प्रकाशित मिति : भाद्र १९, २०८१ बुधबार
नेपालको खोटाङको दिक्तेलमा जन्मेका कृष्ण आचार्य अहिले अमेरिकाको न्युयोर्कको क्वीन्समा जमैका नेपाली समाजका संस्थापक अध्यक्ष छन् । अमेरिकामा धेरै नेपाली संस्थाहरु रहेकै अवस्थामा खुलेको नयाँ संस्था हो जमैका नेपाली समाज । किन आवश्यक पर्यो यो संस्था? के अमेरिकामा रहेका नेपाली संघसंस्थाहरुले नेपालीहरुलाई जोड्ने काम गरेका छन् ? के यस्ता संस्थाहरुको सार्थकता छ ? यसबारेका खसोखास सम्पादक दीपक परियारले कृष्ण आचार्यसँग गरेको कुराकानी ।
अमेरिकामा यति धेरै नेपाली संघसंस्थाहरु छन् । किन चाहियो न्युयोर्कको क्वीन्समा जमैका नेपाली समाज?
नेपाली भाषा, संस्कृति, धर्मको बारेमा हामी त नेपालमै हुर्कियौं हामीलाई थाहा छ । तर, हाम्रा छोराछोरी यहाँ जन्मेका छन् । यहाँको वातावरणमा हुर्किन्छन् । यहाँ भएर उनीहरुले हाम्रो भाषा, संस्कृति, धर्म सिक्न पाउँदैनन् । नेपालीहरुको समुदाय बनोस्, एकअर्कामा सहयोग आदानप्रदान होस्, चिनजान होस् भनेर र यो तल्लोरुपमा हामी जोडिन्को लागि र सबै नेपालीहरुलाई जोड्नको लागि हो । खासगरी, हाम्रो सन्तति तथा दोस्रो पुस्तालाई भाषा, धर्म, संस्कृतिलाई सिकाउनको लागि यो संस्थाको आवश्यकता महशुस गरेर यो संस्थाको स्थापना गरेका हौं । अहिले न्युयोर्कमा नेपालीहरु घर किन्न सक्ने अवस्था भएपछि क्वीन्सको जमैकामा नेपालीहरुको संख्या बढिरहेको छ । हाम्रो रेकर्डमा भएअनुसार झण्डे २ सय परिवार हुनुहुन्छ ।
जमैका नेपाली समाजले के के काम गरिरहेको छ ? आगामी योजनाहरु के के छन् ?
हामीले विभिन्न संस्थाहरुसँग समन्वय गरेर लायन्स क्लबसँग रक्तदान कार्यक्रमहरु र केही महिना अगाडी बालबालिकाको आँखा जाँच कार्यक्रम गरेका थियौं । गत वर्ष दशैंमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका थियौं । यस वर्षको समरमा फेमेली फण्ड कार्यक्रमको रुपमा लिएर जमैकामा भएका विद्यार्थीहरुलाई सम्मान गर्ने र त्यसमा ट्यान्ट शो कम्पिटिशन गराएका थियौं । त्यसमा हामिले नृत्य, वक्तृत्वकला, चित्रकलादेखि लिएर सबै कलामा उत्कृष्टहरुहरुलाई पुरस्कार तथा सम्मान गरेका छौं । आगामी कार्यक्रम पनि दशैं, तिहार लगायतका चार्डपर्वलाई ध्यानमा राखेर विभिन्न कार्यक्रम आयोजना गर्ने सोँचमा छौं ।
तपाइँ लायन्स क्लब अफ बुद्धको पनि संस्थापक अध्यक्ष हुनुहुन्छ, लायन्स क्लबमार्फत न्युयोर्कमा के कस्ता कार्यक्रमहरु गर्नुभयो?
सन् २०१६ मा लाइन्स क्लब अफ बुद्ध भनेर सत्यनारायण मन्दिरमा तत्कालिन नेपालका महावाणिज्यदूत (राजदूत) डा. अर्जुन कार्की र नेपालबाट लायन्स क्लब इन्टरनेशनलका डाइरेक्टर सञ्जय चेताङ र पहिलो नेपाली अमेरिकी गर्भनर राजेन थापा र स्थानीय डिष्टिक गर्भनरहरुको आतिथ्यतामा भव्य कार्यक्रम गरी यस क्बलको स्थापना गरेका थियौं । क्लबको स्थापनापछि सामाजिक रुपमा हामिले रक्तदान कार्यक्रहरु गर्यौ । निश्चितरुपमा लायन्स क्लबले केही क्षेत्रहरु छुट्याएको छ, ती क्षेत्रहरुको दायरामा रहेर विभिन्न जागरण कार्यक्रमहरु, सरसफाइ कार्यक्रमहरु, असहायलाई खाना वितरण, लत्ताकपडा वितरण लगायतका कार्यक्रमहरु गर्यौ । यहाँमात्रै होइन्, नेपालमा पनि हामीले असहाय बालबालिकाहरुलाई स्टेशनरीको सामानदेखि लिएर आर्थिक सहयोग, विपद्को बेलामा चन्दा उठाएर पठाउने कार्यक्रमहरु गरिरहेका छौं । कोरोना महामारीको समयमा पनि नेपालीहरुलाई घरघरमा खाद्यान्न वितरण गरेका थियौं ।
न्युयोर्कमा धेरै संघसंस्थाहरुको स्थापना भएको छ । एक जना मान्छेको मात्रै दर्जनबढी संस्थामा आबद्धता छ । नेपालीहरुको बीचमा यतिधेरै संघसंस्थाहरुको किन आवश्यक परेको होला ?
हामी नेपालीहरुको बीचमा धेरै संस्थाहरु गठन भएको छ । यसरी गठन हुनु नराम्रो त होइन । किनभने त्यसको केही निश्चित उद्धेश्य लिएर र आवश्यकता भएर नै गठन भएको हुन्छ । जस्तै, मैले जमैका नेपाली समाजको आवश्यकता किन पर्यो भनेर प्रष्टाएँ । त्यसैगरी, विभिन्न जिल्लागत समाजहरुको पनि गठन भएको छ । केही राजनीतिक भातृ संस्थाको रुपमा पनि गठन भएका छन् । सबैको सामूहिक र समष्टिगत उद्धेश्य नेपालीहरुलाई जोड्ने हुनुपर्नेमा त्यसमा कमी भएको मैले पनि महशुस गरेको छु । उद्धेश्य अनुसार काम नगर्ने, कहिलेकाहीँ नकारात्मक किसिमका क्रियाकलाप गर्ने र समाजलाई भाड्न खोजेको सन्देश गएको छ । त्यसले गर्दा असल उद्धेश्य भएका संस्था र मान्छेहरुमा पनि नकारात्मक सन्देश जान्छ । त्यसमा नेतृत्व वर्गले विशेष ध्यान दिनुपर्छ ।
यी संस्थाहरुको भूमीका के के देख्नुहुन्छ ?
नेपाल एक फुलबारी हो । सबैको आफ्नो आफ्नो संस्कार, संस्कृतिहरु छन् । जुन समाजमा हामी जन्मियौं त्यो समाजको धर्म, संस्कृति, संस्कारको जर्गेना गर्न हाम्रो कर्तव्य हो । धर्म, संस्कृति, संस्कारको जर्गेना गर्न सबैले ध्यान दिनुपर्छ ।
प्रवासी नेपालीहरुको बीचमा छाता संगठनको रुपमा एनआरएनएले यी संस्थाहरुसँग समन्वयकारी भूमीका खेलेको महशुस गर्नुभएको छ ?
एनआरएनएलाई सरकारबाटै मान्यता भएको प्रवासी नेपालीहरुको छाता संगठनको रुपमा मानिरहेका थियौं । तर, आजको स्थितिमा त्यो परिस्थिति देखिदैँन किनभने यहाँ एनआरएनए नै विभाजन भएर तीन वटा एनआरएनए भएको देखिन्छ । त्यो वास्तविकता हामीले बुझ्न सकेका छैनौं । तरपनि, समाचारमा आएका कुराहरुलाई हेर्दा राजनीतिक हस्तक्षेपलाई बढावा दिएको कारणले गर्दा एनआरएन फुट्न गएको छ । एनआरएनप्रति हिजोको जुन आशा र भरोसा थियो, अहिलेको अवस्थामा निराशाजनक परिस्थिति सिर्जना भएको छ । आशा गरौं भोलीको दिनमा एउटै छाता संगठन भएर प्रवासी नेपालीहरुको हितमा काम गरोस् ।
नेपाली समुदायका समस्याका बारेमा नेपाली संघसंस्था तथा समुदायको बीच कस्तो प्रकारको छलफल, बहस हुने गरेको छ ?
यो एकदमै जरुरी हो, त्यसले गर्दा हाम्रो नेपाली समुदायलाई राम्रो र सकारात्मक सन्देश जाने र मार्गनिर्देश गर्ने कार्य हुन सक्थ्यों । तर, यसमा पनि एकदमै कमी देखिन्छ । हरेक संघसंस्थाहरुले यतातिर ध्यान दिनुपर्दछ जस्तो मलाई लाग्दछ ।
नेपालीका चार्डपर्वहरु आइरहेका छन् । नेपालीहरु सबै मिलेर यी पर्वहरुलाई मनाउनको लागि संघसंस्थाहरुबीचको समन्वय, एकता गर्न सम्भव छ ?
तीजका कार्यक्रहरु छुट्टाछुट्टै रुपमा संघसंस्थाहरुले आयोजना गर्ने भन्दा एकै ठाउँमा कार्यक्रमहरु किन हुन सक्दैन् होला ? यसको लागि पहल हामीहरुले नै गर्नुपर्छ कि भन्ने पनि खड्कीरहेको छ । यी कार्यक्रमहरु एकठाउँमा गर्न पाए हाम्रो लागि रमाइलो पनि हुन्थ्यो । दोस्रो पुस्तामा पनि राम्रो सन्देश जाने भएकोले त्यो सकारात्मक हुन्छ । त्यसमा सबै, संस्थाको पहलकदमी र सकारात्मक सोँच हुनुपर्छ जस्तो मलाई लाग्छ ।
नेपालीहरुबीचमा साझा संस्था गठन सम्भव छ?
हामीले रक्तदान कार्यक्रहरु गर्छौ । यसमा अन्य संघसंस्थाहरुलाई पनि जोड्ने प्रयास रहन्छ । अरुले पनि जोडिएर कार्यक्रम गर्दाखेरी प्रभावकारी हुने, कार्यक्रम सफल बनाउन पनि सजिलो हुने, खर्चको हिसाबले पनि सबैलाई कम भार पर्नेेदेखि लिएर धेरै राम्रो सन्देश जाने हुन्छ । त्यसको लागि म एकदम सकारात्मक छु र यो विषयमा सोच्नुपर्ने बेला भइसकेको मलाई लाग्छ ।
अमेरिकामा रहेका नेपालीहरुले नेपालका लागि कस्तो योगदान दिन सक्छन् ?
समग्र रुपमा हामी अमेरिकामा बसेको कारणले गर्दा यहाँको पैसा नेपालमा पठाउँदा धेरै हुनेभएकोले धेरै संस्थाहरुले नेपालको लागि योगदान दिएको देखिन्छ । तर, त्यसलाई एकीकृत गरेर समष्टिगत रुपमा सबैजना मिलेर कुनै परियोजनालाई लिएर पहलकदमी बढायो भने एउटा पारदर्शी किसिमले त्यो प्रभावकारी हुन्छ । त्यो नेपालीको लागि फलदायी हुन्छ र यहाँ मान्छेहरुले दिने सहयोग पनि अझ मन खोलेर दिन्छन् । त्यो कुराको कमी देखिएको छ । त्यतातिर ध्यान दिन सक्ने हो भने त्यसले नेपालमा ठूलो योगदान दिन सक्छ । साथै, हामीले दिएको सहयोगको उद्धेश्य पनि पूरा हुन्छ जस्तो मलाई लाग्दछ ।