वीर अस्पतालका एक चिकित्सकले सामाजिक सञ्जालमार्फत आयुर्वेदलगायत प्राकृतिक चिकित्साले क्लिनिकल परीक्षणको आधिकारिक चरण पार नगरेकाले प्रभावकारी नहुने अनि त्यस्ता उपचारले बिरामीमा भ्रम छर्ने बताए।
केही समयपछि आफैं सन्चो हुने रोगीलाई प्राकृतिक उपचारले ठिक गर्यो भन्ने अफवाहले औषधि विज्ञानको मर्ममा प्रहार गरेको उनको तात्पर्य देखियो। सिनियर डाक्टरले व्यक्त गरेझैं आयुर्वेदिक उपचार कैफियतपूर्ण चिकित्सा पद्धति नै हो ? के रोगहरू ओखतीबिना ठिक पार्न सकिँदैन ? प्राकृतिक उपचारले रोगीलाई सन्चो पार्छ भने के त्यो इलाज आधिकारिक होइन त भन्ने प्रश्नहरूको उत्तर समेट्नु लेखको लक्ष्य रह्यो।
आयुर्वेदिक उपचार पद्धतिको सुरुआत कहिले भयो भन्न कठिन छ। सन् २०२४ जुन २० मा जर्नल ‘पिएलओएसबान’मा प्रकाशित एक अन्वेषणले अफ्रिकी जंगलमा राज गर्ने चिम्पान्जी र इन्डोनेसियाको सुमात्रा द्वीपमा पाइने उरांगउटान प्रजातिका बाँदर बाह्य चोट र आन्तरिक दर्द कम गर्नका लागि जंगलमा पाइने ‘मेडिसिनल प्लान्ट’ पहिचान गरेर आवश्यकताअनुरूप प्रयोग गर्ने गरेको देखायो।
आन्द्रामा सूक्ष्माणुको संक्रमण भएको बखत ‘एन्टिब्याक्टेरियल’ झारपात खाने अनि बाह्य चोटका लागि जडीबुटीजन्य पात निचोरेर झोल घाउमा लगाउने गरेको पाइयो। यसरी बाँदर प्रजातिमा देखिएको अभ्यासले आयुर्वेदको विकास जंगली युगबाटै भएको देखिन्छ। कुनै बुट्यानको सेवनले निश्चित रोगलाई सन्चो बनाएको पुस्तौंको अनुभव छ भने उक्त वनस्पतिको क्लिनिकल परीक्षण आवश्यक छैन। यद्यपि त्यो जडीबुटीमा भएका दर्जनौं रासायनिक पदार्थमध्ये कुन तत्वले लक्षणबाट छुटकारा दियो भन्ने कुराको अन्वेषणले आयुर्विज्ञानलाई अझ सबल बनाउँछ। यद्यपि विगतमा प्रयोग नै नभएका वनस्पतिलाई दबाइका रूपमा प्रयोग गर्नुअघि जडीबुटीले दिने नाफा र घाटाको भने आधिकारिक संयन्त्रमार्फत हिसाब हुनैपर्छ।
अंग्रेजी दबाइ र जडीबुटीमा पाइने औषधिजन्य रासायनिक पदार्थले विभिन्न शारीरिक समस्या हल गर्नु अस्वाभाविक होइन। अंग्रेजी दबाइ अनि औषधिमुलोको संसर्गै नगरी कुनै लक्षण ठिक पार्न सकिँदैन ?
झन्डै चार दशकअघि जनकपुरमा गंगाप्रसाद गौतमले अस्तिपञ्चर दुखाइका रोगीलाई सेवा दिन्थे। पेसाले चिकित्सक नभए पनि हड्डी दुख्ने व्यथाले ग्रसित व्यक्तिहरूको इलाज नै गंगाप्रसादको दिनचर्या थियो। बैलगाडा चढेर आएका अधिकांश बिरामी केही हप्ताको जनकपुर बसाइपछि ठमठमी हिँडेर घर जान्थे। इलाजको नाममा रोगीसँग बिहान–बेलुका हातको पन्जा उठाएर गफ गरिन्थ्यो। ओखती सेवनबिना यो चमत्कार कसरी भयो त ? भन्ने प्रश्नको उत्तर थिएन। वीर अस्पतालका वरिष्ठ विज्ञले भनेझैं आफैं ठिक हुने रोगको गौतमले जश लियो भन्थे स्थानीय चिकित्सकहरू।
सन् २०२३ को उत्तरार्धतिर जनकपुरको इलाजकै फोटोकपीझैं लाग्ने एक अनुसन्धान प्रकाशित भयो जर्नल ‘जामा नेटवर्क’मा। अमेरिकाको कोलोराडो युनिभर्सिटीको मेडिकल स्कुलको ‘पेन साइन्स एन्ड माइन्डबडी ल्याब’का नेतृत्वकर्ता डा. योनी असरले जनकपुरका गंगाप्रसादझैं केवल गफको भरमा आफूले पनि हड्डी दुखाइबाट आक्रान्त बिरामीलाई सन्चो पारेको बेहोरा प्रकाशित गरे। ‘पेन रिप्रोसेसिङ थेरापी’ (पिआरटी) नाम दिइएको उक्त उपचार प्रक्रियामा वैज्ञानिक असरले ढाड दुख्ने समस्याले पिरोलिएका बिरामीलाई केवल आठ हप्ता रोगीको दुखाइसँग सम्बन्धित प्रश्नलाई केन्द्रमा राखेर अन्तरक्रिया गर्थे। दुई महिनाको उपचारपछि उपचारमा सरिक १५० रोगीमध्ये ६६ प्रतिशत बिरामीको पीडा निर्मूल भएको, अन्यको दर्द कम भएको अनि सानो संख्यामा भने उक्त इलाज निस्प्रभाव रहेको बतायो। आखिर यस्तो जादुमय उपचार कसरी सम्भव हुन्छ ?
आफ्नो अन्वेषणात्मक जीवनको पूर्वार्धमा प्राध्यापक असरले अत्यधिक शारीरिक पीडा र मानसिक दबाबजन्य परिस्थितिमा समेत महात्माहरू प्रसन्न देखिनुको वैज्ञानिक कारण खोज्न थाले। शरीरको कुनै पनि भागमा चोट लागेको खण्डमा हामीलाई पीडाको महसुस हुन्छ। पीडाजन्य अवस्थामा पनि भिक्षुहरू किन शान्त हुन्छन् भन्ने प्रश्नको उत्तर खोज्दै जाँदा दुखाइको एक मात्र कारण चोट लागेको भाग र दिमागबिचको स्नायु प्रणालीमार्फत हुने सञ्चार भएकाले उक्त समन्वयलाई अन्यत्र मोड्न सके समाधान निस्कने देखे उनले।
वास्तविक समयमा मस्तिष्कको चञ्चलता मापन गर्ने आधुनिक विधि हो ‘फङ्सनल एमआरआई’। प्रसन्नता, पीडालगायतका भिन्न संवेदनशीलताका कारण दिमागका विभिन्न भागमा आउने क्रियाशीलता नाप्छ एमआरआईले। पीडाको बखत दिमागको कुन हिस्सा क्रियाशील छ, पत्ता लगाउँछ यो आधुनिक विधिले।
संवादले रोगीलाई कसरी सन्चो पार्यो भन्ने निक्र्योल गर्न एमआरआईको सहायता लिइयो। उपचारको प्रारम्भमा दुखाइले ग्रस्त बिरामीहरूको दिमागको एमआरआई गरियो। ब्रेनस्क्यानले मस्तिष्कको पीडा बोध गर्ने भाग क्रियाशील देखायो। अर्थात्, बिरामीको दुखाइ साँच्चै हो भन्ने पुष्टि भयो। रोग सन्चो भएपछि उनीहरूको दिमागको नयाँ एमआरआई गरियो। नयाँ र पुरानो ब्रेनस्क्यानलाई तुलना गर्दा दिमागको क्रियाशीलताको स्तर पहिलेजस्तै देखियो।
तर मस्तिष्कको सक्रियता अर्को स्थानमा सरेको देखियो। मस्तिष्कका विभिन्न खण्डले पृथक संवेदनशीलताको अनुभूति गर्छन्। अर्थात् दर्द अनुभव गर्ने अनि सन्तुष्ट महसुस गर्ने दिमागका भागहरू फरक हुन्छन्। तसर्थ, दुखाइको संकेत नै नचिन्ने भागमा तरंग स्थानान्तरण भएपछि व्यक्तिले पीडाबाट छुटकारा पायो। यसरी ‘पेन सिग्नल’लाई दिमागले चिन्न नसक्दा रोगीले समस्याबाट मुक्ति पायो। सरल भाषामा भन्नुपर्दा इलाजपछि पनि व्यक्तिको समस्या यथास्थानमै छ तर दिमागले उक्त दु:ख महसुस गर्न छोड्यो। पक्षघात भएको मानिसलाई चिमोट्दाको अवस्था जस्तो भयो।
जनकपुरका गंगाप्रसादले जोर्नीको दुखाइ निको पार्न ओखती तथा चिरफारको दरकार छैन, बरु संवादजन्य इलाज पर्याप्त छ भनी दशकौंअघि गरेको दाबीलाई वैज्ञानिक तथ्यसहित डा. असरले पुष्टि गरे। तर बायोलोजिक आँकडासहित ‘टक थेरापी’को औचित्य भर्खर पुष्टि भयो भन्दैमा जनकपुरमा दशकौंदेखि गरिएको इलाज ठिक थिएन भन्ने होइन।
लामो समयसम्म धामीझाँक्री रोग निदानका अन्तिम अस्त्र थिए। धामीले सन्चो पारेको बेलिविस्तार लगाउने व्यक्ति अझै जीवित छन्। ती परम्परागत सामाजिक पद्धतिको प्रभावकारिता ठम्याउन थप उत्खनन भएन। झारफुकले पनि कहीं रोग निको हुन्छ भन्ने भाष्य बन्यो। केवल बोलेर मात्र पनि दुखाइ सन्चो हुन्छ भने थप वैज्ञानिक अन्वेषण नगरीकन धामीझाँक्रीको औचित्य नकार्नु सान्दर्भिक नहोला।
मेडिकल साइन्सको सबैभन्दा ठुलो रहस्य हो ‘प्लेसिबो इफेक्ट’। ओखती हो भन्ने विश्वाससाथ केवल चिनी–पानीको झोल दिँदा पनि धेरै किसिमका रोग सन्चो हुन्छन् भन्ने विज्ञान हो ‘प्लेसिबो इफेक्ट’। पाचन प्रणालीसम्बन्धी समस्या बेहोरेका झन्डै ५० प्रतिशत रोगीलाई छद्म ओखतीले सन्चो पारेको व्यहोरा दर्साएका छन् दर्जनौं अध्ययनहरूले।
हजारौं सूक्ष्माणुले अविरल आक्रमण गर्दासमेत हतपत रोग नलाग्नुमा शरीरमा अन्तर्निहित प्रतिरक्षा प्रणालीको भूमिका छ। प्रतिरक्षा प्रणाली संसारको सबैभन्दा शक्तिशाली दबाइ कम्पनीभन्दा पनि प्रभावशाली भएकाले संक्रमितको सामीप्यमा रहँदासमेत सितिमिति रोग लाग्दैन। ‘प्लेसिबो इफेक्ट’ सशक्त हुनुमा दिमागी दृढताले भूमिका खेल्छ भन्ने आँकलन छ। प्रतिरक्षा प्रणाली मस्तिष्कको खटनअनुसार चल्ने भएकाले आत्मविश्वास दह्रो भएको व्यक्तिलाई हतपत रोग लाग्दैन भनिन्छ।
क्लिष्ट बायोलोजिक विधि भएका कारण केवल आधुनिक उपचार पद्धतिको भर परेर स्वास्थ्य क्षेत्रको समस्या समाधान नहुने भएकाले पुस्तौंदेखिको परम्परागत उपचार पद्धतिमा जोड दिनुपर्ने बताए आनुवंशिक क्षेत्रका प्रतिष्ठित वैज्ञानिक एवं अमेरिकी अनुसन्धान निकाय ‘एनआइएच’का पूर्व कार्यकारी निर्देशक डा. फ्रान्सिस कोलिन्सले। उनले आफू एनआइएचको नेतृत्वमा रहँदा यथास्थितिमा चलेर मात्र समष्टिगत स्वास्थ्य सुधार नहुने ठहर गर्दै ‘अल्टरनेट थेरापी’को अवधारणा ल्याए। उनले स्वास्थ्य सुधारमा सहायक सिद्ध हुने ठहर गर्दै संगीत, कला, नाचगानलगायत संसारका विभिन्न भागमा युगौंदेखि चलिआएका उपचारविधिलाई समेत अनुसन्धानमा समेट्ने अवधारणा मात्र ल्याएनन्, बरु बजेटसमेत विनियोजन गरे।
तथ्यांकले विभिन्न किसिमका क्यान्सर अनि मानसिक रोगीको इलाज र सहजीकरणमा अंग्रेजी दबाइभन्दा पृथक् प्रकृतिका उपचार पद्धति फलदायी देखायो। तसर्थ अंग्रेजी दबाइ र आधुनिक चिकित्सकीय पद्धतिका अतिरिक्त परम्परागत अनि पृथक् चरित्रका उपचार विधि रोगको निदान र स्वस्थ जीवन व्यतीतमा फलदायी छन् भन्ने यथार्थ सबैले बुझ्न जरुरी छ। पाश्चात्य देशमा भएका अनुसन्धान मात्र सत्य होइन, बरु पहाडको कन्दरामा पुस्तौंदेखि चलिआएको प्रचलन पनि उपयोगी छ भन्ने नबिर्सौं।
प्रकाशित: २६ जेष्ठ २०८३ ०९:१९ मंगलबार
