प्रकाशित मिति : १ असार २०८३, सोमबार

अमेरिकी न्याय मन्त्रालयले क्यालिफोर्नियाका डेमोक्र्याट गभर्नर ग्याभिन न्युसमकी पत्नीमाथि अनुसन्धान सुरु गरेको छ। न्युसमकी पत्नी जेनिफर सिबेल न्युसममाथि न्याय मन्त्रालयले अनुसन्धान गरिरहेको हो। यस कदमलाई गभर्नर न्युसमले राजनीतिक प्रेरित भन्दै कडा आलोचना गरेका छन्।
क्यालिफोर्नियाको सरकारी वकिलको कार्यालयले न्युसमसँग सम्बन्धित व्यक्तिहरूमाथि सम्भावित कर (ट्याक्स) सम्बन्धी अपराधको अनुसन्धान गरिरहेको हो। अनुसन्धानको दायरामा न्युसमकी पत्नी जेनिफर सिबेल न्युसम पनि परेकी छन्।
गभर्नर न्युसम स्वयं अनुसन्धानको प्रत्यक्ष निशानामा नभएको बताइएको छ। तर न्युसमले भने आफू पनि अनुसन्धानको निसानामै परेको दाबी गरेका छन्।
न्युसमको कार्यालयका अनुसार अनुसन्धानकर्ताहरूले गभर्नर र उनकी पत्नीसँग सम्बन्धित वित्तीय अभिलेख, व्यवसाय तथा गैरनाफामूलक संस्थाहरूका कागजातहरू माग गरेका छन्।
उनीहरू निकट व्यक्तिहरूसँग गरिएको सोधपुछमा वित्तीय विवरणहरूबारे प्रश्न गरिएकाले अनुसन्धानकर्ताहरूले बैंक तथा आर्थिक अभिलेखहरूमा पहुँच पाएको अनुमान गरिएको छ।
यो अनुसन्धान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको न्याय मन्त्रालयले आफ्ना राजनीतिक विरोधीहरूमाथि अनुसन्धान अघि बढाइरहेको पछिल्लो उदाहरणका रूपमा हेरिएको छ।
तर अनुसन्धानबारे जानकारी राख्ने स्रोतले मन्त्रालयको राजनीतिक नेतृत्वको प्रत्यक्ष संलग्नता नभएको दाबी गर्दै गत वर्ष प्राप्त ‘ह्विसलब्लोअर’ (सुराकी) उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको जनाएको छ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा न्युसमले आफू सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न सक्ने सम्भावनाका कारण ट्रम्पले आफू निकट व्यक्तिहरूलाई निशाना बनाएको आरोप लगाए।
उनले ट्रम्पलाई सम्बोधन गर्दै भने, “तपाईं मेरो अभिलेख माग्न सक्नुहुन्छ, मेरो अनुसन्धान गर्न सक्नुहुन्छ, मलाई दुःख दिन सक्नुहुन्छ। तर मेकी पत्नी र परिवारलाई आफ्नो व्यक्तिगत प्रतिशोधबाट टाढा राख्नुहोस्।”
५८ वर्षीय न्युसम पछिल्ला वर्षहरूमा ट्रम्पका प्रमुख डेमोक्र्याट आलोचकका रूपमा चिनिएका छन्। सामाजिक सञ्जालदेखि आप्रवासन नीतिसम्मका विषयमा उनीहरूबिच पटक–पटक विवाद हुँदै आएको छ।
न्युसमको कार्यालयले सङ्घीय अनुसन्धानकर्ताहरूले गभर्नर र उनकी पत्नीसँग सम्बन्धित विभिन्न व्यक्ति तथा संस्थासँग सम्पर्क गरी वर्षौँ पुराना व्यक्तिगत र व्यावसायिक गतिविधिबारे सोधपुछ गरिरहेको जनाएको छ।
ग्याभिन न्युसमलाई पनि सन् २०२८ को अमेरिकी राष्ट्रपतीय निर्वाचनका सम्भावित डेमोक्र्याट उम्मेदवारमध्ये एक मानिन्छ। त्यसैले यो अनुसन्धानलाई अमेरिकी राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
