प्रकाशित मिति : १५ असार २०८३, सोमबार

फोटो :रासस
फिफा विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा ब्राजिल प्रवेश गरेको छ। राउन्ड अफ ३२ को खेलमा जापानलाई पराजित गर्दै ब्राजिलले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो।
अमेरिकाको ह्युस्टनस्थित खेल मैदानमा भएको रोमाञ्चक खेलमा ब्राजिलले जापानलाई २–१ गोल अन्तरले पराजित गर्यो। पाँच पटकको विश्वकप विजेता ब्राजिलले पहिलो हाफमा एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै उत्कृष्ट पुनरागमन गरेको हो।
जापानका काइसु सानोले खेलको २९औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ५६औँ मिनेटमा ब्राजिलका कासेमिरोले हेडमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।
खेलको दोस्रो हाफको अतिरिक्त समयमा ग्याब्रिएल मार्टिनेलीले निर्णायक गोल गरेपछि जापान स्तब्ध बन्यो र ब्राजिल २–१ को जितसहित अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो।
पहिलो पटक नकआउट चरणमा खेल जित्ने लक्ष्यका साथ मैदान उत्रिएको जापानले अग्रता कायम राख्न नसक्दा हार ब्यहोर्नु पर्यो। फिफा विश्वकपको नकआउट चरणमा यसअघि पनि जापानले विपक्षीविरुद्ध अग्रता लिएर हार बेहोरेको इतिहास छ।
सन् २०१८ को विश्वकपमा बेल्जियमविरुद्धको अन्तिम १६ को खेलमा जापानले २–० को अग्रता लिएर पनि अन्त्यमा ३–२ को पराजय भोगेको थियो। अब ब्राजिलले क्वार्टरफाइनल प्रवेशका लागि आइभोरी कोस्ट र नर्वेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
