विदेशको पिआर लिएर बसेका सरकारी कर्मचारीलाई कारबाहीको तयारी, छानबिन सुरु



प्रकाशित मिति : ३ असार २०८३, बुधबार

विदेशको पिआर लिएर बसेका सरकारी कर्मचारीलाई कारबाहीको तयारी, छानबिन सुरु

विदेशमा पिआर (स्थायी आवासीय अनुमति) लिएर बसेका कर्मचारीलाई सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी कारबाहीको तयारी गरिएको छ।

भूमि व्यवस्था, सहकारी, तथा सङ्घीय मामिला अनि सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीसँग स्पष्टीकरण माग गर्दै कारबाहीको प्रक्रिया अघि बढाएको हो।

मन्त्रालयले सूचना जारी गर्दै अध्ययन बिदा वा असाधारण बिदा समाप्त भएपछि पनि आफ्नो कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकाले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

सूचनाअनुसार मन्त्रालयमा कार्यरत दुई जना कम्प्युटर अपरेटर अध्ययन र असाधारण बिदा सकिइसकेपछि पनि लामो समयदेखि कार्यालयमा अनुपस्थित छन्।

मन्त्रालयका अनुसार उनीहरूले अस्थायी वा स्थायी आवासीय अनुमति लिएको पाइएको हो। निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा त्यसका लागि आवेदनसमेत दिन नपाइने कानुनी व्यवस्था छ।

विदेशको पिआर लिएर बसेका सरकारी कर्मचारीलाई कारबाहीको तयारी, छानबिन सुरु

स्वीकृत बिदा समाप्त भएको ३० दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्नेमा अनुपस्थित रही निजामती सेवा ऐनविपरीतको कार्य गरेकाले उनीहरूलाई स्पष्टीकरण सोधिएको हो।

मन्त्रालयले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाफदेहितालाई थप मजबुत बनाउन यस्ता गतिविधिमाथि निगरानी बढाइएको बताइन्।

कार्यालयमा अनुपस्थित रहेका कर्मचारीहरूको अवस्थाबारे अध्ययन भइरहेको र कानुनअनुसार आवश्यक निर्णय गरिने मन्त्रालयको भनाइ छ।





Source link

Leave a Comment