प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार

तस्वीर : आइस
गत महिनाको एक मंगलबार बिहान झिसमिसेमै वायोमिङको लारामी काउन्टी शेरिफ कार्यालयका प्रहरी अधिकारीहरू दुईवटा मुख्य राजमार्गहरूमा गस्तीमा निस्किए। पाँच घण्टाको अवधिमा उनीहरूले ४१ वटा सवारी साधनलाई रोके, १२ वटा जरिवाना पुर्जी जारी गरे, दुई जनालाई आपराधिक अभियोगमा पक्राउ गरे र आइससँगको नयाँ साझेदारी अन्तर्गत सात जना आप्रवासीहरूलाई हिरासतमा लिए।
पक्राउ परेकामध्ये एक जना गाडीको पछाडिको सिटमा सुतिरहेका थिए भने अन्य केही तीव्र गतिका कारण रोकिएका गाडीमा सवार थिए। यी सबैलाई स्थानीय जेलमा राखियो, जहाँबाट उनीहरूलाई अध्यागमन हिरासत केन्द्रमा पठाइनेछ। यस अपरेशनमा खटिएका स्थानीय प्रहरीहरूले संघीय सरकारबाट अतिरिक्त समय काम गरेबापत $१,३२५ डलर भत्ता पनि पाए।
ट्रम्प प्रशासनले देशव्यापी आम-निकासी अभियानलाई तीव्र पार्न स्थानीय प्रहरी एजेन्सीहरूलाई अध्यागमन एजेन्टको अधिकार दिएर परिचालन गरेको छ। अमेरिकामा बिना अनुमति बस्नु एक देवानी उल्लंघन हो, कुनै गम्भीर अपराध होइन।
सामान्यतया स्थानीय प्रहरीको काम संघीय अध्यागमन कानुन लागू गर्ने हुँदैन। तर, “२८७(जी)” नामक कानुन अन्तर्गत मात्र ४० घण्टाको भर्चुअल तालिम लिएपछि स्थानीय प्रहरीले जुनसुकै साधारण जाँचका क्रममा पनि मानिसहरूको कानुनी हैसियत सोधपुछ गर्ने र शंका लागेमा हिरासतमा लिने अधिकार पाएका छन्।
पहिले यो कार्यक्रम जेलभित्र रहेका अपराधीहरूको पहिचानमा मात्र सीमित थियो। तर अहिले ट्रम्प प्रशासनले यसलाई सडक र राजमार्गसम्म विस्तार गर्दै धेरै आप्रवासी पक्राउ गर्ने स्थानीय एजेन्सीहरूलाई नगद प्रोत्साहन र सवारी साधनका लागि $१००,००० डलरसम्मको आर्थिक सहयोग दिने आकर्षक अफर ल्याएको छ।
परिणामस्वरूप, फ्लोरिडा र टेक्सास जस्ता रिपब्लिकन नेतृत्व भएका राज्यहरूमा यो कार्यक्रम तीव्र रूपमा फैलिएको छ भने न्यूयोर्क लगायतका ११ वटा डेमोक्र्याटिक राज्यहरूमा यसलाई प्रतिबन्ध लगाइएको छ।
स्थानीय शेरिफ ब्रायन कोजाक भन्छन्, यसले हाम्रो काम छिटो बनाउँछ। कागजपत्र नभएकाहरूलाई स्थानीय मुद्दा चलाएर जेलमा राखिरहनु भन्दा सिधै अध्यागमनको जिम्मा लगाउन सजिलो भएको छ।
तर, मानवअधिकारवादी संस्थाहरू र आलोचकहरू भने यसको तीव्र विरोध गरिरहेका छन्। अमेरिकन सिभिल लिबर्टिज युनियनका अनुसार यसले समुदायमा त्रास फैलाएको छ, जसका कारण कानुनी हैसियत नभएका आप्रवासीहरू आफूमाथि अपराध हुँदा पनि प्रहरीलाई रिपोर्ट गर्न डराउनेछन्। साथै, यसले रंगभेद र ‘जातीय प्रोफाइलिङ’ लाई बढावा दिने खतरा बढेको छ।
यसको एउटा उदाहरण २९ वर्षीय क्रिस्टियन रोड्रिगेज हुन्, जो बाल्यकालमै आमाबाबुसँग मेक्सिकोबाट अमेरिका आएका थिए। उनी गाडी चलाइरहेका पनि थिएनन् र उनको कुनै आपराधिक रेकर्ड पनि थिएन। अमेरिकी नागरिकसँग विवाह गरेका र ६ जना छोराछोरीका पिता क्रिस्टियन हाल कोलोराडोको अध्यागमन हिरासतमा डिपोर्टेशनको पर्खाइमा छन्। हिरासतबाट फोनमा कुरा गर्दै उनले भने, “मैले त सिटबेल्ट पनि बाँधेको थिएँ, म त केवल काममा जाँदै थिएँ। यो अन्याय हो।
कार्यक्रमा खटिएका मुख्य डेपुटी आरोन वेल्डहिर पनि यस्ता घटनाले मन भारी हुने स्वीकार गर्छन्, तर भन्छन्-यो हाम्रो जागिरको हिस्सा हो, हामीले कानुन उल्लंघन भएको देखेर पनि नदेखेझैं गर्न मिल्दैन।
