१९ असोज, बेथानचोंक (काभ्रे) । बेथानचोक गाउँपालिका–४ चलालकी दुुर्गामाया तामाङ (५३) को मनमा अझै डर छ । लेदोले पुरिएको घरबाट अलिअलि ढुंगामाटो निकालिरहेकी उनलाई फेरि पहिरो खस्लाझैं लाग्छ ।
तर पनि पुरिएको घरबाट ढुंगामाटो पन्छाएर बस्न योग्य बनाउन लागिपरेकी छन्, उनी । ‘जाने कहाँ त !’, अनलाइनखबरसँग शुक्रबार दिउँसो दुर्गामायाले भनिन्, ‘फेरि बस्ने यहीँ हो, पुरिएको घर उधिन्नै पर्यो ।’
पुरिएको घर उधिन्न उनी एक सातापछि चलाल फर्किएकी हुन् । यो एक सातासम्म त उनले केही सोच्न समेत सकिनन् । ‘त्यो रात म र नातिनीहरु (मावली बसेका दुई जना) पुरिएको, धन्न निकाल्यो र बाँच्यौं’, उनले सुनाइन् ।
परिवारकै अरु सदस्यले दुर्गामाया र उनका नातिनीहरु बचाएका थिए । घरमै पसल राखेर जिविका चलाउँदै आएकी दुर्गामायाको परिवार त्यो रातपछि पनौती (बेथानचोकबाट नजिकै बजार) मा डेरा लिएर बस्दै आएको छ ।
तर दुर्गामायाको मनमा अहिलेसम्म डर नहट्नुको कारण उनी आफैं पुरिएको घटना मात्र नभई छिमेकी भएर बस्दै आएका दुई जनाले ज्यान गुमाउनु हो । ‘धन्न ! हामी बाँच्यौं । तर कम्पनीमा (ढुंगा खानी) काम गर्ने अपरेटर र अर्को एक जना पुरिएर मरे’, उनले भनिन् ।
गत ११ असोज राति गएको बाढी, पहिरो र डुबानपछि उत्पन्न परिस्थिति बुझाउने एक प्रतिनिधि पात्र हुन्, दुर्गामाया । बेथानचोक गाउँपालिकाको सडक किनार छेउ भएर बसेको देविस्थान, गणेशस्थान, ढुङखर्क लगायत बस्तीहरू क्षतिग्रस्त (कतै बगेको, कतै पुरिएको) हुँदा उत्पन्न परिस्थिति कल्पना बाहिर छ ।
दुर्गामाया जसरी ज्यान जोगाउनेको संख्या पाँच सय हाराहारी हुनसक्ने गाउँपालिका अध्यक्ष भगवान अधिकारी अनुमान गर्छन् । आफन्तकै सहयोगमा धेरैले ज्यान जोगाएको बताउने उनी पालिकाले पनि सकेको उद्धार गरेको बताउँछन् ।
‘पुरिएको मान्छेहरु निकाल्नु, थोरै सुरक्षित ठाउँसम्म लैजानु र हराएकाहरु खोज्नुमै केही दिन बित्यो’ उनले भने, ‘मान्छे बचाउनु मुख्य दायित्व थियो । सकेको प्रयास गर्यौं ।’
तर पुरिएका र बगाएका बस्तीहरुबाट उद्धार गर्न सजिलो थिएन । पालिकाको कार्यालय रहेको ढुङ्खर्क जोड्ने सडकहरु क्षतिग्रस्त बनेको छ । ‘सडक नभएपछि बाहिरका मान्छे आउने कुरा भएन । पालिकाभित्रै पनि उद्धारमा परिचालन सजिलो भएन, सेनालाई भनेर पुरिएका मान्छेहरु निकाल्यौं’, पालिका अध्यक्ष अधिकारीले भने ।
सेना लगेर उद्धार गर्दा पनि अझै बेथानचोकमा ७ जना बेपत्ता छन् । ‘बाढी पहिरोमा परेर १० जनाको ज्यान गयो, ७ जना भेट्न सकिएको छैन’, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले भने, ‘अलिअलि समस्या भए पो ! जता हेर्यो, उतै संकट छ ।’
सडकसँगै बेथानचोक विजुलीविहीन बन्यो । किनकि सलान्दु खहरे खोलामा बाढी आउँदा विजुलीको पोल र तार पनि बगेको छ । ‘सडक छैन, विजुली छैन । विजुली नभएपछि मोबाइल चलेन’, पालिका अध्यक्ष अधिकारीले भने, ‘हिजो मात्र (१७ असोज) जेनेरेटेरबाट एनसेल चलायौं ।’ एनसेलको टावरमा जेनेरेटेर चलाउन भरिया लगाएर डिजेल लगिएको थियो ।
सडक, विजुली, टेलिफोन, इन्टरनेट जस्ता यातायात र सञ्चारका माध्यम अवरुद्ध हुँदा उद्धार कार्यमै असाध्यै ठूलो समस्या आयो । कतिसम्म भने पहिरोमा घर पुरिँदा ज्यान गुमाएका सविता शंकर (४४) र उनका छोरा समीर (१२) को अन्त्येष्टि गर्नै पाँच कुर्नुपर्यो ।
यातायात समस्याले गर्दा पत्नी र छोरा गुमाएका भीमबहादुरलाई घर फर्कन समय लाग्दा अन्त्येष्टिमा ढिलाइ भएको थियो । ‘पैसा कमाउन उदयपुर गएको थिएँ, यहाँ घर पुरिएर श्रीमती र छोरा परेको खबर सुनेँ’, भीमबहादुरले दुःख सुनाए, ‘यस्तै बेला बाटो छैन, फोन लाग्दैन । २२ घण्टासम्म हिँडेर उदपुरको कटारी पुगेँ, अनि हटौंडासम्म गाडीमा र फेरि हिँड्दै घर आएँ ।’
सम्झदै ऐंठन
बाढी पहिरोपछि काभ्रेको दक्षिण–पश्चिममा पर्ने बेथानचोक पालिकाबासीको अवस्था सम्झदै ऐंठन लाग्दो छ । ‘बाढी पहिरो जानुअघि हामीसँग घरपरिवार, व्यापार व्यवसाय, सेवा सुविधाको सहजता सबथोक थियो’, बेथानचोक–२, चलालका ओतमान तामाङ (५३) ले भने, ‘अहिले हामी बाँचेका मान्छे बाहेक केही रहेन । सम्झदै ऐंठन लाग्छ ।’
सडक छेउमै ओतमानको नयाँ घर थियो । छोरालाई लिन बोर्डिङको गाडी घरसम्मै आउँथ्यो । अरुले जस्तै उनले पनि घरायसी उत्पादनबाट मनग्य आम्दानी गर्थे । ‘तर कल्पना समेत नगरेको कुरा भयो । घर, जग्गा जमिन, पशुपंक्षी सबै बगाएर लग्यो’, उनले भने ।
ओतमानको घरबाट केही माथि एउटा घर पुरिँदा एक युवकको मृत्यु नै भयो । ‘मेरो चाहिँ घर छेउमा पुल भएकाले परिवार बचाउन सकेँ’, उनले भने ।
चलाल बजारको आधा क्षेत्र सलान्दी खहरेले बगाएको छ । स्वास्थ्य चौकी, वडा कार्यालय, गणेश आधारभूत विद्यालय लगायत डुबानमा परेको छ । ‘२२ वर्षदेखि यही स्वास्थ्य चौकीमा काम गरिरहेको छु । तर यस्तो विपत्ति जीन्दगीमा देखेको थिइनँ’, स्वास्थ्यचौकीका अनमी इन्दिरा खड्काले भनिन् ।
५७ वर्षीया अनमी खड्काकै जस्तो बोली अरु स्थानीयको पनि छ । ‘पानी पर्थ्यो, खोलामा बाढी पनि आउँथ्यो । तर अहिलेको जस्तो ढुंगा माटो बोकेर बाढी आएको कहिल्यै देखेको थिइनँ’, स्थानीय अष्टमान तामाङ (८३) ले भने ।
यसअघि कहिल्यै बाढीले यति ठूलो क्षति नगरेकाले अष्टमान त्यसरात पनि घरमै सुतेका थिए । ‘हाम्रो बराजुहरु पनि यहीँ बस्दै आए, यसपालिको जस्तो हुने भयो त यहाँ बस्थेन नि’, उनले भने ।
यसपालिको विनाशकारी बाढी पहिरोबारे स्थानीयको अनेक अनुमान छन् । धेरैलाई जताततै सञ्चालन भएको ढुंगागिटी उद्योगकै कारण विनाशकारी बाढी आएको लाग्छ भने कतिपयले ०७२ सालको भूकम्प, अनि जताजतै खुलेका सडकहरु कारण भएको बताएका छन् ।
‘मुटु नै थर्काउने गरी खानीमा मेसिन चल्छ । पानी पर्दा पहाड खस्नुको मुख्य कारण उद्योग हो’ चलालकी दुर्गामायाको अनुमान छ । जबकी पत्नी र छोरा गुमाएका भीमबहादुर शंकरलाई भने जताजतै खुलेको सडककै कारण यस्तो विपत्ति निम्तिए जस्तो लाग्छ । ‘मेरो घरमाथि जंगल छ, जंगलको बीचैबीच खुलेको सडककै माटो बगेर मेरो घर पुरियो । श्रीमती र छोरा परे’, ढुङखर्कका भीमबहादुर भन्छन् ।
बेथानचोक–४ देविस्थानको बस्ती नै डुब्दा घर र पसल गुमाएका औतार लामा (५७) भने ०७२ सालको महाभूकम्प यो विपत्तिको कारण हुनसक्ने अनुमान गर्छन् । बेथानचोक गाउँपालिका प्रवेशद्वारमै रहेको देवीस्थानमा औतार लामाको सहित १३ वटा घर बगेको छ ।
यो बस्ती ०७२ सालको भूकम्पपछि यहाँ झरेको थियो । ‘माथि पाखाको घर भूकम्पले भत्कियो । अनि व्यापार पनि गर्ने भनेर हामी सडक छेउमा घर बनाएर बसेका थियौं’, उनले भने, ‘भूकम्पका बेला चिरिएको पहाडमै पानी पस्दा खोलामा बाढी बनेर आयो, सबै बगायो ।’
बाढीको कारणबारे साझा निष्कर्ष नभए पनि डुलुङ, पात्ने, नारायण, लड्कु, सलान्दू लगायत खोलाबाट पुगेको क्षतिको प्रवृत्ति समान छन्, अर्थात् खोला किनारका वस्तीहरु बगेका छन् वा खोलाले खोलेर आएको पहिरोमा घरखेत परेको छ । ‘बेथानचोक पालिकाभर ३०० घर पूर्ण रुपले भत्किएको अनुमान गरेका छौं भने ५०० बढी घरमा आंशिक क्षति पुगेको हुनसक्छ’, प्रमुख कार्यकारी अधिकृत भण्डारीले भने ।
तर आधिकारिक सरकारी तथ्याङ्क पालिकाले राख्न सकेको छैन । किनकि पालिकाको कार्यालय आफैं संकटमा फसेको छ । ढुङ्कखर्कको पात्ने खोला किनारमा निर्माण गरिएको पालिकाको कार्यालय बाढीमा डुबेको छ ।
बाढी गएको एक सातापछि शुक्रबार अनलाइनखबरको टोली यहाँ आइपुग्दा भर्खर पालिका कार्यालयभित्र पानीमा भिजेका दस्तावेजहरु निकालिँदै थियो । ‘कागजात, कम्प्युटरसहित सबै नष्ट भयो । हामी ०७४ साल अगाडिकै अवस्थामा पुग्यौं’, प्रमुख कार्यकारी अधिकृत भण्डारीले भने, ‘चाँडै कार्यपालिका बैठक बसेर विशेष सभा गछौं ।’
बाढीमा डुबेर कार्यालय क्षतिग्रस्त हुँदा पालिकाको कुनै पनि आधिकारिक तथ्याङ्क दिनसक्ने अवस्थामा कोही पनि सरकारी अधिकारी भेटिँदैनन् । त्यसैले अनुमानका भरमा उद्धार र राहतको कार्य चलिरहेको छ ।
राहत दिने पालिका आफैं संकटमा पर्नु, कल्पना नै नगरेको संकटमा आमसाधरणले सर्वश्व गुमाउनु र तत्काल पुनर्स्थापनाको सम्भावना पनि नदेख्दा कयौंले बेथानचोक छाड्न थालेका छन् ।
पुस्तौदेखि बस्दै आएको बेथानचोक यो संकटपछि छोड्नेमा ढुंङ्खर्कका गोकर्णप्रसाद तिमिल्सिना एक हुन् । शुक्रबार (१८ असोजमा) बृद्ध आमालाई लिएर उनले ढुंगखर्क छोडे । जबकी पालिकाको केन्द्रमै घरबारी भएकाले उनी पहिरो आउनु अगाडि सम्पन्न नै थिए । तर पहिरोले खेतीबारीसँगै घर बगाएपछि सदाका लागि आमालाई लिएर काठमाडौं हिँडे । ‘जे गर्नुपर्ने हो, काठमाडौंमै गर्छु । यहाँ बस्दिनँ’, उनले भने ।
बाढी पहिरोबाट ठूलो क्षति पुगेका ४२ पालिकाभित्र समेटेर शुक्रबार मात्र सरकारले विपद् संकटग्रस्त पालिकामा घोषणा गरेको बेथानचोकमा पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनामा योजनाबद्ध काम हुन नसकेको पालिका अध्यक्ष गणेश अधिकारी स्वीकार्छन् । उनी भन्छन्, ‘टेलिफोन, इन्टरनेट, विजुली, सडक नै बन्द हुँदा अरु कामै राम्रो नहुने रहेछ । अहिलेसम्म पालिकाको बैठक समेत राख्न सकेको छैन ।’
तर जनप्रतिनिधिहरु दिनरात नभनी काम गरिरहेको उनी बताउँछन् । ‘सडक नखोलेसम्म बाहिरका मान्छेहरु राहत लिएर आउन नसक्ने रहेछ, सामाजिक सञ्जालमा यहाँको अवस्था पोष्ट नहुने रहंछ’ उनले भने, ‘त्यही भएर १४ वटा मेसिन लगाएर सडकको ट्र्याक खोल्ने काम गरिरहेको छु ।’
गन्तव्यको बेथानचोक
बाढी पहिरो आउनु अगाडिसम्म बेथानचोक नारायणस्थान एउटा सपनाको गन्तव्य थियो । महाभारत शृङ्खला अन्तर्गत तीन हजार मिटर उचाईंको बेथानचोकलाई पालिकाकै नाम दिइएको थियो ।
धुलिखेलबाट २६ किलोमिटर दुरीमा अवस्थित बेथानचोक राजधानी उपत्यकाबाट टाढा नरहेकाले धेरै मानिस आउथे । जसको लाभ यहाँका बासिन्दालाई पुग्थ्यो । ‘बेथानचोक नारायणस्थान आउनेको संधै भीड लाग्ने गर्थ्यो । शुक्रबार र शनिबार त ढुङ्खर्ककै सडक मान्छेले भरिन्थे’, स्थानीय ध्रुब तिमिल्सिनाले भने, ‘तर बाढी पहिरोले सडक सञ्जाल नै टुटेपछि बजार सुनसान भयो ।’
आन्तरिक तथा बाह्य पर्यटकहरु जसरी सुन्दर ठाउँको खोजीमा यहाँ आइपुग्थे, यहाँका मानिसलाई पनि आफ्नो ठाउँ अझ सुन्दर बनाउनुपर्छ भन्ने बोध थियो । ‘स्वर्गको टुक्रा नै बनाउनुपर्छ भन्थ्यौं नि ! काठमाडौं नजिक थियो, त्यहाँ सिकेको सीप उपयोग गरेर बेथानचोकलाई समृद्ध बनाउँदै थियो’ स्थानीय हेमलाल घलानले भने ।
स्थानीय सरकारले पनि बेथानचोक समृद्ध बनाउने अनेक योजना अगाडि बनाइरहेको थियो । ‘दैनिक २२ हजार लिटर त दुध बिक्री हुन्थ्यो । यो ठाउँलाई कृषि र पशुपालनको हब बनाउने भनेर १२ हजार गाईंभैंसीको कृतिम गर्भाधान गरिएको थियो’ प्रमुख कार्यकारी अधिकृत भण्डरीले भने ।
बेथानचोकलाई आर्थिक रुपले समृद्ध बनाउन तरकारी खेतीमा जोड दिने नीति अन्तर्गत महिला उद्यमका निम्ति पालिकाले ‘छोरीबुहारी’ कार्यक्रममा ५ प्रतिशत अनुदानको व्यवस्था गरेको थियो ।
अहिलेका पालिका अध्यक्षले हरेक वर्ष ५ किलोमिटर सडक कालोपत्रे गर्ने निर्णयमा पहिलो हस्ताक्षर गरेका थिए । पालिकालाई बनेपा, हेटौंडासहित सम्भावित शहरसँग कालोपत्रे सडकले छोड्ने उद्देश्य लिइएको थियो । पूर्ण शिक्षित समाजको उद्देश्यले निःशुल्क र घुम्ती शिक्षक कार्यक्रम सञ्चालन गरिएको थियो ।
पालिकामै पार्वती बहुमुखी क्याम्पससहित ३० वटा समुदायिक र ३ वटा निजी विद्यालय सञ्चालनमा थिए । ‘योग्य नागरिक उत्पादन गर्न संसारको राम्रो विश्वविद्यालय पढेकालाई यहाँ ल्याउने, योग कक्षा, संगीत कक्षा र स्पोर्टस् कक्षा सञ्चालन गरिरहेका थियौं’ प्रमुख कार्यकारी अधिकृत भण्डारीले भने ।
यहाँका बासिन्दाले आफ्नो पालिकालाई काठमाडौंसँगै तुलना गर्थे । ‘केटाकेटीलाई लिन स्कूलका गाडी आउँथ्यो । हामीले उत्पादन गरेको तरकारी र दुध काठमाडौं पुग्थ्यो’ चलालका स्थानीय ओतमान तामाङले बिगत सम्झिए, ‘बाहिरका मान्छेहरु यहाँ घुम्न आउँथे । कुनै पनि कुरामा हामीलाई काठमाडौं भन्दा फरक लाग्थेन ।’
तर ११ असोज रातिको बाढी र पहिरोले बेथानचोकबासीलाई २०५० साल भन्दा पछाडिको अवस्थामा धकेलिदिएको छ । किनकि २०५० सालमा सडक र यसको पाँच वर्षपछि विजुली आएको थियो । २०६२/०६३ को राजनीतिक परिवर्तनपछि अरु सुविधा थपिँदै गयो ।
‘बाढी पहिरोले बेथानचोकलाई ३१ वर्ष पछाडिको अवस्थामा धकेलिदियो । अहिले हामी जस्तो दिन बिताइरहेका छौं, यस्तो परिस्थिति तुलना हुने अर्को ठाउँमा देशमा नहोला’ स्थानीय ध्रुब तिमिल्सिनाले भने ।
तत्काल सडकको ट्र्याक नखोल्ने हो भने भोकमरीकै समस्या आउन सक्ने खतरा उनी देख्छन् । ‘यो संकट त ०७२ सालको भूकम्प र अरु विपद्हरु भन्दा ठूलो हो । किनकि भूकम्पमा खेतबारी बाँकी थियो । अहिले त्यो पनि छैन’, तिमिल्सिना भन्छन्, ‘अब हाम्रो उद्देश्यको प्राथमिकता नै बदलियो । कम्तीमा पनि १० वर्ष पछाडि धकेलियौं ।’
तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर