १० देखि १५ प्रतिशत रकम छुट्याउन सिफारिस गर्छन्।
केही कम्पनीहरूले पूर्वनिर्धारित सेटिङलाई निरन्तर रूपमा बढाउँदै आएका छन् भने कर्मचारीको वार्षिक ४०१ (के) बचत बढाउँदै गएका छन् । सामान्यतया १० प्रतिशत नपुग्दासम्म एक प्रतिशतले बढाउँदै गएको देखिन्छ । यदि कर्मचारी पर्याप्त समयसम्म कम्पनीमा कार्यरत रहेमा मात्र ती वार्षिक वृद्धिहरूले मद्दत गर्दछ । आजकल औसत जागिरको अवधि झण्डै ४ वर्ष हुने भएको हुनाले धेरै व्यक्तिहरूले आफ्नो ४०१ (के) प्रत्येक केही वर्षमा स्क्र्याचबाट सुरु गर्छन् । जसले गर्दा प्रारम्भिक बचत दर ६ प्रतिशतभन्दा कममा कायम रहन्छ ।
अमेरिकामा १५ प्रतिशत मात्र स्वैच्छिक रूपमा ४०१ (के) बचत रकम बढाउन चाहन्छन् । तर विज्ञहरु यदि तलब बढेको खण्डमा अरुलाई पनि त्यसो गर्न सुझाव दिन्छन् । रिटायर्डमेन्ट बचत ४०१ (के) मा स्वैच्छिक साइन अपको सुविधा भएको कम्पनीको लागि काम गर्नेलाई साइनअपका लागि ढिलाइ नगर्न सुझाव दिइएको छ । रिटायर्डमेन्टको लागि चाँडै बचत गर्न सुरु नगरे पछि पछुताउनुपर्ने विज्ञहरुको सुझाव छ ।
प्रायजसो योजनाहरुमा रोजगारदाताले आम्दानीको ६ प्रतिशत नपुग्दासम्म कर्मचारीहरूको प्रत्येक एक डलर बचतमा ५० सेन्टस थप्छन् । तर लगभग आधा योग्य कर्मचारीहरूले पूर्ण मिलान प्राप्त गर्न पर्याप्त बचत गर्दैनन् । पेचेकबाट थप बचत गर्न सक्नेले पनि ६ प्रतिशतसम्म बचत नगर्नु गल्ती भएको विज्ञहरुको भनाई छ । यो म्याचमा सहभागी नहुनु युवा बचतकर्ताहरूको लागि घाटाजनक रहेको विज्ञहरुको भनाई छ । बार्षिक ७५ हजार डलर कमाउने ३० बर्षको व्यक्तिले ३ प्रतिशत आम्दानी रिटायर्डमेन्ट बचत ४०१ (के) मा म्याच गराउदा बार्षिक रिटर्न ८ प्रतिशत गणना गर्ने हो भने ६५ बर्षको उमेरमा पुग्दा ८ लाख १५ हजार डलर पुग्छ । यदि ६ प्रतिशत नै बचत गर्ने हो भने यो रकम १ दशमलव ६ मिलियन हुन्छ ।
त्यस्तै रिटार्यमेन्ट बचत गरेको व्यक्ति कहिलेकाँही आफ्नै सबैभन्दा खराब शत्रु बन्न पुग्छन् । किनभने उनीहरुले कडा मिहिनेतका साथ रिटायर्डमेन्ट बचत ४०१ (के) त गर्छन् तर अहिलेको नगद आवश्यकता पूरा गर्न खाताबाट छिटो रकम निकाल्छन् । एकतिहाईदेखि झण्डै आधा बचतकर्ताहरुले आंशिक वा पूरै रकम निकालेको पाइएको छ । यस वर्ष लागू हुने नयाँ संघीय नियमहरूले १० प्रतिशत दण्ड बिना १ हजार डलरसम्म वार्षिक रकम निकाल्न अनुमति दिएर यस्ता खाताहरूबाट रकम निकाल्न अझ सजिलो बनाउनेछ। तर यसो गर्न नहुने विज्ञहरुको सुझाव छ ।
तर हरेकपल्ट यो खाताबाट रकम निकाल्नु भने गल्ती नहुनसक्छ । आपतकालीन अवस्थाहरू वा भारी ऋण भएमा रकम निकाल्नुपनि उचित विकल्प हुनसक्छ । कामबाट निकालिएको अवस्थामा वा उच्च दरको क्रेडिट कार्ड ऋण भएको अवस्थामा कोषको उत्तम उपयोग गर्न सकिने विज्ञहरुको भनाई छ । तर सामान्य अवस्थामा कोष नचलाउन सुझाव दिइएको छ । किनभने युवा बचतकर्ताले ५ हजार डलर ननिकालेर कोषमा नै छाड्दा ८ प्रतिशत रिटर्न हिसाब गर्दा ३० बर्षमा ५० हजार ३ सय हुन्छ भने ४० बर्षमा १ लाख ८ हजार ४ सय हुन्छ ।