म सँग केही दुर्लभ किताब छन्, एउटैको ६० हजारसम्म परेको छ


News Summary

Generated by OK AI. Editorially reviewed.

  • समीक्षक एवं लेखक गुरुङ सुशान्तका सम्यक समालोचना र साहित्यको समाजशास्त्र लगायतका गैरआख्यान पुस्तकहरू प्रकाशित छन् ।
  • लेखक सुशान्तका लागि पुस्तक नै सबैभन्दा ठूलो सम्पत्ति हो र उनीसँग ६० हजार रुपैयाँसम्मका दुर्लभ पुस्तकहरू सङ्ग्रहित छन् ।

लामो समयदेखि कविता, आख्यान, गैरआख्यान, सिनेमा र नाटकको समीक्षा लेखिरहेका छन् गुरुङ सुशान्तले । उनका ‘सम्यक समालोचना’, ‘साहित्यको समाजशास्त्र’ र ‘इतर समीक्षा’ नामक गैरआख्यान पुस्तक प्रकाशित छन् । इतिहास, संस्कृति, समाजको गहिरो अध्ययन-अनुसन्धान गर्न उनीसँग यस पटक अनलाइनखबरले दिलै खोलेर कुराकानी गरेको छ:

१.हिजोआज

पछिल्लो समय के कुराले वा कुन समाचारले खुसी हुनु भयो ?

मेरी आमा अक्षर पढ्न सक्नुहुन्न । तर, पछिल्लो समय मैले लेखेका तीन किताब आमाको हातमा राखिदिँदा उहाँको मुस्कान देखेर खुसी भएको थिएँ । हुन त, मेरी आमालाई आफ्नो सन्तानले धन–दौलत कमाएको हेर्ने मन पनि थियो होला । तर, छोरोले लेखपढ गरेको कुरा पनि राम्रै काम हुनुपर्छ भन्ने सोचेर आमा खुसी हुनुभयो होला । 

दिक्क बनाएको कुरा ?

सुकुम्बासीलाई उठिबास लगाएर होल्डिङ सेन्टरमा राखियो । त्यहाँ राखिएकाहरूको हालत देखेर दुःख लाग्यो । बालबालिका, वृद्धवृद्धा तथा सुत्केरीको विजोग भएको देख्दा जोकोही मानिसको हृदय पग्लिन्छ होला । उपचार नपाई भेषराज दर्जीले ज्यान गुमाए । रविन तामाङ र इन्द्रबहादुर राईले त आत्महत्या नै गरेको खबर पढ्नु पर्यो । यस्तो खबरले सरकारलाई नछोएको र हामी जनता तथा स्थापित दलले खबरदारी नगरेको देख्दा दिक्क लाग्यो ।

अचेल सबैभन्दा रोचक लागेको विषय वा व्यक्ति ?

अचेल मेरा लागि रोचक पात्र महावीर पुन हुन् । उनलाई म राजनीतिक रूपमा सफल–असफलभन्दा पर राखेर सफा मनका व्यक्तिका रुपमा हेर्छु । त्यसैले उनले बोलेका कुरा रोचक लाग्छ ।

नेपाली समाजको सबभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?

ठूला–ठूला दुःखबाट बौरिएर फेरि पुरानै लयमा फर्कन सक्ने ताकत नै नेपाली समाजको राम्रो पक्ष हो जस्तो लाग्छ । तर, विगतका गल्तीहरूबाट नसिक्ने र भर्खरैको विगतलाई समेत आफ्नो स्मृतिबाट मेट्दै जाने प्रवृत्तिचाहिँ नराम्रो लाग्छ । 

पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? पत्रकारिता तपाईंलाई कस्तो लाग्छ ?

हाम्रो सूचनाको स्रोत नै पत्रपत्रिका र अनलाइन भएकाले म हेरिरहेकै हुन्छु । तर, पछिल्लो समय पत्रकारिताले गम्भीर विषयभन्दा ‘भाइरल कन्टेन्ट’ तिर जोड दिनु दुखद् पक्ष लाग्छ । ‘फलानाले झोल मःम खाँदै’, ‘फलानोको महाधिवेशनमा यस्ता खान्की’ या ‘फलानो सेलिब्रिटीको प्रेमी फलानो भएको खुलासा’ जस्ता समाचारले समाजमा कुनै लाभ नदिने मात्रै होइन, पाठकको बोध क्षमतालाई समेत अवमूल्यन गरिराखेका छन् ।

इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?

पुरानो समय फर्किने भए म संगीत सिक्थेँ र औपचारिक रुपमै मानवशास्त्र पढ्थेँ।

२.बाल्यकाल र किशोरावस्था

सानोमा सबैभन्दा बढी कुन खेल खेल्नुहुन्थ्यो ?

खोपी, चुङ्गी, खुट्टेकल र फुटबल नै धेरै खेलिन्थ्यो ।

साथीहरूले तपाईंको निकनेमहरू के-के राखिदिएका थिए ?

खासै याद छैन । तर, चौध वर्षअघि एमफिल पढ्दाताका एकाध साथीहरूले मलाई ‘गुरुङ बाजे’ भन्थे । सामान्यतया उमेर र साइनोबाहेक विभिन्न प्रसंगमा ब्राह्मण समुदायका पुरुषलाई ‘बाजे’ भन्ने गरिन्छ । तर, साथीहरू मलाई पो बेला–बेला ‘बाजे’ भन्थे । ब्राह्मणहरूको क्षेत्र ठानिएको खस नेपाली भाषा–साहित्यको विमर्शमा लागेको कारण मलाई त्यसो भनिएको थियो कि ! म छिट्टै रिसाएको बेलाचाहिँ ‘पेपे’ भन्थे कसैकसैले ।

तपाईंको कोहीसँग झगडा परेको थियो ?

हेपेर कसैले व्यवहार गर्दा प्रतिवाद गर्ने मेरो स्वभावका कारण कहिलेकाहीँ झगडा परेको याद छ । तर, लामो समयसम्म तुष पालेर कसैसँग दुश्मनी नसाँध्ने मेरो स्वभावले झगडाहरू पनि बिर्सिन्छु । अझ भनौं – म चाँडै माफी दिन सक्छु । र, नयाँ शिराबाट सम्बन्ध अगाडि बढ्छ ।

तपाईंको सेलिब्रेटी क्रस कोही थियो ?

उहिले उहिले हिन्दी सिनेमाका कलाकार रेखा, शाबना आजमीको अभिनय कुनै कविताभन्दा कम लाग्दैनथ्यो । बीएड पढ्दा पहिलो पटक साकिराको ‘ह्वेनएभर, ह्वेरएभर’ नामक म्युजिक भिडिओ हेरेर ‘फिदा’ जस्तो भएको थिएँ । त्यसलाई अचेलको चल्ती भाषामा सेलिब्रेटी क्रस भन्न मिल्छ कि! 

एक हदसम्म दीपिका पादुकोणलाई पनि त्यही नाम दिन सकिन्छ । तर, यस्ता भावना कलाप्रतिको सम्मान पनि हो कि ! तर, खासमा त्यस्ता सेलिब्रिटीप्रतिको आकर्षण घटबड भइरहन्छ । तर, बौद्धिक सेलिब्रिटीप्रतिको श्रद्धा र सम्मान भने लामो समय टिकिरहन्छ । 

म सँग केही दुर्लभ किताब छन्, एउटैको ६० हजारसम्म परेको छ
वैरागी काइँलासँग गुरुङ सुशान्त

बौद्धिक सेलिब्रिटी क्रसचाहिँ निःसन्देह अरुन्धती रोय हुन् । कतिसम्म भने कुनै बेला मेरा सामाजिक सञ्जालका पासवर्डमा अरुन्धतीको नाम थियो । उनका प्रायः किताब पढ्छु र उनका वैचारिक लेखनबाट कायल हुन्छु । 

उनको पछिल्लो पुस्तक ‘मदर मेरी कम्स टू मी’ प्रकाशन भएपछि उनी काठमान्डु आएकी थिइन् । उनले हस्ताक्षर गर्ने कार्यक्रम पनि थियो र म पाँच मिनेटको दूरीमै थिएँ । झोलामा उनका दुईवटा पुस्तक पनि बोकेर हिँडेको थिएँ । तर, पनि किन किन म उनलाई भेट्न गइनँ । 

पछि साथीहरुले हस्ताक्षर लिइरहेको तस्वीर सामाजिक सञ्जालमा हेरेर चित्त बुझाएँ ।

३.सिनेमा

पहिलोचोटि फिल्म हेर्दाको सम्झना कस्तो छ ?

मैले पहिलो पल्ट हेरेको फिल्म ‘वक्त’ जस्तो लाग्छ । यो हिन्दी फिल्म मैले पनौतीमा कसैको घरमा गएर टेलिभिजनमा हेरेको थिएँ । यो २०५० सालको असार महिनाको कुरा हो । म काठमान्डु आएको पहिलो पल्ट थियो । 

भर्खरै दासढुंगामा मदन भण्डारीको मृत्यु भएको घटनाले काठमान्डु तातिएको बेला थियो । मैले पहिलो पटक विद्यादेवी भण्डारीलाई प्रत्यक्ष सडकमा देखेको थिएँ । चर्चा भइरहेको राजनीति र आफूले हेरेको हिन्दी फिल्म दुवै मैले पूरा बुझ्न सकेको थिइनँ त्यो बेला ।

पछि हलमा गएर ‘कोसेली’ भन्ने नेपाली कथानक चलचित्र हेरेँ, गज्जब लाग्यो । तुलसी घिमिरे निर्देशित यस फिल्मको गीत ‘यो बाटो कहाँ जाने हो ?’ भन्ने गीतचाहिँ पछिसम्म सम्झिरहेँ । 

कस्ता फिल्म हेर्न मन पर्छ ?

दुई दशकयता त ‘आर्ट मुभी’को प्रशंसक हुँ । यस्ता सिनेमाप्रति आकर्षित गराउने कामचाहिँ मेरो साथी तथा लेखक अमर न्यौपानेले गरेको हो । उसले मलाई प्रायः हिन्दी सिनेमाको काव्यिकतासँग परिचय गराइदियो । 

सिनेमाका विविधता र यसको फराकिलो क्षितिज देखाउने कामचाहिँ लेखक कुमार नगरकोटी दाइले गर्नुभयो । हामी न्युरोडमा गएर भट्टराईजीको पसलबाट किलोका किलो डीभीडी किन्थ्यौं । 

कुनै बेलामा एकै दिन तीन-चार वटासम्म फिल्म हेर्थें । अनेक थरी फिल्म हेरेँ तर ‘साइलेन्स’ मुभी नै मेरो आफ्नो स्वाद बन्यो ।

 साह्रै मन परेका फिल्म ?

‘इन द सिटी अफ सिल्भिया’, ‘इजाजत’, ‘वाटर’, ‘कबड्डी’, ‘साम्बाला’, चिल्ड्रेन अफ हेभेन’, ‘स्प्रिङ, समर, फल, विन्टर एन्ड स्प्रिङ’, ‘नुमाफुङ’, ‘गाउँ आएको बाटो’, ‘जारी’, ‘घरज्वाइँ’ आदि । 

चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?

धेरै छन् ।

हेर्ने फिल्म कसरी छान्नुहुन्छ ?

फिल्म पारखी, फिल्म समीक्षक र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा बढी भर पर्छु । कतिपय त अब्बल निर्देशक र कलाकारका आधारमा पनि सिनेमाको गुणवत्ताका बारेमा आकलन गर्न सकिन्छ ।

नेपालमा कस्ता फिल्म धेरै बनुन् जस्तो लाग्छ ?

नेपाल बहुसांस्कृतिक मुलुक भएकाले यहाँका संस्कृति, इतिहास, दर्शन भूगोल दर्शाउने सिनेमा बनून् भन्ने लाग्छ । पछिल्लो समय सार्थक प्रयास पनि भइरहेका छन् । किनकि सिनेमा भनेको कोरा मनोरञ्जन नभई इतिहासको दस्तावेजीकरण र अभिव्यक्तिको सशक्त दृश्यभाषा हो भन्ने विचार राख्ने व्यक्तिहरु सिने क्षेत्रमा दत्तचित्तका साथ आएका छन् ।

४.पुस्तक

पुस्तकहरू कतिको पढ्नुहुन्छ ? पढ्दा कस्तो खालका पढ्नुहुन्छ ?

मैले आजसम्म कमाएको, जम्मा गरेको र जोगाउनु पर्ने केही छ भने त्यो पुस्तक नै हो । मैले गरेका खास काम नै पुस्तक पढ्नु र पुस्तकबारे छलफल गर्नु नै हुन् भन्ने लाग्छ । 

लेखपढ गर्ने काममै लागेकाले पनि एउटा पुस्तकबाट निस्केर अर्को पुस्तकमा छिर्छु । अध्ययनको सुरुआती चरणमा त आख्यानबाटै प्रवेश गरेर साहित्यका अन्य विधामा छरिएँ । पछिल्लो एक दशकयताचाहिँ गैरआख्यान अध्ययनमै छु । खासगरी संस्कृति र इतिहासमा केन्द्रित छु । साहित्य त आफ्नै क्षेत्र भइहाल्यो ।

मन परेका कुनै पुस्तक ?

धेरै छन् । तर, केही पुस्तकको नाम लिनु पर्दा आन्द्रे होफरको ‘द कास्ट हाइरार्की एन्ड द स्टेट अफ इन नेपाल’, डोरबहादुर विष्टको ‘फ्याटालिजम् एन्ड डेभलप्मेन्ट’, धनवज्र वज्राचार्यको ‘लिच्छविकालका अभिलेख’, सुदर्शनराज तिवारीको ‘द ब्रिक एन्ड द बुल’, अरुन्धती रोयको ‘माई सेडिसियस हार्ट’, कुमार नगरकोटीको ‘अक्षरगन्ज’, गोविन्द वर्तमानको ‘हरियो साइकल’, नारायण ढकालको ‘शोकमग्न यात्री’, नयनराज पाण्डेको ‘उलार’, बीपी कोइरालको ‘आफ्नो कथा’, पारिजातको ‘शिरीषको फूल’, उपेन्द्र सुब्बाको ‘लाटो पहाड’, राजन मुकारुङको ‘हेत्छाकुप्पा’, तीर्थ गुरुङको ‘हिउँको गीत’, श्रवण मुकारुङको ‘बिसे नगर्चीको वयान’, खगेन्द्र संग्रौलाको ‘सम्झनाका कुइनेटाहरू’, म्याक्सिम गोर्कीको ‘आमा’, पाओलो फ्रेरेको ‘पेडागोजी अफ अप्रेस्ड’, बर्नार्ड पिनेको ‘द गुरुङ्स’ आदि सम्झन्छु ।

तपाईंका प्रिय लेखकहरु ?

हर्क गुरुङ, निर्मल वर्मा, ओह्रान पामुक, मैनेजर पाण्डेय, अरुन्धती रोय, उदयप्रकाश, मनु ब्राजाकी, चिनुवा अचिवे, झुम्पा लाहिरी, शंकर लामिछाने, पारिजात, अविनाश श्रेष्ठ, धूमिल, उपेन्द्र सुब्बा, स्वप्निल स्मृति, रोशन शेरचन, इन्द्रबहादुर राई, श्रवण मुकारुङ, नारायण ढकाल, कुमार नगरकोटी, विनोदविक्रम केसी, खगेन्द्र संग्रौला, म्याक्सिम गोर्की, गोविन्द वर्तमान आदि ।

एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक वा कुनै पात्रसँग बिताउनुहुन्थ्यो ?

अरुन्धती रोय र पारिजात ।

नेपालमा के कस्तो विषयमा धेरै पुस्तक लेखिनुपर्छ ?

नेपालको इतिहास, संस्कृति, भूगोल र मानवशास्त्रीय पक्ष प्रस्ट्याउने किताब लेखिनु पर्छ ।

५ .घुमफिर र सोख 

घुमफिर गर्न कत्तिको रुचाउनुहुन्छ ?

स्वभावतः मानिस घुमफिर गर्न रुचाउने प्राणी भएकाले म पनि त्यसबाट भिन्न छैन । तर, दाल–भात–डुकुको समस्याले खासै घुम्न पाएको छैन । मनले त भन्छ – सारा काम पन्छाएर यायावर बनूँ । तर, मनोकामना र यथार्थको भूगोलबीच तालमेल छैन ।

सबभन्दा धेरै गएको र जान मन भएको ठाउँ ?

म धेरै गएको पोखरा हो । तमूवान क्षेत्र अर्थात् मेरो पुर्खाले हिँडेको बाटो भएर हो कि पोखरा मन पनि पर्छ । जान मन लागेको ठाउँ मुस्ताङ हो । गुरुङहरूको मानवशास्त्रीय अध्ययन गर्दा मुस्ताङ पनि एउटा प्रवेशमार्ग हो भन्ने देखिन्छ । 

सबभन्दा मन परेको ठाउँ वा यात्रा ?

आफ्नै जन्मभूमि रसुवा मन पर्छ । मलाई मेरो गाउँमाथिको लेक, वनजंगल डुल्दा ढुक्कको आनन्द आउँछ । 

गीत कत्तिको सन्नुहुन्छ ? सबभन्दा मन परेका गायक ?

मलाई साहित्य र सिनेमाप्रति रुचि जागाउने पहिलो माध्यम नै गीत-संगीत हो । गुरुङ हुनुको नाताले संगीत त मेरो रगतमै छ । 

म सँग केही दुर्लभ किताब छन्, एउटैको ६० हजारसम्म परेको छ

मलाई मन पर्ने गायकमा चाहिँ बब डिलन, बब मार्ली, जोन लेनन, ट्रेसी च्यापम्यान, पपोन, जगजित सिंह, किशोर कुमार, मोहित चौहान, बच्चु कैलाश, सुरेश कुमार, अमृत गुरुङ, अरुण थापा, अरुणा लामा, अम्बर गुरुङ, एड्रिन प्रधान, जीवन शर्मा आदि हुन् । 

आजभोलि कस्ता गीत, कसको गीत सुनिरहनु भएको छ ?

पुराना गीत दोहोर्‍याउने मात्रै हो । नयाँ पुस्तामा कोको छन् भनी यस्सो सुनिहेर्छु । म खासमा उहिलेउहिले पप गीत धेरै सुन्थें । नवीन भट्टराई, निमा रुम्बा, धीरज राई, बबिन प्रधान, मुक्ति एन्ड रिभाइभल, रविन एन्ड लुज, कुल पोखरेल, लोचन रिजाल, सञ्जीव प्रधानहरू खुब सुनिन्थ्यो । 

अचेलका सुशान्त केसी, कुमा सागर, मेलिना राई, समीक्षा अधिकारीहरू पनि सुनिरहेकै हुन्छु । तर, पछिल्लो समयचाहिँ झुमा लिम्बूको संगीत कर्मलाई श्रद्धापूर्वक सुन्छु । आभासको संगीत मन परिहाल्छ । नेपथ्य त सधैं नै मन पर्ने भएकाले सुनिरहन्छु । 

के कुराको विशेष सोख छ ?

त्यस्तो विशिष्ट सोख केही छैन । मेरो रोजाइदेखि रुचिसम्म जति नम्बरमा राखे पनि किताब नै हो । मलाई अवकाशको जीवनमा एउटा भव्य निजी पुस्तकालय र वाद्ययन्त्र संग्रह होस् लाग्छ ।

खानाको कत्तिको सोखिन हुनुहुन्छ ? मन पर्ने परिकार ?

खास छैन । भोक लागेको बेला अर्गानिक खाना पाए पुग्छ । मलाई मनपर्ने परिकार सिस्नु र मकैको ढिंडो अनि लोकल कुखुराको मासु र कोदोको ढिंडो हुन् ।

किनमेल गर्न कति रुचाउनुहुन्छ ?

खल्ती बाक्लो हुँदा अलिअलि रुचाउँछु ।

के–कस्ता किनमेलका लागि बजार जानुहुन्छ ?

मैले किनमेल गर्ने किताब र लुगा हुन् ।

आफ्नो लुगाफाटो आफैँ किन्नुहुन्छ कि अरूले किनिदिन्छन् ?

आफैं किन्छु ।

अहिलेसम्म किन्नुभएको सबैभन्दा महँगो वस्तु अथवा खर्च गरेको सेवा ?

मोटरसाइकलपछि किनेको महँगो वस्तु किताबै होला । मसँग केही दुर्लभ किताब छन्, जो एउटै किताबको ६० हजार रुपैयाँसम्म परेको छ । दस–बीस हजार परेका केही किताब छन् । विदेशबाट मगाएका केही किताब त मैले निकट साथीहरूलाई पनि देखाएको छैन किनकि ती किताब नेपालमा किन्न पाइँदैन । 

ढोकाबाहिर गएपछि ती किताब फर्किएनन् भने बोर हुन्छ । केही किताब त पसलमा भेटे पनि महँगा थिए । तर, तीन चार रात लगातार सपनामा त्यही किताब देखेपछि सापटी लिएर किनेको छु ।

‘ऋण गरीगरी किनेका किताब सुरक्षित राख्ने भए घर बनाऊ’ भन्छन्, परिवारका दलका कार्यकारी प्रमुखले ।

किताबपछि महँगो भन्नु एउटा डाउनज्याकेट किनेको छु, साढे सत्र हजार हालेर । तर, पछि मलाई व्यर्थ किनेछु भन्ने भयो । लुगा र जुत्तामा राम्रै खर्च हुन्छ मेरो । तर, यो उहिलेउहिले कलेज पढ्दा संगतका कारण बिग्रेको बानी हो । 

बाआमासँग कचकच गरेर पनि ब्रान्डेड कपडा किन्ने त्यो पुरानो आदतले आज पनि हैरान छु । यो कुलतै हो मेरो ।

६.राजनीति

नेपालको राजनीति कस्तो लाग्छ ?

राजनीतिक वृत्तबाट वैचारिक पक्ष झन्–झन् किरानामा धकेलिँदै जानु दुखद पक्ष हो ।

हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?

राजनीतिले नेपाली समाजको वर्ग–विश्लेषण गरी तदनुरुपको नीति अंगीकार गर्न सकेन । 

नेताहरुको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुर्धानुहुन्थ्यो ?

लोकप्रियतावादको पछि कुद्ने चरित्र सुधार्थें होला ।

मनपरेका वा प्रभाव पारेका नेता÷राजनीतिज्ञ ?

कार्ल मार्क्स र अब्राहम लिङ्कन ।

मानौं, तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?

मेरा लागि पूरापूर काल्पनिक कुरा नै हो । तर, एकै छिन कल्पना गर्दा— – आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा पछाडि पारिएका समुदायको हितका लागि केकस्तो नीति, ऐन–कानुन ल्याउनु राम्रो हुन्छ भनी विज्ञ, अभियानकर्मी, विश्लेषक तथा सम्बन्धित समुदायसँग छलफल गरेर कार्यान्वयनमा अघि बढ्थेँ होला । 

७.सामाजिक सञ्जाल 

कुन ब्रान्डको मोबाइल चलाइरहनु भएको छ ?

एप्पलको हो तर ‘सेकेन्ड ह्यान्ड’ । त्यो पनि किस्ताबन्दीमा किनेको । यस्सो फोटो राम्रो खिच्ने रहर जाग्यो अनि किनियो । 

 दिनको कति घन्टा मोबाइल र सञ्जालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?

ठ्याक्कै त थाहा भएन । तर, मोबाइल राम्रै चलाउँछु । प्रायः समाचारहरू यतैबाट थाहा पाउँछु । तर, सबैभन्दा धेरै चलाउने ‘फेसबुक’ हो । उहिलेउहिले साथीले ट्वीटर एकाउन्ट खोलिदिएको थियो । अहिले पनि ‘एक्स’ रुपमा त्यो जीवितै होला । 

म सँग केही दुर्लभ किताब छन्, एउटैको ६० हजारसम्म परेको छ

भर्खर–भर्खर एक जना पत्रकार बहिनीले ‘टिकटक’ एकाउन्ट पनि खोलिदिएकी छन् । ‘इन्स्टा’ मा पनि एकाउन्ट छ र सो एकाउन्ट ‘फेसबुक’सँग जोडिएको छ । तर, अरु जेजे काउन्ट भए पनि चलाउने त फेसबुकै हो । 

बिहान उठ्नासाथ र राति सुत्नेबेला फोन हेर्ने बानी छ कि छैन ?

बानी छ । तर, यो बानी राम्रो होइन भन्ने थाहा छ ।

सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?

सूचना छिटो दिन्छ र मानिसलाई परस्परमा सहजै जोडिदिन्छ । यो राम्रो हो । तर, झुटो सूचना पनि छिट्टै फैलाइदिन्छ अनि सञ्जालमा जोडिएकाहरुबीच कति कुरा कृत्रिम हुने भएकाले घुमाउरो ढंगले भीडमै एकलाई दिन्छ । यो पक्ष नराम्रो हो ।

फलोअर्स, लाइक, कमेन्ट, भ्युजले तपाईंलाई केकति प्रभाव पार्छ ?

म उति प्रविधिसहज छैन । तर, समाज बुझ्न सघाउँदो रहेछ । कहिलेकाहीँ राम्रा कविका गहकिला कविता सेयर गरिरहेको हुन्छु, किताबबारे जानकारी दिइरहेको हुन्छु । तर, ती खासै हेरिएको हुँदैन ।

अस्ति भर्खरै एउटा रमाइलो खाले भिडियो सेयर गरेको थिएँ । त्यो भिडियो अहिलेसम्म फेसबुक, इन्स्टा र टिकटकमा २७ लाखले हेरेका छन् । भाइरल भन्न मिल्ने गरी सेयर भएका छन् । जबकि, टिकटकमा मेरो फलोअर्स एक सय जना हाराहारीमा थिए । छक्कै परेँ । अनि, मैले निष्कर्ष निकालेँ – टिकटक साह्रै सतही कुरा हेरिने प्लेटफर्म रहेछ ।

एआई टुलहरू कतिको चलाइरहनु भएको छ ? बढी कुन चलाउनुहुन्छ ?

खासै चलाउँदिनँ । मेरा लागि नयाँ शब्दको अर्थ र तथ्यजाँच गर्नु पर्‍यो भने गुगलमा जान्छु । अरु त्यस्तो विशेष टुल चलाउने गरेको छैन । 

सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना सञ्जालको काम बढी गरेको छ कि गलत सूचना बढी फैलाउने काम गरेको छ?

दुवै देखिन्छ । प्रयोगकर्ता आफैं सचेत नहुने हो भने गलत सूचनाको बाढीले हामीलाई बगाएर लगेर भुमरीमा गाढिदिने सम्भवना प्रचुर छ ।

सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई विस्थापित गरिरहेको छ वा गर्नेछ भन्ने गरिन्छ । त्यस्तो लाग्छ ?

माध्यम फरक भयो । पत्रिका त अनलाइनमा सहज छ, पढ्नलाई । तर, खोजमूलक लेख, लामा–लामा रिपोर्टिङ र फिचर स्टोरी पाना पल्टाई–पल्टाई म्यागजिनमा पढ्नुको आनन्द बेग्लै हुन्छ नि । नयाँ किताबको सुगन्ध लिँदै पंक्ति–पंक्तिमा हाइलाइटर कुदाउँदै पढ्नुको स्वाद मोबाइल या म्यागबुकमा कहाँ पाउनु ? 

९.रोचक तथ्य

पुनः जन्म हुने भए अब के बन्न मन छ ?

मलाई पुनः जन्ममा विश्वास छैन । एक बारको यही जन्ममा बन्न मन भएर पनि बुत्ताले नभ्याएको चाहिँ गायक हो ।

तनाव, दबाबहरू कसरी कम गर्नुहुन्छ ?

एकान्त, संगीत, सिनेमा र साहित्य नै हुन्, तनाव कम गर्ने साथी ।

तपाईंलाई केको सुगन्ध सबैभन्दा मन पर्छ ?

नयाँ किताब र नयाँ लुगाको ।

अहिलेसम्म तपाईंले पाउनु भएको राम्रो सुझाव ?

कुमार नगरकोटी दाइले प्रायः सिर्जनात्मक पुस्तक लेख्न भनिरहनु हुन्छ । साथी उज्ज्वल प्रसाई र नारायण ढकाल दाइले गहकिलो, वैचारिक र सिर्जनात्मक समालोचना पुस्तक लेख्न सुझाउनु हुन्छ । परिवारका सदस्यहरु सिनेमा लेख्नुपर्छ भनिरहन्छन् ।

आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?

आफ्नो समयलाई कुनै न कुनै ढंगले अभिलेखीकरण गर्नुपर्छ ।

दिलै खोलेर अनलाइनखबरको साप्ताहिक कुराकानी श्रृंखला हो । यसमा हामी विभिन्न विषयमा अझ नजिक हुने गरी कुराकानी गर्छौं ।





Source link

Leave a Comment