अमेरिकाले भन्यो: भेनेजुएलामा गएको शक्तिशाली भूकम्पपछिको अवस्था निगरानी गरिरहेका छौँ



प्रकाशित मिति : १० असार २०८३, बुधबार

अमेरिकाले भन्यो: भेनेजुएलामा गएको शक्तिशाली भूकम्पपछिको अवस्था निगरानी गरिरहेका छौँ

फोटो: एपी/रासस

अमेरिकाले भेनेजुएलामा गएको शक्तिशाली भूकम्पपछिको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ।

सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत काराकासस्थित अमेरिकी दूतावासले भूकम्पको प्रभाव र त्यसपछिको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जानकारी दिएको हो।

दूतावासले सर्वसाधारणलाई क्षतिग्रस्त क्षेत्रहरूबाट टाढा रहन तथा भत्किएका वा क्षति पुगेका भवनहरूमा प्रवेश नगर्न आग्रह गरेको छ। यसका साथै स्थानीय सञ्चारमाध्यम र सरकारी निकायबाट जारी हुने सूचना तथा अद्यावधिक विवरणहरू नियमित रूपमा पछ्याउन दूतावासले अनुरोध गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा भूकम्पले ठूलो क्षति पुर्‍याएको हुन सक्ने बताएका छन्। उनले भेनेजुएलालाई विपद्का बेला कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे विचार गरिरहेको बताए।

सम्भावित पराकम्प (आफ्टरसक) तथा अन्य जोखिमलाई ध्यानमा राख्दै सुरक्षित आश्रयस्थलमा बस्न पनि नागरिकहरूलाई सुझाव दिइएको छ। भूकम्पका कारण राजधानी काराकासमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ठूलो क्षति पुगेको छ।

अमेरिकाले भन्यो: भेनेजुएलामा गएको शक्तिशाली भूकम्पपछिको अवस्था निगरानी गरिरहेका छौँ

काराकासमा केही सेकेन्डको अन्तरालमा दुईवटा शक्तिशाली धक्का महसुस गरिएको थियो। त्यहाँ पहिलो भूकम्प ७.२ रेक्टर स्केल र दोस्रो ७.५ रेक्टर स्केलको मापन गरिएको छ।

भूकम्पका कारण राजधानीका विभिन्न क्षेत्रमा भवनहरू भत्किएका छन्। हजारौँ मानिस घरबाट बाहिर निस्केर सडकमा आश्रय लिन बाध्य भएका छन्। भेनेजुएलाका गृहमन्त्री डियोसदादो काबेलोले नागरिकहरूलाई सुरक्षित स्थानमा जान तथा घर खाली गर्न आग्रह गरेका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार यस शक्तिशाली भूकम्पका कारण १० हजारभन्दा बढी मानिसको ज्यान जान सक्ने आशङ्का गरिएको छ। यद्यपि, क्षतिको वास्तविक विवरण सङ्कलन गर्ने कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।

भूकम्प स्थानीय समयअनुसार साँझ ६ बजेर ४ मिनेटमा आएको थियो। उक्त समयमा देशभर राष्ट्रिय बिदा मनाइरहेकाले धेरै मानिस आफ्नै घरमा रहेको अनुमान गरिएको छ, जसले गर्दा मानवीय क्षति बढ्न सक्ने चिन्ता उत्पन्न भएको छ।





Source link

Leave a Comment