हरेक वर्ष जनवरी १९ का दिन बाल्टिमोरमा अवस्थित वेस्टमिन्स्टर हलमा रहेको एडगर एलन पोको चिहानमा एक रहस्यमयी व्यक्ति आउने गर्थे, कालो ओभरकोट र ह्याटमा। उनले सिल्भर-टिप भएको छडी बोकेका हुन्थे। आफ्नो अनुहारलाई सेतो स्कार्फ अथवा हुडले ढाकेका हुन्थे।
जनवरी १९ अर्थात् चर्चित अमेरिकी लेखक एडगर एलन पोको जन्मदिन। उक्त अपरिचित व्यक्ति हरेक वर्ष सोही दिन एडगरप्रति श्रद्धाञ्जली व्यक्त गर्न एक बोतल मदिरा र तीन वटा रातो गुलाफको फूल बोकेर आउँथे। गिलासमा आफूले ल्याएको मदिरा खन्याउँथे, टोस्ट गर्थे र पिउँथे। बाँकी रहेको मदिराको बोतल र गुलाफको फूल त्यही चिहानमा राखेर त्यहाँबाट निस्किन्थे, चुपचाप। कहिलेकाहीं उनले कागजमा विभिन्न प्रकारका सन्देश पनि लेखेर छाड्ने गर्थे। एउटामा लेखिएको थियो— ‘एडगर, मैले तिमीलाई बिर्सेको छैन। यो परम्परा अर्को पुस्तामा पनि हस्तान्तरण हुनेछ।’
एडगर एलन पोको मृत्यु सन् १८४९ अक्टोबर ७ का दिन बाल्टिमोर, मेरिल्याण्डमा भएको थियो, रहस्यमय परिस्थितिमा। उनको मृत्युको सय वर्षपछि अर्थात् सन् १९४९ बाट उक्त रहस्यमय व्यक्ति देखा पर्न थालेको हो, उनको चिहानमा। त्यसपछि हरेक वर्ष नियमित रूपमा एडगरको जन्मदिनको अवसर पारेर उनी मदिरा र तीन वटा गुलाफको फूल लिएर देखा पर्न थाले। उक्त अपरिचितको त्यस्तो अस्वाभाविक क्रियाकलापबाट उनको नाम ‘पो टोस्टर’ रहन गयो। मान्छेहरूले उनलाई सोही नामबाट चिन्न थाले। उनको वास्तविक परिचय तथा पहिचान आजको मितिसम्म अज्ञात नै रहेको छ। त्यस घटनालाई अमेरिकी साहित्यिक इतिहासको एक अनौठो र चर्चित रहस्यका रूपमा चिनिन्छ।
केही मान्छेहरूका अनुसार, ‘पो टोस्टर’ परम्परा (मदिरा, फूल लिएर श्रद्धाञ्जली दिन आउने) सन् १९३० को दशकदेखि नै सुरु भएको मान्छन्, तर ठ्याक्कै कहिलेदेखि कसैलाई थाहा छैन। सन् १९४९ (एडगरको मृत्युको शतवार्षिकी) देखि भने सो परम्परा निरन्तर भइरहेको हो भन्ने व्यापक मान्यता रहेको छ। सन् १९९३ मा पो टोस्टरले चिहानमा एउटा पत्र छोडेका थिए, जसमा उनले यो परम्परा आफूले सुरु गरेको नभई आफ्ना पुर्खाले सुरु गरेको भनेर खुलाएका थिए। त्यसको अर्थ त्यो परम्परा हस्तान्तरण हुँदै आएको थियो, एक पुस्ताबाट अर्को पुस्तामा। पो टोस्टर कुनै व्यक्तिमा मात्रै सीमित थिएन।
सन् १९९९ मा पो टोस्टरले छाडेको पत्रबाट मान्छेहरूले अनुमान लगाएका थिए, मुख्य टोस्टरको अघिल्लो वर्ष नै मृत्यु भइसकेको छ र यो परम्परा अब ‘छोरा’मा हस्तान्तरण भएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार सन् १९९८ पछि एडगरको चिहानमा एउटा जवान टोस्टर देखा पर्न थालेका थिए। पो टोस्टरले सन् २००१ मा छाडेको पत्रले भने विवाद उत्पन्न गरेको थियो, जहाँ उनले बाल्टिमोर रेभेन्स र न्यूयोर्क जायन्ट्स टिम बीचको फुटबल खेलको भविष्यवाणी गरेका थिए; जुन पछि गएर गलत साबित भएको थियो।
त्यस्तै टोस्टरले सन् २००४ मा एडगरको चिहानमा छाडेको आफ्नो पत्रमा इराक युद्धको विरोध गर्दै फ्रान्सप्रति चर्को आलोचना गरेका थिए। पो हाउस तथा संग्रहालयका पूर्व प्रबन्धक जेफ जेरोमका अनुसार, सन् २००१ र २००४ मा टोस्टरद्वारा छाडिएका पत्रहरूमा छोराहरूले यो परम्परालाई उनीहरूको बुबाले जत्तिकै गम्भीरतापूर्वक नलिएको बताए। सन् २००५ र २००८ बीचमा टोस्टरले धेरै नै निराशा तथा आपत्तिजनक पत्रहरू छाडेका उनले बताए। त्यसैले उनले अबबाट टोस्टरले छाडेका कुनै पनि पत्र सार्वजनिक नगर्ने घोषणा समेत गरे। उनले यो परम्पराको अन्त्य नजिकै रहेको सङ्केत पनि गरे।
पत्रकार, प्रशंसक तथा अन्य मान्छेहरूले पो टोस्टरले छाड्ने तीन वटा रातो गुलाफ र मदिराको विभिन्न अर्थ अथवा संकेत लगाएका थिए। तीन वटा रातो गुलाबलाई एडगर एलन पो, उनकी पत्नी भर्जिनिया एलिजा पो र उनकी सासू मारिया क्लेमको सम्मानमा राखिएको मानिन्छ। किनभने तीनै जनाको चिहान एकै ठाउँमा रहेका छन्। एडगर खुबै मदिरा पिउने गर्थे। त्यसैले मदिरा उनको सम्मानमा चढाइएको मानिन्छ। कतिले भने मदिरालाई एडगरसँग सम्बन्धित नभई टोस्टरको आफ्नै पारिवारिक परम्परा हो भनेर मान्छन्।
पो टोस्टरलाई अन्तिम पटक एडगर एलन पोको चिहानमा सन् २००९ मा देखिएको थियो। त्यसपछि उक्त अनौठो र रहस्यमय परम्पराको औपचारिक रूपमा अन्त्य भएको मानिन्छ। पो टोस्टरको परम्परा रोकिएपछि, एडगर एलन पो सोसाइटीले यसलाई पुन: सुचारू गर्न विभिन्न प्रयास गरे। केही समयसम्म यसलाई सांस्कृतिक परम्पराका रूपमा प्रदर्शन गरियो, जसमा टोस्टरको भूमिकामा विभिन्न व्यक्तिहरूले यस परम्परालाई पुन: जीवन दिने प्रयास गरे, अहिले पनि गरिन्छ। तर, वास्तविक पो टोस्टर को थिए भन्ने प्रश्न अझै पनि अज्ञात नै छ।
त्यसलाई लिएर अहिले पनि अनेकथरीका अड्कलबाजीहरू हुने गर्छन्। कतिपयले टोस्टर पोका कुनै कट्टर प्रशंसक थिए भन्ने विश्वास गर्छन्, जसले उनलाई श्रद्धाञ्जली दिन यो अनौठो परम्परा सुरु गरे। केहीले भने यसलाई एउटा पारिवारिक परम्परा ठानेका छन्, पुस्तौंदेखि पुस्तान्तरण भइरहेको। केहीले भने यस परम्परालाई कुनै साहित्यिक समूहले सुरु गरेको र यो एउटा सांस्कृतिक प्रदर्शनको रूपमा चलाइएको अभियान हुनसक्ने बताउँछन्।
सन् १९९० मा, ‘लाइफ म्यागजिन’ले पो टोस्टरको एउटा फोटो प्रकाशित गरेको थियो, जसले त्यो बेला धेरै नै चर्चा पाएको थियो, तर त्यसले टोस्टरको वास्तविक पहिचानमा कुनै ठोस प्रमाण दिन भने सकेन। पत्रकारहरू र एडगरका प्रशंसकहरू प्रत्येक वर्ष यस परम्परालाई कभर तथा सम्मान दर्साउन वेस्टमिन्स्टर हलमा आउने गर्छन्, उनको चिहानमा।
पो टोस्टरको त्यो परम्परा लगभग ७५ वर्षसम्म चलिरह्यो। उक्त परम्पराले एडगरको साहित्य र उनको जीवनको रहस्यलाई झनै रोचक बनाएको छ। धेरैले त्यसलाई एक किसिमको काव्यात्मक श्रद्धाञ्जलीका रूपमा लिइने गर्छन्। समग्रमा, पो टोस्टरको कथा एउटा अद्वितीय रहस्यमय परम्परा थियो, जसले एडगर एलन पोको प्रभाव र उनको साहित्यिक योगदानको सम्मान गर्न काम गर्यो।
सन् २००७ मा ९२ वर्षीय ‘साम पोरपोरा’ नामक एक व्यक्तिले पो टोस्टरको परम्परा आफूले सुरू गरेको दाबी गरे। बाल्टिमोरको वेस्टमिन्स्टर चर्चका पूर्व इतिहासकार पोरपोराले सन् १९६० को दशकमा चर्च र त्यसलाई पुनर्जीवित पार्न यो परम्परा एउटा पब्लिसिटी स्टन्टका रूपमा आफूले आविष्कार गरेको बताए। तर, त्यो बेला प्रकाशित विभिन्न रिपोर्टहरूका अनुसार उक्त परम्परा सन् १९६० को दशकभन्दा धेरै पहिले नै सुरू भएको थियो। सन् १९५० मा ‘बाल्टिमोर इभनिङ सन’मा प्रकाशित एक लेखमा एक अपरिचित मान्छे प्रत्येक वर्ष एडगर एलन पोको चिहानमा मदिराको बोतल लिएर आउने गरेको भनेर उल्लेख गरिएको छ। साम पोरपोराको कथन हरेक पटक भिन्न हुने गर्थ्यो। अन्तत: उनले आफूले झुटो बोलेको स्वीकारे।
एडगर एलन पो वास्तवमै गोथिक थिए, उनको जीवन रहस्य र डरले भरिएको थियो। त्योभन्दा ज्यादा रहस्य उनको मृत्यु र मृत्युपछिको समयले बोकेको छ। उनलाई धेरैले गोथिक साहित्यका पिता भनेर पनि चिन्ने गर्छन्। गोथिक साहित्य भनेको त्यस्तो साहित्य हो, जसमा अन्धकार, रहस्यमय तथा डरलाग्दो क्यानभास कोरिएको हुन्छ जहाँ पुराना, भव्य महल-घरहरू, डरलाग्दा पात्र, अलौकिक तत्व तथा भयावह घटनाहरू हुने गर्छन्। कथा अथवा उपन्यासमा रहस्य, डर र त्रासको अनुभूति हुने गरी लेखिन्छ। गोथिक साहित्य प्राय: रोमाञ्चक तथा भयकारी घटनाहरूको वरिपरि घुम्ने गर्छ।
गोथिक साहित्यको उदय ब्रिटेनको रोम्यान्टिक युगमा भएको मानिन्छ, जुनबेला सामाजिक र राजनीतिक उथलपुथल चरम सीमामा पुगेको थियो। ‘गोथिक’ शब्द पहिलो पटक साहित्यसँग सम्बन्धित रूपमा होरेस वालपोलको सन् १७६५ मा प्रकाशित कथा ‘द क्यासल अफ ओट्रान्टो: ए गोथिक स्टोरी’मा उपशीर्षकको रूपमा प्रयोग गरिएको थियो। साहित्यमा ‘गोथिक’ नयाँ साहित्यिक विधाको रूपमा सुरु भएको थियो, जसको लोकप्रियता युरोपभर चुलिंदै गइरहेको थियो। सन् १८०० को मध्यतिर एडगर एलन पोले त्यस विधामा कलम चलाउन थाले। उक्त विधामा उनीभन्दा अघि र पछि पनि सफल गोथिक लेखकहरू भए तर उनले जति उचाइ सायदै अरू कुनै लेखकले पाए। गोथिक साहित्यमा एडगरले, मान्छे र समाजभित्रको अन्धकार, दुष्टता, भय तथा मानसिक तनाव र रोगहरूको बारेमा लेख्ने फराकिलो स्थान पाए। आज लेखिने अधिकांश गोथिक कथा-उपन्यासहरू उनै एडगरबाट कतै-न-कतैबाट प्रभावित छन्।
उनले कथा ‘द मर्डर्स इन द रु मर्ग’बाट एउटा नयाँ साहित्यिक विधाको सृजना समेत गरे। उनले उक्त छोटो कथाबाट साहित्यमा पहिलो पटक एउटा यस्तो पात्र सिर्जना गरे, जसले घटनाको तथ्यहरूलाई विश्लेषण गरेर रहस्य समाधान गर्दछ। यसका लागि एडगर एलन पोलाई आधुनिक जासुसी कथा विधाको संस्थापक पनि मानिन्छ।
एडगर एलन पोसँग मेरो भेट केही दिनअघि मात्रै भएको थियो, ‘द पेल ब्लु आइज’मा। ‘द पेल ब्लु आइज’ अमेरिकी लेखक ‘लुइस बायार्ड’द्वारा सन् २००६ मा प्रकाशित थ्रिलर उपन्यास हो, जसलाई सन् २०२२ मा फिल्मका रूपमा पनि बनाइएको थियो। उपन्यासले सन् १८३० मा न्युयोर्कको वेस्ट पोइन्टस्थित संयुक्त राज्य सैनिक एकेडेमीभित्र शृंखलाबद्ध रूपमा भएको हत्याहरूको कथालाई कहन्छ, जसको अनुसन्धानमा एडगर एलन पो पनि मिसिन्छन्, जो त्यतिबेला एक जवान सैनिक क्याडेट हुन्छन्। उनलाई उपन्यासमा एक तीक्ष्ण दिमाग भएको व्यक्ति देखाइएको छ, जसको साहित्यिक झुकाव र अनुसन्धानमा विशेष रुचि छ। कथा काल्पनिक भए पनि, त्यसले एडगरको वास्तविक जीवन र उनको प्रारम्भिक करिअरलाई केही हदसम्म चित्रण गरेको छ।
एडगर एलन पोको जीवनलाई पल्टाउने हो भने थाहा पाइन्छ, कुनै समय उनी सैनिकको रूपमा संयुक्त राज्य अमेरिकाको सेनामा भर्ती भएका थिए, आफ्नो नाम र उमेर परिवर्तन गरेर। सेनामा भर्ती भएकै वर्ष उनको पहिलो पुस्तक (कविता संग्रह) प्रकाशित भएको थियो, ‘टेमरलेन एण्ड अदर पोयम्स’ भन्ने। सेनामा राम्रो प्रदर्शन गरेबापत उनको चाँडै नै हवल्दारमा बढुवा पनि भएको थियो। सन् १८२९ मा एडगरले सेनाबाट निस्कने निर्णय गरे। उनलाई आमाको मृत्युले गहिरो प्रभाव पारेको थियो। उनी वेस्ट पोइन्ट सैनिक एकेडेमीमा प्रवेश गर्न चाहन्थे, जहाँ उनलाई ‘द पेल ब्लु आइज’ उपन्यासमा देखाइएको पात्रको कथा हुन्छ, तर वास्तविक जीवनमा उनले त्यहाँ लामो समय सेवा गर्न सकेनन्।
त्योभन्दा अघि मैले उनको छोटो कथा ‘द फल अफ द हाउस अफ अशर’ पढेको थिएँ, जसको कथा एकान्त स्थानमा रहेको एउटा पुरानो घरमा केन्द्रित छ; जहाँ रहस्यमय र भयावह घटनाहरू घट्छन्, शृंखलाबद्ध रूपमा। मैले त्यसपछि थाहा पाएको थिएँ, सोही कथामा आधार भएर निर्दशक ‘माइक फ्लानागन’ले मिनी सिरिज बनाउँदै छन्। म एकदमै उत्साहित भएको थिएँ। जब आठ एपिसोडको ‘द फल अफ द हाउस अफ अशर’ मिनी सिरिजको रूपमा आयो, त्यसलाई हेरिसकेपछि थाहा भयो, सिरिजले ‘एडगर एलन पो’का अन्य गोथिक कथा तथा कविताहरूलाई समेत स्थान दिएका रहेछन्, मीठो तड्का लगाएर। ‘द पेल ब्लु आइज’ फिल्ममा पनि एडगरका थुप्रै कथाका रिफ्रेन्सहरू भेटिन्छन्।
‘शर्ली ज्याक्सन’को गोथिक उपन्यास ‘द हन्टिङ्ग अफ द हिल हाउस’ पढिरहँदा मलाई उक्त हन्टेड घरले निल्दै गइरहेको महसुस भएको थियो, त्यसको एउटा पात्र एलेनोरलाई झैं। तर, जब मैले एडगरको ‘द फल अफ द हाउस अफ अशर’ पढें, मलाई एक किसिमको बेग्लै डर लागेको थियो। यस्तो लाग्यो म पनि त्यो घर जसरी भत्किंदै गइरहेको छु, बिस्तारै.. बिस्तारै। मलाई उनको त्यो कथा बाहेक ‘द टेल टेल हार्ट’, ‘द ब्ल्याक क्याट’, ‘द कास्क अफ अमोनटिल्लाडो’, ‘द पिट एण्ड द पेन्डुलम’ मन परेका कथाहरू हुन्। ‘द रेभन’ मलाई उनको सबैभन्दा मन पर्ने कविता हो। कविता कसरी अन्धकार हुन सक्छ। डरावनी हुन सक्छ। ओहो !
उनका कथा, कविताहरूमा जति अन्धकार र कष्ट भेट्छौं, त्योभन्दा ज्यादा ती तत्वहरूलाई उनको जीवन पढ्दा भेट्छौं। एक प्रकारले उनका कृतिहरू उनका प्रतिबिम्ब हुन्।
उनको जन्म जनवरी १९, सन् १८०९ मा बोस्टनको म्यासाचुसेट्समा भएको थियो। उनी अमेरिकी अभिनेता डेविड पो जुनियर र अंग्रेजी अभिनेत्री एलिजाबेथ अर्नोल्ड हप्किन्स पोका दोस्रो सन्तान थिए। उनको बुबाले सन् १८१० मा परिवारलाई छाडेर बेपत्ता भए। त्यसको एक वर्षपछि उनकी आमा क्षयरोगबाट मृत्युलाई अँगाल्न पुगिन्। त्यसपछि एडगरलाई एक धनी व्यापारी जोन एलन र उनकी पत्नी फ्रान्सिसले अपनाए, जसको तनावपूर्ण सम्बन्धको बीचमा उनी हुर्किंदै गए।
उनलाई अमेरिकाको पहिलो पेशेवर लेखक भनेर पनि चिनिन्छ, जुन पेशाले भने उनको आर्थिक अवस्थालाई कहिल्यै उकास्ने काम गरेन। उनलाई आफ्नो जीवनकालमा वास्तविक सफलताको स्वाद र आनन्द प्राप्त गर्न निकै नै संघर्ष गर्नुपर्यो। ‘द रेभन’र ‘द टेल टेल हार्ट’ जस्ता लोकप्रिय कथा-कविता मार्फत विश्व साहित्यमा एक प्रमुख लेखकका रूपमा उदाएका उनको जीवन गरिबी र अन्योलमै बितेर गएको थियो। उनले समय–समयमा आफ्नो नाम परिवर्तन गरिरहन्थे, जसको कारणले गर्दा उनको वास्तविक पहिचानमा केही समयसम्म अनिश्चितता थियो। उनले सो कार्य आफ्नो व्यक्तिगत जीवनका संघर्षहरू र लेखन करियरको अस्थिरताका कारण गरेका थिए।
आजका दिनमा उनका कामहरूलाई अंग्रेजी साहित्यका क्लासिक्सका रूपमा मानिन्छन्। त्यो समयमा उनलाई केही कृतिहरूले चिनाएका थिए, तर ती कृतिहरूले उनलाई प्रसिद्धि भने दिलाउन सकेनन्। उनी यस्ता अभागी लेखकहरूमा पर्छन्, जो मृत्युपछि प्रसिद्ध भएका हुन्।
एडगरले आफ्नो काकीकी १३ वर्षकी छोरी भर्जिनिया क्लेमसँग विवाह गरेका थिए। उनीहरूबीचको सम्बन्धलाई धेरैले अनौठो मानेका थिए। भर्जिनियाको २४ वर्षको उमेरमा ट्युबरकुलोसिसका कारण मृत्यु भएको थियो, जसले एडगरको मानसिक अवस्थामा गम्भीर रूपमा प्रभावित गरेको थियो। त्यसपछि उनी लामो समयसम्म गहिरो मानसिक तनावमा रहे।
एडगर एलन पोले मोर्डन हररको जग हालेको भन्दा फरक नपर्ला। उनले गोथिक फिक्सनको दायरालाई झनै फराकिलो बनाइदिएका छन्। उनको नाम मस्तिष्कमा आउने बित्तिकै यस्ता अन्धकारका लहराहरू सल्बलाउन थाल्छन्, जसमा लपेटिएर डर, त्रास, भयानकता, दुष्टता, छल, रहस्य, जादुयी तथा अलौकिक तत्वहरू आउने गर्छन्। एउटा यस्तो माहोलले जन्म लिन्छ, जहाँको वायुमण्डलमा विष घोलिएको छ। रोग सल्बलाइरहेको छ।
तर, उनको सबैभन्दा अनौठो र रहस्यमय कथा उनका कृतिहरूमा नभएर उनको मृत्युमा भेटिन्छ।
सन् १८४९ सेप्टेम्बरको अन्त्यमा एडगर एलन पो भर्जिनियाको रिचमण्डबाट बाल्टिमोरको लागि जान लागेको एउटा डुङ्गामा चढे। उनको पेनसिल्भेनियामा केही सम्पादनका काम थिए। त्यो बाहेक न्यूयोर्कमा उनी आफ्नो सासूलाई लिन जानुपर्ने काम थियो, एल्मिरा शेल्टनसँग दोस्रो विवाहको तयारी गर्न। तर, उनी कहिल्यै फिलाडेल्फियासम्म पुग्न सकेनन्। उनलाई पाँच दिनसम्म कसैले देखेनन्।
अक्टोबर ३ मा, बाल्टिमोरको मतदान केन्द्रको बाहिरको नालीमा उनलाई अर्धचेत अवस्थामा फेला पारिन्छ। त्यो बेला उनको अवस्था साह्रै नाजुक थियो। उनले लगाएका कपडाहरू मैला, च्यातिएका थिए। उनी हिंड्न सक्ने अवस्थामा थिएनन्। मान्छेहरूले उनलाई त्योभन्दा अघि भर्जिनियामा डुङ्गा चढ्दै गर्दा देखेका थिए। उनी पाँच दिनसम्म कहाँ र कोसँग थिए, त्यो अझै पनि अज्ञात रहेको छ। मतदान गर्न गइरहेको बेला जोसेफ डब्ल्यू वाकर नामक एक व्यक्तिले उनलाई त्यस्तो मरणासन्न अवस्थामा फेला पारेका थिए। उनको कविता ‘द रेभन’ मार्फत उनी केही चिनिएका थिए, त्यसैले जोसेफले उनलाई तुरून्तै चिनिहाले।
एडगरले बाल्टिमोरमा रहेका चिकित्सक तथा उनका साथी जोसेफ ई. स्नोडग्रेसलाई सम्पर्क गर्न जोसेफलाई अनुरोध गरे। त्यसपछि एडगरलाई अस्पतालमा लगियो, जहाँ उनी होशमा आउने-जाने गरिरहे। अकारण चिच्याइरहे। उनी रेनोल्ड्स नाम लिएर बारम्बार बर्बराइरहे, कराइरहे। उनले कसैलाई बोलाइरहेका थिए अथवा आफूलाई त्यस्तो अवस्थामा पुर्याउनेको नाम लिइरहेका थिए, कसैलाई थहा भएन। उनलाई फेला पारिएको चार दिनपछि सन् १८४९ अक्टोबर ७ का दिन उनको निधन भयो। अस्पतालमा रहुन्जेल उनी कहिल्यै पूरै होशमा आएनन्।
अत्यधिक मद्यपानबाट मस्तिष्कमा पर्न गएको प्रभावले उनको मृत्यु भएको भनियो तर उनका मेडिकल रेकर्ड र मृत्युको प्रमाणपत्र आज पनि भेटिंदैनन्। उनको मृत्यु पनि उनले लेखेका कथाहरू र उनको जीवन जस्तै रहस्यमय र विवादास्पद भएको थियो। मर्नुभन्दा अघि उनको मुखबाट निस्किएका शब्दहरू थिए– ‘प्रभु, मेरो दुखी आत्मालाई शान्ति देउ।’
उनको यसरी रहस्यमय ढङ्गले भएको मृत्युलाई लिएर धेरैले धेरै थरीका अड्कल लगाउने गर्छन्, जसमा मद्यपान, रोग, कुटपिट, विषाक्तता, मधुमेह, हैजा, फ्लू, मस्तिष्कको ट्युमर वा मुटुको रोग जस्ता स्वास्थ्य अवस्थाहरू पनि समावेश छन्। केही विशेषज्ञहरूले भने उनलाई रेबिज लागेको हुनसक्ने अनुमान गर्छन्। केहीले भने उनलाई कुटपिट गरेर मारेको भनेर तर्क गर्छन्। उनलाई मतदान केन्द्रबाहिर त्यस्तो अवस्थामा भेटिएको कारण धेरैले भने उनी ‘कूपिङ’ को शिकार भएका मान्छन्, जसमा व्यक्तिलाई अपहरण गरी लागूपदार्थ खुवाएर चुनावमा जबर्जस्ती मतदान गर्न लगाइन्छ, एकभन्दा बढी पटक। तर, कुनै पनि एउटा कारणलाई कसैले स्वीकार भने गरेका छैनन्, पूर्ण रूपमा कसैले पुष्टि गर्न सकेनन्, जसले गर्दा उनको मृत्यु अझै पनि अनुसन्धान र अध्ययनको विषय बनेको छ।
सन् २००० मा लेखक ‘जोन इभान्जलिस्ट वाल्श’को प्रकाशित किताब ‘मिडनाइट ड्रेइरीः मिस्टेरियस डेथ अफ एडगर एलन पो’ मा एडगरको हत्या एल्मिरा शेल्टनका तीन दाजुभाइले गरेको थ्योरी प्रस्तुत गरेका छन्। वाल्शले पत्रपत्रिका, पत्र र आत्मकथाहरूको आधारमा त्यो हत्या कसरी भएको हो भन्ने प्रमाण राख्ने प्रयास गरेका छन्। उनका अनुसार, एडगर फिलाडेल्फिया पुगेका थिए, तर त्यहाँ एल्मिराका दाजुभाइले उनलाई आफ्नो बहिनीसँग विवाह नगर्न चेतावनी दिए। डराएका एडगरले आफूलाई लुकाउन थोत्रो र मैलो कपडा लगाए, जुन कपडामा उनलाई बाल्टिमोरको नालीमा फेला पारिएको थियो। उनी केही दिन त्यस्तै अवस्थामा फिलाडेल्फियामा लुकेर बसे। त्यसपछि उनी विवाहको तयारी गर्न बाल्टिमोर, रिचमण्ड फर्किए। तर, बाल्टिमोरमा फेरि ती तीन दाजुभाइले उनलाई भेटाए र मदिरा ख्वाएर बेहोसीको अवस्थामा नालीमा छाडिदिए।
एडगरलाई वेस्टमिन्स्टरको चिहानमा गाडियो। त्यसको २५ वर्षपछि ठूलो स्मारक बनाएर उनलाई नयाँ चिहानमा सारियो। त्यसको लगभग ७५ वर्षपछि एउटा रहस्यमय व्यक्ति हरेक वर्ष जनवरी १९ का दिन उनको चिहानमा देखा पर्न थाल्यो, एक बोतल मदिरा र तीन वटा रातो गुलाफ लिएर। यसरी एडगरको जीवनले रहस्य लेख्यो, मृत्युले रहस्य लेख्यो, मृत्युपछिको समयले पनि रहस्य लेखिरहेको छ। उनी वास्तवमै गोथिक थिए।
एउटा यस्तो लेखक, जसले रहस्यमय, भयावह र अन्धकार दुनियाँको निर्माण गरे, उनको मृत्यु पनि त्यसैको गर्तमा समाहित हुन पुग्यो। उनको चालीस वर्षको छोटो र दुःखद् जीवनको बाबजुद, अमेरिकी साहित्य र विश्वभरका कथा र कवितामा उनको प्रभाव अत्यन्त गहिरो रूपमा रहेको छ। उनले आफ्नो जीवनकालमा पर्याप्त प्रशंसा नपाए पनि, गोथिक साहित्यमा उनको योगदान अतुलनीय छ। उनले आफ्ना कृतिहरू मार्फत हामीलाई आफ्नै अन्तरहृदयमा चियाउन र आफ्ना गहिरा डरहरूको सामना गर्न प्रेरित गर्दै आएका छन्।
एडगर, तिम्रो आत्माले शान्ति पायो ?