News Summary
Generated by OK AI. Editorially reviewed.
- प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच बुधबार बिहान सवा १० देखि दिउँसो सवा २ बजेसम्म बूढानीलकण्ठमा कुराकानी भएको छ।
- दुई नेताबीच केही संवेदनशील निर्णय, अध्यादेश र राजनीतिक नियुक्तिबारे छलफल भएकाले आज बस्ने मन्त्रिपरिषद् बैठक भोलि बिहीबारलाई सारिएको छ।
- आईजिपी दानबहादुर कार्कीसम्बन्धी विषयमा पनि छलफल भएको भनिए पनि सम्भावित विकल्पमा दुबै नेताको एकमत नभएको उच्च स्रोतले जनाएको छ।
११ कात्तिक, काठमाडौं । आइतबार मध्यराति एयर इन्डियाको जहाजबाट काठमाडौं फर्केका रास्वपा सभापति रवि लामिछाने भेट्न प्रधानमन्त्री बालेन शाह बूढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्रीका मूख्य सल्लाहकार कुमार बेनसहित रवि निवास पुगेका प्रधानमन्त्री बालेनले बुधबार चार घण्टा त्यहाँ बिताए ।
उच्च सुरक्षा स्रोतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच बुधबार बिहान सवा १० देखि दिउँसो सवा २ सम्म कुराकानी भएको थियो ।
सरकारी स्रोत र रास्वपाको पार्टी स्रोत दुवैले अनौपचारिक कुराकानीमा यो भेटलाई पुष्टि गरेका छन् । दुई शीर्ष नेताहरुको भेट लम्बिएकै कारण र सम्भवतः केही महत्वपूर्ण विषय आज अनिर्णित रहेका कारण आज बस्ने तयारी गरिएको मन्त्रिपरिषद् बैठकसमेत भोलि बिहीबारलाई सारिएको छ ।
‘केही अति संवेदनशील प्रकृतिका विषयमा निर्णय गर्नुअघि साझा धारणा बनाउनुपर्ने भएकाले लामो भेट भएको हो,’ उच्च स्रोतले अनलाइनखबरलाई भन्यो, ‘केही जरुरी निर्णय र अध्यादेशका विषय पनि यसमा छलफल भएको हुनुपर्छ । केही महत्वपूर्ण राजनीतिक नियुक्ति लगायत विषय पनि छन् ।’
केही महत्वपूर्ण नियुक्तिहरुबीच रवि लामिछाने र प्रधानमन्त्री बालेनबीच सहमति बन्न बाँकी रहेको बुझिएको छ । केहीले आइजिपी दानबहादुर कार्कीसँग सम्बन्धित विषयमा दुई नेताहरुबीच कुरा भएको संकेत गरेका छन् ।
तर प्रधानमन्त्री निकट उच्च स्रोतले अनलाइनखबरसँग अनौपचारिक कुराकानीमा भनेको छ, ‘आइजिपीलाई जे गर्नु भन्ने जिम्मेवारी दिइएको छ, त्यो खुरुखुरु गरे भइहाल्छ । खासै समस्या हुँदैन । हामीले बाँकी डिटेलमा यस्तो गर्नु, उस्तो गर्नु भन्नैपर्दैन ।’
कार्कीसँग जोडिएको प्रहरी पोशाक लगायत विषयमा भोलि सिंहदरबारमा संसदीय उपसमितिको बैठक डाकिएको छ । रास्वपाले कुनै विषय देखाएर कार्कीलाई हटाउन दबाब दिन सक्ने बुझिएको छ । तर प्रहरी प्रमुख हट्ने अवस्था आयो भने सम्भावित पात्र को हुन सक्छन् भन्नेमा सभापति लामिछाने र प्रधानमन्त्री बालेनबीच एकमत नरहेको उच्च स्रोतको दाबी छ ।
रास्वपा सभापति लामिछानेको भारत भ्रमणबारे पनि भेटमा छलफल भएको थियो । लामिछानेले आफ्नो व्यक्तिगत प्रयोजनको भ्रमणमा भएका विषयहरुबारे पनि प्रधानमन्त्रीसँग सेयर गरेको बुझिएको छ । प्रधानमन्त्री बालेनले मंसिर पहिलो साता नयाँ दिल्ली भ्रमण गर्नेगरी तयारी तीव्र छ । सरकारका केही मन्त्री र रास्वपा नेताहरु पछिल्ला दिनमा शृंखलाबद्ध भारत यात्रामा छन् ।
दुई शीर्ष नेताहरुको भेटबारे औपचारिक जानकारी दिन भने दुवैतिरका निकटस्थ नेताहरुले अस्वीकार गरेका छन् । अनलाइनखबरले सुरक्षा स्रोत र राजनीतिक स्रोत दुवैबाट भेटको पुष्टि भने गरिसकेको छ ।