रातको करिब साढे दश बजेको थियो। मोबाइलको स्क्रिनमा ‘आमा’ लेखिएको देखेँ अनि फोन उठाएँ।
उताबाट थाकेको स्वर आयो -‘बाबु, यता त असाध्यै गर्मी छ। बत्ती पनि झ्याप्प–झ्याप्प गइरहन्छ। पङ्खा नचलेर निद्रै परेन।’
आमाको यो एउटा साधारण वाक्यले मेरो वर्षौंको पढाइ, इन्जिनियरिङको प्रमाणपत्र र पेसागत गर्वलाई एकै छिनमा मौन बनाइदियो। म काठमाडौंको उज्यालो कोठामा पङ्खाको शीतल हावामा थिएँ तर मेरो मन भने गाउँको त्यो अँध्यारो कोठामा पुगिसकेको थियो, जहाँ मेरी वृद्ध आमा पसिना पुछ्दै बत्ती आउने प्रतीक्षामा रात काटिरहनुभएको थियो। त्यो क्षण मेरी आमा केवल मेरो घरकी आमा मात्र रहनुभएन। उहाँ त बारम्बारको विद्युत् अवरोधले असहज जीवन बिताइरहेका लाखौं नेपाली आमाहरूको प्रतिनिधि बन्नुभयो। उहाँसँगै मैले गर्मीले छटपटाइरहेका वृद्ध आमाबुबा, सुत्न नसकेका बालबालिका र बत्ती आउने प्रतीक्षामा झ्यालतिर टोलाइरहेका असंख्य परिवारहरूको अनुहार देख्न थालेँ। त्यो एउटा फोनले मलाई फेरि सम्झाइदियो– प्रणालीमा देखिने एउटा सामान्य ट्रिपिङ वा केही मिनेटको विद्युत् अवरोध प्राविधिक दृष्टिले सानो घटना हुन सक्छ तर उपभोक्ताको जीवनमा त्यसको प्रभाव निकै ठुलो हुन्छ। यही अनुभूतिले मेरो मनमा धेरै प्रश्नहरू जन्मायो।
पछिल्ला केही समययता देशका धेरै स्थानबाट एउटै गुनासो सुनिन थालेको छ। बत्ती झ्याप्प–झ्याप्प जान्छ। कतै केही मिनेट त कतै धेरै बेरसम्म सेवा अवरुद्ध हुन्छ। सामाजिक सञ्जालमा प्रश्नहरू बढेका छन्। वितरण केन्द्रमा गुनासो लिएर पुग्ने नागरिकको संख्या बढेको छ। सञ्चार माध्यमका प्रतिनिधिहरू पनि विद्युत् कार्यालय र सबस्टेसन पुगेर जिम्मेवार अधिकारीसँग एउटै प्रश्न दोहोर्याइरहेका छन् – ‘किन बारम्बार बत्ती जान थालेको हो ?’
केही वर्षयता नेपाल विद्युत् प्राधिकरण नाफामा छ। यो गौरवको विषय हो। यस उपलब्धिका पछाडि हजारौं कर्मचारी, प्राविधिक, इन्जिनियर र व्यवस्थापनको अथक मेहनत, समर्पण र जिम्मेवारी छ तर विद्युत् सेवा केवल नाफाले मापन हुने क्षेत्र होइन, यो जनताको दैनिक जीवनसँग गाँसिएको सार्वजनिक जिम्मेवारी हो। जनताले महसुल तिर्छन्, बदलामा उनीहरू केवल बिजुली मात्र खोजिरहेका हुँदैनन, उनीहरू भरपर्दो सेवा, समयमै सूचना र आफ्नो समस्याप्रति संवेदनशील तथा उत्तरदायी संस्था खोजिरहेका हुन्छन्। विद्युत् सेवाको वास्तविक मूल्य कुनै आर्थिक प्रतिवेदनका अंकमा सीमित हुँदैन। त्यो त बिरामीको समयमै उपचारमा, विद्यार्थीको निर्बाध अध्ययनमा, किसानको निरन्तर श्रममा, उद्योगको अविच्छिन्न सञ्चालनमा र अन्ततः गर्मीको रात एउटा आमाले ढुक्कसँग सुत्न पाएको सन्तुष्टिमा प्रतिविम्बित हुन्छ। कहिलेकाहीं मनमा एउटै प्रश्न उठ्छ– एउटी आमाको ननिदाएको रातभन्दा ठुलो कुनै नाफा हुन सक्छ र ? आखिर सार्वजनिक संस्थाको सबैभन्दा ठुलो उपलब्धि आर्थिक प्रतिवेदनमा होइन, नागरिकको अनुहारमा झल्किने भरोसा, सन्तुष्टि र विश्वासमा लेखिएको हुन्छ।
आज नेपालले विद्युत् उत्पादनमा ऐतिहासिक फड्को मारेको छ। केही वर्षअघिसम्म लोडसेडिङको पीडा भोगेको देश आज विद्युत् निर्यात गर्ने अवस्थासम्म पुगेको छ। यो उपलब्धि संयोगले आएको होइन। यसको पछाडि हजारौं कर्मचारी, प्राविधिक, इन्जिनियर, योजनाकार र नीति निर्माताको वर्षौंको मेहनत, समर्पण र त्याग छ। अब हाम्रो अर्को यात्रा उत्पादनमा प्राप्त यो सफलतालाई उपभोक्ताले प्रतिदिन अनुभूति गर्ने भरपर्दो वितरण सेवामा रूपान्तरण गर्नु हो। आजको आवश्यकता उत्पादन मात्र बढाउने होइन, उत्पादन, प्रसारण र वितरणलाई समान रूपमा भरपर्दो बनाउने हो किनकि नदीबाट निस्किएको ऊर्जा हरेक घर, विद्यालय, अस्पताल, खेत र उद्योगसम्म बिनाअवरोध पुग्न सकेपछि मात्र विद्युत् विकासले आफ्नो पूर्ण अर्थ पाउँछ।
नेपाल विद्युत् प्राधिकरणका करिब बाह्र हजार कर्मचारीमध्ये धेरैले वर्षा, बाढी, पहिरो, हिमपात र मध्यरातको अन्धकारमा समेत उज्यालो फर्काउने जिम्मेवारी निर्वाह गरेका छन्। नियन्त्रण कक्षमा बसेर प्रणाली सञ्चालन गर्ने अपरेटरदेखि जोखिम मोलेर खम्बा चढ्ने लाइनम्यानसम्म, यो संस्था हजारौं मानिसको पसिना, समर्पण र जिम्मेवारीमा उभिएको छ तर यही यात्राबिच ड्युटीकै क्रममा भएका केही दुर्घटना, गुमेका सहकर्मी र घाइते भएका प्राविधिकका समाचारले हामीलाई अर्को यथार्थ पनि सम्झाइरहेका छन्। भरपर्दो विद्युत् सेवा जति महत्त्वपूर्ण छ, त्यो सेवा दिने कर्मचारीको सुरक्षा पनि त्यत्तिकै महत्त्वपूर्ण छ। उज्यालो दिन घरबाट निस्किएको प्रत्येक कर्मचारी सुरक्षित रूपमा आफ्नै परिवारमा फर्किनु पनि संस्थाको सफलताको एउटा अपरिहार्य मापदण्ड हो।
अब हाम्रो यात्रा समस्या आएपछि मात्र समाधान खोज्ने प्रतिक्रियामूलक कार्यशैलीबाट समस्या आउनुअघि नै त्यसको संकेत चिन्ने र जोखिम पहिचान गरेर समाधान गर्ने पूर्वसक्रिय संस्कृतितर्फ मोडिनुपर्छ। प्रत्येक ट्रिपिङलाई एउटा सामान्य प्राविधिक घटना होइन, भोलिलाई अझ राम्रो बनाउने अवसरका रूपमा लिनुपर्छ। किन ट्रिप भयो ? किन त्यही समस्या बारम्बार दोहोरियो ? त्यसलाई स्थायी रूपमा कसरी रोक्न सकिन्छ ? यस्ता प्रश्नको इमानदार खोज नै भरपर्दो विद्युत् सेवाको सुरुवात हो।
यसका लागि निर्णय अनुमानबाट होइन, तथ्यबाट निर्देशित हुनुपर्छ। सम्पूर्ण वितरण सञ्जालको भौगोलिक सूचना प्रणालीमा नक्सांकन, सम्पत्तिको डिजिटल अभिलेख, विश्वसनीयता सूचकहरूको नियमित विश्लेषण, जोखिमयुक्त उपकरणको समयमै पहिचान, फिडर लुपिङ, संरक्षण प्रणालीको आवधिक समीक्षा, प्रत्येक ट्रिपिङको मूल कारण विश्लेषण तथा कृत्रिम बुद्धिमत्ता र पूर्वानुमानमा आधारित मर्मत प्रणालीजस्ता आधुनिक प्रविधिको प्रयोगले समस्या देखिएपछि मात्र दौडिने होइन, समस्या आउनुअघि नै रोक्ने क्षमता विकास गर्न सक्छ।
यससँगै सामग्री व्यवस्थापनलाई पनि आधुनिक र योजनाबद्ध बनाउन आवश्यक छ। भरपर्दो विद्युत् सेवा केवल दक्ष जनशक्ति र आधुनिक प्रविधिले मात्र सम्भव हुँदैन, आवश्यक उपकरण, स्पेयर पाट्र्स र मर्मत सामग्री सही स्थानमा, सही समयमा र पर्याप्त परिमाणमा उपलब्ध हुनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। आज धेरै स्थानमा सामान्य उपकरणको अभाव, खरिद प्रक्रियामा हुने ढिलाइ, मागको यथार्थपूर्वक पूर्वानुमान गर्न नसक्नु तथा गोदाम व्यवस्थापनको कमजोरीका कारण सानो प्राविधिक समस्या समाधान गर्नसमेत अनावश्यक समय लाग्ने अवस्था देखिन्छ। त्यसैले डिजिटल इनभेन्ट्री प्रणाली, मागको तथ्यमा आधारित योजना, न्यूनतम आवश्यक मौज्दातको सुनिश्चितता, महत्त्वपूर्ण उपकरणहरूको रणनीतिक भण्डारण तथा खरिद प्रक्रियालाई पारदर्शी, छरितो र पूर्वानुमानमा आधारित बनाउनु आजको अपरिहार्य आवश्यकता हो।
त्यससँगै कार्यसंस्कृति पनि परिवर्तन हुनुपर्छ। राम्रो काम गर्ने कर्मचारीले सम्मान पाउनुपर्छ, नयाँ सोच ल्याउने कर्मचारीले प्रोत्साहन पाउनुपर्छ, सुधारको सुझाव दिने कर्मचारीले निर्धक्क बोल्न पाउनुपर्छ र कमजोरी देखिँदा त्यसलाई लुकाउने होइन, समाधान खोज्ने संस्कार विकास हुनुपर्छ। एउटा वितरण केन्द्रले सिकेको पाठ अर्को वितरण केन्द्रसम्म सहजै पुग्नुपर्छ। फिल्डमा वर्षौं काम गरेर आर्जन गरिएको अनुभव फाइलभित्र सीमित नभई संस्थाको साझा ज्ञान बन्नुपर्छ। नियन्त्रण कक्षमा बसेको अपरेटर, जोखिम मोलेर खम्बा चढ्ने लाइनम्यान, सबस्टेसनका प्राविधिक, वितरण केन्द्रका इन्जिनियर र व्यवस्थापन, सबै एउटै उद्देश्यसाथ नियमित रूपमा बसेर तथ्य, अनुभव र समाधानमाथि छलफल गर्ने संस्कृतिको विकास हुनुपर्छ।
आमा ! तपाईंलाई ठुला–ठुला आश्वासन दिएर ढुक्क पार्ने शब्द मसँग छैनन् तर एउटा दृढ विश्वास भने छ– हामीसँग ज्ञान छ, दक्षता छ, दशकौंको अनुभव बोकेका कर्मचारी छन्, आधुनिक प्रविधि छ, चुनौतीलाई अवसरमा बदल्ने क्षमता छ र देशलाई उज्यालो बनाइराख्ने अदम्य इच्छाशक्ति पनि छ। हामीलाई नयाँ चमत्कार गर्नुपर्ने होइन, हामीसँग भएको ज्ञान, सिप, अनुभव र प्रविधिलाई सही नेतृत्व, उत्तरदायित्व, समन्वय र उत्कृष्ट कार्यसंस्कृतिसँग जोड्नुपर्ने मात्र हो। त्यो गर्न सक्यौं भने भरपर्दो विद्युत् सेवा कुनै सपना रहनेछैन, त्यो हरेक नागरिकको दैनिक अनुभूति बन्नेछ। त्यसैले हामी सिक्न, सुधार्न र निरन्तर अघि बढ्न कहिल्यै रोकिने छैनौं किनकि एउटा इन्जिनियरको वास्तविक परिचय उसका शब्दले होइन, उसका काम, उसका निर्णय र समाजप्रतिको जिम्मेवारीले निर्धारण गर्छ। मलाई विश्वास छ, त्यो दिन अवश्य आउनेछ। कुनै दिन तपाईंको फोनमा गुनासोको स्वर होइन, सन्तुष्टिको मुस्कान हुनेछ।
‘बाबु, धेरै दिन भयो, बत्ती गएकै छैन। गर्मी थियो, तर पङ्खा चलिरह्यो। मज्जाले निदाएँ’ सायद आमाको यही अनुभूति नै मेरो इन्जिनियरिङ जीवनको सबैभन्दा ठुलो पुरस्कार हुनेछ। त्यो दिन केवल मेरी आमाले मात्र होइन, नेपालका हरेक आमाले ढुक्कसँग निदाउन पाउनुहुनेछ। त्यही दिन हामीले घरघरमा केवल बिजुलीको उज्यालो मात्र होइन, भरोसा, सुरक्षा र जिम्मेवारीसहितको उज्यालो पुर्याएका हुनेछौं।
– पौडेल नेपाल विद्युत् प्राधिकरणका उपप्रबन्धक हुन्।
प्रकाशित: २० असार २०८३ ०६:०० शनिबार
