अमेरिकाको मिसौरीमा निजी विमान दुर्घटना, चालक दलसहित १२ जनाको मृत्यु



प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार

अमेरिकाको मिसौरीमा निजी विमान दुर्घटना, चालक दलसहित १२ जनाको मृत्यु

photo: Andrew Palmer/Unsplash

अमेरिकाको मिसौरी राज्यमा स्काईडाइभिङका लागि यात्रु बोकेको एउटा निजी विमान दुर्घटना हुँदा विमानमा सवार चालक दलका सदस्यसहित सबै १२ जनाको मृत्यु भएको छ।

स्थानीय विमानस्थलबाट उडान भर्ने बित्तिकै एक चौरमा खसेको उक्त विमानमा तत्कालै भीषण आगलागी भएको अधिकारीहरूले जनाएका छन्। बट्स काउन्टीका शेरीफ चाड एन्डरसनका अनुसार आइतबार बिहान करिब ११:३० बजे भएको उक्त दुर्घटना केही यात्रुका परिवारका सदस्यहरूले आफ्नै आँखाले देखेका थिए।

बट्लर मेमोरियल विमानस्थल नजिकैको घाँसे मैदानमा विमानको नीलो र चाँदीको भग्नावशेष छरपस्ट अवस्थामा रहेको छ। दुर्घटनालगत्तै उद्धारका लागि ठूलो संख्यामा आपत्कालीन सवारी साधनहरू परिचालन गरिएका थिए। मृतकका आफन्तहरूलाई सान्त्वना र सहयोग दिन पादरी तथा स्वयंसेवकहरू घटनास्थलमा पुगेका छन्। अधिकारीहरूले मृतकहरूको पहिचान गर्ने र परिवारलाई खबर गर्ने काम भइरहेको बताएका छन्।

संघीय उड्डयन प्रशासन  र राष्ट्रिय यातायात सुरक्षा बोर्डका अनुसन्धान टोलीहरू घटनाको छानबिनका लागि घटनास्थलमा पुगिसकेका छन्।

स्काईडाइभ कान्सास सिटी’ द्वारा सञ्चालित उक्त विमान ‘प्यासिफिक एरोस्पेस ७५०एक्सएल’  मोडेलको एकल इन्जिन भएको टर्बोप्रप विमान थियो। कार्यवाहक विमानस्थल प्रबन्धक डेनिस ज्याकोब्सका अनुसार विमानले उडान भरेलगत्तै देब्रेतर्फ मोडिएको थियो। ज्याकोब्सले भने, “मेरो विचारमा विमानको इन्जिन फेल भएको हुनुपर्छ। पाइलटले विमानलाई नजिकैको राजमार्गमा अवतरण गराउने प्रयास गर्दागर्दै विमान अनियन्त्रित भई नाकको बलले भुइँमा बजारियो र आगो लाग्यो।”

अमेरिकाको मिसौरीमा निजी विमान दुर्घटना, चालक दलसहित १२ जनाको मृत्यु

दुर्घटना भएको दिन मौसम सफा थियो। विमान ट्र्याकिङ कम्पनी ‘फ्लाइटअवेयर’ का अनुसार उक्त विमानले आइतबार दुर्घटना हुनुअघि दुईवटा सफल उडानहरू गरिसकेको थाहा भएको छ।

 विमान दुर्घटनाको यथार्थ कारण पत्ता लाग्न एक वर्ष वा सोभन्दा बढी समय लाग्न सक्ने उड्डयन विज्ञहरू बताउँछन्। तर, उड्डयन सुरक्षा विज्ञ जेफ गुज्जेटीका अनुसार स्काईडाइभिङ गर्ने कम्पनीहरूमा कमजोर मर्मतसम्भार र फितलो सुरक्षा निगरानीका कारण यसअघि पनि धेरै दुर्घटनाहरू भएका छन्। स्काईडाइभिङ विमानहरू व्यावसायिक एयरलाइन्स वा चार्टर उडानहरू जस्तो कडा नियमनमा नहुने र उनीहरूलाई सामान्य निजी विमान सरहको खुकुलो नियम मात्र लागु हुने भएकाले यस्ता दुर्घटना बढेको उनको भनाइ छ।

यसअघि सन् २०१९ मा हवाईमा ११ जनाको ज्यान जाने गरी भएको यस्तै प्रकृतिको दुर्घटनापछि पनि नियामक निकायको कमजोरीलाई लिएर चिन्ता व्यक्त गरिएको थियो। दुर्घटनापछि अनुसन्धान नसकिउन्जेलसम्मका लागि बट्लर मेमोरियल विमानस्थल र यसको आसपासका राजमार्गहरू बन्द गरिएको छ।





Source link

Leave a Comment