‘तामाङ’ जातिवाचक शब्द हो। यो शब्द कहिलेबाट, कसलाई र किन प्रयोग गरियो भन्ने कुरा ठ्याक्कै यकिनका साथ भन्न सक्ने अवस्था भने छैन। तामाङ शब्द र यो जातीय समूहको उत्पत्तिका बारेमा विभिन्न विद्वानहरूको अनुसन्धान कार्यलाई हेर्दा उनीहरूले आफ्नो अनुसन्धान तथा विभिन्न क्षेत्रबाट पाएको सूचनाका आधारमा केही तर्क गरेका छन्।
ब्रायनले सुरुवाती ब्रिटिस लेखहरूमा तामाङहरूलाई ‘मुर्मी’ भनेका छन्, तर मुर्मी भनेर सम्बोधन किन गरिएको थियो भन्ने स्पष्ट रूपमा कतै उल्लेख गरेका छैनन्। उनले यसको पाण्डुलिपि तयार गर्दा धेरै तामाङ समुदायमा स्थलगत अध्ययन गर्दासमेत ‘तामाङ शब्दबाहेक उनीहरू आफैँले आफैँलाई अन्य कुनै पनि जातिवाचक शब्दले सम्बोधन नगरेको’ पनि उल्लेख गरेका छन् (भ्यानडेनपेल, १९९६)।
कर्नेल विलियम जे. कर्कप्याट्रिकले यस जातिको बारेमा ‘नेवारहरूले विस्थापित गरेको नेपाल उपत्यकाको पुरानो शासक तिब्बती जाति भोटिया अर्थात् काठ भोटिया हुनसक्छ’ भनेर उल्लेख गरेका छन् (कर्कप्याट्रिक, १८११)।
यसैगरी सन् १८१९ मा ह्यामिल्टनले, १८७४ मा हड्सनले, र १९८१ मा होफरले तामाङ समुदायलाई ‘मुर्मी’ भन्ने शब्द उल्लेख गरेका छन्। फ्रान्सिस बुचनान ह्यामिल्टनले चाहिँ ‘तिब्बती भोटिया जातिको एक समूह मुर्मी’ भनी उल्लेख गरेका छन् (ह्यामिल्टन, २००७)। त्यस्तै होम्बर्गले आफ्नो पुस्तकमा होफरको कुरालाई उद्धृत गर्दै ‘तामाङ शब्द तिब्बतीयन शब्द तपाङ र तमुको संस्करण रहेको’ उल्लेख गरेका छन् (होम्बर्ग, २००५ रिप्रिन्ट)।
‘तम्बा काइतेन ह्वाई रिमठिम’ मा यसलाई नेपालकै आदिवासी जाति भएको अनुमान गरिएको छ (लामा, १९७७ – दोस्रो प्रकाशन)। अजितमान तामाङले तामाङ भनेको ‘तिब्बतको सिमानामा बस्ने धेरै अर्थात् महान् जनसङ्ख्या भएको मानिस’ भनी उल्लेख गरेका छन् (तामाङ, २०६९)। ‘उठानदेखि….१ (तामाङ जाति एक अध्ययन)’ अनुसार तामाङ शब्दको उत्पत्ति पेसाबाट भएको हो (भाई, २०४०)।
तत्कालीन समयमा तामाङ जातिलाई कसैले भोटे, कसैले मुर्मी र कसैले तामाङ भनी विभिन्न शब्दले सम्बोधन गरिरहेको बेला १९८९ सालमा एउटा इस्तिहार जारी भएको दस्ताबेज प्राप्त हुन्छ।
‘ङाग-तवाङ-रिग-द्जिन-छोस-ग्याइ-तोग’ (ई. १६८८–१७५५) ले तयार पारेको ङाङ्री गुङथाङ राजाको वंशावलीको स्रोतलाई उद्धृत गर्दै म्याकडोनाल्डले आफ्नो लेखमा तामाङ शब्द ‘१३औँ शताब्दीमा तल्लो मुस्ताङ (ग्लो) क्षेत्रका राजा बुम डे गन (ई. १२५३-१२८०) ले ‘से-मोन तामाङ’ हरूलाई दबाउन मुक्तिनाथ क्षेत्रमा पाँचौँ किल्लाको अन्तिम र छैटौँ किल्ला निर्माण गरी लेखिएको अभिलेखमा प्रयोग भएको’ कुरा उल्लेख गरेका छन् (म्याकडोनाल्ड, १९८९)।
यसैगरी जनकलाल शर्माले ‘हाम्रो समाज एक अध्ययन’ पुस्तकमार्फत गोबी मंगोलियाको ढुंगेयुगको औजार काठमाडौंको बूढानीलकण्ठमा भेटाएको प्रमाणका आधारमा (ढुंगेयुग करिब इशापूर्व ३०,००० वर्ष) ‘यी मंगोलियनहरू (तामाङ) तिब्बत तथा उच्च हिमाली क्षेत्र हुँदै नेपालमा आएका थिए’ भनी उल्लेख गरेका छन् (शर्मा, २०६७)। यसबाट तामाङ शब्दको प्रयोग धेरै पहिलेबाट हुँदै आएको भए पनि कुन समय र कहाँबाट आरम्भ भयो भन्ने कुरा यकिन भने अझै हुन नसकेको प्रस्ट हुन्छ।
यसरी तत्कालीन समयमा तामाङ जातिलाई कसैले भोटे, कसैले मुर्मी र कसैले तामाङ भनी विभिन्न शब्दले सम्बोधन गरिरहेको बेला १९८९ सालमा एउटा इस्तिहार जारी भएको दस्ताबेज प्राप्त हुन्छ। उक्त इस्तिहार जंगवीर तामाङले ‘बाह्र तामाङ जातिलाई तामाङ भन्न र लेख्न पाऊँ’ भनी सामाजिक हैसियत कायम राख्न निवेदन दिएपश्चात् प्रधानमन्त्री भीमशमशेरले तत्काल स्वीकृत गरेका थिए।
यसरी जारी भएको उक्त इस्तिहार हिजोआज सामाजिक सञ्जाललगायत विभिन्न पुस्तकहरूमा प्रकाशन भएको पाइन्छ; जसलाई आम तामाङ समुदायले एक ऐतिहासिक दस्ताबेजका रूपमा लिई तामाङ पहिचान तथा स्रोतका रूपमा प्रचारप्रसार गरेको पाइन्छ। उक्त इस्तिहारमा यस समुदायलाई अबउप्रान्त तामाङ जातिलाई भोटे, लामाभोटे आदि नभनी ‘गोर्खा राज्यभर निजामती सरकारी अड्डाखाना, पल्टनको कागजमा जात लेख्दा-लेखाउँदा तामाङ भनी लेख्ने, बोलाउने गर्नु’ भनी इस्तिहारमै उल्लेख गरेको पाइन्छ।
यद्यपि उक्त इस्तिहारको संवत्, महिना र दिन- ‘विक्रमीय संवत् १९८९ साल’ टाइप भएको र ‘६ भदौ’ चाहिँ हातले लेखेको पाइन्छ। सायद यसै दस्ताबेजका आधारमा हिजोआज विभिन्न तामाङ जातीय संघ-संस्था तथा तामाङ समाजका बौद्धिक व्यक्तित्वहरूले विभिन्न कार्यक्रमहरू गरी हरेक वर्ष ‘६ भदौ’ लाई ‘तामाङ पहिचान दिवस’ का रूपमा मनाउँदै आइरहेको पाइन्छ।
वास्तवमा ‘दिवस’ भन्नाले कुनै पनि राष्ट्र, अन्तर्राष्ट्रिय संघ-संगठन, समुदाय तथा समूहले कुनै पनि विशेष सवाल तथा घटनाहरूको पहिचान गर्न र आफ्नो उद्देश्यलाई जागरुकता तथा कार्यमार्फत प्रवर्द्धन गर्न, आम जनसमुदायमा वकालत तथा पैरवी गरी जनचेतना फैलाउन विशेष तोकिएको दिन, हप्ता, महिना वा वर्षलाई बुझाउने प्रचलन रहेको पाइन्छ।
तामाङ शब्द लिखित रूपमै प्रयोग हुँदै आइसकेको कुरा १३औँ शताब्दीमै आइसकेको तथ्य र प्रमाण प्राप्त भएको हुँदा ‘६ भदौ’ लाई ‘तामाङ पहिचान दिवस’ मनाउनुले यथार्थ र सत्य कुराहरू समुदायमा ओझेल पर्दै जाने सम्भावना देखिन्छ।
अन्तर्राष्ट्रिय दिवसहरू प्रायः संयुक्त राष्ट्रसंघको साधारण सभाले विभिन्न सवाल तथा घटनाहरूको पहिचान गर्न विशेष दिन वा हप्ता वा वर्षलाई ‘दिवस’ मनाउन सहमतिका आधारमा तोक्ने तथा संगठनको उद्देश्य प्राप्त गर्न आफ्ना सदस्य राष्ट्रहरूलाई मनाउन लगाउने प्रचलन रहेको पाइन्छ (यूएन, २०२५)।
यिनै महत्त्वले गर्दा यस इस्तिहारका आधारमा तामाङ समुदायले पनि ‘तामाङ पहिचान दिवस’ मनाउन प्रचलनमा ल्याएको स्वाभाविक देखिए तापनि, यी विभिन्न पुस्तकहरूमा छापिएर आएको इस्तिहारको छायाकपीमा रहेको ‘महिना र गते’ शंकास्पद देखिन्छ। किनकि, तत्कालीन समयमा नेपाल सरकारबाट साप्ताहिक रूपमा प्रकाशन हुने साप्ताहिक समाचारपत्र (हिजोसम्मको खबर) भनी ‘गोरखापत्र’ मा यस इस्तिहारको पूर्णपाठ विक्रमीय संवत् १९८९ श्रावण ११ गते सोमबार, याने कि ६ भदौभन्दा ठीक २७ दिनअगावै प्रकाशन भएको छ (गोरखापत्र, १९८९)।
यसबाट इस्तिहार जारी भएको मिति ६ भदौ नभएको कुराको पुष्टि हुन आउँछ।
इस्तिहारसम्बन्धी लेखिएको यस खबरलाई गहन विश्लेषण गरी हेर्दा तत्कालीन समयमा सनद, कांस्यपत्र, रुक्का, इस्तिहार आदि आधिकारिक रूपमा सरकारले लालमोहर छाप लगाई जारी नगरीकनै कुनै पनि माध्यमबाट पहिले नै प्रकाशन भएको तथ्य पाइँदैन। यसर्थ उक्त इस्तिहार ११ साउनअघि नै जारी भएको थियो भन्ने खबर पत्रिकाको उक्त भाषाबाट प्रस्ट हुन्छ।
(तस्वीर- ११ साउन १९८९ मा साप्ताहिक गोरखापत्रमा प्रकाशित इस्तिहारः स्रोत गोरखापत्र संस्थान)
यसकारण यस इस्तिहार जारी भएको मिति ६ भदौ हो भन्ने आधारमा ‘तामाङ पहिचान दिवस’ त्यसै दिन मनाउनु र आम तामाङ समुदायमा त्यस दिनलाई विशेष दिन मानी सत्यतथ्य तथा गहन अध्ययन-अनुसन्धानविना जनचेतना फैलाउनु त्यति सान्दर्भिक देखिँदैन।
अर्को कुरा, चन्द्रशमशेरले पहिलो विश्वयुद्ध भएको एक वर्षपछि १९७२ सालमा विभिन्न गाउँ, थुम, गौँडा र मौजामा रहेका तालुकदारहरूलाई- ‘ठकुरी, घले, सुनुवार, मतवाली खस, क्षेत्री, मगर, रानाभाट, गुरुङ, लिम्बू, किराँती, राई, नगरकोटी, तामाङ तथा शेर्पा नौजवानहरूलाई ब्रिटिस गोर्खा पल्टनमा रिक्रुट गरी पठाउन सके इनाम दिने’ उल्लेख गरेको इस्तिहारको सनदबाटसमेत (इङ्नाम, २०७७ पृ. ८४७–४८) तामाङलाई एक छुट्टै जातिका रूपमा पहिले नै सरकारले स्वीकारिसकेको स्पष्ट हुन्छ।
यसका साथै तामाङ शब्द लिखित रूपमै प्रयोग हुँदै आइसकेको कुरा १३औँ शताब्दीमै आइसकेको तथ्य र प्रमाण प्राप्त भएको हुँदा ‘६ भदौ’ लाई ‘तामाङ पहिचान दिवस’ मनाउनुले यथार्थ र सत्य कुराहरू समुदायमा ओझेल पर्दै जाने सम्भावना देखिन्छ।
तसर्थ विगतमा वास्तविक तथ्यको अभावका कारण ६ भदौका दिन तामाङ लेख्न-लेखाउन मानिआइएको भए पनि अबउप्रान्त तामाङ विज्ञहरूको समूहबाट गहन अध्ययन-अनुसन्धान गरी खास निचोडमा पुगी ‘उक्त कुन दिन हो ?’ पत्ता लगाउनुपर्ने आवश्यकता देखिन्छ।
