पासपोर्ट समेत दिन नसक्ने सरकार


९ मंसिर, काठमाडौं । मधेश प्रदेशबाट विदेश जान अन्तर्वार्ता दिन आएका जीवाक्षीगा रेड्डी ४ दिनदेखि त्रिपुरेश्वरस्थित राहदानी विभागमा आउजाउ गरिरहेका छन् । उनी दिनभर विभागकै परिसरमा बस्छन् ।

मोबाइलमा पासपोर्ट छापिएको सूचना आउँछ कि भनेर कुर्दाकुदै साँझ पर्छ र निराश हुँदै घर फर्कन्छन् । विगतका तीन दिनजस्तै आइतबार पनि रेड्डी विभागबाट रित्तो हात फर्किए ।

प्राविधिक समस्या आएको भन्दै बुधबारदेखि सरकारको राहदानी विद्युतीय राहदानी प्रणाली बन्द छ । पासपोर्टको फारम भर्ने, फोटो खिच्ने, बायोमेट्रिक लिने, पासपोर्ट छाप्ने र वितरण गर्ने सबै काम ठप्प छ । जसकारण अत्यावश्यक परेर काठमाडौंमा द्रुतसेवा शुल्क तिरेर तुरुन्तै राहदानी बनाउन आएका सयौं सेवाग्राही अलपत्र छन् ।

रेड्डी पनि त्यही बिलखबन्दमा परेका सयौंमध्ये एक प्रतिनिधि हुन् । ‘विदेश जान अन्तर्वार्ता दिएँ, पास भएँ, तर, पुरानो पासपोर्टको म्याद सकिनँ लागेको थियो,’ उनले भने, ‘म्यानपावर कम्पनीले छिटो पासपोर्ट नवीकरण गरेर आउनू भनेको छ, तर यहाँ यो भयो, ऊ भयो भनेर काम नै गर्दिएनन् ।’

रेड्डीले अनलाइन फारम भनेर बुधबार नै द्रुत सेवाका लागि १२ हजार सेवा शुल्क तिरेका थिए । ‘सरकारले इमर्जेन्सी भनेर महँगो सेवा शुल्क लिएपछि तुरुन्तै दिनुपर्ने हो,’ उनी भन्छन्, ‘एक दिनपछि आउने भनेको पासपोर्टका लागि यहाँ धाइरहँदा पनि अझै कहिले आउँछ भन्ने जवाफ कसैले दिएनन् ।’

तुरुन्तै साउदी जाने तयारीमा रहेका सप्तरीका सुधानन्द कुमार राम पनि विभागमा पासपेर्ट कुरिररहेको पाँच दिन भयो । तर, पटक–पटक विभाग आउँदा पनि सर्भर डाउन भनेर फर्कन परेको दुःखेसो उनको छ । ‘पासपोर्ट छिटो चाहिएर इमर्जेन्सीमा हालेको हुँ, १२ हजार राजस्व बुझाएको छु,’ उनी भन्छन्, ‘छापिएपछि म्यासेज आउँछ भनेका थिए, खै आएको छैन ।’

राम काठमाडौंमा पासपोर्ट कुरेर बस्दा धेरै खर्च भएको गुनासो गर्छन् । कर्मचारीलाई भेटेर उनले आफ्नो समस्या धेरैपटक सुनाइसके । तर, जतिबेला पनि बेलुकासम्म कुर्नुस् भनेर कर्मचारीले उनलाई फर्काइदिने गरेको उनी बताउँछन् ।

‘५ सय भाडा तिरेर गौशालाको धर्मशालामा बसेको छु । दिनको ५ सय खानामा लाग्छ, यहाँसम्म आउजाउ भाडा लाग्छ,’ उनी भन्छन्, ‘८–९ हजार थप खर्च भइसक्यो, पासपोर्टको अत्तोपत्तो छैन ।’

पासपोर्ट समेत दिन नसक्ने सरकार

महोत्तरीका राजकरण दास पासपोर्ट छिटो छापिन्छ भनेरै काठमाडौं आएका हुन् । ३ दिनदेखि पासपोर्ट लिन उनी पनि विभाग परिसरमा चक्कर लाइरहेका छन् । ‘सर्भर डाउन भयो भन्छन्, होटल भाडा, खाना खुराकी खर्च सकिसक्यो,’ उनी भन्छन् ।

गुनासो गर्दा विभागका कर्मचारीले माथि गएर भन्न आग्रह गरेको सुनाउँदै उनले थपे, ‘हामीजस्तो मान्छेको को हुन्छ माथि, कहाँको माथि जाने ?’

धनुषाबाट पासपोर्ट नवीकरण गर्न आएका सचिनकुमार पण्डितको पनि समस्या उही हो । पाँच दिन भयो, उनलाई पनि विभागले ‘भोलि आउनू’ भन्दै फर्काइरहेको छ । ‘बुधबार नै भोलि पासपोर्ट तयार हुन्छ भनेर पठाएका थिए । सँगै आएका एकजना साथीको पासपोर्ट आयो तर, मेरो किन आएन भनेर बुझ्दा छाप्न नपाउँदै सर्भर गयो भन्छन्,’ उनी भन्छन्, ‘५ हजार तिर्दा एक महिनामै धनुषामा पासपोर्ट पुग्छ, छिटो चाहिएर यहाँ महँगो तिरेर सेवा लिएका हौं, ५ दिनसम्म अझै कहिले आउँछ भन्ने टुंगो छैन ।’

उनले यत्रो दिनसम्म सर्भर डाउन हुँदा पनि सरकार संवेदनशील नभएको गुनासो गरे । अत्यावश्यकीय सेवामा यस्तो समस्या आएकै हो भने सबै शक्ति र जनशक्ति लगाएर काम गर्नुपर्ने कर्मचारीहरू गम्भीर नबनेको आशंका जनाए ।

पासपोर्ट समेत दिन नसक्ने सरकार

जाजरकोटका मानबहादुर कठायत पनि तुरुन्तै पासपोर्ट चाहिएर पाँच दिनदेखि फारम भर्न विभाग धाइरहेका छन् । विभाग छेउको स्टेशनरीमा पैसा र डकुमेन्ट दिएका छन्, तर अझै फारम भर्न पाएका छैनन् । घरबाट ४५ हजार लिएर आएका उनको गोजी लगभग रित्तो भइसक्यो । ‘भोलि हुन्छ, भोलि हुन्छ भनेर अड्काइरहेका छन्,’ उनले भने ‘अब खाने बस्ने खर्च पनि सकिन लागिसक्यो ।’

मोरङबाट पासपोर्ट बनाउन आएका सन्तोषकुमार धिमाल सरकारी निकायमा देखिएको तरिकाले रिस नै उठिसक्यो । लामो समयदेखि कामविहीन भएका उनले बल्लतल्ल यूएई जान मौका पाएका छन् । तर, पुरानो पासपोर्टको म्याद २ महिनामात्रै रहेको थाहा पाएपछि उनी हतार–हतार विमानबाट बिहीबार काठमाडौं आएका थिए । ‘उता पाएको काम पनि अर्कैले लैजाला भन्ने भइसक्यो,’ उजले आक्रोश पोखे, ‘देशमा जागीर दिन नसक्ने सरकारले चाहिएका बेला पासपोर्ट समेत दिन सकेन, राजस्व लिएर पासपोर्ट छाप्न मिलेन भन्ने पनि कुनै तरिका हुन्छ ?’

कञ्चनपुरका राजेन्द्र महरा पनि चार दिनदेखि पासपोर्टको फारम भर्न नपाएर विभाग आइरहेका छन् । अहिले विभागभित्रका मान्छेले चिनेकाहरूलाई पासपोर्ट बनाइरहेको दाबी गर्दै उनले सर्वसाधारणको भने फारम नै नलिएको गुनासो गरे । ‘आपत भएर नै हामी काठमाडौं आएका हौं, के हो भनेर सोध्दा प्रहरी प्रशासन लगाएर तर्साउने काम भइरहेको छ,’ उनले भने, ‘सरकारको अकर्मण्यताले हामी यहाँ लड्कियौं, २ दिनको लागि खर्च लिएर आएको थिएँ, अब न खाने खर्च छ, न घर जाने भाडा छ ।’

पासपोर्ट समेत दिन नसक्ने सरकार

विभागले ‘एक छिन–एक छिन’ भनेर टारिरहेको भन्दै उनले अघि भने, ‘यस्तो सरकार हुनुभन्दा नभएकै ठीक ।’

राहदानीजस्तो अत्यावश्यकीय सेवा ५ दिनदेखि ठप्प भएको विषयलाई सरकारले गम्भीर रुपमा लिएको नै छैन । प्रणालीमा ‘मालवेयर’ छिरेर खतरा उत्पन्न भएको भन्दै प्रणाली बन्द गरेको विभाग अहिलेसम्म समस्या समाधानका लागि नियमित किसिमको प्रयासमै भुलिएर बसेको छ ।

समस्या समाधान गर्न ध्यान नदिँदा तुरुन्तै विदेश जानपर्नेहरू यतै रोकिएका छन् । यसका कारण कतिपयले मुखमा आइसकेको वैदेशिक रोजगारीको अवसर गुमाउन थालेका छन् । अध्ययन, व्यापार, भ्रमण लगायतका प्रयोजनमा विदेश जानपर्नेहरू पनि प्रभावित छन् ।

राहदानी सेवा लिन जिल्ला स्थित कार्यालय प्रशासन कार्यालय र विदशे स्थिति नेपाली नियोगहरूमा पुगेका सेवाग्राही पनि प्रणाली बन्द भएको सूचना पढेर फर्किरहेका छन् । पासपोर्ट छिटो छापिन्छ भनेर काठमाडौं आएकाहरू ४ दिनदेखि विभागको ढोकामा बसेर कतिबेला छापिएको सन्देश आउला भनेर कुरिरहेका छन् ।

तर, पासपोर्ट कुर्दा कुदै कतिको विदेश यात्राको तालिका बिथोलिसकेको छ भने कतिपय श्रमका लागि विदेश जान पाइसकेको अवसर पनि गुम्ने डरमा भेटिन्छन् ।

पासपोर्ट समेत दिन नसक्ने सरकार

विभाग परिसरमा जम्मा भएका सेवाग्राहीहरू सूचना माग्न विभागको झ्याल–झ्यालमा पुगिरहेका छन् । पटक–पटक एउटै जवाफ आएपछि बेला–बेलमा भीड उत्तेजित समेत हुन थालिसकेको छ । सर्भर बनाउन पर्याप्त प्रयास नगरेको विभाग असन्तुष्ट सेवाग्राहीलाई चुप लगाउन बाक्लो संख्यामा प्रहरी परिचालन गरेर बसेको छ ।

बिहीबार अवरुद्ध सेवाबारे बुझ्न गएका केही सेवाग्राहीलाई प्रहरीले दुव्र्यवहार समेत गरेको थियो । त्यसपछि आक्रोशित सेवाग्राहीले विभागविरुद्ध नाराबाजी र होहल्ला गरेका थिए । उनीहरूले यत्रो दिनसम्म अत्यावश्यकीय सेवा बन्द गरेर राख्ने विभागको नेतृत्व तहका कर्मचारीलाई तुरुन्तै हटाउन माग समेत गरेका थिए । विभागभित्र अलपत्र सेवाग्राहीको संख्या बढ्दै गएपछि विभागले प्रहरीको संख्या बढाउँदै लगेको छ ।

आफ्नो कमजोरी ढाकछोप गर्न विभागले विभागभित्र प्रवेशमा समेत कडाइ गरिरहेको छ । यतिसम्म कि सेवाग्राहीको समस्याबारे समाचार संकलन गर्न गएका पत्रकारहरूलाई विभागले फोटो–भिडियो खिच्न निषेध गरेको छ ।

पासपोर्ट समेत दिन नसक्ने सरकार

आइतबार अनलाइनखबरको टिम रिपोर्टिङका लागि विभाग पुग्दा महानिर्देशक तीर्थराज अर्यालले प्रहरीलाई नै निर्देशन दिएर आफ्नो कार्यकक्षमा पुर्याएका थिए । उनले विभागको भवन र गेटको मात्रै फोटो–भिडियो खिच्न मिल्ने बताए ।

सेवाग्राहीसँग कुराकानी नगर्न र उनीहरूको फोटो–भिडियो नखिच्न भन्दै विभागले रिर्पोटिङ टोलीलाई बाहिर पठाएको थियो ।

विभागका महानिर्देशक अर्याल प्राविधिक टोलीले प्रणालीको समस्या समाधानको प्रयास गरिरहेकाले सोमबारसम्म विभागबाट सेवा थाल्न सकिने आशा गरिएको बताउँछन् । ‘क्रमैसँग जिल्ला र नियोगहरूबाट पनि सेवा सुरु गर्ने योजनामा छौं,’ उनले भने, ‘छिट्टै समस्या समाधान होला भन्नेमा छौं ।’

पासपोर्ट समेत दिन नसक्ने सरकार पासपोर्ट समेत दिन नसक्ने सरकार पासपोर्ट समेत दिन नसक्ने सरकार पासपोर्ट समेत दिन नसक्ने सरकार

सबै तस्बिरहरू : शंकर गिरी





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School