एआईले बदल्दैछ प्राविधिक शिक्षाको भविष्य


News Summary

Generated by OK AI. Editorially reviewed.

  • प्राविधिक तथा व्यावसायिक शिक्षामा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगले शिक्षण, सिकाइ र सीप विकासका परम्परागत ढाँचामा गुणात्मक परिवर्तन ल्याई दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुर्‍याएको छ।
  • एआई सञ्चालित भर्चुअल सिमुलेसनको प्रयोगले विद्यार्थीलाई सुरक्षित वातावरणमा व्यावहारिक अभ्यास गराउँदै परम्परागत सिकाइको तुलनामा चार गुणासम्म छिटो सीप आर्जन गर्न मद्दत गरिरहेको छ।
  • नेपालमा एआईको प्रभावकारिताका लागि गुणस्तरीय डिजिटल पूर्वाधार, लचिलो पाठ्यक्रम र उद्योग-शिक्षालय सहकार्यमा जोड दिँदै शैक्षिक पारिस्थितिकी निर्माण गर्नु अपरिहार्य देखिएको छ।

२१औं शताब्दीको चौथो दशकसम्म आइपुग्दा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मानव विकास र आर्थिक रूपान्तरणको प्रमुख प्रविधिगत शक्ति बनेको छ। विशेषगरी प्राविधिक तथा व्यावसायिक शिक्षामा एआईको प्रयोगले शिक्षण, सिकाइ, मूल्याङ्कन र सीप विकासका परम्परागत ढाँचामा गुणात्मक परिवर्तन ल्याइरहेको छ।

श्रमबजारले पनि शैक्षिक प्रमाणपत्र मात्र हैन, प्रविधि प्रयोग गर्न सक्ने, समस्या समाधान गर्ने, सिर्जनशील र निरन्तर नयाँ सीप सिक्न सक्षम जनशक्तिको माग गरिरहेको छ। त्यसैले एआई आज केवल आधुनिक प्रविधि वा सुविधा होइन, बजारको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्ने रणनीतिक साधनका रूपमा स्थापित भएको छ।

यही कारण आजको प्राविधिक शिक्षाको उद्देश्य प्रमाणपत्र प्रदान गर्नु मात्र होइन, उद्योग र श्रमबजारको बदलिंदो मागसँग मेल खाने सीपयुक्त, अनुकूलनशील र नवप्रवर्तनमुखी जनशक्ति उत्पादन गर्नु हो। यसका लागि पाठ्यक्रममा एआई, डेटा विश्लेषण, रोबोटिक्स, स्वचालन, डिजिटल उपकरणको प्रभावकारी प्रयोग, समस्या समाधान, सञ्चार, समालोचनात्मक सोच र नवप्रवर्तन हरित सीप जस्ता भविष्यका सीपलाई समेट्नु अपरिहार्य भइसकेको छ। यस्ता सीपले मात्र विद्यार्थीलाई रोजगारी खोज्ने व्यक्तिबाट रोजगारी सिर्जना गर्न सक्ने उद्यमशील जनशक्तिमा रूपान्तरण गर्न सक्छन्, जुन प्रतिस्पर्धी अर्थतन्त्र निर्माणको आधार हो।

तर, यहाँ एउटा मूलभूत अवधारणा स्पष्ट हुन आवश्यक छ- एआई आफैं कुनै स्वतन्त्र पेशागत सीप होइन; बरु विद्यमान ज्ञान, सीप र दक्षतालाई अझ प्रभावकारी, सटिक तथा उत्पादनशील बनाउने एक सक्षमीकरणकारी प्राविधिक औजार हो। त्यसैले प्राविधिक शिक्षाको लक्ष्य एआई सिकाउने होइन, एआईको प्रयोग मार्फत पेशागत दक्षतालाई अभिवृद्धि गर्ने जनशक्ति उत्पादन गर्नु हो। 

एआईद्वारा व्यक्तिगत सिकाइ र भर्चुअल सिमुलेसन

प्रत्येक विद्यार्थीको सिकाइको गति, क्षमता र कमजोरी व्यक्तिपिच्छे फरक-फरक हुन्छ। एउटै शिक्षकले सबै विद्यार्थीलाई समान रूपमा समय दिन सम्भव हुँदैन। सबै विद्यार्थीलाई एउटै गति र विधिबाट पढाउने अभ्यासले प्रत्येक विद्यार्थीको गति, क्षमता, कमजोरी र रुचिलाई सम्बोधन गर्न सक्दैन।

तर, एआईले प्रत्येक विद्यार्थीको उत्तर, त्रुटि, प्रगति र व्यवहारलाई निरन्तर विश्लेषण गर्दै कसैलाई थप अभ्यास, कसैलाई कठिन विषयको सरल व्याख्या र कसैलाई उन्नतस्तरका सामग्री उपलब्ध गराउन सक्छ। एआईले प्रत्येक विद्यार्थीको सिकाइको शैली, बौद्धिक क्षमता, रुचि, कमजोरी तथा सिक्ने गतिलाई विश्लेषण गरी सोही अनुसार पाठ्यक्रम, सिकाइ सामग्री, अभ्यास र मूल्याङ्कनलाई अनुकूल बनाउने क्षमता राख्छ, जसलाई ‘व्यक्तिगत सिकाइ’ भनिन्छ।

भर्चुअल र एआईमा आधारित इमर्सिभ प्रशिक्षण प्रयोग गर्ने शिक्षार्थीहरूले परम्परागत कक्षाकोठामा आधारित सिकाइको तुलनामा चार गुणासम्म छिटो आवश्यक सीप आर्जन गर्न सफल भएका छन्।

म्याकिन्से एन्ड कम्पनीले गरेको अध्ययनले एआईको प्रभावकारी प्रयोगबाट शिक्षकले प्रशासनिक तथा दोहोरिने कार्यमा खर्च हुने समय २० देखि ४० प्रतिशतसम्म घटाउन सक्ने र त्यसबाट बचेको समय विद्यार्थीको व्यक्तिगत सिकाइ, मार्गदर्शन तथा शिक्षणको गुणस्तर सुधारमा उपयोग गर्न सक्ने उल्लेख गरेको छ। साथै, एआईले प्रत्येक विद्यार्थीको सिकाइको गति र कमजोरीको विश्लेषण गरी व्यक्तिगत प्रतिपुष्टि प्रदान गर्ने भएकाले सिकाइ उपलब्धि पनि उल्लेखनीय रूपमा वृद्धि हुने देखिएको छ। यसरी विद्यार्थीले आफ्नो वास्तविक आवश्यकता अनुसार सिक्ने अवसर प्राप्त गर्छ, जसले सिकाइको प्रभावकारिता र उपलब्धि दुवै बढाउँछ।

प्राविधिक तथा व्यावसायिक शिक्षामा अधिकांश सीप प्रयोगशाला, कार्यशालामा अभ्यास मार्फत सिक्नुपर्छ। तर महँगा उपकरण, सीमित प्रयोगशाला, सुरक्षा जोखिम तथा उच्च सञ्चालन लागतका कारण सबै विद्यार्थीलाई पर्याप्त व्यावहारिक अभ्यास गराउन सधैं सम्भव हुँदैन। यस्तो अवस्थामा एआई सञ्चालित भर्चुअल सिमुलेसन प्रभावकारी विकल्पका रूपमा विकसित भएको छ। यसले विद्यार्थीलाई वास्तविक कार्यस्थल जस्तै डिजिटल वातावरणमा जोखिमरहित रूपमा पटक-पटक अभ्यास गर्ने अवसर प्रदान गर्छ।

प्राइस वाटर हाउस कुपर्स का अनुसार भर्चुअल र एआईमा आधारित इमर्सिभ प्रशिक्षण प्रयोग गर्ने शिक्षार्थीहरूले परम्परागत कक्षाकोठामा आधारित सिकाइको तुलनामा चार गुणासम्म छिटो आवश्यक सीप आर्जन गर्न सफल भएका छन्। उक्त अध्ययनले एआई सञ्चालित भर्चुअल सिमुलेसनले सिकाइलाई अझ प्रभावकारी, व्यावहारिक र दक्षतामूलक बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको तथ्य प्रकाशन गरेको छ।

विभिन्न अध्ययनले स्वास्थ्य, इन्जिनियरिङ, उड्डयन तथा औद्योगिक क्षेत्र जस्ता उच्च जोखिमयुक्त प्राविधिक क्षेत्रहरूमा एआई र सिमुलेसनमा आधारित प्रशिक्षणले विद्यार्थी तथा प्रशिक्षार्थीलाई सुरक्षित वातावरणमा वास्तविक कार्यअनुभव प्रदान गर्ने, दुर्घटनाको जोखिम घटाउने, सीप विकासको दक्षता बढाउने तथा सिकाइको गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने निष्कर्ष प्रस्तुत गरेका छन्। 

अन्तर्राष्ट्रिय अभ्यास

चीनले प्राविधिक शिक्षामा भर्चुअल रियालिटी र एआई सञ्चालित सिमुलेसनको व्यापक प्रयोग गर्दै प्रयोगशाला तथा उपकरणमा हुने लागत घटाउनुका साथै सिकाइलाई अझ सुरक्षित र प्रभावकारी बनाएको छ। मुख्य गरी उच्च जोखिमयुक्त वा अत्यधिक खर्चिला प्राविधिक सीपहरू सिकाउन त्यहाँका प्राविधिक शिक्षालयहरूले एआईमा आधारित सिमुलेटरको प्रयोग गरिरहेका छन्।

दक्षिण कोरियाका प्राविधिक कलेजहरूमा एआई ट्युटर्स र एआई च्याटबोटको प्रयोग शुरु भइसकेको छ। विशेषगरी कोडिङ, कम्प्युटर सहायता प्राप्त डिजाइन, इन्जिनियरिङ तथा प्राविधिक अङ्ग्रेजी शिक्षणमा एआईले शिक्षकलाई सहयोग गर्दै विद्यार्थीलाई व्यक्तिगत मार्गदर्शन, तत्काल प्रतिक्रिया र अभ्यासको अवसर उपलब्ध गराइरहेको छ।

त्यसैगरी, सिङ्गापुरको इन्स्टिच्युट अफ टेक्निकल एजुकेसन (आईटीई) ले एआई, डिजिटल ट्विन र सिमुलेसन प्रविधि मार्फत एभिएसन, रोबोटिक्स, स्मार्ट म्यानुफ्याक्चरिङ र इन्जिनियरिङ सम्बन्धी तालिम सञ्चालन गरिरहेको छ।

संयुक्त राज्य अमेरिकाका धेरै प्राविधिक कलेज र विश्वविद्यालयले स्वास्थ्य, उड्डयन, निर्माण तथा औद्योगिक सुरक्षा सम्बन्धी तालिममा एआई र भर्चुअल रियालिटी सिमुलेसनलाई व्यापक रूपमा प्रयोग गरिरहेका छन्। उदाहरणका लागि, शल्यक्रिया, आपत्कालीन उपचार, वेल्डिङ, विद्युतीय सुरक्षा तथा उड्डयन प्रशिक्षणमा विद्यार्थीले वास्तविक उपकरण प्रयोग गर्नुअघि भर्चुअल वातावरणमा सुरक्षित रूपमा पटक-पटक अभ्यास गर्ने अवसर पाउँछन्।

जापानले रोबोटिक्स, स्वचालन, स्मार्ट उत्पादन तथा वृद्ध हेरचाह सम्बन्धी प्राविधिक शिक्षामा एआई र रोबोटिक सिमुलेसनलाई समावेश गरेको छ। यसले उद्योगलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

माथि प्रस्तुत विभिन्न मुलुकको अभ्यासको निष्कर्षले एआईको प्रयोगले महँगा उपकरणको प्रयोग घटाउनुका साथै तालिमको लागत कम गर्ने, दुर्घटनाको जोखिम न्यून र सिकाइको गुणस्तर सुधार गर्ने परिणाम देखाएका छन्। साथै, उपकरणको क्षति, आर्थिक लागत र दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा घट्नुका साथै विद्यार्थीले गल्तीबाट सिक्ने, पुनः अभ्यास गर्ने र आत्मविश्वासका साथ वास्तविक कार्यस्थलमा प्रवेश गर्ने अवसर पाउँछन्।

एआईको अर्को महत्त्वपूर्ण योगदान भनेको श्रमबजार विश्लेषण हो। यसले लाखौं रोजगारीका विज्ञापन, उद्योगका प्रवृत्ति, आर्थिक परिवर्तन र नयाँ प्रविधिको विकासको निरन्तर विश्लेषण गरी भविष्यमा कुन सीपको माग बढ्नेछ भन्ने पूर्वानुमान गर्न सक्छ। विश्व आर्थिक मञ्चको एक अध्ययनले सन् २०३० सम्म प्रविधिका कारण करिब १७ करोड नयाँ रोजगारी सिर्जना हुने अनुमान गरिएको छ भने करिब ९ करोड २० लाख परम्परागत रोजगारी विस्थापित हुनसक्ने तथ्य प्रकाशित गरेको छ। प्रतिवेदनले एआई, बिग डेटा, साइबर सुरक्षा, डिजिटल साक्षरता, विश्लेषणात्मक सोच र समस्या समाधानलाई भविष्यका सबैभन्दा आवश्यक सीपका रूपमा उल्लेख गरेको छ।

यसैगरी उक्त प्रतिवेदनले डिजिटल प्रविधि, एआई तथा सिमुलेसनमा आधारित सीपहरू आगामी दशकमा सबैभन्दा बढी माग हुने उल्लेख गरेको छ। युनेस्कोले एआईलाई शिक्षाको पहुँच, समावेशिता र गुणस्तर अभिवृद्धि गर्ने महत्त्वपूर्ण साधनका रूपमा स्वीकार गरेको छ भने अर्गनाइजेसन फर इकोनोमिक को-अपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी) को एक अध्ययनले एआई-समर्थित व्यक्तिगत सिकाइले विद्यार्थीको सहभागिता र सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पार्ने निष्कर्ष प्रस्तुत गरेको छ।

यसले एआई सञ्चालित व्यक्तिगत सिकाइ र भर्चुअल सिमुलेसनमार्फत प्राविधिक शिक्षालाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी सुरक्षित, व्यावहारिक, उद्योगमुखी र भविष्यको श्रमबजार अनुकूल दक्ष जनशक्ति उत्पादन गर्ने दिशामा रूपान्तरण गरिरहेको स्पष्ट हुन्छ। 

हाम्रो अवस्था

हाम्रो सन्दर्भमा एआईको प्रभावकारिता प्रविधिको उपलब्धताभन्दा पनि त्यसलाई उपयोग गर्ने प्रणालीको क्षमतामा निर्भर गर्दछ। प्राविधिक तथा व्यावसायिक शिक्षाको चुनौती कम्प्युटर वा इन्टरनेटको अभाव मात्र हैन, शिक्षा प्रणाली र श्रमबजार बीचको कमजोर सम्बन्ध हो। एकातिर अधिकांश शिक्षण संस्थामा पुराना पाठ्यक्रम, सीमित प्रयोगशाला, अपर्याप्त उपकरण र दक्ष प्रशिक्षकको अभाव छ भने अर्कोतर्फ उद्योगले माग गर्ने सीप र शिक्षालयले उत्पादन गर्ने जनशक्ति बीच ठूलो अन्तर कायम छ। फलस्वरूप, प्रमाणपत्र प्राप्त गरे पनि धेरै युवामा रोजगारदाताले अपेक्षा गरेका व्यावहारिक दक्षता र समस्या समाधान गर्ने क्षमताको कमी छ।

यी आधार तयार भएपछि मात्र एआईले प्राविधिक शिक्षालाई प्रमाणपत्रमुखी प्रणालीबाट सीप, नवप्रवर्तन र रोजगारमुखी प्रणालीतर्फ रूपान्तरण गर्न सक्छ। अन्यथा, एआई केही शहरी संस्थामा सीमित आधुनिक प्रविधि बनेर रहनेछ र नेपालको समग्र प्राविधिक शिक्षा प्रणालीमा अपेक्षित परिवर्तन ल्याउन असफल हुनेछ।

यही सन्दर्भमा एआईले व्यक्तिगत सिकाइ, भर्चुअल सिमुलेसन, स्वचालित मूल्याङ्कन तथा उद्योगको माग अनुसार पाठ्यक्रम अद्यावधिक गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। तर, एआई शिक्षा सुधारको विकल्प होइन, सुधारलाई गति दिने साधन हो। यदि कमजोर शिक्षा प्रणालीमाथि एआई थपियो भने त्यसले विद्यमान कमजोरीलाई मात्र डिजिटल रूप दिन्छ; आफैं गुणस्तर बढाउँदैन। त्यसैले एआईको प्रभावकारिता शिक्षण पद्धति, शिक्षकको क्षमता, संस्थागत व्यवस्थापन र उद्योग-शिक्षालय सहकार्यको गुणस्तरसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ।

अर्को गम्भीर चुनौती डिजिटल असमानता हो। नेपाल दूरसञ्चार प्राधिकरणका तथ्याङ्कले इन्टरनेट प्रयोगकर्ता बढेको देखाए पनि गुणस्तरीय उच्च गतिको इन्टरनेट, पर्याप्त कम्प्युटर, डिजिटल प्रयोगशाला र स्थिर विद्युत् आपूर्तिको पहुँच सबै विद्यालय तथा प्राविधिक शिक्षण संस्थामा समान छैन। युनेस्कोको प्रतिवेदनले पनि डिजिटल प्रविधि अपनाउँदा पूर्वाधार र पहुँचको असमानतालाई सम्बोधन नगरे शिक्षामा विद्यमान असमानता अझ बढ्न सक्ने चेतावनी दिएको छ। त्यसैले नेपालको सन्दर्भमा एआईले समान अवसर सिर्जना गर्ने कि नयाँ विभाजन उत्पन्न गर्ने भन्ने कुरा यसको कार्यान्वयन रणनीतिले निर्धारण गर्नेछ।

हाम्रो प्राथमिकता केवल एआई उपकरण खरिद गर्नु वा च्याटबोट प्रयोगमा ल्याउनु होइन; एआईका लागि आवश्यक शैक्षिक पारिस्थितिकी निर्माण गर्नु हो। त्यसका लागि आधुनिक र लचिलो पाठ्यक्रम, गुणस्तरीय डिजिटल पूर्वाधार, प्रशिक्षित शिक्षक, उद्योग-शिक्षालय साझेदारी, स्थानीय आवश्यकता अनुसार एआई सामग्री विकास तथा स्पष्ट नैतिक र नियामकीय मापदण्ड अनिवार्य छन्।

यी आधार तयार भएपछि मात्र एआईले प्राविधिक शिक्षालाई प्रमाणपत्रमुखी प्रणालीबाट सीप, नवप्रवर्तन र रोजगारमुखी प्रणालीतर्फ रूपान्तरण गर्न सक्छ। अन्यथा, एआई केही शहरी संस्थामा सीमित आधुनिक प्रविधि बनेर रहनेछ र नेपालको समग्र प्राविधिक शिक्षा प्रणालीमा अपेक्षित परिवर्तन ल्याउन असफल हुनेछ।





Source link

Leave a Comment