प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार

अमेरिकाको लुइसियानामा सिनेट सदस्यका लागि हुने निर्वाचन अन्तर्गत भएको आन्तरिक प्रतिस्पर्धामा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थित उम्मेदवार विजयी भएका छन्। ट्रम्प समर्थित उम्मेदवारले सन् २०२१ मा ट्रम्पविरुद्धको महाभियोग मुद्दामा दोषी ठहर गर्न मतदान गर्ने रिपब्लिकन सिनेटरलाई पराजित गरेका हुन्।
लुइसियानामा भएको उच्च महत्त्वको रिपब्लिकन प्रतिस्पर्धामा दुई कार्यकाल पूरा गरेका सिनेटर बिल क्यासिडी पराजित भएका हुन्। ट्रम्पले यसअघि क्यासिडीलाई “अविश्वासी र असफल नेता” को संज्ञा दिएका थे।
काङ्ग्रेस सदस्य जुलिया लेटलो आगामी महिना हुने दोस्रो चरणको निर्वाचनमा प्रवेश गरेकी छन्। ट्रम्प समर्थक अर्का उम्मेदवार जोन फ्लेमिङ पनि सिनेट सिटको दोस्रो चरणमा पुगेका छन्। कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत ल्याउन नसकेपछि लेटलो र फ्लेमिङबीच जुन महिनाको अन्त्यमा पुनः प्रतिस्पर्धा हुने भएको हो। त्यसमा विजयी हुने उम्मेदवारले आमनिर्वाचनमा डेमोक्र्याट उम्मेदवारसँग प्रतिस्पर्धा गर्नेछन्।
६८ वर्षीय क्यासिडी सन् २०२१ मा अमेरिकी संसद् भवनमाथि भएको जनवरी ६ को आक्रमणपछि ट्रम्पविरुद्धको महाभियोग प्रस्तावमा दोषी ठहर गर्न मतदान गर्ने सात रिपब्लिकन सिनेटरमध्ये एक थिए। त्यसबेला सिनेटमा ५७–४३ मत परेको भए पनि आवश्यक दुईतिहाइ बहुमत नपुग्दा ट्रम्प निर्दोष ठहरिएका थिए।
ट्रम्पविरुद्ध मतदान गर्ने सात रिपब्लिकनमध्ये अहिले पनि सिनेटमा तीन जना मात्रै बाँकी छन्। उनीहरूमा लिसा मर्कोस्की, सुसन कोलिन्स र बिल क्यासिडी रहेका छन्। पुनःनिर्वाचन अभियानका क्रममा क्यासिडीले ट्रम्पसँगको चिसिएको सम्बन्ध सुधार्ने प्रयास गरेका थिए। तर ट्रम्पले क्यासिडीलाई पराजित गराउने चाहना स्पष्ट रूपमा व्यक्त गरेका थिए। उनले जनवरीमै ४५ वर्षीया लेटलोलाई क्यासिडीविरुद्ध उम्मेदवारी दिन प्रोत्साहित गरेका थिए।
उता क्यासिडीले आफ्नो हारपछि दिएको मन्तव्यमा ट्रम्पको नाम भने लिएनन्। तर उनले ट्रम्पले सन् २०२० को चुनाव आफूबाट चोरिएको भन्दै गरेको दाबीप्रति सङ्केत गर्दै टिप्पणी गरे। क्यासिडीले अमेरिकी नेताहरू कुनै एक व्यक्तिप्रति नभई जनताको हितप्रति जिम्मेवार हुनुपर्ने बताए।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत क्यासिडीको हारप्रति खुसी व्यक्त गरेका छन्। उनले लेखेका छन्, “उनको राजनीतिक जीवन समाप्त भएको देख्दा राम्रो लाग्यो।” अर्को सन्देशमा ट्रम्पले भने, “निर्दोष व्यक्तिविरुद्ध महाभियोगको पक्षमा मतदान गरेपछि यस्तै परिणाम भोग्नुपर्छ।”
अब प्रतिस्पर्धा दोस्रो चरणमा पुगेपछि ट्रम्पले सक्रिय रूपमा चुनावी अभियानमा सहभागिता जनाउने वा नजनाउने स्पष्ट भएको छैन। सन् २०२१ मा लुइसियानाबाट काङ्ग्रेसमा निर्वाचित पहिलो रिपब्लिकन महिला बनेकी लेटलोले प्रारम्भिक मतदानमा करिब ४५ प्रतिशत मत प्राप्त गरेकी छन्।