‘कम क्षति भए पनि संविधान ट्रयाकमा छ, अब चुनावमात्रै विकल्प’



गत भदौ तेस्रो साता जेनजी विद्रोहपछिको अन्योलका बेला प्रथम राष्ट्रपति डा. रामवरण यादवले बहालवाला राष्ट्रपति रामचन्द्र पौडेललाई संविधानमै टेकेर निकास निकाल्न सल्लाह दिएका थिए । सरकारमा बस्नेहरूको कमजोरीले गर्दा भदौ २३ र २४ गते जनधनको ठूलो क्षति भएको उनको निष्कर्ष छ ।

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले नेतृत्व गरेको सरकारलाई पनि कसरी अगाडि बढ्न सकिन्छ भनेर उनले केही महत्वपूर्ण सुझाव दिइरहेका छन् । फागुन २१ गतेको निर्वाचनलाई अर्जुनदृष्टि बनाउनुपर्ने उनको निष्कर्ष छ । प्रस्तुत छ, पूर्वराष्ट्रपति यादवसँग अनलाइनखबरका बसन्त बस्नेतसन्त गाहा मगरले गरेको अन्तर्वार्ता । यसको भिडियो अनलाइनखबरको युट्युब र फेसबुकमा हेर्न सकिन्छ ।

तपाइँले गणतन्त्रको प्रथम राष्ट्राध्यक्षका रूपमा जेनजी विद्रोहपछिको संकटलाई संवैधानिक व्यवस्थापन गर्न भूमिका खेल्नुभएको सुनेका थियौं । त्यतिबेला भएको के थियो, कसरी निकास खोजियो ?

भदौ २३ र २४ गते युवाहरूले आन्दोलन गरेका बेला देश बडो अस्तव्यस्त अवस्थामा थियो । भोट माग्ने बेलामा जे भनेका थिए त्यो कुरा व्यवस्थित नभएको कुरामा युवाहरू असन्तुष्ट थिए । युवाहरूको मृत्यु र राष्ट्रिय विध्वंसले गर्दा म पनि विचलित अवस्थामा थिएँ । त्यस्तो बेलामा औपचारिकमा जहाँ भन्नुपर्ने थियो त्यहीं भनें । मैले भन्ने भनेको बहालवाला राष्ट्राध्यक्ष (रामचन्द्र पौडेल)लाई नै हो, उहाँलाई सल्लाहहरू दिएँ ।

विभिन्न सल्लाह दिएँ । राष्ट्राध्यक्षले कसरी निकास दिनुभयो ? समाजको व्यवस्थापन र राज्यको उतारचढाव संसारमा जहाँ पनि हुन्छ । हाम्रो मुलुक त झन् दुई वटा विशाल मुलुकहरूको बीचमा छ । लोकतन्त्रको लडाइँ लडेको लगभग एक शताब्दी भयो । यो शताब्दीसम्म लडेर ल्याएको व्यवस्था हो । म जस्तो पुरानो पुस्ताका मानिसलाई यत्रो बलिदानीबाट प्राप्त उपलब्धि चुनाव हुँदै गर्छ र विस्तारै व्यवस्थापन हुँदै जान्छ भन्ने लागेको थियो ।

तर जेनजी पुस्ताले भ्रष्टाचार, बेथिति, बेरोजगारी र सुशासन नहुँदा जनतामा जुन निराशा थियो त्यसलाई छिटो सम्बोधन हुनुपर्छ भनेर आन्दोलन गरे ।

यी जेनजीहरू जन्मिंदा नै प्रविधि सँगसँगै थियो, होइन ?

हो, सँगसँगै थियो । एउटा उदाहरण दिन चाहन्छु । २०५६ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा म मन्त्री थिएँ । त्यतिबेला सबै मन्त्रीहरूलाई नोकियाको मोबाइल दिइएको थियो । मैले भन्न खोजेको, मेरो हातमा मोबाइल परेको २६–२७ वर्ष भयो । जेनजीहरू त नयाँ प्रविधि लिएरै जन्मिए ।

तपाइँ त अहिले पनि स्मार्ट फोन नचलाएर टुकटुके फोनै चलाउनुहुँदोरहेछ ?  

ह्वाट्सएप चलाउनुपर्‍यो भने स्मार्ट फोन चलाउँछु । फोन गर्न र उठाउन भने नोकियाको यही फोनबाट सजिलो लाग्छ ।

त्यतिबेला राष्ट्रपति रामचन्द्र पौडेललाई टेलिफोन गर्नुभएको हो ?

गरेको थिएँ ।

उहाँको प्रतिक्रिया कस्तो थियो ? पहिला त उहाँको हालचालै बुझ्नुभयो होला । किनभने राष्ट्रपति कहाँ,  कस्तो अवस्थामा हुनुहोला भन्ने बाहिर पूरै हल्ला चलिरहेको अवस्था थियो !

उहाँ कहाँ हुनुहुन्छ भन्ने अरू स्रोतबाट थाहा पाए पनि तपाइँ सुरक्षित हुनुहुन्छ ? कस्तो अवस्थामा हुनुहुन्छ भनेर सोधें । तपाइँ शीतलनिवासमा हुनुहुन्छ कि बाहिर हुनुहुन्छ भनेर चाहिं मैले सोधिनँ । किनभने उहाँ कहाँ हुनुहुन्थ्यो भन्ने मलाई थाहा थियो ।

उहाँ त्यो बेला महाराजगञ्जमै हुनुहुन्थ्यो ?

अहँ, शीतलनिवासबाट बाहिर हुनुहुन्थ्यो ।

राष्ट्रमा संकट आएको, केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेको अवस्थामा स्थिति ट्रयाकमा छ भनेर ढुक्क हुनुहुन्थ्यो या आश्वस्त हुन गाह्रो परिरहेको थियो ?

मलाई भदौ २३ गते बेलुका नै नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ भन्ने लागेको थियो । र सत्ता साझेदार कांग्रेसले ओलीजीलाई तपाइँले राजीनामा दिनुस् र सर्वदलीय बैठक बोलाऊँ भन्ने सल्लाह दिनुपर्ने हो ।

यस्तो गरे हुने नि भनेर यहाँले नेताहरूलाई भन्नुभएको थियो ?

पार्टी राजनीतिमा हुँदाका सम्पर्कमा रहेका पुराना साथीहरूलाई मैले भनेको थिएँ ।

उहाँहरूले के भन्नुभयो ?

त्यसमा विस्तृतमा नजाऊँ । ओलीलाई त्यसो भन्न तयार छैनन् उनीहरू भन्ने जस्ता कुराहरू भए ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि कुरा भएको थियो ?

उहाँसँग कुरा भएको थिएन ।

केपी ओलीलाई छोड्न दबाब दिनु पर्‍यो भन्ने खालका कुरा गर्नुभएन ?

छैन–छैन । उहाँहरू दुवै जनालाई केही भनेको थिएन ।

प्रथम राष्ट्रपतिको रूपमा मैले त्यस्तो कुरा भन्नुहुन्थ्यो कि हुँदैनथ्यो भनेर तपाइँलाई अहिले बोल्न धक लागेको त होइन नि !

मैले राष्ट्राध्यक्षलाई भनें । किनभने त्यो काम राष्ट्राध्यक्षको थियो । संकटमा त राष्ट्राध्यक्षले नै हेर्नुपर्ने कुरा हो । त्यस्तो बेलामा दल र नेताहरूसँग सल्लाह गर्नुपर्ने थियो ।

आन्दोलनपछिको अवस्था देखेर विचलित थिएँ भन्नुभयो । यहाँलाई कुन विन्दुबाट अब संविधान र अहिलेको पद्धति जोगियो भन्ने लाग्यो ? वा अहिलेसम्म लागेको छैन ?

भदौ २४ गते नै मैले राष्ट्राध्यक्षज्यूलाई यो संविधानलाई नै टेकेर अगाडि बढ्नुपर्छ, राष्ट्रलाई जोगाउनुपर्छ भनेको थिएँ । पछि संसद् विघटनका कुरा आए । त्यसमा मैले बढी भन्न सकिनँ । वकिलहरू मार्फत उहाँलाई संविधान बचाउनुस् है भनें । राष्ट्राध्यक्षले सेना र संविधानविद्हरूको सहयोगले संकटका बेला जुन निकास निकाल्नुभयो त्यसलाई म स्वीकार्छु । कम क्षति भए पनि संविधान ट्रयाकमा छ । यो राष्ट्रका लागि सुखको कुरा हो । अब संविधानमा भएको क्षति कसरी पूरा गर्ने भन्नेतर्फ सोच्नुपर्दछ ।

तपाइँसँग राष्ट्रपति पौडेलले गर्नुभएको कुरा सुनेर विद्रोहपछिको परिस्थिति सम्हाल्न सकिन्छ भन्नेमा यहाँ आश्वस्त हुनुहुन्थ्यो ?

२०१७ सालपछिका घटनाहरू हाम्रै सामुन्नेका हुन् । बीपी कोइरालासँग म कलकत्तादेखि नै नजिक थिएँ । गणेशमान सिंहसँग काम गर्न पाइनँ । कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासँग काम गरें । मनमोहन अधिकारी लगायत नेताहरूसँग पनि काम गरें । संकटमा नहड्बडाउने कुरा मैले कृष्णप्रसाद र गिरिजाप्रसादबाट सिकेको थिएँ । रामचन्द्रजी लोकतन्त्रप्रति प्रतिबद्ध व्यक्ति हुनुहुन्छ भन्नेमा विमति थिएन । तर उहाँले कसरी निकास निकाल्नुहुन्छ भन्ने परेको थियो । मैले यही संविधानलाई टेकेर निकास दिनुहोस् भनेको थिएँ ।

संसद् विघटन नहोस् भन्नेमा मेरो जोड थियो । संसद् राखेरै जेनजीको माग र भावनालाई समेटेर निकास दिन सकिन्छ भन्ने मेरो चाहना थियो, जुन पूरा भएन । संसद् विघटन भयो । न्यूनतम क्षतिमा संविधान बाँच्यो । निर्धारित मितिमा निर्वाचन भयो भने त्यो क्षति पनि पूरा हुन्छ ।  यो संविधान २००७ सालदेखिको क्रान्ति, बलिदानी र दुई–दुई वटा संविधानसभापछि बनेको हो भन्ने बिर्सनुहुँदैन । यो गणतान्त्रिक–लोकतान्त्रिक संविधान बचाएरै जानुपर्दछ ।

तर संसद् त बचेन नि ?

त्यो दु:खद् कुरा हो ।

संसद् बचेको भए अहिलेका समस्या कम हुन्थे ?

भदौ २४ गतेको घटना नेताहरूको कमजोरीले गर्दा भएको हो । २३ गते १९ जना युवाको ज्यान गयो । त्यो दिन घुसपैठ भयो भनिरहेका छन् । राज्य चलाउनेहरूलाई घुसपैठ भएको थाहा हुनुपर्थ्यो । सूचना राखेको देखिएन । जेनजीको आन्दोलनलाई हल्का ढंगले लिएको देखियो । यो त्यतिबेला सरकारमा बसेका एमाले र कांग्रेसका नेताहरूको कमजोरी हो । ड्राइभिङ सिटमा बसेर घुसपैठ हुन्छ भन्ने नबुझ्नु त भएन । दोस्रो दिनको विध्वंसमा आफ्नै सम्पत्ति, राष्ट्रिय धरोहरलाई जसरी आक्रमण भयो, त्यो प्रतिगामी डिजाइन थियो । नेपालीले नै गरे पनि त्यो प्रतिगामी काम नै हो । सुशासन, रोजगारी, बेथितिको अन्त्य, सामाजिक सञ्जाल खुलाउने जस्ता युवाहरूको माग जायज हो । जेनजीले अहिले पनि यो संविधान मार्फतै निकास निकाल्नुपर्छ भनिरहेका छन्, त्यो पनि एकदम सही हो ।

भदौ २४ गतेको घटना सुनियोजित जस्तो देखियो । त्यसप्रति राज्य बेखबर भयो । त्यसमा राज्य चलाउनेको पूरापूर दोष छ ।

यहाँले बेखबर भएर बस्नुहुँदैनथ्यो भन्नुभयो । तत्कालीन प्रधानमन्त्री ओली दिनहुँजसो बोलिरहनुभएको छ । कांग्रेसका सभापति बोल्नुभएको छैन । अहिलेसम्म आइपुग्दा दुई शीर्ष नेताहरू जिम्मेवार देख्नुभयो त ?

यहाँले एक जना नेता बोल्नुभएको छैन भन्नुभयो । त्यो पार्टीका नेताहरूलाई जिम्मेवारी बोध छ जस्तो लाग्छ । अर्का नेताले एउटा अन्तर्वार्तामा केही स्वीकार्नुभएको हेरेको थिएँ । उहाँले जुन प्रकारले स्वीकार्नुपर्ने हो त्यसरी स्वीकार्नुभएको छैन ।

त्यो जिम्मेवारीबोध नेतृत्वमा देखिएको छैन ?

छैन ।

‘कम क्षति भए पनि संविधान ट्रयाकमा छ, अब चुनावमात्रै विकल्प’

नेतृत्व भनेको जिम्मेवारी नै हो । माला लगाएर मात्र पुग्दैन, सबैखाले प्रश्नको जवाफ दिनुपर्छ । तपाइँलाई कस्तो लाग्छ ?

लोकतन्त्रमा गल्ती भयो भने स्वीकार गर्ने हो । जनतासँग माफी माग्ने, भएको यस्तो हो भनेर बुझाउने हो । म प्रधानमन्त्रीको ठाउँमा भएको भए जनतासँग माफी माग्थें । भदौ २३ गते उच्चस्तरीय समिति बनाएर, राजीनामा दिन्थें, जनतासँग माफी माग्थें । सर्वदलीय सरकारको आह्वान गरेर पद हस्तान्तरण गर्थें । गल्ती हुन्छ तर बेखबर भएर बस्नुहुँदैनथ्यो । एउटा पार्टीको प्रधानमन्त्री र अर्को पार्टीको गृहमन्त्री थियो । सारा सुरक्षा सञ्जाल आफ्नो हातमा छ । देशभरि कार्यकर्ता छन् ।

डाक्टरले नाडी छामेरै रोग पत्ता लगाउँछ । देशमा के भइरहेको छ भन्ने थाहै नपाएर शासन गर्ने अधिकार लोकतन्त्रमा हुँदैन । सबै खबर राख्दाराख्दै पनि दुर्घटना भयो भने जनतासँग माफी माग्ने हो ।

तपाइँ माफी माग्ने कुरा गरिरहनुभएको छ । तत्कालीन प्रधानमन्त्रीले यो सरकार कसले बनाएको हो ? कसको सरकार हो भनेर सोधिरहनुभएको छ ! यो माफी भन्दा धेरै परको कुरा होइन र ?

म जनताको आशीर्वादले एउटा ठाउँमा पुग्न पाएँ । यो संविधान त्यसै बनेको होइन । कांग्रेस, एमाले र माओवादीको बढी मिहिनेत परेको छ । शुरुमा संविधानसभा छोडेर गएका मधेशका दलहरूलाई पनि पछि समेट्यौं । संविधान अनुसार बनेका संरचनामा उहाँहरू पनि आउनुभयो । सबै पक्षले स्वीकारेको हुनाले देश राम्रो ढंगले अगाडि बढिरहेको छ भनेर मलाई खुशी पनि लागेको थियो ।

यत्रो संघर्ष गरेर संविधान बनाएका दलहरू नै निर्वाचनबाट भागे भने त्यो आफ्नो कर्तव्यबाट अलग भएको हुन्छ ।

उहाँले स्वीकार गर्नुहुन्न भने त्यो ऐतिहासिक भूल हुनेछ । उहाँ आफैं सुरक्षा घेरामा बसिरहनुभएको थियो । राष्ट्रपतिले बडो युक्तिले निकास निकालेको उल्लेख गर्नुभएको थियो । त्यसले पनि त्यतिबेलाको अवस्था कस्तो थियो भन्ने देखाउँछ । ६ महिनामध्ये हामीसँग चार महिना भन्दा पनि कम समय बाँकी छ । यस्तो बेलामा कांग्रेस, एमाले, भर्खरै बनेको नेपाली कम्युनिस्ट पार्टी, जेनजी, मधेशका पार्टीहरूको एकस्वर हुनुपर्दछ ।

जेनजीहरूले यही संविधानलाई मानेका छन् । संविधान बचाएकोमा जेनजीलाई धन्यवाद दिन चाहन्छु ।

कतिपय युवामा कांग्रेस–एमाले जस्ता दलहरूको समर्थक हुनु नै अपराध हो भन्ने जस्तो धारणा पाइन्छ । बहुदलीय व्यवस्थामा यसलाई कसरी बुझ्ने ?

बहुसंख्यक जेनजीहरूको यस्तो बुझाइ छ जस्तो मलाई लाग्दैन । उनीहरूले भर्खरै तयार पारेका मागपत्रका ९० प्रतिशत भन्दा धेरै माग जायज छन् । नबुझ्ने केही त जहाँ पनि हुन्छन् । कसैले गलत बुझाइरहेको पनि हुन सक्छ । तर बहुसंख्यकले चाहिं बुझ्दा रहेछन् ।

खासगरी त्यो संकटका बेला खेल्नुभएको भूमिकालाई लिएर बहालवाला राष्ट्रपतिज्यूसँग सन्तुष्ट हुनुहुन्छ ?

म सन्तुष्ट छु ।

राष्ट्रपतिको समग्र कामप्रति चित्त बुझेको छ ?

हेर्नुस्, उहाँको लामो समयदेखि लोकतान्त्रिक भूमिका छ । अत्यन्त असहज, विषम, भयपूर्ण परिस्थितिमा बडो जुक्तिले निकास निकालेको भन्नुभएको छ । मेरो चाहना प्रतिनिधिसभा भंग नहोस् भन्ने थियो । त्यसलाई जनताले स्वीकारेर तेस्रो दिनदेखि शान्ति छायो । अबको निकास भनेको निर्वाचनै हो । मलाई लाग्छ जनता पनि नयाँ चुनाव नै चाहन्छन् । नयाँ जनादेशमा जानै पर्छ । चुनावबाटै समस्याहरूको व्यवस्थापन गरेर लोकतन्त्रलाई बचाउने हो । लोकतान्त्रिक गणतन्त्र र संघीयता सहितको संविधान त्यसै आएको होइन । अघि पनि भनें, शताब्दीदेखिको बलिदानी संघर्षबाट आएको हो ।

तपाईले राष्ट्रपति, तत्कालीन प्रधानमन्त्री, शेरबहादुर देउवा र जेनजीको पनि कुरा गर्नुभयो । राष्ट्रपति हुँदा यहाँ नेपाली सेनाको परमाधिपति हुनुहुन्थ्यो । जेनजी आन्दोलनका क्रममा सेनाले खेलेको भूमिकालाई कसरी हेर्नुभएको छ ?

राष्ट्रपतिजी र सेना एकठाउँमा थिए । राष्ट्रपतिजीको राष्ट्रलाई व्यवस्थापन गर्ने सहयात्री सेना नै थियो । सेनाले उहाँलाई साथ दिएकै हो । र यो बाटोमा गएको हो ।

तर जंगीअड्डाको भूमिकालाई लिएर शुरुमा विभिन्न प्रश्न उठे । सैन्य ‘कु’ पो हुने हो कि, लोकतन्त्रै नरहने हो कि, शासन नागरिकको हातबाट अन्यत्रै जाने पो हो कि भन्ने प्रश्न पनि उठे । त्यस्ता आशंकामा बल पुग्ने गरिका भूमिका पनि जंगीअड्डाको देखियो !

जंगीअड्डाले ‘हामी योभन्दा बाहिर गएको भए जनधनको बढी क्षति हुने’ भएकाले यसरी व्यवस्थापन गर्‍यौं भनेको छ । त्यसैलाई विश्वास गर्नु शिवाय अर्को बाटो छैन ।

यहाँले अघि माफी माग्नुपर्थ्यो भन्नुभयो । त्यो माफी २३ र २४ गतेको घटनाका लागि मात्र मागेर पुग्थ्यो कि लामो समयदेखि शासकहरूका कारणले जनताले खेपिरहेको सास्तीका लागि पनि माग्नुपर्छ  ?

जेनजी आन्दोलन भन्दा पहिला पनि भ्रष्टाचार बढी भयो भन्ने कुरा नआएको होइन । सञ्चारमाध्यम, नागरिकहरूले यो कुरा भनिरहेकै थिए । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराहरू धेरै महँगो भयो । विद्यार्थीहरू पढ्न बाहिर गइरहेका छन् भन्ने कुरा आइरहेकै थिए । तर नेताहरूले त्यसलाई वास्ता गरेका थिएनन्, यसलाई गम्भीर रूपमा लिइरहेकै थिएन । राष्ट्राध्यक्षको रूपमा मैले मकहाँ ‘ब्रिफिङ’ गर्न आउने सबै अर्थमन्त्रीलाई भन्ने गरेको थिएँ– दैनिक १५ सय युवा विदेशिएका छन् । अब कमसेकम ५ सयमा झार्ने गरी योजना बनाउनुस् । तर कुनै पनि अर्थमन्त्रीले त्यस्तो योजना बनाएर ल्याएनन् । अर्थतन्त्र उकासिन सकेन भने द्वन्द्व व्यवस्थापन गर्न गाह्रो हुन्छ भन्ने विभिन्न देशका उदाहरण छन् ।

चुनाव नै हो विकल्प, चुनाव नै हो विकल्प, चुनाव नै हो विकल्प ।

१५ वर्षदेखि मैले चुरे संरक्षणमा जोड दिइरहेको छु । त्यसलाई कसैले गम्भीर रूपमा लिएको देख्नुभएको छ ? संसद्मा हप्तौं दिन यो विषयमा छलफल भएको सुन्नुभएको छ ? पूर्वी तराईमा सुक्खा लागेर चापाकलबाट पानी नआउने भएको थियो । प्रधानमन्त्रीले हेलिकोप्टरमा गएर ५०० वटा ‘डीपबोरिङ’ दिन्छु भन्नुभयो । स्रोत नै नभएपछि पानी आउँदैन भन्ने विचारै गर्नुभएन । किसान परिवारमा जन्मिएर, हिमाल, पहाड, तराई घुमेको अनुभव र वातावरणविद्हरूसँगको छलफलपछि बोलेको कुरालाई पनि गम्भीर रूपमा लिइएन । कृष्णप्रसाद र गिरिजाप्रसादले भए पक्कै विद्वान्हरूलाई छलफल गर्नुस् न भन्नुहुन्थ्यो ।

यो त गिरिजाप्रसाद र कृष्णप्रसादहरू भन्दा ‘एडभान्स्ड’ नेताहरू भएको बेला होइन र ? सुन्ने संस्कार किन हरायो ?

मै जान्ने, मै सुन्ने भन्ने अहंले गर्दा यस्तो हुन्छ । हाम्रा नेताहरूमा सिंहावलोकन गर्ने बानीको अभाव छ । इतिहासले हामीलाई बारम्बार सिकाइरहेको छ । भविष्यका लागि मार्गनिर्देश त गरिरहेको हुन्छ नि !

यहाँले बीपी कोइरालासँग संगत गर्नुभयो । त्यतिबेलादेखि अहिलेका जेनजीहरूलाई पनि देखिरहनुभएको छ । विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभयो । जतिमाथि गयो उति कान सुन्ने क्षमता कम हुने हो ? अन्यत्र पनि यस्तै हुन्छ कि नेपालको विशिष्ट विशेषता हो ?

अन्यत्र पनि यस्तै हुन्छ । गान्धीजीको भारत छोडो आन्दोलनका बेला मेरो जन्म भयो । म ८३ वर्षको भएँ । मैले होस सम्हाल्ने बेलासम्म दोस्रो विश्वयुद्ध भइसकेको थियो । एशिया, अफ्रिका, ल्याटिन अमेरिका जस्ता देशहरू उपनिवेशबाट स्वतन्त्र भइरहेका थिए । त्यसपछि जति देशमा लोकतन्त्र आए त्यसमध्ये ६०–७० प्रतिशत देश नेतृत्वकै कारणले पछाडि फर्कनुपर्‍यो । कहीं सैन्य शासन भयो, कहीं के भयो । म देशको सेवक हुँ भनेर बुझ्नुपर्नेमा म शासक हुँ भनेर बुझ्दा यस्तो समस्या हुन गएको हो ।

यहाँले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्नुभयो । उहाँहरूमा चाहिं सिंहावलोकन गर्ने लक्षण पाउनुभयो ?

यो सरकारको विषयमा टिप्पणी गर्ने बेला भएको छैन । उहाँहरू निर्वाचन केन्द्रित हुनुहुन्छ । चुनाव गराउने जुन प्रतिबद्धता छ त्यसमा हामीले सहयोग गर्ने हो । म त भन्छु सञ्चारमाध्यमले पनि सहयोग गर्नुपर्छ । खासगरी राजनीतिक पार्टीले सहयोग गर्नै पर्छ । कांग्रेस, एमाले, अहिले बनेको नेपाली कम्युनिस्ट पार्टी जस्ता दल र जेनजीको मुख्य जिम्मेवारी छ । यत्रो संघर्ष गरेर संविधान बनाएका दलहरू नै निर्वाचनबाट भागे भने त्यो आफ्नो कर्तव्यबाट अलग भएको हुन्छ ।

कतिपय मन्त्रीको सरकारमा पनि बस्ने चुनाव लड्न दल पनि खोल्ने  भनेर आलोचना भएको सुनिन्छ । यो कत्तिको जायज हो ?

निर्वाचन गराउनकै लागि पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा तटस्थ सरकार बनेको हो । यो सरकारमा बसेर चुनाव लड्न पार्टी खोल्ने कुरा राम्रो होइन । यसलाई चुनावी सरकारका मन्त्रीहरूको व्यवहार चुनावी सरकारकै जस्तो हुनुपर्छ ।

निर्वाचन गराउने तत्परता मन्त्रीहरूमा देख्नुभयो ?

मैले प्रधानमन्त्रीलाई बालुवाटारमै गएर सल्लाह दिएँ । प्रधानमन्त्रीज्यूले सबै पार्टीलाई लिएर जान खोज्नुभएको पाएँ । शीर्षस्थ सबै नेताहरूलाई विना भेदभाव भेट्न खोजिरहनुभएको छ ।

प्रधानमन्त्रीज्यूले सम्पादकहरूसँगको भेटमा त प्रमुख दलका शीर्ष नेताहरूको मुख हेर्न धेरै मन छैन भन्ने सन्देश दिन खोज्नुभयो नि ?

मैले त्यस्तो पढेको छैन । तपाइँहरू जस्तो प्रतिष्ठित पत्रकारले नै भनिरहनुभएको छ भने होला पनि ।  तर उहाँले त्यस्तो गर्नुहुँदैन । उहाँको सफलता त राष्ट्रलाई कसरी निकास दिन सकिन्छ भन्नेलाई अर्जुनदृष्टि बनाउनुमा निर्भर छ । त्यसका लागि सबै पार्टी, नागरिक समाज, बुद्धिजीवी, सुरक्षा निकाय, निर्वाचन आयोग सबैलाई साथ लिएर जानुपर्दछ । यहाँले भन्नुभए जस्तो गर्न (नेतालाई भेट्दिनँ) मिल्दैन, राम्रो देखिंदैन । प्रमुख पार्टीका नेताहरूलाई भेटेर हात जोडेर, तपाइँहरूको दलगत मात्रै होइन व्यक्तिगत समेत योगदानबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि हामी सबैले हातेमालो गरौं भन्नुपर्दछ ।

तपाइँ बहालवाला राष्ट्रपति हुँदा यस्तै अन्योलका बेलामा चुनाव गराएको अनुभव छ । बाबुराम भट्टराईको नेतृत्वमा सरकार भएका बेलामा पहिलो संविधानसभा विघटन भयो । र, अर्को संविधानसभाको चुनाव गराउनुपर्ने भयो । यहाँले त्यतिबेलाका प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष नियुक्त गर्नुभयो । त्यो ठीक थियो थिएन भन्ने बहस भइनै रहन्छ । मुलुकले निकास पाएको पक्का हो । चुनावपछि बनेको संविधानसभा र सरकारले संविधान दिएको यथार्थ हो ।

यहाँलाई म एउटा कुरा स्मरण गराउन चाहन्छु । त्यतिबेला खिलराज रेग्मीजीकै बेन्चले अघिल्लो संविधानसभाको समयावधि तोकेको थियो । सर्वोच्च अदालतले यो समयभित्र संविधान दिइसक्नु भनिसकेपछि राजनीतिक दल र सरकार चनाखो हुनुपर्ने थियो तर हुन सकेन । र, संविधानसभा भंग भयो ।

त्यतिबेला मैले सरकार गठनमा सहमति जुटाउन कांग्रेस, एमाले, माओवादी र मधेशका दलसँग चालीस वटा बैठक गरेको थिएँ । उहाँहरूले प्रधानमन्त्रीको नाम दिन सक्नुभएन । मेरो चाहना दलहरूले प्रधानमन्त्री दिन नसक्ने हो भने अवकाश पाएका न्यायाधीश वा नागरिक समाजबाट बनाउने भन्ने थियो ।

पछि बहालवाला प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व गर्न दिने प्रस्ताव पनि दलहरूबाटै आयो । माओवादीले आफ्नो महाधिवेशनबाट प्रधानन्यायाधीशको नाम प्रस्ताव गर्‍यो । अरू पार्टीहरू पनि विस्तारै त्यसमा आए । त्यसै अनुसार अध्यादेशबाट संविधान संशोधन गरेर खिलराज रेग्मीलाई शपथ गराइयो । त्यतिबेला सबै राजनीतिक दलहरू निर्वाचनको पक्षमा थिए ।

अहिले संशय देखियो ?

अरू पार्टी त चुनावकै पक्षमा देखिन्छ । एउटा प्रमुख पार्टी अलमलमा छ ।

तपाइँले एमालेलाई भन्न खोज्नुभएको हो ?

एमालेलाई मेरो सल्लाह छ अब अलमल गर्नुभएन । लोकतन्त्रमा एमाले पार्टी र नेताहरूको व्यक्तिगत योगदान पनि ठूलो छ । कांग्रेसले पनि घर व्यवस्थापन गर्न सकिरहेको छैन । कांग्रेस जस्तो नेतृत्वदायी अनुभव भएको पार्टीले त झनै अलमल गर्नुभएन ।

एमाले नेताहरूले टीका लगाएर बनेको सरकारले गराएको निर्वाचनमा किन जाने भनिरहेका छन् नि ?

यो सरकार आन्दोलनको उपज हो । राष्ट्रपतिले सेनाको साथ लिएर जे निकासको प्रयास गर्नुभयो त्यसलाई नजरअन्दाज गर्‍यौं भने हामीले धोका खान्छौं । जनता ताजा जनादेशको पक्षमा छ । कसले हार्छ, कसले जित्छ त्यसको अर्थ छैन, राष्ट्रले जित्छ, संविधानले जित्छ, राष्ट्र ट्रयाकमा आउँछ ।

भ्रष्टाचार, बेरोजगारी, अनियमितता जस्ता कुरामा आत्मसमीक्षाको खाँचो छ । त्यसो नगर्ने दलहरू इतिहासमा सीमित हुन्छन् ।

यहाँले सदन जोगाउने पक्षमा थिएँ भन्नुभयो । एमालेले अहिले पुनर्स्थापनाको माग राखेको छ । यसलाई कसरी हेर्नुभएको छ ?

नागरिक, वकिल यो माग लिएर अदालत गएका छन् । फैसला कस्तो आउँछ त्यो अदालतको अधिकार हो । शक्तिपृथकीकरणको सिद्धान्तले अदालतलाई अधिकार दिएको छ । तर राजनीति चाहिं जनादेशले जे भन्छ त्यतै जानुपर्दछ ।

तपाईको हातबाट जारी जारी संविधान यति बेला  संशोधन गर्नुपर्छ भन्ने मागहरू आएका छन् । यसलाई कसरी हेर्नुभएको छ ?

मैले पार्टीको महामन्त्री हुँदा नै हिमाल, पहाड तराईलाई जोड्नुपर्छ, राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छ र विविधतालाई पनि समेट्नुपर्छ भनेको थिएँ । एकाध महिना लागे पनि संविधानसभा छोडेर गएका मधेशका पार्टीहरूलाई पनि समेटेर जाऊँ, संविधान भनेको सदियौंका लागि हो भनेको थिएँ । हिमाल, पहाड र तराईका प्रतिनिधिहरू मिलेर गए भने देशमा उज्ज्यालो छाउँछ, सबैतिर दिपावली हुन्छ । देश सफल हुन्छ, देश सफल भएपछि म पनि सफल हुन्छु भन्ने थियो ।

मधेशका दलले भाग नलिए पनि दुईतिहाइले संविधान बनिसकेको थियो । यो जनताका छोराछोरी आफैंले लेखेको संविधान थियो । सार्वभौम सत्ता, शासकीय, राजकीय सत्ता जनतामा भएको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान आएको थियो । त्यति मात्र होइन न भूतो न भविष्यति जस्तो समावेशितालाई पनि यो संविधानले आत्मसात् गरेको छ ।

जेनजीले एउटा जर्क (धक्का) दिएको छ । सुधार गरेर जानुपर्छ भन्ने सन्देश दिएको छ । यो राम्रो हो । भदौ २३ मा जे भयो त्यो सरकारको कमजोरी हो ।

संविधान आएपछि २५ हजारभन्दा बढी मधेशी, महिला, दलित, जनजातिले लोकसेवा उत्तीर्ण गरे । यो सानो उपलब्धि होइन । यो त एक शताब्दीको संघर्षपछि प्राप्त संविधानले दिएको कुरा हो भन्ने बिर्सनुभएन । म आफैं लोकतन्त्रका लागि विद्यार्थीकालदेखि लागेको र धेरै राजनीतिक उतारचढाव देखिसकेको छु । यी सबै कुरा बुझेर लोकतन्त्रको मन्दिरमा संविधानलाई ढोगेर नेपाली जनताको नासो जनतालाई दिएको हुँ ।

संविधानमा लेखिएका कुरालाई पनि ढुंगाका अक्षर होइन भनिन्छ । जस्तो भारतकै संविधान ७५/७६ वर्षमा सवा सय पटक संशोधन भइसकेको छ । अमेरिकाको संविधान पनि तीसौं चोटि संशोधन भइसकेको छ ।

संविधानमा समयसापेक्ष संशोधन गर्दै जान सकिन्छ । जनताको भावना र नेताहरूको क्षमतामा भर पर्छ ।

संविधान गतिशील हुन्छ, त्यसलाई समयसापेक्ष संशोधन गर्दै जानुपर्छ । जेनजीको शान्तिपूर्ण आन्दोलन महिनौं दिन चलेर जनता सडकमा आएर घुँडा टेकाएर संशोधन भएर जानुपर्ने थियो । त्यसो भएको भए म खुशी हुनेथिएँ । सबै कुरा तपाइँ हामीले भने जस्तो हुँदैन । हामीलाई कस्तो भूराजनीतिक अवस्थामा छौं भन्ने थाहा छ । जिम्मेवार राजनीतिक पार्टीहरूले हारजित नसोची एकठाउँमा आएर संविधान बचाउन चुनावमा जानुपर्दछ । लोकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि चुनाव भन्दा अर्को बाटो छैन ।

मुलुकको अहिलेको अवस्था आउनुमा यति जोड दिएर जोगाउनुपर्छ भनिरहेको संविधान पनि जिम्मेवार छैन र ?

समयसापेक्ष संशोधन गर्दै जानुपर्छ भनेर त मैले भनिसकें । भीमराव अम्बेडकरले संविधान घोषणा गर्ने बेलामा ‘यो लोकतान्त्रिक संविधान हो तर यसको कार्यान्वयन पक्ष राजनेताहरूले व्यवहारमा भरपर्छ’ भनेका थिए । हुन पनि जवाहरलाल नेहरू जस्ता नेता थिए, जसले १७ वर्षसम्म संविधानलाई ट्रयाकमा चलाइदिए । संविधान अगाडि बढ्यो, हामीकहाँ त्यस प्रकारको नेतृत्व भएन ।

जेनजी आन्दोलनपछि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको बहस तातेको छ । यसप्रति यहाँको धारणा के हो ?

छलफल हुनु राम्रो हो । आ–आफ्नो एजेण्डा लिएर चुनावमा जाओस् । निर्वाचन जितेर आएर सदनबाटै निर्णय गरोस् कस्तो शासकीय स्वरुप अपाउने भनेर । मलाई व्यक्तिगत रूपमा सोध्नुहुन्छ भने हाम्रो जस्तो विविधतायुक्त देशमा संसदीय प्रणालीलाई नै सुधार गरेर जानुपर्दछ ।

संसारमा जहाँ–जहाँ लोकतन्त्र सकिएका छन् त्यहाँ शासकको कमजोरीबाटै गएका छन् । त्यसलाई सुधारेर जान जेनजीले जुन धक्का दिएका छन् त्यो एकदमै स्वागतयोग्य छ ।

भारतकै उदाहरण हेरौं, त्यहाँ कहिले दलित, कहिले मुस्लिम, कहिले जनजाति, कहिले दक्षिणबाट कहिले पूर्वबाट राष्ट्रपति बनिरहेका छन् । विविधतामा एकताका लागि यस्तो कुराले अर्थ राख्छ । जस्तो म मधेशमा जन्मिएको मान्छे राष्ट्राध्यक्ष बनें । कहिले दलित, कहिले थारू, कहिले जनजाति, कहिले पूर्व, कहिले पश्चिमबाट राष्ट्रपति बनाउँदा राम्रो सन्देश जान्छ । यसका लागि संसदीय प्रणाली अनुसार नै चुनाव हुनुपर्दछ ।

पूर्व राष्ट्रपतिको हैसियतमा भन्नु पर्दा यहाँले जेनजी विद्रोहलाई कसरी हेर्नुभएको छ ? यसले महत्वपूर्ण परिवर्तन ल्यायो वा क्षति मात्र गर्‍यो ?

जेनजीले एउटा जर्क (धक्का) दिएको छ । सुधार गरेर जानुपर्छ भन्ने सन्देश दिएको छ । यो राम्रो हो । भदौ २३ मा जे भयो त्यो सरकारको कमजोरी हो । भदौ २४ गते घुसपैठ भएको कुरा आयो । त्यसमा पनि सरकारको कमजोरी देखियो । आयोगले राम्रोसँग छानबिन गरेर दोषीलाई दण्डित गरोस् ।

संविधान र लोकतन्त्रको स्थायित्वमा विश्वस्त हुनुहुन्छ ?

त्यतिबेला जेनजीहरूले कसलाई ल्याउन खोज्नुभएको भनेर सेनालाई प्रश्न गरे कि गरेनन् । उनीहरू यही संविधान मार्फत जान्छौं, लोकतन्त्र–गणतन्त्रको पक्षमा छौं भनिरहेका छन् कि छैनन् ? लोकतान्त्रिक गणतन्त्र बाहेक यो देशमा अर्को कुनै बाटो छैन ।

‘कम क्षति भए पनि संविधान ट्रयाकमा छ, अब चुनावमात्रै विकल्प’

यो संविधानको आधारभूत स्तम्भ गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समावेशी समानुपातिकता हल्लिन्छ भन्ने तपाइँलाई शंका त लाग्दैन ?

अहिलेका लागि यो संविधानलाई दायाँ–बायाँ गर्‍यौं भने लोकतन्त्र बचाउन सकिंदैन । संसारमा जहाँ–जहाँ लोकतन्त्र सकिएका छन् त्यहाँ शासकको कमजोरीबाटै गएका छन् । त्यसलाई सुधारेर जान जेनजीले जुन धक्का दिएका छन् त्यो एकदमै स्वागतयोग्य छ ।

त्यसो भए विकल्प चुनाव नै हो ?

चुनाव । चुनाव । चुनाव । अब चुनाव नै हो विकल्प ।

आउने दिनहरू कस्तो देख्नुहुन्छ ? शान्तितर्फ जाने देख्नुहुन्छ कि उथलपुथल हुने देख्नुहुन्छ ?

शान्तिपूर्ण ढंगले जान्छ । राष्ट्रले योभन्दा बढी क्षति बेहोर्न सक्दैन । मैले प्रधानमन्त्रीलाई पनि भनेको छु, वितण्डा मच्चाउन नपाओस् भनेर तीन–तीन पटक सोच्नुहोस् ।

हामी आजको संवादको अन्त्यतिर आएका छौं । तपाइँपछि राष्ट्रपति बन्नुभएकी विद्या भण्डारीले दुई वटा कार्यकाल सकिएपछि पार्टी राजनीतिमा आउने विचारले सदस्यता नवीकरण गराउनुभयो । राष्ट्राध्यक्ष बनिसकेको व्यक्ति राजनीतिमा आउनुहुन्छ कि हुँदैन भन्ने बहस चल्दा–चल्दै केपी शर्मा ओलीले उहाँको पार्टी सदस्यता नवीकरण खारेजीको अवस्थामा राख्नुभयो । यो समग्र परिदृश्यलाई कसरी हेर्नुभएको छ ?

तपाइँलाई मेरो प्रतिप्रश्न छ, यो विषयमा मैले टिप्पणी गर्नुपर्छ र ?

यहाँको प्रश्नमै जवाफ लुकेको छ । अमेरिकामा राष्ट्रपति भइसकेका डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीको सदस्य बनेर चुनाव लडेर फेरि राष्ट्रपति बन्न मिल्ने नेपालमा किन नमिल्ने भन्ने पनि छ नि ?

अमेरिका र हाम्रो प्रणाली नै फरक छ । हामी संसदीय प्रणालीमा छौं । यो प्रणालीका लिखित र अलिखित कुराहरू पनि हुन्छन् । अलिखित कुरा भए पनि परम्परा अनुसार चल्छ । संसदीय प्रणालीको जननी मानिने बेलायतमा लिखित संविधान छैन । भारत लगायतका देशहरूले हाम्रो जस्तै प्रणाली अपनाएका छन् । अलिखित भए पनि परम्परा अनुसार लोकतन्त्र चल्छ ।

यहाँले सोधिहाल्नु भयो, उहाँ जानुहुँदैनथ्यो, गइसकेपछि रोक्नुको औचित्य थिएन । हाम्रा दलहरू कस्ता छन् भन्ने त देखिरहेकै छौं । एमालेमा दुई महिनादेखि जुन अलमल देखिएको छ त्यसले पार्टीको हित गर्दैन । नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी त एमाले नै हो । कांग्रेस र एमाले दुवैले यस्तो धृष्टता गर्नुहुँदैन ।

तपाइँ आफैं राजनीति गरेर आउनुभएको । अहिले पनि भित्तामा बीपी कोइरालासँगको तस्बिर राख्नुभएको छ । कांग्रेसको महामन्त्री पनि बन्नुभयो । पार्टी सदस्यता नवीकरण गरौं–गरौं लाग्दैन ?

म गणतन्त्रको पहिलो राष्ट्राध्यक्ष, गणतन्त्रपछिको पहिलो पूर्व राष्ट्राध्यक्ष । म एउटा नागरिक जसको कर्तव्य लोकतान्त्रिक परम्परा निर्वाह गर्ने पनि हो ।

दोस्रो, मेरो स्वास्थ्यले पनि साथ दिंदैन ।

तेस्रो, मलाई जुन प्रणालीले यहाँसम्म पुर्‍यायो त्यही प्रणालीको परम्परा धान्ने कर्तव्य पनि मेरो हो ।

तस्बिर र भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर





Source link

Leave a Comment