प्रकाशित मिति : मंसिर २७, २०८१ बिहीबार
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई ‘पर्सन अफ द इयर’ घोषित गरिएको छ । यसले उहाँको आश्चर्यजनक राजनीतिक पुनरागमनलाई स्वीकार गरेको छ । टाइम म्यागजिनले उहाँलाई पर्सन अफ द इयर घोषणा गरेको हो ।
नोभेम्बर ५ को निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसलाई ट्रम्पले पराजित गर्नुभएको थियो ।
“ऐतिहासिक पुनरागमनलाई सङ्गठित गर्न, एक पुस्ताको राजनीतिक पुनर्संरचना गर्न, अमेरिकी राष्ट्रपतिलाई पुनः आकार दिन र विश्वमा अमेरिकाको भूमिकालाई परिवर्तन गर्न डोनाल्ड ट्रम्प टाइमको २०२४–पर्सन अफ द इयर हुनुहुन्छ ” टाइमले भनेको छ ।
यस वर्ष ट्रम्पलाई व्यापारिक घोटालाको अभियोगमा दोषी ठहर गरिएको थियो । दुईपटक हत्याको प्रयास गरिएको थियो ।
उहाँ अहिले दुवै सदनमा रिपब्लिकन बहुमतका साथ ह्वाइट हाउस फर्कने तयारीमा हुनुहुन्छ । वार्षिक रूपमा प्रदान गरिने यो पुरस्कार यस वर्षको सबैभन्दा प्रभावशाली व्यक्तित्वको स्वीकृति हो ।
विगतका विजेताहरूमा टेलर स्विफ्ट, भोलोदिमर जेलेन्स्की र ट्रम्प स्वयं, सन् २०१८ मा हिलारी क्लिन्टन समावेश हुनुहुन्छ ।
मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबाम, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र दिवङ्गत विपक्षी नेता अलेक्सी नाभाल्नीकी विधवा रुसी अर्थशास्त्री युलिया नाभाल्नायासहित ह्यारिसलाई अवार्डका लागि छनोट गरिएको थियो ।