सिपमूलक आईटी ब्रिजकोर्सतर्फ खिचिँदै जेनजी पुस्ता


१ वैशाख, काठमाडौं। ‘एसईई दिइसकेँ। फुर्सदको समयमा घुम्नुभन्दा ब्रिजकोर्स गर्ने सोचिरहेकी थिएँ। डिजिटल प्रविधिको सिप सिक्‍ने निर्णय गरेँ। अहिले ग्राफिक्स डिजाइन सिकिरहेकी छु,’ बागबजारस्थित लेट्स लर्न इन्स्टिच्युटमा डिजाइन सिकिरहेकी दीपिक्षा अधिकारीले भनिन्।

कीर्तिपुरको मागस इङ्लिस स्कुलबाट एसईई दिएकी १६ वर्षीया दीपिक्षा नियमित रूपमा ग्राफिक डिजाइन सिक्न बागबजार धाउँछिन्। पर्यटन विषय अध्ययन गर्ने र डिजिटल प्रविधिको सिप सिकेर आफ्नै कम्पनी खोल्ने उनको लक्ष्य छ।

‘एसईईपछि अब म टुरिजम विषय पढ्छु। त्यसपछि आफ्नै कम्पनी खोल्ने सोचमा छु। त्यसको लागि सिप त चाहिन्छ,’ उनले भनिन्, ‘अहिलेदेखि डिजाइन, सोसल मिडिया मार्केटिङ र डिजिटल मार्केटिङ सिक्ने सोच बनाएकी छु।’

ताप्लेजुङ घर भएका १७ वर्षीय नुबा लिम्बु वेब डिजाइनको कोर्ष सिकिरहेका छन्। काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक माविबाट यसैवर्ष एसईई दिएर बसेका उनी वेब डेभलपमेन्टतर्फ आफ्नो रुचि बढेको बताउँछन् । ‘मलाई के सिक्ने भनेर अन्योल भइरहेको थियो। बागबजारमा विभिन्न इन्स्टिच्युट गएँ, तर यहाँ वेब डेलपमेन्ट नयाँ लागेर सिक्न थालेँ,’ उनले भने, ‘डिजिटलको सिप भएपछि जुनसुकै देशमा गएर पनि करिअर बनाउन सक्छु।’

६ महिना फोटोग्राफी सिकेर लुम्बिनीमा पर्यटकको तस्वीर खिचेर पकेट मनी कमाइरहेका छन् १८ वर्षीय सोयब अख्बर। उनी पनि यसै वर्ष एसईई दिएका विद्यार्थी हुन्। उनको घर लुम्बिनी सांस्कृतिक नगरपालिका-५ हो। उनी भन्छन्, ‘मैले एसईई दिनु अगाडि नै अंकलसँग क्यामेरा चलाउन सिके। उहाँले मलाई फोटो खिच्न यहाँ ल्याउनुभएको हो। एसईई दिइसकेपछि फुर्सदको समयमा पकेट मनी जुटाइरहेको छु।’

सिपमूलक आईटी ब्रिजकोर्सतर्फ खिचिँदै जेनजी पुस्ता

पछि लुम्बिनीमै डिजिटल स्टुडियो खोलेर पर्यटकको फोटो खिच्ने र पर्यटन विकासमा सहयोग गर्ने उनको सपना छ । ‘पर्यटन विषयमा अध्ययन गर्छु। यहीँ एउटा भव्य स्टुडियो बनाउँछु र नेपालको पर्यटन विकासमा टेवा पुर्‍याउँछु ।’

सिपमूलक आईटी ब्रिजकोर्सतर्फ खिचिँदै जेनजी पुस्ता
सोयब अख्बर

गल्ली-गल्लीमा इन्स्टिच्युट, जेनजी पुस्ता आकर्षित

काठमाडौंको बागबजार, पुतलीसडक, न्यू प्लाजा लगायत ठाउँहरूमा डिजिटल प्रविधिका सिप सिकाउने इन्स्टिच्युटहरू खुलेका छन् । बागबजारमा त घरैपिछे डिजिटल प्रविधिका कोर्षहरू पढाउने इन्स्टिच्युट भेटिन्छन् । अहिले ती ठाउँमा जेनजी पुस्ताले कब्जा जमाएको देखिन्छ।

बागबजारको इन्टेल इन्स्टिच्युटमा अहिले ब्रिजकोर्स, लेट्स लर्नमा सोसल मिडिया मार्केटिङ, वेब डिजाइन, बेसिक कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन (यूआई/यूएक्स), डिजिटल मार्केटिङ, मोबाइल एप डेभलपभमेन्ट, सफ्टवेयर डेभलभमेन्ट तथा आर्टिफिसियल एआई लगायतका अनेक कोर्स पढ्‍न आइरहेको लेट्स लर्नका संस्थापक सागर गिरी बताउँछन् ।

‘हामीकहाँ एसईई दिएर बसेका भाइबहिनी अर्थात् जेनजी पुस्ताले आईटी कोर्षहरू सिक्न आइरहनुभएको छ,’ गिरी भन्छन्, ‘उहाँहरू प्राय: डिजिटल प्रविधिका सिपमूलक कोर्स बढी छान्नुहुन्छ।’

सिपमूलक आईटी ब्रिजकोर्सतर्फ खिचिँदै जेनजी पुस्ता

उनका अनुसार जेनजी पुस्ताले प्रविधिलाई नजिकबाट नियालेकाले यसप्रति आकर्षण बढ्दो छ। सबैभन्दा धेरै सोसल मिडिया मार्केटिङ, एआई र त्यसपछि ग्राफिक डिजाइनप्रति युवा पुस्ता, जेनजी पुस्ताको रोजाइ बन्‍ने गरेको उनको भनाइ छ। ‘जेनजी पुस्ताले त बढी सोसल मिडिया मार्केटिङ, एआई र ग्राफिक डिजाइनका कोर्षहरू छान्ने गरेका छन्,’ उनी भन्छन्, ‘हामीलाई अहिले यही कोर्षहरू फिजिकल र अनलाइन दुवै तरिकाले सिकाउनु परिरहेको छ।’

१६ वर्षीया सजना लामाले एसईई दिएर धादिङबाट बेसिक कम्प्युटर कोर्ष सिक्नकै लागि काठमाडौं आएको बताउँछिन्। उनी भन्छिन्, ‘भीमढुंगा माविबाट एसईई दिएँ। अनि फुर्सदमा कम्प्युटर कोर्ष सिक्नुपर्छ भनेर काठमाडौं आएकी हुँ।’

यस्तै पद्‌मोदय स्कुलबाट यसैवर्ष एसईई दिएका १६ वर्षीय ब्रिजेश गुरागाईं पनि ग्राफिक्स डिजाइन सिकिरहेका छन्। घरपरिवारको सल्लाहले फुर्सदमा डिजिटल प्रविधिका कोर्षहरू गर्न सुझाव दिएकाले उनी सिक्न आएको बताए। ‘ममी-ड्याडीले फुर्सदको समयमा आईटी कोर्ष सिक्नुपर्छ, पछि करिअर बनाउन सहज हुन्छ भन्नुभयो। अनि ग्राफिक्स डिजाइन सिक्न लागेको हुँ। अहिले त मलाई पनि मन पर्न थालेको छ।’

एकेडेमिक पढाइ एकातिर तर सिप प्रविधिको

कृषा भट्ट र रीता खनाल त्रिचन्द्र कलेजमा बीएस्सी अध्ययनरत विद्यार्थी हुन् । उनीहरू अहिले बागबजारमा रहेको लेट्स लर्न इन्स्टिच्युटमा सोसल मिडिया मार्केटिङ र डिजिटल मार्केटिङको सिप सिकिरहेका छन् ।

‘पढाइभन्दा पनि सिप ठूलो हो। त्यसैले पढाइसँगै यो कोर्स गर्न थालेकी हुँ,’ कृषाले भनिन्, ‘हामीले करिअर बनाउन सिप त सिक्नै पर्नेरहेछ, पढाइले मात्र पुग्दैन। यी कोर्षहरू सिक्ने बित्तिकै करिअरमा लागु भइहाल्छ। त्यसैले सिक्नैपर्ने भयो।’ बिहान कलेजमा साइन्स पढे पनि चाँडै करिअर बनाउन प्रविधितर्फका सिप सिक्न कोर्षहरू गरिरहेको उनी बताउँछिन्।

त्रिचन्द्र क्याम्पसमा ब्याचलर्स गरिरहेकी बाराकी रीता खनाल पनि डिजिटल प्रविधिको सिप सिक्न ३ महिनादेखि बागबजारमा रहेको इन्स्टिच्युट धाइरहेकी छिन् । उनी भन्छिन्, ‘खाली पढेर मात्रै नहुने रहेछ। करिअर बनाउन त सिप केही न केही सिक्नै पर्ने रहेछ। म अहिले लेट्स लर्नमा ग्राफिक्स डिजाइन सिकिरहेकी छुँ।’

सिपमूलक आईटी ब्रिजकोर्सतर्फ खिचिँदै जेनजी पुस्ता

उनका अनुसार प्रविधिले युवा पुस्तालाई नयाँ आइडिया र करिअर बनाउन अहं भूमिका खेलेको हुन्छ । डिजिटल प्रविधिका सिपमूलक सिकाइले करिअरमा फेरबदल नै ल्याउने उनको दाबी छ। ‘हामीले ब्याचलर्स, मास्टर्स र पीएचडीसम्म एकेडेमिक कोर्ष पढ्दा खासै कुनै काम पाइरहेका हुँदैनौं। तर प्रविधिको सिप सिक्दासिक्दै काम पाउने, करिअर हुन्छ,’ रीताले भनिन् ।

खाली पढेर मात्रै नहुने रहेछ। करिअर बनाउन त सिप केही न केही सिक्नै पर्ने रहेछ। म अहिले लेट्स लर्नमा ग्राफिक्स डिजाइन सिकिरहेकी छुँ।-रीता खनाल, विद्यार्थी 

यस्तै प्लस टू गरिरहेकी अनिशा लिम्बु नागढुंगाबाट कम्प्युटर कोर्ष सिक्नकै दैनिक बागबजार धाउँछिन् । ‘मैले प्लस टू गरिरहेकी छु। करिअर बनाउन कुनै सिप सिक्नैपर्छ भन्ने लागेर बागबजारमा कम्प्युटर कोर्ष गर्न आएकी हुँ,’ अनिशाले भनिन्, ‘करिअर बनाउन त स्किल्स चाहिने रहेछ। त्यस कारण आईटीका कोर्षहरू गर्न जरुरी ठानें।’

सिपमूलक आईटी ब्रिजकोर्सतर्फ खिचिँदै जेनजी पुस्ता

सिप सिकेर गन्तव्य विदेश

पुतलीसडकस्थित एक इन्स्टिच्युटमा एआई सिकिरहेका दीपेश पोख्रेल सिप सिकेर विदेश जाने तयारीमा छन् । ‘म बीएससीआईटीको विद्यार्थी हुँ। अहिले यहाँ एआई सिक्न आएँ। यो सिप सिकिसकेपछि अष्ट्रेलिया जान्छु,’ पोखरेलले भने, ‘एआई सिकेर नेपालमा कुनै जागिर पाइँदैन, सरकारले चिन्दैन पनि हामीलाई। अनि त विदेश नगई उपाय नै छैन। मेरो गन्तव्य अष्ट्रेलिया हो।’

सोही इन्स्टिच्युटमा ग्राफिक्स डिजाइन र सोसल मिडिया सिकिरहेकी प्रीतिमाया राई पनि बेलायत जाने योजनामा छिन् । परिवार पनि उतै भएकाले उनी बेलायत जाने तयारीमा रहेकी हुन् । तर बेलायतमा पुगेर काम के गर्ने भनेर सोच्दा उनका परिवारले प्रविधिका सिपहरू सिकेर आउँदा राम्रो हुन्छ भन्‍ने सुझाव दिएपछि अहिले ग्राफिक्स डिजाइन र सोसल मिडिया मार्केटिङ कोर्स गरिरहेकी छिन् ।

सिपमूलक आईटी ब्रिजकोर्सतर्फ खिचिँदै जेनजी पुस्ता

‘मलाई पछि बेलायतमा यही कोर्सले पैसा कमाउने बाटो खुल्छ भन्‍ने पारिवारको सुझाव छ। त्यस कारण बेलायत जानुअगाडि आईटी कोर्स गरिरहेकी छु।’

न्यू प्लाजामा रहेको एक इन्स्टिच्युटमा मिक्की प्रधानले मोबाइल एप्स बनाउने कोर्ष सिकिरहेको ४ महिना भयो। उनी मोबाइल एप्सको ग्लोबल मार्केट भएकाले यसको माग धेरै रहेकाले जहाँ गए पनि यो सिपले करिअरमा ठूलो भूमिका खेल्‍ने बताउँछिन्। ‘म त म्यानेजमेन्टको विद्यार्थी हुँ। तर सिप सिक्न प्रविधितर्फ रुचि जाग्यो। अरु कोर्षहरू सिक्दै जाँदा अहिले मोबाइल एप्स पनि सिकौं भन्‍ने लागेर सिक्दैछु,’ उनले भनिन्, ‘कोर्ष सकिएपछि बाहिर जाने ट्राई गर्छु।’

प्रविधि कम्पनीलाई धेरै कर, विज्ञहरू नेपाल छोड्ने डर

सूचना प्रविधि क्षेत्रले आर्थिक रूपमा आयआर्जन गरिरहँदा सरकारले बढी कर लगाइरहेको सूचना प्रविधिमा काम गरिरहेका सरोकारवालाको आरोप छ । उनीहरूले प्रविधि क्षेत्रका उद्योगमा जागिर खाँदा सरकारले उनीहरूमाथि ३९ प्रतिशतसम्म कर लगाउनाले प्रविधि विज्ञहरू नेपालबाट पलायन हुने डर रहेको बताउँछन् ।

कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघका उपाध्यक्ष एवं साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारीले प्रविधि कम्पनी खोलेर काम गर्दा सरकारले अत्यधिक कर लगाउने भएकाले काम गर्नै गाह्रो भएको बताए । उनले भने, ‘उद्योगमा जागिर खाँदा २० लाख तलब खानेले ३९ प्रतिशतसम्म कर तिर्नुपर्ने हुन्छ। तर, सोही काम फ्रिल्यान्सिङमा गरेमा ५ प्रतिशत मात्रै कर तिर्नुपर्ने नियम बनाइदिँदा नेपालमा प्रविधि कम्पनी खोलेर काम गर्नै गाह्रो स्थिति भइसक्यो। यसले प्रविधिका विज्ञहरू देश छाड्ने डर पनि छ।’

सिपमूलक आईटी ब्रिजकोर्सतर्फ खिचिँदै जेनजी पुस्ता
चिरञ्जीवी अधिकारी,उपाध्यक्ष, क्यान महासंघ एव् साइबर सुरक्षा विज्ञ

उनले सूचना प्रविधिमा कति दक्ष जनशक्ति उत्पादन हुन्छ भन्ने आधिकारिक तथ्याङ्क नभएको बताउँदै सरकारले चाँडै नै आईसीटी काउन्सिलमार्फत सबै आईटी क्षेत्रलाई समेटेर लाइसेन्स दिने व्यवस्था गर्नुपर्ने बताए ।

यसले युवा पलायन मात्रै होइन, सिप र रोजगारीसँगै दक्ष जनशक्ति पनि पलायन हुनबाट जोगिने उनको भनाइ छ।

‘नेपालमा अहिले वार्षिक कति आईटी/आईसीटीको दक्ष जनशक्ति उत्पादन हुन्छ भन्ने यकिन तथ्याङ्क छैन। अनुमानित करिब ५ हजार हुनसक्छ,’ उनले भने, ‘त्यस कारण सरकारले चाँडै नै आईसीटी काउन्सिल बनाएर यसको तथ्याङ्क राख्नु जरुरी छ।’





Source link

Leave a Comment