प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार

अमेरिकी राष्ट्रपति ट्रम्प । तस्वीर : एपी/रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको सैन्य आक्रमण स्थगित गरिएको बताएका छन्। खाडी क्षेत्रका राष्ट्रहरूको आग्रहमा मङ्गलवार गर्ने भनिएको इरानमाथिको आक्रमण नगर्ने निर्णय भएको उनले जानकारी दिए। हाल वार्ता गम्भीर रूपमा भइरहेको समेत उनले बताएका छन्।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ट्रम्पले कतार, साउदी अरेबिया तथा संयुक्त अरब इमिरेट्स (यूएई) का नेताहरूको अनुरोधपछि आक्रमण रोकेको जानकारी दिएका हुन्। अमेरिकालाई स्वीकार्य हुने सम्झौता हुन लागेको जानकारी प्राप्त भएको दाबी गर्दै उनले इरानसँग कुनै पनि अवस्थामा आणविक हतियार हुने छैन भन्ने अमेरिकी अडान यथावत् रहेको बताए।
तर, ट्रम्पले स्वीकार्य सम्झौता नभए अमेरिका “जुनसुकै बेला पूर्ण तथा व्यापक सैन्य आक्रमण गर्न तयार” रहेको चेतावनी पनि दिएका छन्। अर्कातर्फ, इरानका एक वरिष्ठ सैन्य कमान्डरले अमेरिकालाई रणनीतिक गल्ती र गलत अनुमान फेरि नगर्न चेतावनी दिएका छन्।
ट्रम्पको पछिल्लो अभिव्यक्ति उनको लोकप्रियता घटिरहेका बेला आएको हो। हालै सार्वजनिक भएको एक मत सर्वेक्षणअनुसार अधिकांश अमेरिकी नागरिक इरानसँगको युद्धको विपक्षमा देखिएका छन्। ‘न्यूयोर्क टाइम्स’ र ‘सिएना कलेज’ ले सार्वजनिक गरेको उक्त सर्वेक्षणअनुसार ६४ प्रतिशत मतदाताले इरानसँग युद्धमा जानु गलत निर्णय भएको बताएका छन्। सर्वेक्षणमा ट्रम्पको कार्यसम्पादनप्रतिको समर्थन दर (अप्रुभल रेट) ३७ प्रतिशतमा झरेको उल्लेख छ।
गत फेब्रुअरी २८ देखि अमेरिकी तथा इजरायली सेनाले इरानमाथि व्यापक हवाई आक्रमण सुरु गरेका थिए। त्यसको जवाफमा इरानले खाडी क्षेत्रका विभिन्न अमेरिकी तथा इजरायली लक्ष्यतर्फ ड्रोन तथा क्षेप्यास्त्र प्रहार गरेको थियो।
खाडी क्षेत्रका अरब राष्ट्रहरू इरानको सम्भावित प्रतिशोधबाट चिन्तित रहेको विश्लेषण गरिएको छ। इरानसँग अझै ठूलो सङ्ख्यामा ड्रोन तथा क्षेप्यास्त्र रहेकाले छिमेकी राष्ट्रका विमानस्थल, पेट्रोलियम-रासायनिक केन्द्र तथा खानेपानी उत्पादन गर्ने समुद्री जल प्रशोधन केन्द्रहरू जोखिममा पर्न सक्ने आशङ्का गरिएको छ।
इरानले अझै पनि होर्मुज जलमार्गमा नियन्त्रण कायम राखेको छ। विश्वको करिब २० प्रतिशत तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) यही जलमार्ग हुँदै ओसारपसार हुने भएकाले यसको प्रभाव विश्व बजारमा परेको छ।