प्रकाशित मिति : २२ असार २०८३, सोमबार

Photo: Micah & Sammie Chaffin/ Unsplash
कानुनी रूपमा अमेरिका भित्रिने आप्रवासीहरूको सङ्ख्या घटाउने ट्रम्प प्रशासनको तीव्र प्रयासबाट यस पटक त्यस्तो समूह पनि प्रभावित भएको छ, जो सामान्यतया यस्ता नीतिहरूबाट सुरक्षित रहने गर्दथ्यो। ती हुन्- अमेरिकी नागरिकका विदेशी जीवनसाथी।
राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष ह्वाइट हाउस सम्हालेयता ७५ देशका नागरिकका लागि आप्रवासी भिसा रोक्नेदेखि लिएर ग्रीन-कार्ड अन्तरवार्तामा कडा जाँचबुझ गर्ने र देश निकालाको दायरा फराकिलो बनाउनेसम्मका धेरै नीतिगत परिवर्तनहरू लागू गरेका छन्। यी परिवर्तनहरूले विवाहको माध्यमबाट अमेरिका प्रवेश गर्न वा बस्न चाहनेहरू सहित सबै आप्रवासीहरूलाई ठुलो मारमा पारेको छ।
अध्यागमन वकिलहरू र प्रभावित परिवारहरूका अनुसार, कतिपय विदेशी जीवनसाथीहरू आफ्ना अमेरिकी प्रियजनहरूबाट अलग हुनुपरेको छ भने कतिपय अमेरिकी अध्यागमन प्रणालीसँग प्रक्रिया अगाडि बढाउन समेत डराइरहेका छन्।
‘अमेरिकन फ्यामिलिज युनाइटेड’ की कार्यकारी निर्देशक एस्ली डेअजेभेडोले भनिन्, “यस देशमा नजन्मिएका व्यक्तिहरूसँग विवाह गरेका अमेरिकी नागरिकहरूका लागि जीवन निकै कष्टकर बनेको छ। अध्यागमन प्रक्रियामा रहेका अमेरिकी नागरिकका विदेशी परिवारको हकहितका लागि काम गर्ने यस संस्थाका सदस्यहरूको सङ्ख्या गत वर्ष तीव्र रूपमा बढेको छ। हाल अमेरिकाभित्र करिब १४ लाख र अमेरिका बाहिर करिब ३ लाख मानिसहरू यस संस्थाको सहयोगको पर्खाइमा छन्।
डेअजेभेडोका अनुसार, अनिश्चितकालीन थुनामा परिने डरले धेरै सदस्यहरूले आफैँ देश छोड्ने निर्णय गरिरहेका छन्। यसअघि कसलाई हिरासतमा राख्ने भन्ने प्राथमिकता तोकिने भएकाले यस्तो हुँदैनथ्यो, तर अहिले कतिपय सदस्यका जीवनसाथीहरू पक्राउ परेका छन्,उनले भनिन्।
अमेरिकन इमिग्रेसन लायर्स एसोसिएसनकी वरिष्ठ निर्देशक शरवरी दलाल-धेनीका अनुसार अमेरिकी सरकारले विवाहका माध्यमबाट आउने आप्रवासीहरूको सधैँ जाँचबुझ गर्ने गरे तापनि यसअघि उनीहरूलाई व्यापक प्रवर्तन अभियानमा समेटिँदैनथ्यो।
कानुनमा यो समूहलाई सधैँ एउटा विशेष स्थान दिइएको थियो। अमेरिकी नागरिकका जीवनसाथीहरूका लागि कुनै कोटा वा सीमा हुँदैनथ्यो। यहाँ कानुनी हैसियत कायम राख्न नसकेकाहरूले पनि आफ्नो स्टेटस समायोजन गर्न पाउँथे। कानुनले उनीहरूलाई एक विशेषाधिकार प्राप्त वर्ग मान्दथ्यो, तर वर्तमान प्रशासनले उनीहरूलाई पनि अन्य साधारण आप्रवासी सरह व्यवहार गरिरहेको छ,” दलाल-धेनीले भनिन्।
यता, युएससीआइएसका प्रवक्ता ज्याक केहलरले भने नागरिकता वा ग्रीन कार्ड चाहने सबैको पहिचान र पृष्ठभूमि कडा रूपमा जाँच गर्नु अमेरिकी जनताको सुरक्षाका लागि आवश्यक रहेको बताएका छन्। उनले अमेरिकी नागरिकसँग विवाह गर्दैमा वा निवेदन दर्ता गर्दैमा देश निकालाबाट सुरक्षा नमिल्ने प्रस्ट पारे। जसले बिना जाँच प्रवेश गरे वा अनुमति दिएको अवधिभन्दा बढी समय बसे, उनीहरू गैरकानुनी आप्रवासी हुन् र उनीहरूमाथि कानुनी कारबाही हुन सक्छ,” केहलरले भने।
अध्यागमन नीतिमा आएको यो कडाइले अमेरिकी सेनामा कार्यरत परिवारहरूलाई समेत गम्भीर असर पुर्याएको छ। अमेरिकामा तीन दशकदेखि बस्दै आएकी र एक अमेरिकी सैनिकसँग विवाह गरेकी ‘एस’को कथा पनि यस्तै छ। उनी यात्रा प्रतिबन्ध लगाइएका ३९ देशहरूमध्ये एकमा जन्मिएकी थिइन्। प्रतिबन्धका कारण गत वर्ष दर्ता गरिएको उनको नागरिकताको निवेदन अझै अगाडि बढेको छैन।
यस प्रतिबन्धमा सैन्य परिवारका लागि समेत कुनै छुट दिइएको छैन। उनको परिवार आगामी अक्टोबरमा जर्मनी बसाइँ सर्नुपर्ने छ, तर नागरिकता नहुँदा उनीहरू आफ्नो घर, सामान र साना बच्चाहरूलाई कसरी लैजाने भन्ने चिन्तामा छन्। यसले मेरो श्रीमानको सैन्य सेवाको तयारीमा असर पुर्याउनेछ। ऊ हजारौँ माइल टाढा आफ्नो काममा केन्द्रित हुनुपर्ने बेला हाम्रो चिन्ता गरेर बस्नुपर्नेछ, जुन न्यायसङ्गत होइन,” एसले भनिन्। संघीय अदालतले यो प्रतिबन्धलाई गैरकानुनी ठहर गरे पनि उनको मुद्दामा कुनै प्रगति भएको छैन।
क्यालिफोर्नियाका अध्यागमन वकिल एरिक वेल्शका अनुसार अहिले आवेदकहरूले पहिले आवश्यक नपर्ने ‘राम्रो नैतिक चरित्र’ जस्ता प्रमाणहरू समेत पेस गर्नुपर्ने भएको छ। मानिसहरूले के बुझ्न जरुरी छ भने, अमेरिकी नागरिकसँग विवाह गर्दैमा अमेरिकामा बस्ने वा स्थिति समायोजन गर्ने कुनै निरपेक्ष अधिकार प्राप्त हुँदैन,”वेल्शले सचेत गराए।
अध्यागमन प्रक्रियामा थपिएको कडा अन्तर्वार्ता, विदेशबाटै आवेदन दिनुपर्ने दबाब र बैंक खाताहरूको समेत निरीक्षण गर्ने ट्रम्प प्रशासनको नीतिका कारण धेरै परिवारहरू अहिले आफ्नो फाइल अगाडि बढाउन समेत हिचकिचाइरहेका छन्, जसले गर्दा आप्रवासी समुदायमा व्यापक त्रासको वातावरण सिर्जना भएको छ।