नेपाली समुदाय र अमेरिकी कर प्रणाली: के जान्न जरुरी छ ?- विराज रिजाल, सीपीए



प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार

नेपाली समुदाय र अमेरिकी कर प्रणाली: के जान्न जरुरी छ ?- विराज रिजाल, सीपीए

विराज रिजाल एक अनुभवी तथा उच्च दक्षता प्राप्त वित्तीय विज्ञ हुनुहुन्छ । जसले लेखा, कर परामर्श तथा प्रमाणित सार्वजनिक लेखापरीक्षक (सीपीए)का रूपमा दुई दशकभन्दा बढी समयदेखि निरन्तर र समर्पित सेवा प्रदान गर्दै आउनुभएको छ । उहाँले प्रतिष्ठित चार्टर्ड ग्लोबल म्यानेजमेन्ट एकाउन्टेन्ट (सीजीएमए) उपाधि हासिल गर्नुभएको छ । अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड (आईएफआरएस) तथा अमेरिकी सामान्य स्वीकृत लेखा सिद्धान्त (यूएस जीएएपी)अन्तर्गत विविध र जटिल कार्यानुभव सँगाल्दै उहाँले विभिन्न वित्तीय परिवेशमा उत्कृष्ट पेसागत दक्षता प्रदर्शन गर्नुभएको छ । येलो बुक अडिटजस्ता प्रमाणीकरण सेवामा विशेष निपुणता राख्नुका साथै अन्तर्राष्ट्रिय करसम्बन्धी जटिल विषयहरूमा रणनीतिक तथा दीर्घकालीन परामर्श प्रदान गर्ने उहाँको विशिष्ट क्षमता रहेको छ । साना व्यवसायलाई प्रारम्भिक स्थापना चरणदेखि दीर्घकालीन विकाससम्म मार्गदर्शन गर्नुका साथै गैरनाफामूलक संस्थाहरूलाई विशेष वित्तीय परामर्श प्रदान गर्दै उहाँले संस्थागत सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आउनुभएको छ ।

कर तथा लेखा क्षेत्रका एक स्थापित विचार–नेताका रूपमा उहाँले विभिन्न पत्रपत्रिका तथा टेलिभिजन कार्यक्रममार्फत जटिल कर तथा वित्तीय विषयहरूलाई सर्वसाधारणले सहज रूपमा बुझ्ने भाषामा प्रस्तुत गर्दै आउनुभएको छ । आधुनिक कम्प्युटराइज्ड लेखा प्रणालीको स्थापना, आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण तथा कर्मचारी तालिममा समेत उहाँको विशेष दक्षता छ । जसले संस्थाहरूलाई आफ्ना वित्तीय प्रक्रिया पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन महत्त्वपूर्ण सहयोग पु¥याएको छ । करसम्बन्धी पेसेवरहरूको समिति तथा साना फर्म व्यवस्थापन समितिमा सक्रिय भूमिका निर्वाह गर्दै उहाँले पेसागत उन्नयन र नीतिगत संवादमा समेत उल्लेखनीय योगदान दिँदै आउनुभएको छ । एमबीए तथा कर विशेषतासहितको लेखा विषयमा स्नातकोत्तर (एमएस÷एसीसी–ट्याक्सेसन) उपाधि हासिल गर्नुभएका उहाँ अमेरिकन इन्स्टिच्युट अफ सर्टिफाइड पब्लिक एकाउन्टेन्ट्स (एआईसीपीए) तथा न्युयोर्क स्टेट सोसाइटी अफ सर्टिफाइड पब्लिक एकाउन्टेन्ट्स (एनवाईएसएससीपीए)का सक्रिय सदस्य हुनुहुन्छ । उच्च व्यावसायिकता, पारदर्शिता र कडा नैतिक मापदण्डप्रति प्रतिबद्ध रहँदै उहाँले निरन्तर गुणस्तरीय सेवा प्रदान गर्दै आउनुभएको छ ।

हामीले उहाँसँग करसम्बन्धी समसामयिक विषयमा विशेष अन्तर्वार्ता लिएका छौं । जसमा उहाँले कर नीति, कर योजना, अनुपालन, जोखिम व्यवस्थापन तथा व्यावहारिक पक्षबारे महत्त्वपूर्ण र उपयोगी जानकारी साझा गर्नुभएको छ ।

अचेल आईआरएसका नाममा ठगी गर्ने फोन कल, इमेल र चिठीहरू धेरै आउने गरेका छन् । एक जना सामान्य व्यक्तिले कसरी यो स्क्याम हो भनेर छुट्ट्याउने ?
हो, प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको विकाससँगै स्क्यामरहरू पहिलेभन्दा धेरै चलाख भएका छन् । उनीहरूले अब एआईको प्रयोग गरेर सरकारी अधिकारीकै जस्तो आवाज निकाल्ने भ्वाइस क्लोनिङ वा आधिकारिक नम्बरजस्तो देखिने गरी फोन नम्बर स्पुफिङ गर्न सक्छन् । तपाईंको समुदायलाई सुरक्षित राख्न केही मुख्य रेड फ्ल्यागहरू चिन्नु जरुरी छ । यदि कसैले फोन गरेर ‘तपाईंलाई अहिल्यै पक्राउ गरिँदै छ’, ‘प्रहरी घरमै आउँदै छ’ वा ‘तपाईंको देशनिकाला हुँदै छ’ भनी धम्क्याउँछ भने त्यो १०० प्रतिशत ठगी हो । किनकि, आईआरएसले कहिल्यै पनि फोनमा यस्तो धम्की दिँदैन । आईआरएसले गिफ्ट कार्ड (जस्तै– आइट्युन्स, टार्गेट, अमेजन), वायर ट्रान्सफर (वेस्टर्न युनियन वा मनिग्राम) वा क्रिप्टोकरेन्सी (बिटक्वाइन)मार्फत कर तिर्न पनि कहिल्यै भन्दैन ।

स्क्यामरहरूले ‘अहिल्यै निर्णय लिनुस्’ वा ‘एक घण्टाभित्र पैसा नतिरे जरिवाना दोब्बर हुन्छ’ भन्दै हतार र दबाब सिर्जना गर्छन् । तर, आधिकारिक प्रक्रियामा जहिले पनि पुनरावलोकन र अपिल गर्ने समय दिइन्छ । अचेल भिडियो कलमा समेत नक्कली सरकारी अधिकारी बनेर कुरा गर्ने प्रविधि आएको छ । तर, सरकारी कार्यालयले कहिल्यै पनि फेस टु फेस भिडियो कलमार्फत भुक्तानी माग्दैनन् । साथै आईआरएसले करसम्बन्धी कुनै पनि समस्या भएमा सबैभन्दा पहिले अमेरिकी हुलाक यूएसपीएसमार्फत आधिकारिक पत्र पठाउँछ । फोन, इमेल वा सोसल मिडिया (ह्वाट्सएप वा फेसबुक)बाट पहिलो सम्पर्क गर्दैन । यदि शंका लाग्यो भने तुरुन्तै फोन काट्नुहोस् । आईआरएस डट जीओभीमा गएर आधिकारिक नम्बरमा आफैं कल गरी बुझ्नुहोस् । कसैले दिएको कल ब्याक नम्बरमा कहिल्यै पनि फोन नगर्नुहोस् ।

यदि साँचो आईआरएसबाट चिठी आयो भने के गर्ने ? के डराउनुपर्ने अवस्था हो ?
आईआरएसबाट चिठी आउनुको अर्थ जहिले पनि ‘समस्या’ वा ‘सजाय’ भन्ने हुँदैन । त्यसैले अत्तालिनुपर्दैन । धेरैजसो अवस्थामा यो केवल थप जानकारी मागिएको वा सामान्य हिसाब मिलान मात्र हुन्छ । आईआरएसले हरेक वर्ष लाखौं चिठी पठाउँछ । कहिलेकाहीं तपाईंले बुझाएको डब्लू–२ वा १०९९ को विवरण र कम्पनीले पठाएको विवरणमा सानो अंक फरक पर्दा पनि स्वचालित रूपमा चिठी आउन सक्छ । चिठी आएपछि सूचना नम्बर जाँच गर्नुहोस् । जुन सीपी वा एलटीआरबाट सुरु हुने कोड (जस्तै– सीपी२०००) हुन्छ र चिठी किन आएको हो भन्ने बताउँछ ।

आफ्नो नाम, सामाजिक सुरक्षा नम्बर एसएसएन र ट्याक्स वर्ष सही छ कि छैन ? रुजु गर्नुहोस् । दिइएको समयसीमा, प्रायः ३० देखि ९० दिन, बेवास्ता नगर्नुहोस् । किनकि, ढिला गरेमा जरिवाना वा ब्याज थपिन सक्छ । मागिएका कागजातहरू सुरक्षित राख्नुहोस् । आवश्यक परे सीपीए वा ट्याक्स प्रोफेसनलसँग सल्लाह लिनुहोस् । यदि तपाईंलाई चिठीमा भनिएको कुरा चित्त बुझेन भने असहमत हुने र प्रमाण पेस गर्ने अधिकार तपाईंलाई हुन्छ ।

बाहिरबाट हेर्दा उस्तै देखिने नक्कली र सक्कली चिठी कसरी छुट्ट्याउने ?
स्क्यामरहरूले दुरुस्तै देखिने लोगो र सरकारी छाप प्रयोग गरेर नक्कली चिठी पठाउन सक्छन् । तर, केही स्पष्ट संकेतहरूबाट छुट्ट्याउन सकिन्छ । आईआरएस डट जीओभीमा गएर आफ्नो अनलाइन एकाउन्ट लगइन गरी ‘नोटिस एन्ड लेटर्स’ सेक्सनमा डिजिटल कपी जाँच गर्नु सबैभन्दा सुरक्षित उपाय हो । सक्कली वेबसाइट सधैं डट जीओभीमा टुंगिन्छ । डट कम, डट नेट वा डट अर्ग भए शंका गर्नुपर्छ ।

सीपी२००० वा एलटीआर १२ सीजस्ता सूचना नम्बर हुन्छन् । जसलाई आधिकारिक साइटमा खोजेर पुष्टि गर्न सकिन्छ । आईआरएसले पैसा माग्दा जहिले पनि ‘यूएस ट्रेजरी’का नाममा मात्र भुक्तानी बनाउन भन्छ । नक्कली चिठीमा व्याकरण गल्ती, तुरुन्तै पक्राउ वा देशनिकालाजस्ता धम्की वा गिफ्ट कार्ड, जेल, भेनमो, पेपाल, वायर ट्रान्सफर, बिटक्वाइनजस्ता असामान्य माग हुन्छन् भने त्यो ठगी हो ।

नेपाली समुदायमा ट्याक्स फाइल गर्दा सबैभन्दा बढी देखिने गल्ती के हुन् ?
नेपाली समुदायमा प्रायः नगद आम्दानी र टिप्स रिपोर्ट नगर्ने, गलत फाइलिङ स्टाटस छान्ने, नियम नपुगी डिपेन्डेन्ट दाबी गर्ने, विदेशी बैंक खाता र आम्दानी लुकाउने (एफबीएआर वा फ्याट्का नियम उल्लंघन गर्ने) र व्यावसायिक खर्च बढाइचढाइ देखाउनेजस्ता गल्तीहरू देखिन्छन् । कर बचाउनु कानुनी हो तर कर छल्नु अपराध हो भन्ने कुरा सधैं याद राख्नुपर्छ ।

नेपालमा भएको आम्दानी अमेरिकामा किन रिपोर्ट गर्ने ?
यदि तपाईं अमेरिकी नागरिक, ग्रिनकार्ड होल्डर वा कर प्रयोजनका लागि रेसिडेन्ट एलियन हुनुहुन्छ भने विश्वभरको आम्दानी रिपोर्ट गर्नु अनिवार्य हुन्छ । वर्षको कुनै समयमा विदेशी बैंक खाताहरूको कुल रकम १०,००० डलर वा बढी भए एफबीएआर भर्नुपर्छ । नेपालमा भएको घरभाडा, ब्याज, डिभिडेन्ड, क्यापिटल गेन्सजस्ता आम्दानी पनि रिपोर्ट गर्नुपर्छ । यदि नेपालमा कर तिरिसक्नुभएको छ भने फरेन ट्याक्स क्रेडिट (फाराम १११६) प्रयोग गरेर दोहोरो करबाट बच्न सकिन्छ । १,००,००० डलरभन्दा बढी उपहार आए फाराम ३५२० मार्फत स्रोत खुलाउनुपर्छ ।

‘हामी बढी रिफन्ड निकालिदिन्छौं’ भन्ने ट्याक्स अफिसहरू कति भरपर्दा हुन्छन् ?
अमेरिकाको कर कानुन सबैका लागि एउटै हुन्छ । त्यसैले जादु गरेर रिफन्ड बढाउन सकिँदैन । यदि कसैले अस्वाभाविक रूपमा बढी रिफन्डको आश्वासन दिन्छ भने उसले गलत विवरण भर्ने सम्भावना हुन्छ । ट्याक्स फाइलमा हस्ताक्षर तपाईंको हुने भएकाले जिम्मेवारी पनि तपाईंको नै हुन्छ । व्यावसायिक प्रिपेयररले सधैं आफ्नो पिटिन नम्बर प्रयोग गर्छन् । रिफन्डको प्रतिशतमा शुल्क लिनु गैरकानुनी हो ।

ट्याक्स फाइल गर्नु र भविष्यको योजनाबीच के सम्बन्ध छ ?
ट्याक्स फाइल गर्नु भनेको केवल पैसा तिर्नु मात्र होइन, भविष्य सुरक्षित गर्नु पनि हो । सोसल सेक्युरिटीका लागि ४० क्रेडिट अर्थात् कम्तीमा १० वर्ष काम गरेर ट्याक्स तिर्नुपर्छ । आईआरए वा ४०१केजस्ता रिटायरमेन्ट खातामा लगानी गर्दा अहिले कर घट्छ र भविष्यका लागि बचत बढ्छ । राम्रो क्रेडिट स्कोरले कम ब्याजदरमा ऋण पाउन मद्दत गर्छ । कम्पाउन्ड इन्ट्रेस्टले दीर्घकालीन सम्पत्ति निर्माण गर्छ ।

वन बिग ब्युटिफुल बिलका फाइदा र चुनौती के छन् ?
यो ऐनले छोटो अवधिमा मानक कटौती वृद्धि, टिप्स र ओभरटाइममा कर छुट र चाइल्ड ट्याक्स क्रेडिट वृद्धिजस्ता फाइदा दिन सक्छ । जसले हातमा बढी रिफन्ड वा कम कर दायित्व ल्याउँछ । दीर्घकालीन रूपमा रिटायरमेन्ट खातामा लगानीमार्फत सम्पत्ति निर्माण गर्न सहयोग पुग्छ । र, साल्ट क्याप ४०,००० डलरसम्म बढ्नु घरधनीहरूका लागि राहत हुन सक्छ । तर, नीति अस्थायी हुन सक्ने, स्क्यामको जोखिम बढ्न सक्ने र ईभी क्रेडिट अन्त्य हुन सक्नेजस्ता चुनौती पनि छन् ।
आधारभूत वित्तीय ज्ञान के आवश्यक छ ?

एक सामान्य परिवारले ५०-३०-२० बजेट नियम अपनाउनु उपयुक्त हुन्छ । जहाँ ५० प्रतिशत आवश्यक खर्च, ३० प्रतिशत व्यक्तिगत चाहना र २० प्रतिशत बचत वा ऋण तिर्न प्रयोग गरिन्छ । पैसा केवल बचत खातामा राख्नु पर्याप्त हुँदैन । लगानी पनि आवश्यक हुन्छ । राम्रो क्रेडिट स्कोर, विशेषगरी ७२० भन्दा माथि राख्ने प्रयास गर्नुपर्छ । साथै कम्तीमा ३ देखि ६ महिनाको घरखर्च धान्ने आकस्मिक कोष तयार राख्नु अत्यन्त आवश्यक छ ।

सोसल सेक्युरिटी क्रेडिटको महत्त्व के हो ?
रिटायरमेन्टपछि पेन्सन र मेडिकेयर सुविधा पाउन ४० क्रेडिट आवश्यक हुन्छ । एक वर्षमा अधिकतम ४ क्रेडिट मात्र कमाउन सकिने भएकाले कम्तीमा १० वर्ष इमानदारीपूर्वक काम गरेर ट्याक्स तिर्नुपर्छ । दम्पती दुवैले काम गरेमा दुवैको नाममा ट्याक्स रिपोर्ट गर्दा भविष्य सुरक्षित हुन्छ । एसएसए डट जीओभीमा गएर ‘माई सोसल सेक्युरिटी’ एकाउन्ट खोलेर आफ्नो क्रेडिट, विगतको आम्दानी र सम्भावित मासिक पेन्सन विवरण हेर्न सकिन्छ । तपाईंको जीवनभरको औसत कमाइले भविष्यको मासिक पेन्सन निर्धारण गर्छ । त्यसैले पारदर्शी रूपमा ट्याक्स तिर्नु आफ्नै बुढेसकालको सुरक्षामा लगानी गर्नु हो ।

यो सामग्री खसोखासको १४ औं वार्षिकोत्सव विशेषांकमा प्रकाशित सामग्री हो । डिजिटल संस्करणमा यो सामग्री पढ्न यहाँ क्लिक गर्नुहोला।

यस संस्करणको हार्डकपी नि:शुल्क प्राप्त गर्न क्लिक गर्नुहोस्। (नोट: १६८ पृष्ठको यो विशेष अंक करिब एक पाउन्ड तौलको भएकाले डेलिभरी शुल्क भने पाठक स्वयंले ब्यहोर्नुपर्नेछ।)





Source link

Leave a Comment