काठमाडौं । वरिष्ठ अभिनेता हरिहर शर्मालाई २०८० सालको ‘अशेष मल्ल-सावित्री रंगकर्म’ पुरस्कार प्रदान गरिने भएको छ । सर्वनाम नाटक घरले ४३ औं वर्षगाँठमा पुरस्कारको घोषणा गरेको हो ।
रामगीता वाङ्मय मन्दिरले स्थापना गरेको यो पुरस्कारको राशी ५० हजार नगदसहित ताम्रपत्र छ । नाटक घर संचालक तथा रंगकर्मी अशेष मल्लले पुरस्कारको घोषणा गर्दै अभिनेता शर्मालाई बधाई दिएका छन् ।
‘राज्यबाट पूर्णतः उपेक्षित भएर पनि नेपाली रङ्गकर्म वर्तमान कालमा उर्वरको अवस्थामा छ । यसलाई प्रोत्साहन दिनका लागि अमेरिकामा रहेर पनि नेपाली रङ्गकर्मको विकास हुनुपर्छ भन्ने सोच र चिन्तनलाई कार्य रूपमा परिणत गर्दै आफ्नै निजी पैसा लगाएर यो पुरस्कारको स्थापना भएको छ । हामीलाई लाग्दछ, यो पुरस्कार सम्पूर्ण नेपाली रङ्गकर्मीहरूको हो,’ उनले लेखेका छन् ।
‘प्रतीक ढकाल-लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’ कथाकार राजेन्द्र विमल लिखित कथा–संग्रह ‘सरबरिया टोल’लाई प्रदान गरिने भएको छ । एक समारोहको बीच यी पुरस्कार प्रदान गरिने जनाइएको छ ।