सानो देशको ठूलो प्रदर्शन : रेगुलर टाइममा नहारेको केप भर्डे


अफ्रिकाको १० वटा टापुहरु मिलेर बनेको केप भर्डेले विश्वकपमा पहिलो सहभागितामै शानदार प्रदर्शन गर्‍यो, बलिया विपक्षी टिमहरुलाई समेत कडा टक्कर दियो । समूह चरणमा अपराजित रहँदै पहिलो सहभागितामै नकआउट चरणमा पुगेर इतिहास रच्यो । अनी ४० वर्षिय गोलकिपर भोजिन्हाले शानदार बचाउ गर्दै विश्वभर चर्चा पाए ।


काठमाडौं । यस पटक विश्वकपमा गोल गर्ने खेलाडीको मात्र होइन विपक्षीको आक्रमणलाई रोक्दै गोल हुन बचाउने खेलाडीहरुको पनि चर्चा उत्तिकै छ ।

उपाधि दाबेदार र ठूला टिमहरुको सँगै स्टार खेलाडीहरुको चर्चा स्वभाविक छ । तर उत्तर अमेरिकाको अमेरिका, मेक्सिको र क्यानडामा भइरहेको फिफा विश्वकप २०२६ मा एक डेब्युटान्ट टोली र त्यसका खेलाडीहरुको चर्चा अरुको जत्तिकै भइरहेको छ ।

अफ्रिकाको १० वटा टापुहरु मिलेर बनेको केप भर्डेले विश्वकपमा पहिलो सहभागितामै शानदार प्रदर्शन गर्‍यो, बलिया विपक्षी टिमहरुलाई समेत कडा टक्कर दियो । समूह चरणमा अपराजित रहँदै पहिलो सहभागितामै नकआउट चरणमा पुगेर इतिहास रच्यो । अनी साविक विजेता अर्जेन्टिनालाई झण्डै हराउने अवस्थामा पुगिसकेको थियो ।

राउण्ड अफ ३२ को खेलमा उपाधि दाबेदार अर्जेन्टिनालाई निर्धारित समयमा १-१ को बराबरीमा रोकेर खेललाई अतिरिक्त समयमा पुर्‍याएको केप भर्डे अन्तिममा आत्मघाती गोलमा ३-२ ले पराजित हुँदै बाहिरियो ।

लियोनल मेसीको अर्जेन्टिना विरुद्ध केप भर्डेले जुन साहस देखायो त्यसको जति प्रशंसा गरेपनि कम हुन्छ । विश्वभरका फुटबल पण्डितहरु देखि फुटबल समर्थकहरु अनी पूर्व खेलाडीहरुले समेत केप भर्डेको खुलेर प्रशंसा गरेका छन् ।

अर्जेन्टिना विरुद्ध दुई पटक पछि परेर पनि केप भर्डेले खेलमा बराबरी गोल फर्काउँदै पुनरागमन गरेको थियो । खेल सकिने ९ मिनेट बाँकी हुँदा (१११औं मिनेट) डिने बोर्गासले आत्मघाती गोल गरेपछि केप भर्डे पराजित भयो ।

मायामीमा अतिरिक्त समयमको खेल सकिएको रेफ्रीले संकेत गरेपनि केप भर्डेका खेलाडीहरु मैदानमा ढले । तर उनीहरुको लागि यो जित सरह नै थियो ।

‘केप भर्डे खेलमा त हार्‍यो, तर उसले सबैको मन जित्यो ।’ स्कटल्याण्डका पूर्वअन्तर्राष्ट्रिय खेलाडी जेम्स म्याकफाडेनले बीबीसी रेडियो फाइभ लाइभसँग भने, ‘उनीहरूले मैदानमा साहस, एकता र आफू को हौँ र के गर्न सक्छौँ भन्ने कुरामा अटल विश्वास देखाए ।’

‘यो प्रतियोगिताको वास्तविक कथा नै केप भर्डे हो । एउटा फुटबल टोलीमा सबैले देख्न चाहने कुरा नै यही हो ।’ म्याकफाडेनले भने ।

यस्तै इंग्ल्यान्डका पूर्व खेलाडी ग्यारी नेभिलले पनि केप भर्डेको प्रशंसा गरे । ‘मैले कुनै पनि अन्डर डग टिममबाट देखेको यो अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट प्रदर्शनमध्ये एक हो ।’ नेभिलले आइटिभीसँग भने, ‘उनीहरू घर फर्कनु परेकोमा रोइरहेका छन् । उनीहरू घर जान चाहँदैनन्, बरु बाँकी जीवन यहीँ बिताउन चाहन्छन् ।’

नेभिलले कतिपय खेलाडीका लागि यस्तो मौका उनीहरुको जीवनमा फेरि कहिल्यै नआउन सक्ने र यो पल जादुमयी सँगै दु:खद पनि भएको बताए ।

केप भर्डेका प्रशिक्षक बुबिस्टा आफ्नो टोली सानो भएपनि उत्कृष्ट टोलीसँग प्रतिस्पर्धा गर्न सक्छ भनेर देखाएको र निकै गर्व लागेको बताए । ‘हामीले देखायौँ कि हामी सानो देश हुन सक्छौँ, तर विश्वका उत्कृष्ट टोलीहरूसँग प्रतिस्पर्धा गर्न सक्छौँ । यो हाम्रो लागि ठुलो गर्वको कुरा हो,’ उनले भने, ‘हामीले हाम्रो देशको लागि इतिहास रच्यौँ । हाम्रो देशलाई प्रतिनिधित्व गर्नुमा उनीहरु पनि गौरवान्वित छन् । विश्व विजेता टिमससँग हामीले गरेजस्तो यसरी खेल्नु र दुई पटकसम्म बराबरी गर्नु अविश्वसनीय कुरा हो ।’

रेगुलर टाइममा अपराजित

पहिलो विश्वकप सहभागिता ४ खेल, ३ बराबरी र १ हार । विपक्षी विरुद्ध ४ गोल गर्दा ५ गोल बेहोरेको । गोलकिपर भोजिन्हाको उत्कृष्ट बचाउ अनी सामाजिक सञ्जालमा चुलिएको चर्चा ।

फिफा विश्वकप २०२६ मा केप भर्डेको तथ्याङ्क हेर्दा यति नै हो । तर केप भर्डेले विश्वकपमा गरेको प्रदर्शन र पाएको चर्चा त्यो तथ्याङ भन्दा हजारौँ गुणा बढी छ । त्यसको जति चर्चा र तारिफ गरेपनि कम हुन्छ ।

पहिलो पटक विश्वकपमा सहभागि जनाएको केप भर्डे दुई पूर्व विजेता स्पेन र उरुग्वे जस्ता बलिया टिम रहेको समूहमा थियो । यस समूहमा पछिल्लो समया विश्वकप खेल्दै आएको साउदी अरेबिया पनि थियो । यस्तोमा केप भर्डेका लागि समूह चरण पार गर्नु चुनौती थियो ।

तर समूह चरणमा केप भर्डे अपराजित मात्र रहने स्पेन भन्दा पछि रहेर समूह उपविजेता बन्दै नकबउट चरणमा प्रवेश गर्‍यो ।

केप भर्डेले अप्रत्यासित नतिजा निकाल्ने क्रममा पहिलो खेलमै स्पेनलाई गोलरहित बराबरीमा रोकेर चर्चा बटुल्यो । त्यसमा खेलमा गोलकिपर भोजिन्हाले ७ सेभ गरेपनि उनको चर्चा पनि विश्वभर फैलियो ।

दोस्रो खेलमा दुई पटकको विश्व विजेता उरुग्लेलाई पनि केप भर्डेले उत्कृष्ट पुनरागमन गर्दै २-२ को बराबरीमा रोक्यो । दुई पटक पछि परेको अवस्थामा केप भर्डेले बराबरी गोल फर्काएर अंक खोसेको थियो ।

तेस्रो खेलमा साउदी अरेबिया विरुद्ध गोलरहित बराबरी खेलेपनि केप भर्डे समूहमा उरुग्वे भन्दा अघि रह्यो ।

स्पेन ७ अंक जोडेर समूह विजेता बन्दा ३ अंकसहित केप भर्डे उपविजेता बन्यो । अन्तिम खेलमा स्पेनसँग पराजित भएपछि उरुग्वे २ अंकसहित तेस्रो स्थानमा रह्यो ।

उत्कृष्ट ८ तेस्रो टोली नकआउट चरणमा पुग्ने प्रावधान रहेपनि उरुग्वे २ अंक मात्र हुँदा त्यसमा पनि पर्न सकेन । समूह चरणमा केप भर्डे तीनवटै खेलमा अपराजित रह्यो ।

समूह उपविजेता बनेपछि केप भर्डेले राउण्ड अफ ३२ र समूह जे को विजेता तथा साविक विजेता अर्जेन्टिनाको सामना गर्ने तय भयो ।

एकातिर लियोनल मेसीको विश्व विजेता टोली अर्जेन्टिना अर्कोतिर डेब्युटान्ट टोली केप भर्डे ।

यस खेलमा पनि केप भर्डे नियिमत ९० मिनेटमा अर्जेन्टिनालाई बराबरीमा रोक्न सफल भयो त्यो पनि एक गोल बेहोरेको अवस्थामा पुनरागमन गरेर ।

निर्धारित समयमा हार नमानेको केप भर्डे अतिरिक्त समयमा मात्र पराजित भएको हो ।

अर्जेन्टिना विरुद्ध केप भर्डे सहजै पराजित हुने वा अर्जेन्टिनाले ३/४ गोल अन्तरले जित्ने धेरैले अनुमान गरेपनि मैदान भने त्यस्तो भएन ।

अर्जेन्टिना विरुद्ध देखाएको साहसले गर्दा केप भर्डेको सबैतिर तारिफ भयो । खेल हारेर पनि मन जितेको केप भर्डे । हारेर पनि म्याच विनर बनेको केप भर्डे यस्तै यस्तै ।

भोजिन्हा : दी वाल

केप भर्डे यस विश्वकपको कथा बन्दा त्यसको नायक बने ४० वर्षिय गोलकिपर भोजिन्हा ।

भोजिन्हाले विश्वकप विजेता स्पेन र अर्जेन्टिना जस्ता टिम विरुद्ध शानदार प्रदर्शन गरे । स्पेन विरुद्ध ८ बचाउ गरेका उनले अर्जेन्टिना विरुद्ध ७ बचाउ गरे ।

केप भर्डेलाई गोल बेहोर्नबाट रोक्ने यी भोजिन्हा अर्थात दी वाल नै थिए ।

विश्वकपको डेब्यु खेलमै भोजिन्हाले २०१० को विजेता स्पेनलाई बराबरीमा रोक्न शानदार प्रदर्शन गरे । त्यसपछि उनले आँशु झार्दै गर्वको साथ केप भर्डेको झण्डा दुई हातले टाउकोमाथि उठाएको तस्विर भाइरल बनेको थियो ।

त्यसपछि उनी तत्कालै ‘कल्ट हिरो’ बने । तर उनको चर्चा त्यो तस्बीर वा इमोसन मात्र थिएन । उनले मैदानमा देखाएको उत्कृष्ट प्रदर्शनले गर्दा उनी सुपर स्टार जस्तै बनेका थिए ।

सानो देशको ठूलो प्रदर्शन : रेगुलर टाइममा नहारेको केप भर्डे

४० वर्षको उमेरमा पहिलो पटक विश्वकप खेल्नु, विश्वकप अघि कहिल्यै खासै नाम नसुनिनु अनी विश्वकपको डेब्यु खेलमै शानदार प्रदर्शनपछि भोजिन्हाको सामाजिक सञ्जालमा पछ्याउनेहरुको संख्या पनि ह्वात्तै बढेको थियो ।

भोजिन्हाले अर्जेन्टिना विरुद्ध ८ सेभ गरेपछि यस विश्वकपमा उनले कूल १८ बचाउ गरे । कुरासाओका इयान रुम (२०) र पाराग्वेका अर्मान्डो गिल (१९) पछि उनी सर्वाधिक बचाउने गर्ने गोलकिपरमा तेस्रो स्थानमा छ ।

भोजिन्हाको विश्वकपको रोमाञ्चक यात्रा सकिएको छ । पोर्चुगलको दोस्रो डिभिजनको क्लब चाभेससँग उनको सम्झौता पनि सकिएको छ । उनी अहिले क्लब विहिन छन् । अब उनले कुन क्लबबाट खेल्नेछन् त्यो चासोको विषय बनेको छ । सम्भवत कुनै ठूला क्लबले उनलाई अनुबन्ध गर्न सक्छन् । त्यो समयले नै बताउँनेछ ।

तर नेभिल भने भोजिन्हाले क्लब विहिन भएर बस्नु नपर्ने बताउँछन् । ‘विश्वकपको प्रदर्शन पछि उनले एउटा राम्रो क्लब पाउनेछन् ।’

यस्तै इयान राइटले अर्जेन्टिना विरुद्धको प्रदर्शनपछि भोजिन्हामा ‘नायकको जस्तो ऊर्जा’ रहेको बताए ।

Cover Photo: IMAGO / Sports Press Photo





Source link

Leave a Comment