प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार

फोटो: होमल्याण्ड सेक्युरिटी
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आइसका लागि एप्पलटनमा रहेको पूर्व निजी कारागार प्रयोग गर्ने प्रस्ताव अघि सारेको छ। अमेरिकी सामान्य सेवा प्रशासनको वेबसाइटमा पोस्ट गरिएको जानकारी अनुसार, उक्त बन्द रहेको ‘प्रेरी करैक्शनल फेसिलिटी’मा करिब १,६०० आप्रवासी थुनुवाहरूलाई राख्ने योजना बनाइएको हो।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र आइसले प्रशासनको आन्तरिक प्रवर्तन र सीमा व्यवस्थापनको लक्ष्य पूरा गर्न थुनुवा राख्ने क्षमता बढाउनु आवश्यक रहेको बताएका छन्। विज्ञप्तिमा थप भनिएको छ, प्रवर्तन र निष्कासन कार्यको पक्राउ, हिरासत र देशनिकासन सम्बन्धी मिसनलाई कम खर्चिलो र छिटो छरितो रूपमा सम्पन्न गर्न यो भौगोलिक क्षेत्र आवश्यक छ।
उक्त पोस्टका अनुसार, कारागारको स्वामित्व भएको कोरसिभिक कम्पनीले सेन्ट पलस्थित आइस फिल्ड अफिसको सहयोगमा सुरक्षागार्ड, खाना, स्वास्थ्य उपचार र यातायात सेवाहरू उपलब्ध गराउनेछ।
यस विषयमा एप्पलटनका नगर प्रशासक जोन ओलिङ्गरले भनेका छन, स्थानीय सहरी नियम अनुसार यस क्षेत्रमा कारागार सञ्चालन गर्न अनुमति छ। तपाईँहरू जस्तै हामीले पनि यो कुरा आजै मात्र थाहा पाएका हौँ। हामीसँग यसबाहेड थप कुनै जानकारी छैन र आउने सम्भावना पनि देखिँदैन।
यसैबीच, डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, अहिले नै घोषणा गरिहाल्ने गरी हामीसँग कुनै नयाँ हिरासत केन्द्रहरू छैनन्। अमेरिकी नागरिकको सुरक्षाका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले हरेक दिन देशभर कानुन कार्यान्वयनका गतिविधिहरू गरिरहेको हुन्छ। आइसले अमेरिकाका विभिन्न राज्यहरूमा गिरफ्तारी गरिरहने र हिरासत कक्षको क्षमता विस्तारका लागि सक्रिय रूपमा काम गरिरहेको कुरा कुनै नयाँ विषय होइन।
