हाम्रा सामाजिक मूल्यहरू के–के हुन् ? यसबारेमा भूगोल, धर्म, संस्कार, मौसम, जाति, क्षेत्र, समुदाय, पेशा, व्यवसाय, परम्परा आदिका आधारमा भिन्नता हुनु स्वाभाविक नै हुन्छ । हामीले स्वीकार गरेका सामाजिक मूल्यले हाम्रो जीवनलाई गहिरो गरी प्रभावित गरिरहेको अनुभूति भएको छ मलाई ।
सामाजिक मूल्यलाई प्रभाव पार्ने, निर्माण गर्ने कुरामा प्रमुख भूमिका चाहिं शिक्षाको हुन्छ जस्तो लाग्छ । शिक्षाको स्रोतहरू परिवार, परिवेश, संगत, परम्परा, संस्कार, राज्यका नियम–कानुन, विद्यालय, सूचना, भोगाइ, सिकाइ, गराइ आदि हुन् ।
म सानो हुँदा र मैले खान नमान्दा आमाले के के भनेर खुवाउनुभयो त्यो त सम्झना छैन तर मेरी श्रीमतीले हाम्रा छोराछोरीलाई खाना खुवाउन के के गरिन् त्यो सम्झना छ । ‘खाना छिटोछिटो खाइहाल् नभए बौलाहा आएर खाइदिन्छ’, ‘खाना खाएन भने त पुलिसले समातेर लैजान्छ’, सुत्ने बेलामा ‘चुपचाप लागेर सुत नभए भूतले तर्साउँछ’, ‘भूतले लैजान्छ’ आदि ।
माथिका कुराले बालमस्तिष्कमा भूत, पुलिस, बौलाहाका बारेमा कस्तो धारणा बन्यो अनुमान गर्न सक्छौं । यो धारणा कहिले परिवर्तन होला त ? त्यसैले होला पुलिसलाई साथी मान्न सकिएन । बौलाहाप्रति सहानुभूति भएन । भूतको वैज्ञानिक परिभाषा बुझ्न कोसिस नै भएन ।
पढ्ने बेलामा हामी नानीहरूलाई फकाउँदै, थर्काउँदै पढाउँछौं, पढ भन्छौं । यहाँसम्म ठिकै छ तर हामी नानीहरूलाई पढेनौ भने ऊ त्यस्तो काम गर्नुपर्छ भनेर शारीरिक श्रम गर्ने मानिसको उदाहरण दिन्छौं ।
हाम्रो शिक्षा जागिरे उत्पादन गर्ने थलो भयो । पढ्न नसक्नेहरू खेती किसानी गर्ने, श्रम गर्ने भए । पढाइमा अब्बल हुन नसकेका, मिहिनेत नगर्ने गफाडीहरू गाउँ–ठाउँका अगुवा बने । कालान्तरमा तिनैमध्येका नेता बने ।
हाम्रो भावना नराम्रो थिएन र छैन तर त्यसको असर हाम्रो दिमागमा के परेको रहेछ र नानीहरूको दिमागमा त्यसले के असर गर्छ भनेर कहिल्यै र कसैले विचार गरेनौं । यो कुराले बालमस्तिष्कमा श्रम र श्रम गर्ने मानिस प्रति घृणाको बीजारोपण गर्यो ।
जागिरे जीवन हाम्रो समाजको आदर्श बन्यो । त्यसैले ‘पढेर ठूलो मान्छे बन्नुपर्छ, जागिर खानुपर्छ, हाकिम हुनुपर्छ’ भनियो । जागिर खानेलाई टिपटप भएर हिंडेको देख्यौं । महिना–महिनामा पैसा आएको देख्यौं । जागिरे छोराछोरी भएको परिवारको समेत सामाजिक मूल्य उच्च रहेको देख्यौं, भोग्यौं । त्यसैले समाजको आदर्श जागिर बन्यो ।
अर्थात् हाम्रो समाज जागिरे उत्पादन गर्नमा रुचि राख्ने भयो । हाम्रो शिक्षा जागिरे उत्पादन गर्ने मोडलको बन्यो । पढ्न नसक्नेहरू खेती किसानी गर्ने, श्रम गर्ने जमात बन्यो । पढाइमा अब्बल हुन नसकेका, मिहिनेत नगर्ने र श्रम पनि नगर्ने गफाडीहरू गाउँठाउँका अगुवा बने । कालान्तरमा तिनैमध्येका नेता बने ।
जागिरका लागि महत्वपूर्ण मानक वा योग्यता भनेको प्रमाणपत्र र उच्चस्कोर बन्न पुग्यो । यही कारण अभिभावक, विद्यार्थी, विद्यालय सबैले सिक्न र सिकाउनभन्दा जसरी हुन्छ उच्च अंक सहितको प्रमाणपत्र हात पार्ने गर्न थालियो । यस्ता थुप्रै प्रमाणपत्रधारीहरूसँग न सीप छ न ज्ञान । श्रम गर्ने जाँगर पनि छैन । यस्तै मध्येका धेरै बेरोजगार छन् ।
मैले नै देखेको छु कतिपय बोर्डिङ स्कुलका प्रोप्राइटर वा प्रिन्सिपल आफ्ना विद्यार्थीलाई उच्च अंक दिलाउन र धेरैलाई उच्च ग्रेडमा पास गराउन परीक्षा हलसम्म पुगेर लबिङ गर्ने, चिट चोराउने काम गर्ने गरेका छन् । हाम्रो विद्यालयले यति पास गर्यो, गरायो भनेर रमाउने, अभिभावक मेरो छोराछोरीले यति नम्बर यो ग्रेड ल्याएर पास गरे भनेर खुसी हुने, विद्यार्थी पाएको नम्बर र ग्रेडमा मख्ख पर्ने हुँदै गयो ।
तर सिकाइको अवस्था कसैलाई वास्ता भएन । यही सामाजिक मान्यता बन्दै गयो । विद्यालय सिक्ने र सिकाउने थलो नभएर प्रमाणपत्र बेच्ने पसल बन्दै गए । शिक्षक, शिक्षिका पढाउने सिकाउने पात्र कम र हाजिरी जागिरे बढ्ता बने । विद्यार्थीले नसिकेको, नजानेकोमा विद्यालय वा शिक्षकलाई हीनताबोध वा ग्लानि हुन्थ्यो भने त कि सिक्ने गरी पढाउने थिए कि पढाउनै छाडेर अरू नै केही गर्ने थिए ।
अभिभावकलाई छोराछोरी पास भएको चाहिन्छ । यति भए इज्जत जोगिन्छ । सिके–नसिकेको हेर्ने न फुर्सद छ न ज्ञान । यसैले सिक्नु होइन पास हुनुले सामाजिक मान्यता पायो ।
आफूले खासै पढ्ने अवसर नपाएको, दुःख (श्रम) गर्नु परेको, सुविधाबाट वञ्चित बन्नु परेको अभिभावकको एउटा पुस्ताले दुःख, श्रमको भारी, अभाव, अप्ठ्यारो सबै आफ्ना काँधमा बोकेर छोराछोरीलाई पढ्न केवल पढ्न मात्रै लगायौं ।
किनकि पढेपछि जागिर खान्छन् र ठूलो मान्छे हुन्छन् भन्ने मान्यता बोक्यौं । यो परिवेश र यही सामाजिक मान्यतामा हुर्किएको पुस्ता श्रम बजारमा प्रवेश गर्न रुचाएन । जागिर सबैलाई जुरेन । जसलाई जागिर जुर्यो उसले राम्रो नतिजा दिन सकेन ।
अवस्था कस्तो भयो भने दश पढ्यो गाउँ छाड्यो, १२ पढ्यो देश छाड्यो । बाबुआमा काम गर्ने मान्छे खोज्छन्, छोराछोरी काम खोज्छन् । न अभिभावकले काम गर्ने मान्छे भेट्टाउँछन् न छोराछोरी काम भेट्टाउँछन् । बाबुआमाले खोजेको श्रम गर्ने मान्छे, सीप भएको मान्छे, छोराछोरीले खोजेको सुकिलोमुकिलो जागिर !
अर्को सामाजिक मान्यता कस्तो बन्यो भने जसले श्रम गर्यो त्यो समाजमा हेपियो । पैसा पाए पनि सम्मान पाएन । मेरा एकजना परममित्रसँग केही दिन पहिले लामो गफ भयो । उहाँ दुई विषयमा मास्टर्स गरेको व्यक्ति, लेखक, मोटिभेटर, ट्रेनर, काठमाडौंमा ठिकैको स्कुलका सञ्चालक, समाजको अवस्थालाई एकदमै नजिकबाट नियालिरहेका र कसरी यो समाजलाई गलत बाटोमा जानबाट रोक्ने होला, कसरी युवालाई देशमा नै रोक्ने र उद्यमी बनाउन सकिएला भनेर चिन्तन गर्ने मान्छे । यसै विषयमा हामी दुई बीचमा लामो गफगाफ भएको थियो ।
उहाँले एक प्रसङ्गमा भन्नुभयो– ‘म गाउँको घरमा आएपछि मेरी आमालाई एउटा चिन्ता हुन्छ, आमा मलाई सम्झाउँदै भन्नुहुन्छ– छोरा समाजले के भन्छ ?’
घरमा पोछा लगाउन, सरसफाइ गर्न, खाना बनाउन, लुगा धुन परिवारकै सदस्यले गरेछौं भने त्यो घरको मान्छेको हैसियत कमजोर रहेछ, हैसियत हुनेले त काम गर्ने मान्छे राख्छन् भन्ने चलन आएको छ ।
मेरा मित्र घर आएको बेला खेतबारीमा काम गर्न जानुहुन्छ, आमाबाबुले गरेको गाईबस्तुको घाँस–खोलेको काममा सघाउनुहुन्छ । गाईभैँसी दुहुन सघाउनुहुन्छ, गोबर सोहोर्नुहुन्छ । घाँसको भारी बोक्नु हुन्छ । यति मात्रै होइन उहाँको सोचाइमा अब बजारको नजिकैमा भएको बुबाको खेतीमा आधुनिक कृषि फार्म सञ्चालन गर्ने योजना छ ।
उहाँले त्यो मोडल सुनाउनुभयो । एकदमै राम्रो लाग्यो । त्यो मोडल नेपालका लागि एकदमै उपयुक्त हुने ठानें । थोरै जमिन (दश कट्ठादेखि एक बिघासम्ममै गर्न सकिने) मल्टिलिएर र इन्डिग्रेटेड फार्मिङ । यसमा बेड मोडल र क्यारी मोडलमा खेती गर्ने, बजारको माग, मौसम र माटोको अवस्थालाई ध्यानमा राखेर उत्पादन गर्ने सोचमा रहेको छु भन्नुभयो ।
उहाँ कृषिको विद्यार्थी नभए पनि त्यसबारेमा मित्रले गरेको व्याख्या र सुझबुझले म प्रभावित भएँ । मलाई एकदमै राम्रो लाग्यो । यसका उत्पादनलाई बजारको समस्या नहुने मेरो बुझाइ छ । तर, मित्रले भन्नुभयो– ‘म अब खेती नै गर्छु भनेपछि आमाको चिन्ता झन् थपिएको छ । अब आमाको चित्त बुझाएरै काम गर्नेछु ।’
आमाले किन चिन्ता गर्नुहुन्छ ? यो हाम्रो सामाजिक समस्या हो । यो हाम्रो सामाजिक मान्यता बनेको छ । बिचरा आमाले त समाजको प्रतिनिधित्व मात्रै गरेको हो ।
आमाको चिन्ता भनेको यत्रो पढेको मान्छे, एक दिन ठूल्ठूला मान्छे भेला पारेर ठूला होटलमा गएर पढाउँदा दिनकै बीस/तीस हजार लिने मान्छे, घरमा आएर खेतीबारी र बस्तुभाउको काम गरेको नै मन परेको थिएन । किनकि समाजले के भन्छ भन्ने पीर थियो । आमा चाहनुहुन्छ छोराले कृषिको काम नगरोस् त्यसो भयो भने मान्छेले कुरा काट्ने थिएनन् ।
धेरै पहिला म किराना पसल गर्थें । गाडीबाट आएका कतिपय समान आफैं बोकेर पसलमा लैजान्थें, अनलोड गर्थें । मानिस मलाई कुल्लीलाई पैसा दिनका लोभले आफैं काम गरेको भन्थे । म सहकारी (एनएमसी) को अध्यक्ष हुुँदा वरिष्ठ उपाध्यक्षको रूपमा जिम्मेवारीमा काम गर्नुहुने नारायणप्रसाद कोइराला बिहान–बेलुका घर वरिपरिको सरसफाइ, बगैंचाको सामान्य गोडमेल र पालेको गाईको थलामा काम गर्दा छिमेकीले आएर देख्दा घरमा काम गर्ने मान्छे छैनन् र आफैं गरेको भनेर सोध्ने गर्छन् भन्नुहुन्थ्यो ।
आजभोलि धेरै मानिसको बसाइ शहरकेन्द्रित हुँदै गयो । शहरबजारमा बनेका घरका बिजुली, धारा, शौचालय, नाला आदिमा कहिलेकाहीं समस्या आउँछ तर हामी ती काम गर्न जान्दैनौं, सिकेकै छैन । सिकेर गरिहालेछौं भने अरूले देख्दा त्यो काम घरधनीले गर्ने होइन भन्ने सामाजिक मान्यता छ ।
शहरमा बस्नेका लागि घरघरमा काम गर्ने सहयोगी नभई नहुने अवस्था सिर्जना हुँदैछ । घरमा पोछा लगाउन, सरसफाइ गर्न, खाना बनाउन, लुगा धुन परिवारकै सदस्यले गरेछौं भने त्यो घरको मान्छेको हैसियत कमजोर रहेछ, हैसियत हुनेले त काम गर्ने मान्छे राख्छन् भन्ने चलन आएको छ ।
काम नगरेपछि जीउ भद्दा हुने, रोग थुप्रिने हुन्छ त्यसपछि जिम जाने, वाकिङमा जाने, हाइकिङ गर्ने, डाक्टरकहाँ धाउने, दबाईको भर पर्ने गरिन्छ तर घरमुनिको पसलबाट बीस लिटरको पानीको जार माथिल्लो तलामा लैजानु पर्यो भने युवा पुस्तालाई लाज लाग्छ । गर्नै पर्ने भए अरूले देख्लान् कि भनेर धकाउँछन् ।
मैले यो लेखमा यति भूमिका किन बाँधेको भने हाम्रो सामाजिक मूल्य नै श्रमप्रति सम्मान गर्ने खालको बनेन । श्रमको सम्मान नहुँदा श्रमिकको सम्मान भएन । हाम्रो शिक्षाले जागिरे उत्पादन गर्ने सोच बनायो । अभिभावकले आफ्ना सन्तानलाई जागिरे बनाउने सोच पाले । उद्यमशीलताको आधारै तयार गरिएन । उद्यमलाई जोखिमको काम ठानियो ।
यो केही हदसम्म हो पनि जागिर भनेको लगाए–अह्राएको काम गरे हुन्छ नाफाघाटा बुझ्नुपर्दैन, महिना पुगेपछि तलब पाइन्छ, यो सजिलो बाटो हो तर उद्यमशीलतामा जागिरभन्दा धेरै जोखिम हुन्छ । आजको युवा र ती युवाका अभिभावक विदेश जानका लागि सजिलै लगानी गर्न तयार हुन्छन् तर उद्यम व्यवसाय गर्न लगानी गर्न अभिभावक नै तयार हुँदैनन् ।
कृषि गर्न अपमान बोध भयो । कृषि पनि उद्यम बन्न सक्छ भन्ने सोच नै पलाएन । आफ्नै परिवेशमा श्रम गर्न लाज लाग्ने भयो । त्यसो भए के गर्ने त ? विदेश जाने । विदेशमा गएर के गर्ने ? गर्ने त श्रम नै हो । तर विदेशमा गरेको श्रम यहाँ चिनेका मानिसले देख्दैनन् । त्यसैले त्यो सम्मानको विषय भयो । विद्यार्थी भिसामा जानेले पनि गर्ने श्रम नै हो । अर्थात् श्रम गर्न विदेश जाने हो । केही समय पढ्दै श्रम गर्ने र त्यसपछि लगातार श्रम गर्ने ।
हो, देशमा सबैलाई पुग्ने रोजगारीका अवसर छैनन् । किनकि हामी धेरै जना काम खोज्ने गर्छौैं । हाम्रो सोच्ने तरिकामा काम सिर्जना गर्ने भन्ने विरलै आउँछ । यदि हामीले काम सिर्जना गर्ने तरिकाले सोच्ने हो भने त्यो भनेको उद्यमशीलता नै हो । अबको शिक्षा र सामाजिक मान्यता नै उद्यमी र श्रमिकलाई सम्मान गर्ने खालको हुनुपर्छ । तब मात्रै देशमै केही गरौं भन्ने वातावरण बन्न सक्छ । उद्यमी र श्रमिकप्रति समाजको दृष्टिकोणमा नै परिवर्तनको आवश्यकता छ ।
उद्यमीका बारेमा पनि समाजको दृष्टिकोण सकारात्मक छैन । कुनै उद्यम गर्न सम्बन्धित निकायमा इजाजतका लागि जाँदा त्यहाँ गरिने सरकारी व्यवहार, बिजुली चाहिन्छ, बिजुली माग गर्दा र जोड्दा गरिने व्यवहार, उद्योगका छिमेकीको व्यवहार, सरकारका कर्मचारीको व्यवहार, समाजको व्यवहार कसैको व्यवहार सकारात्मक छैन भन्दा हुन्छ ।
‘उनीहरू कमाउँछन्, कमाउन आएका हामीलाई के हुन्छ’ भन्ने मान्यता छ । एउटा उद्योग र उद्यमीकै कारण त्यहाँ रोजगारीको अवसर सिर्जना हुन्छ, बिजुली र इन्धनको खपतले राज्यको आम्दानी बढाउँछ, उत्पादित वस्तुले आवश्यकता पूरा गर्छ ।
यसबाट सरकारलाई राजस्व प्राप्त हुन्छ, बैंकले ब्याज पाउँछ । बैंकमा पैसा बचत गर्नेले पनि ब्याज पाउँछन् । अर्थतन्त्र चलायमान हुन्छ । कच्चा पदार्थको उत्पादक वा सप्लायर्सले फाइदा गर्न सक्छ । क्षमताको विकास हुन्छ, सीप बढ्दै जान्छ । साना–साना काम र उद्यममा सफलता पाउँदै जाँदा नै ठूला उद्यमी र ठूला उद्योगको सम्भावना बढ्दै जान्छ ।
यी कामले नै समाजलाई अगाडि बढाउने हो । तर समाज त धनी र उद्यमी मानिसलाई सकारात्मक रूपमा नै हेर्दैन । श्रमिकलाई हेप्ने र उद्यमीलाई खेद्ने हाम्रो समाजको सामाजिक मूल्यमा परिवर्तन आजको आवश्यकता हो । राज्यको नीति र भूमिका यसका लागि महत्वपूर्ण हुन्छ ।