यमनमा १५० जना बोकेको डुंगा डुब्दा कम्तीमा ५० आप्रवासीको मृत्यु, धेरै बेपत्ता



प्रकाशित मिति : श्रावण १८, २०८२ आईतबार


यमनको तटमा करिब १५० जना बोकेको एक डुंगा डुब्दा ५० भन्दा बढी आप्रवासीको ज्यान गएको छ । खराब मौसमका कारण डुंगा डुब्दा यो घटना भएको अधिकारीहरुले बताएका छन ।

स्थानीय अधिकारीहरूका अनुसार डुंगा यमनको दक्षिणी प्रान्त अबयान नजिकै पल्टिएको थियो । घटनापछि केवल १० जनालाई मात्र उद्धार गरिएको छ । अझै धेरैजना बेपत्ता छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) का अनुसार धेरैजना मृतकहरू इथियोपियाली नागरिक भएको विश्वास गरिएको छ । यमन अफ्रिकाको होर्न क्षेत्रबाट खाडी राष्ट्रहरूमा काम खोज्न जाने आप्रवासीहरूका लागि मुख्य मार्ग हो ।

पछिल्ला केही महिनामा सयौं आप्रवासीहरू डुंगा दुर्घटनामा परेर मृत वा बेपत्ता भएका आइओएम ले जनाएको छ ।

आइओएम यमनका प्रमुख अब्दुसत्तोर एसोएभले बताएअनुसार अबयान प्रान्तको दक्षिणी खानफार क्षेत्रमा ५४ जना आप्रवासीको शव भेटिएको छ । १४ शव प्रान्तीय राजधानी जिन्जिबारको अस्पतालमा लगिएको छ।

आइओएम ले अफ्रिकाको होर्न क्षेत्रदेखि यमनसम्मको मार्गलाई “विश्वकै सबैभन्दा व्यस्त र जोखिमपूर्ण आप्रवासन मार्गहरूमध्ये एक” भनेको छ।

यसअघि मार्च महिनामा यमनको धुबाब जिल्लामा १८० भन्दा बढी आप्रवासी बोकेको दुई डुंगा डुबेको थियो । तीमध्ये दुई चालक मात्रै उद्धार गरिएको थियो । बाँकी सबै बेपत्ता र मृत आशंका गरिएको थियो।

आइओएमको रिपोर्टअनुसार यमनका आप्रवासी सहायता केन्द्रमा आएका व्यक्तिहरूले तस्करहरू अब झनै लापरवाहीपूर्वक खराब मौसममा डुंगा पठाउने गरेको बताएका छन् ।

यमनमा १५० जना बोकेको डुंगा डुब्दा कम्तीमा ५० आप्रवासीको मृत्यु, धेरै बेपत्ता

जोखिमका बाबजुद, २०२४ मा मात्रै ६० हजार भन्दा बढी आप्रवासी यमन पुगेका छन्।

आइओएमका अनुसार गएको एक दशकमा सो मार्गमा ३ हजार ४०० भन्दा बढी आप्रवासीको मृत्यु भएको छ । जसमध्ये १ हजार ४०० भन्दा बढीको डुबेर मृत्यु भएको हो।





Source link

Leave a Comment