अमेरिकाको नर्थवेस्ट क्षेत्रमा सुस्तायो अध्यागमन धरपकड, साढे २ महिनामा ८९० जना पक्राउ 



प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार

अमेरिकाको नर्थवेस्ट क्षेत्रमा सुस्तायो अध्यागमन धरपकड, साढे २ महिनामा ८९० जना पक्राउ 

आइस अधिकारी । फाइल तस्वीर

गत शरद ऋतुमा अमेरिकाको प्यासिफिक नर्थवेस्ट क्षेत्रमा आप्रवासी कानुन कार्यान्वयनमा उल्लेख्य वृद्धि देखिए पनि पछिल्लो समय त्यसमा गिरावट आएको देखिएको छ। हालै सार्वजनिक गरिएको तथ्याङ्क अनुसार सन् २०२६ को जनवरीदेखि मार्चको दोस्रो हप्तासम्म उक्त क्षेत्रमा जम्मा ८९० जनालाई अध्यागमन अधिकारीहरूले पक्राउ गरेका छन्।

डिपोर्टेसन डेटा प्रोजेक्टले सार्वजनिक गरेको विवरण अनुसार विशेष गरी फेब्रुअरी महिनामा पक्राउ पर्नेहरूको सङ्ख्यामा उल्लेख्य कमी आएको छ। फेब्रुअरीमा करिब २६० जना पक्राउ परेका थिए, जुन जनवरीको ५४६ जनाको तुलनामा निकै कम हो। यसअघि अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनामा ‘अपरेशन ब्ल्याक रोज’ अन्तर्गत प्रत्येक महिना ८५० भन्दा बढी व्यक्तिहरू पक्राउ परेका थिए।

यद्यपि, तथ्याङ्कको अर्को पक्ष भने अझै पनि चिन्ताजनक देखिएको छ। कुनै पनि आपराधिक पृष्ठभूमि नभएका व्यक्तिहरूलाई समेत पक्राउ गर्ने क्रम जारी रहेको छ। अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले पक्राउ परेकाहरूलाई तीन श्रेणीमा वर्गीकरण गर्ने गर्दछ । आपराधिक सजाय भोगेकाहरू, आपराधिक आरोप लागेकाहरू (तर प्रमाणित नभएका) र अन्य अध्यागमन उल्लङ्घनकर्ताहरूको रूपमा डिएचएसले वर्गीकरण गर्छ ।

पछिल्लो समय पक्राउ परेकामध्ये ठुलो सङ्ख्या त्यस्ता व्यक्तिहरूको रहेको छ, जसको कुनै आपराधिक रेकर्ड छैन । उनीहरूमाथि गैर कानुनी प्रवेशजस्ता अध्यागमन सम्बन्धी आरोप मात्र रहेका छन्।

सिएटल फिल्ड अफिस, जसले ओरेगन, वासिङ्टन र अलास्का क्षेत्रको निगरानी गर्दछ, उक्त क्षेत्रमा जनवरी महिनामा मात्रै ३२२ जना बिना आपराधिक रेकर्डका व्यक्तिहरू पक्राउ परेका थिए।

पोर्टल्याण्डस्थित अध्यागमन सेवा संस्था क्लिअर क्लिनिककी अधिवक्ता ह्विटनी फेल्प्सका अनुसार हाल तथ्याङ्कमा गिरावट आए पनि ढुक्क हुने अवस्था भने छैन। उनका अनुसार प्रशासनको कडा देश निकाला नीतिका कारण आगामी दिनमा फेरि धरपकड बढ्न सक्ने सम्भावना कायमै रहेको छ।





Source link

Leave a Comment