प्रकाशित मिति : १८ असार २०८३, बिहिबार

Photo: David Jones/ Unsplash
अमेरिकी रोजगार बजार जुन महिनामा सुस्त देखिएको छ। यस महिना रोजगारदाताहरूले केवल ५७,००० नयाँ रोजगारी थपेका छन्, जुन अर्थशास्त्रीहरूले अनुमान गरेको भन्दा झण्डै आधा मात्र हो। यसका साथै, ब्यूरो अफ लेबर स्ट्याटिस्टिक्सले अघिल्ला दुई महिनाको तथ्याङ्कलाई संशोधन गर्दै कुल ७४,००० रोजगारी घटाएको छ।
ब्यूरोका अनुसार, गत मे महिनामा सुरुमा अनुमान गरिएको १७२,००० नयाँ रोजगारीलाई घटाएर १२९,००० र अप्रिलको १७९,००० लाई घटाएर १४८,००० कायम गरिएको छ।
पछिल्लो तथ्याङ्क अनुसार देशको बेरोजगारी दर सामान्य घटेर ४.२% पुगेको छ। यद्यपि, ७२०,००० मानिसहरू श्रम बजारबाट बाहिरिएका कारण बेरोजगारहरूको वास्तविक संख्यामा भने खासै परिवर्तन आएको छैन।
यसरी तथ्याङ्कहरू अर्थशास्त्रीहरूको अपेक्षाभन्दा कम रहे तापनि पछिल्लो तीन महिनामा औसत १११,००0 नयाँ रोजगारी थपिएका छन्। यसले मध्यपूर्वमा जारी युद्धका कारण बढेको महँगी र आर्थिक अनिश्चितताका बाबजुद पनि रोजगारी बजार अपेक्षाकृत सुदृढ नै रहेको संकेत गर्छ। यो संख्या गत शरद र हिउँद याममा देखिएको सुस्त वृद्धिको तुलनामा अझै पनि निकै बढी हो।
पेरोल प्रदायक कम्पनी एडिपीको तथ्याङ्क अनुसार जुन महिनामा निजी रोजगारदाताहरूले ९८,००० रोजगारी थपेका छन्। एक वर्षदेखि एउटै काममा टिकिरहेका कामदारहरूको वार्षिक पारिश्रमिक गत वर्षको तुलनामा ४.४% ले वृद्धि भएको छ। यसमध्ये वित्तीय क्षेत्रका कर्मचारीहरूको वार्षिक तलब सबैभन्दा बढी ५% ले बढेको छ।
हालसम्म रोजगारी बजार धानिरहेको स्वास्थ्य क्षेत्रमा जुन महिनामा २२,००० रोजगारी थपिएको छ, जुन यसको मासिक औसत वृद्धि (३८,०००) भन्दा कम हो। अर्कोतर्फ, अमेरिकाले ‘विश्वकप फुटबल’ आयोजना गरिरहेको भए तापनि पर्यटन तथा मनोरञ्जन क्षेत्रमा अनपेक्षित रूपमा ६१,००० रोजगारी घटेको छ। यसले यस मौसममा हुने अस्थायी भर्ना सोचेजस्तो हुन नसकेको देखाउँछ।
ब्यूरो अफ लेबर स्ट्याटिस्टिक्सको यसै साता सार्वजनिक अर्को प्रतिवेदन अनुसार, मे महिनामा नयाँ नियुक्ति, रोजगारीका अवसर र स्वेच्छिक राजीनामाको संख्यामा ठूलो फेरबदल आएको छैन। यसले अमेरिकी अर्थतन्त्र हाल “कम नियुक्ति, कम निष्कासन” को अवस्थामा रहेको पुष्टि गर्छ।
एडिपीकी मुख्य अर्थशास्त्री डा. नेला रिचर्डसन भन्छिन्, भर्नाको यो गतिले माग र आपूर्ति दुवैको कथा भनिरहेको छ। मानिसहरूलाई काम खोज्न बढी समय लागिरहेको छ भने केही उद्योगहरूमा श्रम आपूर्तिको अभाव पनि देखिएको छ। अहिलेको लागि, यसको समग्र असर रोजगारी सिर्जनामा मन्दीका रूपमा देखिएको छ।
रोजगारीको यो नयाँ तथ्याङ्कले अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ले जुलाईको अन्त्यमा बस्ने आफ्नो आगामी बैठकमा मुद्रास्फीति नियन्त्रणमै बढी केन्द्रित हुने सम्भावना बढाएको छ। गत महिना, फेडका नयाँ अध्यक्ष केभिन वार्सले कार्यभार सम्हालेपछिको आफ्नो पहिलो पत्रकार सम्मेलनमा “मूल्य स्थिरता” मा जोड दिँदै बैंकले २% को मुद्रास्फीति लक्ष्यलाई पछ्याइरहने बताएका थिए। यद्यपि, यसै साता उनले केन्द्रीय बैंकरहरूको सम्मेलनमा “मुद्रास्फीतिको जोखिम कम भएको” उल्लेख गरे।
गत फेब्रुअरीदेखि मध्यपूर्वमा सुरु भएको युद्धका कारण महँगी तीव्र रूपमा बढेको छ, जसले मे महिनामा ३ वर्षकै उच्च ४.२% को विन्दु छोएको थियो। अमेरिका र इरानबीच केही समयअघि कमजोर शान्ति सम्झौता भए तापनि इन्धनको मूल्य अझै उच्च नै छ। यसै महिनाको अन्त्यमा सार्वजनिक हुने जुन महिनाको मुद्रास्फीति तथ्याङ्कमा हालैको कूटनीतिक वार्ताको सकारात्मक प्रभाव देखिन्छ या देखिँदैन भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।
गत जुन महिनाको बैठकमा फेडका अधिकारीहरूले सार्वजनिक गरेको प्रक्षेपण अनुसार, अधिकांश सदस्यहरू वर्षको अन्त्यसम्ममा कम्तीमा एक पटक ब्याजदर बढाउने पक्षमा छन्। केन्द्रीय बैंकले गत डिसेम्बरदेखि ब्याजदरलाई यथावत् राखेको छ।
