अगस्तका लागि नेपाली डिभी विजेताको केस नम्बर १३ हजार ५ सय, तर भिसा स्थगन अझै जारी



प्रकाशित मिति : ३ असार २०८३, बुधबार

अगस्तका लागि नेपाली डिभी विजेताको केस नम्बर १३ हजार ५ सय, तर भिसा स्थगन अझै जारी

अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिनअनुसार अगस्त महिनाका लागि नेपाली डिभी विजेताहरूको केस नम्बर १३ हजार ५ सय कायम गरिएको छ। यो संख्या जुन महिनाका लागि ११ हजार रहेकोमा जुलाईका लागि १३ हजार बनाइएको थियो भने अगस्तका लागि ५ सय थपिएको छ ।

डिसेम्बर १९ देखि यूएससीआईएसले अमेरिकाभित्र डिभी लोटरीमा आधारित ग्रिनकार्ड एड्जस्टमेन्ट प्रक्रिया स्थगित गरेपछि अमेरिकी विदेश मन्त्रालयले दूतावासमार्फत डिभी भिसा जारी गर्ने प्रक्रिया पनि रोकेको छ। यो कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ। यद्यपि, भिसा अन्तर्वार्ताहरू भने स्थगित गरिएको छैन। अमेरिकामा कसलाई प्रवेश दिने भन्ने विषयमा पूर्ण सुनिश्चितता नभएसम्म यो प्रक्रिया रोकिएको विदेश मन्त्रालयले जनाएको छ।

आवेदकहरूले भिसा आवेदन पेश गर्न र अन्तर्वार्तामा उपस्थित हुन भने सक्नेछन्। विदेश मन्त्रालयले अपोइन्टमेन्ट तालिका निर्धारण गर्ने प्रक्रिया पनि जारी राखेको छ। तर हालसम्म कुनै पनि डाइभर्सिटी भिसा जारी गरिएको छैन। अवस्थित भिसा अपोइन्टमेन्टहरू नसारिने वा रद्द नगरिने मन्त्रालयको भनाइ छ। त्यस्तै, पहिले जारी गरिएका डाइभर्सिटी भिसाहरू पनि रद्द गरिएको छैन।

डिभी २०२६ का लागि भिसा प्रक्रिया अगाडि बढाउन ३,९३३ जना नेपालीहरू छनोट भएका छन्। लोटरी प्रणालीमार्फत करिब १,२९,५१६ सम्भावित आवेदकहरू छनोट गरिएको र उनीहरू आप्रवासी भिसाका लागि आवेदन दिन योग्य हुन सक्ने भिसा बुलेटिनमा उल्लेख छ। केही आवेदकहरूले आवेदन पूरा नगर्ने वा अयोग्य ठहरिने सम्भावना रहने भएकाले उपलब्ध भिसाभन्दा ठूलो संख्यामा विजेताहरू छनोट गरिएको विदेश मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष २०२६ का विजेताहरूले सेप्टेम्बर ३०, २०२६ सम्म भिसा प्राप्त गरिसक्नुपर्नेछ।

यी विजेताहरू अक्टोबर २, २०२४ देखि नोभेम्बर ७, २०२४ सम्मको ३७ दिने आवेदन अवधिमा डिभी भर्नेहरू हुन्। यस अवधिमा कुल २ करोड ८ लाख २२ हजार ६२४ योग्य आवेदन प्राप्त भएको र तीमध्येबाट लोटरीमार्फत छनोट गरिएको जनाइएको छ।

अगस्तका लागि नेपाली डिभी विजेताको केस नम्बर १३ हजार ५ सय, तर भिसा स्थगन अझै जारी

अमेरिकी संसदको कार्यादेशअनुसार डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्दै आएको छ। आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३९सी० ले ऐतिहासिक रूपमा कम दरमा अमेरिका आप्रवासन गर्ने देशका नागरिकहरूलाई डाइभर्सिटी आप्रवासीका रूपमा अवसर प्रदान गर्ने व्यवस्था गरेको छ।

डिभी कार्यक्रममा छनोट हुने आवेदकहरूले सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्ने हुन्छ। भिसाहरू छ भौगोलिक क्षेत्रमा वितरण गरिन्छन् र कुनै पनि एक देशले एक वर्षमा उपलब्ध कुल डिभी भिसाको सात प्रतिशतभन्दा बढी प्राप्त गर्न सक्दैन।

सामान्यतया हरेक वर्ष अमेरिकी डिभी लोटरी अक्टोबरको पहिलो साता खुल्ने गर्दछ। तर डिभी २०२७ खुल्न भने ढिलाइ भएको छ। अमेरिकी विदेश मन्त्रालयले हालसम्म दर्ताका लागि मिति घोषणा गरेको छैन। यद्यपि, पासपोर्ट अनिवार्य गर्ने नियम अप्रिल १० देखि लागू गरिएको छ।

विदेश मन्त्रालयले डिभी लोटरी कार्यक्रमको घोषणा छिट्टै हुने जनाएको छ। साथै, डाइभर्सिटी भिसा लोटरी कार्यक्रममा दर्ताका लागि १ डलर शुल्क तोक्ने अन्तिम नियम गत सेप्टेम्बरमै फेडरल रजिस्टरमा प्रकाशित गरिएको थियो। यो शुल्क डिभी भर्दा नै विद्युतीय माध्यमबाट तिर्नुपर्नेछ। यसबाट करिब २५ मिलियन डलर आम्दानी हुने मन्त्रालयको अनुमान छ।





Source link

Leave a Comment